साम्प्रदायिक झड्काले फुटाएको बोली – उप प्राध्यापक श्याम खनाल नेपाल सॅस्कृत विश्वविद्यालय नवलपरासी
जुन १०/२०२४ सोमवार
राष्ट्रगुरु योगी नरहरिनाथले “असली हिन्दूस्थान त नेपाल हो त्यसैले यहाँ सबैले आफ्नो कुलधर्म बचाउनू” भन्दै हिँडेको कुरा हामी सबैले जानेकै विषय हो । हो यहाँको इतिहास परम्परा सबै कुरा हेर्दा साँच्चै सनातन वैदिक धर्मको मूल थलो नै प्यारो देश नेपाल लाग्दछ ।
यहाँ कहिले पनि सनातन परम्पराका विभिन्न सम्प्रदायका बीचमा झगडा भएको इतिहास नै छैन । झगडा हुन त यहाँका सम्प्रदायमा भिन्नता भए पो । भिन्नता नै छैन । शिवलाई इष्ट देवता मान्नेले चारकोणमा विष्णु, सूर्य, देवी, गणेशको स्थापना गरेका छन् । इष्ट देव शिवलाई माने पनि सबै भगवान्प्रति उत्तिकै प्रेम छ । ईश्वर कामले भिन्न भएका हुन् भन्ने बुझेका छन् । त्यस्तै विष्णुलाई इष्टदेव मान्नेले पनि बीचमा विष्णुको स्थापना गरी चार कोणमा शिव, गणेश, देवी, सूर्यको स्थापना गरेका छन् । सबैले पाएसम्म शालग्राम शिलालाई नै पञ्चदेवको प्रतीक मानेर पूजा गर्दछन् । यस्तै प्रकारले उपासना देवी सूर्य गणेश मान्नेले पनि गरेका छन् ।
यहाँका कुनै पनि प्राचीन मन्दिरमा यही अनुसारको भगवान्को स्थापना छ । बाबुले शिवलाई इष्टदेव मानेका छन् भने छोरालाई शिव नै मान्नै पर्ने भन्ने छैन । उसलाई आफूले इच्छाएको देवता मान्ने पूर्णाधिकार छ । यहाँ शिव मान्नेले कृष्णजन्माष्टमी वा एकादशीमा टन्न भात खाएर शिवरात्री र सोमवारको मात्र उपासना गर्दैनन् । शास्त्रले बताएका सबै देवी देवताप्रति उत्तिकै सम्मान छ । देवीको उपासकले पनि एकादशीको व्रत गर्ने गर्दछ । प्रत्येक सनातनी नेपालीले शिवरात्रीका दिन शिवलाई नै ब्रह्म देखेर पूजा गर्दछ । रामनवमीका दिन रामलाई नै ब्रह्म देखेर पूजा गर्दछ । दशैँमा देवीलाई नै सर्वशक्तिमत्ताको भावले आराधना गर्दछ । यज्ञलाई विशेष ग्राह्यता दिएर मन्दिर भन्दा पनि यज्ञमण्डपको रुपमा रहेका पवित्रस्थलहरू पनि त्यस्तै किसिमले बनेका छन् ।
वैष्णवहरूले पनि भगवान् शिवको स्थापना गर्नुभएको छ । हाम्रा गाउँघरमा सँगै बसेका निमार्गी वैष्णवहरूले त झन् प्रत्येक दिन रुद्राभिषेक नगरी नखाएको हाम्रै आँखाले देखेको छ । वैष्णवका अरु भेदमा पनि हो दैनिक पूजा गर्दा केही विधिले विष्णुको कृष्णको पूजामा अलि जोड दिए तापनि सबै देवीदेवतालाई सम्मानका साथ पूजा गरेर आचार्यहरू भगवान् पशुपतिनाथ, केदारनाथ, विश्वनाथ गएर शिवराधनामा मस्त भएर शिवतत्त्व कल्याणतत्त्वमा लीन भएको हाम्रै आँखाले देखेको विषय हो । त्यसैले त यो देशका प्रत्येक मानिसहरूलाई देखेर महर्षि महेश योगीले यहाँका प्रत्येक मानिस देवता हुन् भन्नुभएको थियो । अरु त कुरै छाडौँ पूजापद्धति र दर्शन एउटै खालका भए तापनि हाम्रा अल्पबुद्धिले बौद्ध एवम् किरात भेदमा देखेकाहरूले पनि यही खालकै व्यवहार गर्नुभएको छ । त्यसैले त शिवांशपुरुष योगी नरहरिनाथले यही पुण्यभूमिलाई मात्र असली हिन्दूस्थान देख्नुभयो ।
तर लोकतन्त्र आयो । हाम्रो वैदिक सत्य सनातन धर्मलाई नै सैतान र काफिर भन्ने त यहाँ छिरे छिरे । विश्वकल्याणको कामना गर्ने वैदिक सत्य सनातन धर्मको गुदी देख्नै सकेनन् । ती धर्म मान्ने मध्येका पनि सही र असली मानिस छिरेका भए त त्यस्ता कुरा पक्कै गर्दैनथे । ती रिलिजनका माध्यमले यहाँ मिलेर बसेको समाजमा उथलपुथल पार्ने योजना भएकाहरूले उनीहरूलाई सही कुरा नसिकाएर उही गाली मात्र गर्न सिकाएका हुनाले यस्तो हुनु ती रिलिजनका कारणले भन्दा पनि उनीहरूलाई गलत सिकाएर पठाएका धर्मगुरुहरूले गर्दा हो ।
उनीहरू त आफूलाई अर्कै धर्मको भन्ने चिनाएर छिरे । हामीलाई गाली गरे । तर केहीथरी आफूलाई हिन्दू नै भनेर घुसपैठ गरे । सनातन धर्मका प्रत्येक देवी देवता र चाडवाडलाई बराबर तरिकाले मान्ने र मनाउने गरेका सोझा नेपालीलाई उल्टापुल्टा गरेर यो ठूलो र त्यो ठूलो भन्न सिकाए । तैले मानेको त गलत हो त्यसलाई नमान । तैले गरेका कर्म त ईश्वरीय हैनन् ती त सबै भूतप्रेतीय हुन् भन्न सिकाए । कसैले आफ्ना फोटा बाँडेर आफूलाई नै सर्वशक्तिमान् गुरु घोषणा गरे त कसैले झन् भगवान्का मन्दिरमा आफ्नै मूर्ति छिराएर आफूलाई नै भगवान्को पनि भगवान् भन्न सिकाए । के के सिकाए सिकाए । के के रटाए रटाए । शिवलोक, वैकुण्ठलोक, देवीलोकको सबै ठेक्का लिएर आएकाहरूले अझ मोटो रकममा ती ती लोकमा जाने टिकटसम्म काट्न भ्याए । सोझा नेपाली चिम्म गरे । आँखा खोल्दा धर्मगुरुहरू गरगहना र सम्पत्तिसहित अलप भए । भगवान्सँग लभ भएन लप्प भयो ।
यो मेरो प्यारो देशमा यस्तै किसिमका बाजा बजाउनेहरूले लुटिरहेका छन् । हामी बाजा तालमा नाचिरहेका छौँ । धर्म के हो ? धार्मिकता भनेको के हो ? के का लागि आस्तिक भइने हो ? परमात्मा के हो ? आत्मा के हो ? किन जन्म भयो ? किन मृत्यु हुन्छ ? यी यस्तै खालका वेदान्तका प्रवचन दिएर जीवन सार्थक तुल्याउन खोज्ने स्वामीजीहरूका मञ्च खाली छन् । तर वैकुण्ठ र शिवलोक पुर्याउनेहरूका दोकान मस्त चलेका छन् । गुरुकै जय जयकार र झाम्रे गानमै समय वितेका छन् । के भन्छन् भन्छन् । मिलेर बसेका बौद्धमार्गी र किरातमार्गीलाई त ल विधर्मीले फुटाए रे अनि हृदयका एउटै नसा भएका शिवमार्गी वैष्णवमार्गी देवीमार्गीलाई चाहिँ आफ्नो पेटपूजाका लागि फुटाउनेलाई के भन्ने ?
अचम्म छ विहानभरी शरीरभरि घसेर नाङ्गै भट्भटाउने बाको पनि चेतना आएको छैन भने त्यो विहानै भटभटे हाँक्ने छोराको कसरी चेतना आउने । अर्को कुरा गलत मार्गमा गलत गुरुद्वारा प्रशिक्षित ती भट्भटे बाको पनि कसरी आउने र चेतना । ईश्वरपुजनले त व्यक्तिलाई वसुधैव कुटुम्बकम् को मार्गमा हिँडालोस् न । त्यो त कता हो कता झन् व्यक्ति त वसुधाबाट तल खसेर अन्त्यमा त कुटुम्बकम् मात्र रहन जाने भयो । केही वर्ष पहिले हामीले स्वर्गद्वारीको दर्शन गर्न अत्यन्तै आदरणीय वैष्णवपथबाट ईश्वरको सेवा गरिरहनुभएका स्वामीजीसँग गएका थियौँ । मलाई त पहिला अब उहाँले स्वर्गद्वारी गएर कहाँ दर्शन गर्नुहोला भनेको त स्वर्गद्वारीमा स्थित शिवमन्दिरमा गई आफूले पहिले भस्म लगांई हामीलाई पनि भस्म लगाइदिनुभयो । के गर्ने त्यस्ता व्यक्ति कहाँ पाउने ?
केही समय अगाडि एकजना विद्वान् गुरुको प्रवचन सुनेको कुरा कता लानुभयो भयो आफैलाई बञ्चरो हान्नुभयो । सायद गुरुको बृद्धावस्थाको अवचेतन अवस्थाले पनि होला भन्ने बुझेँ । तर पनि अचम्म लाग्यो त्यत्रा बुझेका जानेका विद्वान्हरूलाई त भगवान्को कृपा भएन भने शास्त्रले पनि ढुलुमुलु बनाइदिन्छन् भने हामी त के केही नजानेका अल्पज्ञ त कताका भुमरीमा गएर अलप हुन सक्छौँ । तर भगवान्सँग प्रार्थना छ – आफूलाई हि्न्दू धर्मको हिमायती, आस्तिक, विद्वान् ठान्ने हामीमा र हाम्रा चेतनामा त्यस किसिमका ढुलमुले मसला नमिसाइदिनुहोला । सबैका बुवा आमालाई एउटै भावले सम्मान गर्दै हामी हाम्रा बुवा आमाको सेवामा कत्ति विचलित न हौँ । कसैले स्वर्गको टिकटै लिएर आएपनि त्यस्ता कुराको लोभ छैन । हामी हाम्रै नेपाली वैदिक सत्य सनातन धर्ममा मर्न पाऊँ । शिवधाराको शान्तिसहित भगवान् शालग्रामको चरणामृत दैनिक ग्रहण गरी ब्रह्मलीन हुन सकौँ । अस्तु ।