अन्तिम सँस्कार अर्थात् मृत्यु सँस्कार कसरी गरिन्छ?हिन्दु सँस्कृतिअनुसार अन्त्येष्टि ( दाहसँस्कार कर्म) कसरी गर्ने ?

अन्तिम सँस्कार अर्थात् मृत्यु सँस्कार कसरी गरिन्छ?हिन्दु सँस्कृतिअनुसार अन्त्येष्टि ( दाहसँस्कार कर्म) कसरी गर्ने ? 
-ज्योतिष पण्डित  राजेन्द्र खनाल,  यूएसए 
मे १ २०२०
    जन्म र मृत्यु दुवै यस पृथ्वीलोकका शास्वत सत्य कुरा हुन् | यही सत्यलाई स्वीकार्दै सनातन हिंदू धर्म-दर्शनले जसको जन्म हुन्छ, उसको मृत्यु निश्चित हुन्छ, जसको मृत्यु हुन्छ उसको जन्म पनि निश्चित हुन्छ र यो सांसारिक प्रक्रिया निरन्तर चलिरहन्छ भन्ने कुरालाई आत्मसात् गरेको छ । यो पुनर्जन्म र मृत्युको चक्रमा नपर्नुलाई मोक्ष प्राप्त गर्नु भनिन्छ | मृतात्माले सद्गति प्राप्त गर्न सकोस् भनेर अन्त्येष्टि कर्म गरिन्छ ।
अहिले विश्वको जनसंख्या करिब ८ बिलियन पुग्न आँटेको देखिन्छ भने प्रतिवर्ष मृत्युदर करिब ३00 मिलियनको हाराहारीमा भएको देखिन्छ । आजको विज्ञानले मानवयन्त्र नै बनाई सकेको भए पनि मृत्युलाई रोक्न भने सक्दैन किनकि मृत्यु भनेको अन्तिम साश्वत सत्य हो । कलियुगमा मानिस १२० वर्षसम्म बाँच्न सक्छ तर उचित खान-पान र व्यायाम  हुन नसक्दा विभिन्न कारणले मान्छेको मृत्यु छिटो हुन पुग्छ । सबैको एउटै समयमा हुँदैन ।  मृत्यु नहुँदो हो त यो जीवनको कुनै महत्व तथा अस्तित्व नै कहाँ हुन्थ्यो र ?
सनातनी हिन्दु सँस्कारअनुसार कसैको मृत्यु भएमा मृत व्यक्तिको शरीरलाई दाह संस्कार गरिसकेपछि मृतात्माले धारण गरेको वायु स्वरुपको सुक्ष्म शरीर प्रेत बन्न पुग्दछ । “प्रेत” भनेको आत्माको त्यो अवस्था हो, जो मृत्यु पछि गरिने दश गात्रादि कर्महरु अर्थात् मलिन षोडशी ( ६ पिण्ड दाहसँस्कार गर्ने ठाउँमा बाँकी १० पिण्ड १० दिन भित्रमा),  एघारौँ दिन मध्यम षोडशी र  बाह्रौँ दिन वा १ वर्षभित्र उत्तम शोडषी कृत्य सहित  सपिंडीकरण श्राद्ध नगरुन्जेल सम्मको अवस्था हो | जबसम्म कुनै पनि व्यक्तिको दशगात्र कर्म हुँदैन तबसम्म त्यो व्यक्तिको आत्मा भूत प्रेतकै रुपमा भड्किरहन्छ ।
मृत आत्माले सूक्ष्म शरीर धारण गरे पनि ऊ भित्र मोह, माया, भोक ,प्यास रहन्छ र त्यो प्रेतआत्मा पितृहरुसँगको सम्मिलन गरिदिएपछि तथा वर्षदिनको और्द्धदैहिक क्रिया सकिएपछि अन्य पितृहरुको स्थानमा रहन पुग्दछन् भन्ने दृढ मान्यता स्थापित गर्दै सनातनीय समाज आत्माको लागि श्राद्ध गर्ने गर्दछ | जुन कुरा वायु देवताको माध्यमबाट प्राप्त हुन्छ ।
ती मृत आत्माहरुको वैदिक तरिकाले श्राद्धादि दश गात्र कर्महरु नगर्दा, वा पूर्वजहरुलाई नसम्झिँदा , वार्षिक तिथि श्राद्ध नगर्दा तिनीहरुका कुलमा अशान्ति, वंश वृद्धिमा रोकावट, रोगब्याध, आकस्मिक विमार, शंकट आदि आइरहन्छ भन्ने मान्यता छ र व्यवहारमा पनि यो कुरा देखिराखिएको हुन्छ ।
मृत्यु सँस्कार १३ दिन किन बार्नु पर्छ ? यसको वैज्ञानिक तथा व्यवहारिक पक्ष – 
मृत्यु सँस्कार १३ दिन भन्दा पनि छोटों पाँच दिन वा सात दिन हुनु पर्छ भन्ने विषयलाई लिएर सामाजिक संजाल र मिडियाहरुमा निकै बहसहरु चलेको देखिन्छ तर यी बहसहरु कुनै तार्किक, व्यवहारिक तथा वैज्ञानिक नभई आफ्नो व्यक्तिगत स्वार्थलाई लिएर गरिएको देखिन्छ । त्यति मात्र होईन उनीहरुका तर्क यस्ता छन् – फलानो नेताले ३ दिनमा सिध्यायो, अमेरिकामा ३ दिन मात्र विदा मिल्छ, फलानो गुरुले ५ दिनमै सकायो, फलानोले ७ मै सक्नु पर्छ भन्यो ।
गलत परम्परा र धार्मिक विकृति हटाउनुपर्छ, तर १३ दिने मृत्युसँस्कारलाई  बिथोल्नु हुँदैन किनकि यो वैज्ञानिक र व्यवहारिक छ” -ज्योतिष पण्डित  राजेन्द्र खनाल 
कृपया यदि तपाई सनातन सँस्कारको पालना गर्न चाहनु हुन्छ भने यो लेख पूरै पढ्नु होला र मन लाग्यो भने अरुलाई पनि बताउनु होला । वैदिक र पौराणिक कालदेखि चल्दै आएको  सनातन हिन्दु सँस्कारजस्तो वैज्ञानिक र व्यवहारिक सँस्कार न त अहिलेसम्म अरु कसैले बनाउन सक्यो न त यो भविष्यमा अरु कसैले बनाउने नै छ । न भूतो न भविष्यति ।
अहिलेको विश्वब्यापीरुपमा फैलिएको महामारी  कोरोनाले पनि देखाईसक्यो किन गर्नु पर्नेरहेछ १३ दिन भनेर ? २ हप्तापछि मात्र भाईरसका लक्षणहरु देखिन थाल्ने भएका कारण २ हप्तासम्म (सेल्फ़  क्वारेन्टाईन) कसैसँग नछोईई बस्नु पर्ने  अवस्था, सफ़ासुघ्घर रहनु पर्ने, यी सबै कुरा मृत्युसँस्कार गर्ने व्यक्तिलाई पूर्णत लागू हुन्छ ।  यो आध्यात्मिक अनुशासनसँगै मनमा दुखेको आर्तनाद पीडालाई कसरी शान्त पार्न सकिन्छ  भन्ने व्यवस्थित प्रणाली पनि हो । आफ्नो बाउआमा मर्दा पनि १३ दिनको समय धेरै हुन्छ सकिँदैन भन्छ भने त्यो भन्दा महामूर्ख को नै हुन्छ होला र ? जसले बिना स्वार्थ उसको पालनपोषण, पठनपाठन, आफ्नो शरीरलाई भन्दा बढी माया मोह दिँदै हुर्कायो, जन्मदेखि सम्पूर्ण सँस्कार सिकाउँदै विवाह गरिसकेपछि पनि उसलाई कुनै पीडा, दु:ख नहोस् भनी भगवानसँग प्रार्थना गरिरहने आफ्नै आमाबुवाको मृत्युमा उसलाई सुख र सुविधा चाहिन्छ भने त्यो भन्दा स्वार्थी यस् दुनियामा को नै हुन्छ होला र ? पितृमातृ ऋणबाट मुक्त हुनका लागि छोराले पितृकार्य गर्नु पर्छ भनेर गरुड़ पुराणदेखि विभिन्न धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ । यतिसम्म भनिएको छ कि उसले हाम्रो लागि होईन आफ्नै लागि गरिरहेको छ, यसो किन भनियो त ? किनकि आफूले गरेपछि मात्र यो कुरा आफ्नो छोराछोरीले पनि सिकिरहेका हुन्छन् र पछि त्यहीँ कुराको अनुशरण गर्छन्, यदि आफूले नै त्यो कर्तव्य पूरा गरिएन भने छोराछोरीले गर्लान् कि भन्ने आश हुन्छ र ? यसैकारण यस्ता कृत्यहरु गर्नु भयो भने त्यो आफ्नो लागि पनि गरेको हो । वास्तवमा भन्ने हो भने यो १ वर्षको कर्म हो । १ वर्षसमम्म बस्दा सबैको लागि व्यवहारिक हुन सकेन र यसलाई १ महिना बराबर १ दिन मान्दै १२ दिनमै गर्न सकिने, यदि दान प्रदान, पूजा, पाठ, हवन आदि थप कर्म गर्नको लागि तेह्रौँ दिन उपयुक्त हुने भएकाले १३ दिन सम्मको बनाईयो तर अझै पनि १ वर्ष नपुगेसम्म तर्पण गर्न मनाहि छ, गर्न मिल्दैन ।
दाहसँस्कार र और्धदेहिक कर्म कसरी गरिन्छ ? 
शव संस्कार क्रिया विधि 
जब कुनै पनि व्यक्तिको मृत्यु हुन्छ त्यसको केही घन्टाको समय बितेपछि अर्थात् शरीरबाट आत्मा निस्कियोस् भन्नका लागि  केही समय पर्खिएर मात्र घाटमा लगेर दाहसँस्कारको विधि गर्नु पर्छ, सकेसम्म विज्ञ ब्राह्मण साथमा भए उत्तम । देश र ठाउँअनुसार तुरुन्तै जलाउनका लागि ठाउँ उपलब्ध नहुने तथा के कारणले मृत्यु भएको हो भन्ने कुरा पत्ता लगाउन समय लाग्ने भएकोले (विशेष गरी विदेशमा ) ३/४ दिन वा ५/७ दिन पछि मात्र लाशलाई जलाउने ठाउँमा लगी दाहसँस्कार गर्ने चलन छ, ९ दिन भित्र जसरी पनि जलाई दाहसँस्कार गर्ने प्रावधान छ, यदि १० दिन पछि मात्र जलाईयो भने पुन एकदिनबाट सुरु गरी १३ दिन सम्म क्रिया बस्नु पर्छ । यदि ९ दिन भित्र दाहसँस्कार गरेमा जति दिन भएको छ त्यसै दिनलाई मान्यता दिई गणना गर्दै लगिन्छ, यदि ५ दिनको दिन जलाईयो भने ८ दिन मात्र क्रिया बसे हुन्छ । १३-५ = ८ दिन । घाटमा लगेपछि शबलाई उत्तरपट्टी शीर र दक्षिणपट्टी खुट्टा गराई उत्तानो पारी सुताउने । घिउ र मह आदिले पूरै शरीरमा मालिस गरिदिने । सुन र पानी खुवाईदिने, चन्दन आदिले सिँगार्नु पर्दछ । उपस्थित सबै जनाले फूल चढ़ाई अन्तिम श्रद्धांजली दिईसकेपछि आफ्नो सँस्कृतिअनुसार छ वटा पिण्डदान कर्मकाण्डको विधिले  गर्नुपर्छ, जुन कुरा  गुरु -पुरोहितको उपस्थितिमा अथवा अनलाईनबाटै भएपनि गुरुको आदेशमा मलिन षोडशीअन्तरगतका छ वटा पिण्ड ( चामल+मह+घिउ अथवा जौँ को पीठोको पिण्ड बनाई ) दिई दागबत्ती दिनु पर्छ । मुण्डन तथा यज्ञोपवित फेरी कर्ताऽऽचम्य अग्निसँस्कृत्य क्रव्यादाग्नये नम : इति सम्पूज्य प्रार्थना
कृत्वा सुदुष्करं कर्म जानता वाप्य जनता ।
मृत्युकालवशं प्राप्तं नरं पन्चत्वमागतम् ।। 
धर्माधर्मसमायुक्तं लोभमोह समावृतम् ।
दहेयं सर्व गात्राणि दिव्यालोकान् स गच्छतु ।। 
अपसब्य भई ३ पटक शवको प्रदक्षिणा गरी घिउ र समिधा ( तुलसी, श्रीखण्ड, अगरबत्ती. कपुर, धूप आदि) तलको मन्त्र पढ़ी राखिदिनु –
अस्मात्त्वमधिजातोऽसि त्वदयं जायतां पुन : ।
असौ स्वर्गाय लोकाय स्वाहा ज्वलतु पावक : ।। 
यदि नेपालमा गर्दै हुनुहुन्छ भने चिता सल्काई सकेपछि मात्र पिण्ड दान गरिन्छ भने यदि तँपाई विदेशमा हुनुहन्छ भने परिस्थितिअनुसार दियो जलाई चितामै पिण्ड दिने चलन छ ।

अंत्येष्टि संस्कारको साथ छ वटा पिण्डदान तलका मन्त्रहरु पढेर दिनु पर्छ । जीवात्माको शान्तिका लागि तथा उसको चेतनालाई सन्तुष्ट पार्नका लागि पिण्डदान गर्ने प्रावधान रहेको छ –

पहिलो पिण्डदानको लागि दाहिने हाथमा पुष्प, कुश, जल,  तिल लिएर पिण्ड आसनको लागि –  अद्येह …. गोत्र ……… नाम (चिनाको नाम) प्रेत प्रथमपिण्डस्थाने इदं अवनेजनं ते मया दीयते तवोपतिष्ठताम् । एवं रिते द्वितीय तृतीय चतुर्थ पन्चम षष्ठ पिण्डस्थाने इदं अवनेजनं ते नया दीयते तवोपतिष्ठताम् ।

अब पहिलो पिण्डदानको लागि दाहिने हाथमा पिण्ड लिई पुष्प, कुश, जल,  तिल र अक्षता राखी  यो मन्त्र पढी कम्मरमा राखिदिने-

१.  अद्येह …. गोत्र ……… नाम(चिनाको नाम) प्रेत मृत्युस्थाने शव नामैष पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।  (कम्मरमा राखिदिने) 

  • २. अद्येह …. गोत्र ……… नाम(चिनाको नाम) प्रेत  द्वारस्थाने पान्थ नामैष पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् । (वक्षस्थलमा राखिदिने) 
  • ३. अद्येह …. गोत्र ……… नाम(चिनाको नाम) प्रेत चत्वरस्थाने खेचर नामैष पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।  (उदरस्थानमा  राखिदिने) 
  • ४.  अद्येह …. गोत्र ……… नाम(चिनाको नाम) प्रेत    विश्रामस्थाने भूत नामैष पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।  (वक्षस्थलमा राखिदिने) 
  • ५. अद्येह …. गोत्र ……… नाम(चिनाको नाम) प्रेत  काष्ठसन्चयनस्थाने प्रेत नामैष पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।  (शिरमा राखिदिने) 
  • ६. अद्येह …. गोत्र ……… नाम(चिनाको नाम) प्रेत  चितास्थाने साधक नामैष पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।( दायाँ हातमा राखिदिने ) 
  • यति गरिसकेपछि अब प्रत्येक पिण्डमा तलका मन्त्रले कुश तिल जल दिने – 
अद्येह …. गोत्र ……… नाम(चिनाको नाम) प्रेत इदं प्रथम पिण्डप्रयवनेजनं के मया दीयते तवोपतिष्ठताम् । एवमेष इदं द्वितीय तृतीय चतुर्थ पन्चम षष्ठ पिण्ड  प्रत्यवनेजनं ते नया दीयते तवोपतिष्ठताम् ।
 यति गरिसकेपछि सव्य भई आचमन गरी कर्तासहित सबैले भन्ने  रामनाम सत्य, ….. लाई स्वर्गलोक मिलोस् भन्दै शंख बजाउँदै दागबत्ती दिने । 
अहरहर्नीयमानो गामश्वं पुरुषं पशुम् ।
 वैवस्वतो न तृप्येत सुराया ईव दुर्मति: !”  
श्वमसानमा रहनेहरुलाई मासको बलि चढाउंदै नारीहरुलाई अघि लगाई घर पुगेपछि पुनः स्नान ( तिल, कुश र जलले) गरी अपसव्य भई कुश तिल जल दिँदा दक्षिणाभिमुख भई यो मन्त्र भन्ने –
अद्येह …. गोत्र ……… नाम (चिनाको नाम) एष तिलतोयान्जलिस्ते मया दीयते तवोपतिष्ठताम् ।एवं दशदिन प्रयन्तम् दद्यात् । यो काम १० दिन सम्म गर्ने । 
समय ठाउँ र परिस्थितिअनुसार क्रियापुत्रीले १० दिनसम्म एकै स्थानमा बस्न, लगाउन र सुत्नको लागि सेतो कपडा प्रयोग गर्ने । १० दिन सम्म प्रत्येक दिन वैदिक विधिअनुसार विज्ञब्राह्मणको वचनद्वारा थप १० वटा पिण्डदान गर्ने । १० दिन सम्म कसैसँग पनि नछोईई स्वयं पकाई एक छाक शुद्ध खाना (नुनरहित) ग्रहण गर्नु अघि अपसव्य भई कागलाई चढाएर मात्र खाने –
कागलाई बलि चढाउँदा भन्ने मन्त्र –
काकोऽसि यमदूतोऽसि गृहाण बलिमुत्तमम् ।
यमद्वारे महाघोरे त्वमाप्यायितुमर्हसि ।। 
यमाय धर्मराजाय मृत्यवे चान्तकाय च 
दक्षिणां दिशमाश्रित्य प्रेतान्नं बलिमाहर ।। 
( क्रियापुत्रीले भोजनको समयमा ग्रहण गर्न मिल्ने वस्तु – घिउ, शक्खर, अदुवा, कागती, आँप आदि, पहिलो दिन केरा भुटेर दिने अथवा फलफूल मात्र खाने चलन छ ।
सुत्ने स्थान नजिकै सप्तधान्यमाथि जलले पूर्ण घडा स्थापन गरी त्यसमाथि साँझको समयमा तिल वा घिउको बत्ती (मरेको  दिनदेखि १० दिन सम्म) बाल्ने मन्त्र –
अन्धकारं महाघोरं रविर्यत्र न भासते ।
तस्य सन्तरणार्थाय दीपं दद्यात्दशाह्निकम् ।।‘ 
१० दिनको पिण्डदान गरी भोजन गरिसकेपछि मुण्डन गरी जनै फेरी ढिकुरो फूटाई जौँ तिल छरी दुबो रोप्ने । नुन तेल छुने आदि कार्य गरेपछि १० दिने दाजुभाइको लागि नुनसहितको भोजन खुल्छ, पुरानो कपडाहरु (१० दिन सम्म प्रयोग भएका) सबै त्यागेर नयाँ कपडा, क्रिया पुत्रीको बस्ने, सुत्ने स्थान परिवर्तन गरी एघारौँ र बाह्रौँ दिनको कर्म वैदिक विधिपूर्वक विज्ञ ब्राह्मणको बचनद्वारा गरी तेह्रौँ दिन बन्धुबान्धवहरु सबैजनालाई बोलाई दीप कलश गणेशको पूजासहितको हवन यज्ञ गरी पितृको नाममा यथाशक्य दानप्रदान, ब्राह्मण भोजन गराई आफूले पनि भोजन गर्ने । १ वर्षसम्मको लागि तामसी भोजन खानेभए त्यो पनि खुलाई ( सात्विक र राजसी खुलाउनु पर्दैन ) महिना महिनामा पर्ने मासिक श्राद्धहरु गरी वर्षदिन पुग्दा वार्षिकी श्राद्ध गरी तर्पण दिई त्यसको १ दिन पछि घरशुद्धि पूजा ( रुद्री, सत्यनारायण आदि पूजा ) गरी सकेमा श्रीमद्भागवत पाठ कथा पूरै सुन्ने, नभए गीता पाठ आदि श्रवण गर्ने ।
तिथिको छनौट कसरी गर्ने भन्ने सम्बन्धमा सूर्य उदाउँदा जुन सुकै तिथि भए पनि जन्मिँदा वा मर्दा जुन तिथिले छोएको छ, त्यहीँ तिथि लिनु पर्ने हुन्छ | त्यो नै वैदिक कृत्यको सार हो । श्राद्ध मन्जरीमा तिथिको समय निर्धारण गर्ने विषयमा यस्तो लेखिएको छ –
“देव कार्ये तिथि ज्ञेया यथाSभ्यूदितो रवि  |
पितृ कार्ये तिथि ज्ञेया यदामस्तिततो रवि || “
अर्थात् देव कार्य गर्दा उदाउँदो तिथि ग्रहण गर तर पितृ कार्य गर्दा अस्ताउँदो तिथि लिनु भन्नुको मतलब मानौँ विहान सूर्योदय हुँदा प्रतिपदा तिथि छ र सूर्यास्त  हुँदा द्वितीया तिथि छ, भोलिपल्ट द्वितीया तिथि धेरै कम छ अर्थात् भोलिपल्टको सूर्योदयपश्चात् न्युनतम १३ घडी पनि छैन भने द्वितीया  तिथिको श्राद्ध अघिल्लै दिन गर्नु पर्ने हुन्छ ।
अंत्येष्टि पश्चात् वा सकेसम्म तेस्रो दिन अस्थिलाई एकत्रित गरी दुधयुक्त जलले सिंचित  गरी अस्थिलाई उठाउँदा भन्ने मन्त्र  “ॐ आ त्वा मनसाऽनार्तेन, वाचा ब्रह्मणा त्रय्या विद्यया, पृथिव्यामक्षिकायामपा रसेन निवपाम्यसौ।।” 

तेस्रो दिन वा अन्त्येष्टिपश्चात् कलश या माटाको बन्द भाँडोमा राखी तीर्थ स्थान, नदी वा सागरमा लगी ३ पटक परिक्रमा गरी हातमा जौँ अक्षता, पुष्प लिई प्रार्थना गर्दा  भन्ने मन्त्र – “ॐ यमग्ने कव्यवाहन, त्वं चिन्मन्यसे रविम्। तन्नो गीर्भिः श्रवाय्यं, देवत्रा पनया युजम्। ॐ यमाय नमः। आवाह्यामि, स्थापयामि, ध्यायामि।।”

 “ॐ इदं पितृभ्यो नमोऽअस्त्वद्य ये, पूर्वासो यऽ उपरास ऽईयुः। ये पार्थिवे रजस्या निषत्ता, ये वा नून सुवृजनासु विक्षु। ॐ पितृभ्यो नमः। आवाह्यामि, स्थापयामि, ध्यायामि।।”

….19 .68 मन्त्र का जप करें और पुष्प अर्पित कर हाथों को जोड़ें और नमस्कार करें।

  • अब अंजलिमा लिई अस्थि विसर्जित गर्दा भन्ने –

“ॐ अस्थि कृत्वा समिधं तदष्टापो, असादयन शरीरं ब्रह्म प्राविशत।

ॐ सूर्यं चक्षुर्गच्छतु वामात्मा, द्यां च गच्छ पृथिवीं च धर्मणा। अपो व गच्छ यदि तत्र ते, हितमोषधीषु प्रति तिष्ठा शरीरैः स्वाहा।।” अथर्व० 11.10.2 9

यसपछि हात जोडेर  निम्न मंत्रको साथ मृतात्माको ध्यान गर्ने – “ॐ य़े चित्पूर्व ऋतसाता ऋतजाता ऋतावृधः। ऋषीन्तपस्वतो यम तपोजाँ अपि गच्छतात।। ॐ आयुर्विश्वायुः परिपातु त्वा, पूषा त्वा पातु प्रपथे पुरस्तात्। यत्रासते सुकृतो यत्र तऽईयुः, तत्र त्वा देवः सविता दधातु।।” – अथर्व. 18.2.15.55

यति गरिसकेपछि घाटमा तर्पण आदि पनि गर्न सकिनेछ यदि १ वर्ष पुगिसकेको छ भने

“ॐ ये तीर्थानि प्रचरन्ति, सृकाहस्ता निषंगिणः।

तेषाः॰ सहस्रयोजने व धन्वानि तन्मसि।।”

श्रद्धापूर्वक सम्पादन गरीने प्रेत र पितृ कर्म श्राद्ध हो तथा जुन मृत व्यक्तिको एक वर्ष सम्मको सबै और्ध्व दैहिक क्रिया-कर्म सम्पन्न गरी सकिएको हुन्छ ति पितृ हुन | श्राद्ध सम्बन्धमा भनिएको छ – ” श्रद्धया इदं श्राद्धम्‌ “(जे कुरा मृत व्यक्तिलाई श्रद्धाले दिइन्छ त्यो श्राद्ध हो ) | जन्मदाता माता-पिता मृत्यु-पश्चात विस्मृत नहुन् , उनीहरुप्रति यथोचित सम्मान र श्रद्धा निरन्तर रहोस् भन्ने भावना राखेर तिनलाई सम्झिने , श्रद्धा गर्ने काम श्राद्ध हो | यम स्मृतिले पांच प्रकारका श्राद्धहरुको वर्णन गरेको छ, जसलाई नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण भनिन्छ | नित्य श्राद्ध- प्रतिदिन गरिने श्राद्ध हो | यो श्राद्धमा विश्वेदेवलाई स्थापना गरिन्न | यो श्राद्ध मात्र शुद्ध जलद्वारा सम्पन्न गरिन्छ | नैमित्तिक श्राद्ध- कसैलाई निमित्त बनाएर जसले श्राद्ध गर्दछ त्यसलाई नैमित्तिक श्राद्ध भनिन्छ | यसलाई एकोद्दिष्ट पनि भनिन्छ | एकोद्दिष्टको मतलब कुनै एकलाई निमित्त मानेर गरिने श्राद्ध जस्तो कसैको मृत्यु भएर गरिने दशगात्र , एकादश ( वृषोत्सर्ग ) आदि एकोद्दिष्ट श्राद्ध अन्तर्गत आउँछन | यसमा पनि विश्वेदेवलाइ स्थापना गरिन्न |  काम्य श्राद्ध- कुनै बिशेष कामना पूर्ति गर्न गरिने श्राद्ध | वृद्धि श्राद्ध शुभ कर्मको पूर्व तयारीमा गरिने नान्दिमुखी आदि श्राद्ध ।  पार्वण श्राद्ध औंशी र आश्वीन कृष्ण पक्षमा गरिने जसलाई महालय श्राद्ध पनि भनिन्छ ।
पितृहरुलाई अर्पण गरिने वस्तु पिण्ड हो र यहाँ ‘पिण्ड’ को अर्थ हो शरीर | सनातन हिन्दू शास्त्रले पितृहरुलाई देवताहरुसरह पूज्य मान्दछ | ‘पितृ’ को शाव्दिक अर्थ पिता हो | हाम्रा शास्त्रहरुले पितृहरुलाइ दुई रुपमा बर्णन गरेको भेटिन्छ |
दिव्य पितृ र मनुष्य पितृ  दिब्य पितृको काम न्याय दिनु हो भने लौकिक पितृहरु वंश परम्पराका द्योतक हुन् | आफ्नो वंश परम्परामा कुनै व्यक्तिको अगाडिको तिन मृत पुस्ता पितृ हो र मानव जातिको प्रारम्भ कालका पृथक लोकमा रहन पुगेका कल्पित पितृदेवहरु दिव्य पितृहरु हुन् | दिव्य पितृ त्यो समुहको नाम हो जसले समस्त जीवधारीहरुको कर्म विचारेर मृत्युपछि उसलाई के गति दिने त्यसको निर्णय गर्दछन | यसका अधिष्ठाता यमराज मानिन्छन् । यमराजको  गणना पितृहरुमा गरिएको हुन्छ | काव्यवाडनल, सोम, अर्यमा र यम- यिनीहरु यस जमातका सदस्य हुन्  | ती चारैको तर्फबाट सुनवाई गर्ने हुन अग्निष्व देवताहरुका प्रतिनिधि, सोमसद या सोमपा-साध्यहरुका प्रतिनिधि तथा बर्हिपद-गन्धर्व, राक्षस, किन्नर सुपर्ण, सर्प तथा यक्षहरुका प्रतिनिधि मानिन्छन् | यी सबै मिलेर गठन हुन पुगेकालाई दिव्य पितृ गण भनिन्छ | अग्निष्वात्ता, बर्हिषद, आज्यप, सोमेप, रश्मिप, उपदूत, आयन्तुन, श्राद्धभुक तथा नान्दीमुख यी नौ दिव्य पितृहरु भनिएको हो |
सूर्य हुन्,  चन्द्रमास अनुसार सूर्यको नाम पनि अर्यमा हो  | अर्यमा श्रेष्ठ देवत्व पितृ पनि हुन् | वैदिक वांग्मय अनुसार – चैत्र महिनामा धाता, वैशाखमा अर्यमा, ज्येष्ठमा मित्र, आषाढ़मा वरुण, श्रावणमा इंद्र, भाद्रपदमा विवस्वान, आश्विनमा पूषा, कार्तिकमा पर्जन्य, मार्गशीर्षमा अंशु, पौषमा भग, माघमा त्वष्टा एवं फाल्गुनमा विष्णु स्वरुपका हुन्छन | यी नामहरुले सूर्यलाइ अर्घ्य दिने विधान हाम्रो समाजमा प्रचलित छ | सूर्यको प्रकाश जुन यो भूतलमा आउछ त्यो नै अर्यमा हो | अर्यमा यस भूमंडलमा सर्बब्यापी भएका कारण  दीव्यपितृको रुपमा बैदिक कालदेखि पूजित छन् र ईन्द्रादि देवतासंगै यज्ञादि कार्यमा हवि ग्रहण गर्दछन |
किन यो बाह्रौँ दिनमा गर्नुपर्छ ?
 सपिंडीकरण शब्दको अर्थ प्रेत पिण्डलाई पितृहरुमा मिलाउने हो | पितृहरुको हैसियतमा पुर्याउने प्रक्रिया सपिंडीकरण हो | यसमा प्रेत पिण्डलाइ उसको पिता, पितामह र प्रपितामहको  पिण्डमा मिलाइन्छ |
श्राद्ध आदि कर्म गर्दा चाहिने सामग्रीहरुको सूचि – 
गंगाजल, दूध, दही , घ्यू , मह , सुती कपड़ा, भानिज, कुश, तिल, तुलसी पत्र | इक्षित पितृको श्राद्ध  छोरा ,आमा ,भाई ,छोरी, नाती ,पनाती , भतिजा, दत्तक  आदिले गर्न सक्छन् | पितृ पक्ष (महालय), एकोद्दिष्ट( मरेको पक्ष र तिथिमा),  श्राद्ध गरिने दिन काग , कुकुर , गाई , बिरालो आदि पशु पक्षि उत्तम मानिन्छन् | कागलाई खानेकुरा दिंदा १००० गाईलाई खानेकुरा ख्वाएको फल पाइन्छ भन्ने पौराणिक मान्यता छ ।
नोट : अहिले यो कोभिड -१९ बाट मृत्युबरण गर्नु हुने सबैजनाको आत्मालाई शान्ति मिलोस् साथै जो कोही नेपालीलाई पनि दाहसँस्कार गर्नको लागि गुरु पुरोहितको आवश्यकता पर्यो भने कृपया हिन्दु कल्चरल सेन्टरको यो नम्बर 703-870-6480 मा वा तलको ईमेलमा सम्पर्क गर्नुहोला, अनलाईन तथा फोनमार्फत निःशुल्क सेवा प्रदान गर्नेछौँ । HCC Team
हिन्दु कल्चरल सेन्टरको पूजा सामग्री सेवा, ज्योतिषीय सेवा र गुरु पुरोहित सेवा अनलाईनमा उपलब्ध –
कोरोना भाईरसको महामारीबाट बँच्न र बँचाउनका लागि आध्यात्मिक ज्ञान अनुष्ठानमा भाग लिई पूजा, पाठ, जप, ध्यान आदि गरी सुरक्षित रहनुहुन सम्पूर्णमा विशेष आग्रह गर्दछौँ । अहिले यो कोभिड १९को संक्रमणका कारण न्वारान( नामकरण) लगायत ज्योतिषीयसेवा, गुरु, पुरोहित तथा सम्पूर्ण पूजाविधि, जप तथा पाठहरु र पूजा सामग्री डेलिभरी तथा अन्य सेवा सुविधा फोन तथा अनलाईनबाट मात्र हुने भएकोले यो नम्बर 703-870-6480 मा वा ईमेलमा INFO@HINDUCULTURECENTER.COM वा वेबसाईट WWW.HINDUCULTURECENTER.COM मा सम्पर्क गरी सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
धन्यवाद
हिन्दु कल्चरल सेन्टर, अमेरिका

 

 

 

 

 

 

Comments are closed.