जन्म शान्ति विधि र उपाय – ज्योतिष पण्डित राजेन्द्र खनाल

जन्म शान्ति विधि र उपाय                                                    – ज्योतिष पण्डित राजेन्द्र खनाल 

मितिः २०२४/२/१ गुरुवार

  विशेष गरी सन्तान जन्मदा औँशी तथा कृष्णपक्षको चतुर्दशी तिथि, मूल तथा अश्लेषा नक्षत्र र घरका अन्य सदस्यसॅग एउटै नक्षत्र भेटेमा घरमा कुनै / कसैलाई बाधा अड्चन तथा पीडा उत्पन्न हुनसक्ने भएकाले ज्योतिष शास्त्रमा विभिन्न शान्तिको विधिहरु बताईएको छ । जस्तो ग्रह र नक्षत्रले चलिरहेको समयको नियमित चक्रअनुसार शुभाशुभ काल निरन्तर चलिरहन्छन् । शुभ समय शुभ फलदायी नै रहन्छ, अशुभ समयमा जन्म भयो भने अशुभ फल प्राप्त हुने भएकाले शास्त्रमा शान्तिका विधि बताइएको छ । यो समयको गतिअनुसार चल्ने नियमित प्रक्रिया हो । समयको गतिलाई रोक्ने सामर्थ्य हामीमा छैन । यसैले नै समयअनुसार चल्न र सबैको कल्याणका निम्ति हाम्रा ऋषि मुनिहरुले अशुभ समयमा जन्मको शान्ति विधान शास्त्र निर्देश गरेका छन् । समयको प्रवाहलाई रोक्न नसके पनि उक्त प्रवाहको नकारात्मक पक्षबाट बच्नका निम्ति शान्तिका विधान गरिएका हुन् । यस्तै अशुभ समयमध्ये औँशी, चतुर्दशी, मूल अष्लेषा नक्षत्र, एक नक्षत्र, व्यतीपात, वैधृति, सङ्क्रान्ति आदिमा जन्म भयो भने शान्ति गर्नुपर्ने विधि शास्त्रमा उल्लेख गरेको पाइन्छ ।

औंशी तिथिमा जन्म शान्ति विधि 
औँशी भनेको सूर्य र चन्द्रमा एउटै राशिमा भएको दिन हो । जसलाई अमावस्या पनि भनिन्छ । औँशी सिनिवली र कुहू गरी दुई प्रकारका हुन्छन् । चतुर्दशीयुक्त औँसीलाई सिनीवली र शुद्ध औँसीलाई कुहू भनिन्छ । यस समयमा चन्द्रमा पूर्ण रूपमा अस्त हुन्छन् । चन्द्रजन्य प्रभाव व्यक्तिमा रहने भएकाले औँशी एवं चतुर्दशी (कृष्णपक्ष) मा जन्म भयो भने शान्ति गर्नुपर्दछ भनिएको हो । सूर्य र चन्द्रमा दुबै हाम्रा लागि महत्वपूर्ण रहन्छन् । शरीरको अग्निजन्य वृत्तिलाई सूर्यले र जलजन्य वृत्तिलाई चन्द्रमाले प्रतिनिधित्व गर्दछन् ।

चन्द्रमा कमजोर रहनु शरीरमा शितल प्रभाव कमी हुनु जस्तै हो । यसैगरी आत्माकारक ग्रह सूर्य हुन् भने मनकारक ग्रह चन्द्रमा हुन् । सूर्य र चन्द्रमा दुवैलाई ग्रहका राजा भनिएको छ । यसैले मानव जीवनलाई सुखद् तुल्याउन दुवैको अनुकूलन आवश्यक रहन्छ । औँशीमा चन्द्रतत्वको कमी रहने अस्त रहने भएकाले शान्तिको विधि बताइएको हो ।

औँशीमा जन्म हुनेका आमाबुबालाई आर्थिक सङ्कट उत्पन्न हुनसक्छ भनिएको छ । यसका साथै जन्म लिने व्यक्तिको जीवन पनि संघर्षपूर्ण हुन्छ । यसैले शान्ति गर्नुपर्दछ भनी होरारत्नम् भन्ने ज्योतिषको ग्रन्थमा शान्तिको विधि बताइएको छ । जसमा अग्नि स्थापनादि विधिले मण्डप निर्माण गरी पूर्वाङ्ग हवनपूजनपश्चात् सङ्कल्पपूर्वक एक कलशको स्थापना गर्नुपर्दछ । उक्त कलशमा द्रव्य, दही, दूध, घ्यू, वर, डुम्री, पिपल, चूत (आँप), निमका जरा, बोक्रा, पात राख्नुपर्दछ । यसैगरी पञ्चरत्नसमेत कलशमा राखी रातो–सेतो वस्त्रले वेष्टित गर्नुपर्दछ । यसपछि ‘सर्वे समुद्रा …’ ‘आपो हिष्ठा.. ’ वेदका ऋचा पढी पूजा गर्नु पर्दछ ।

‘कयानश्चित्र…’ ‘समुद्र ज्येष्ठा…’ मन्त्रले अभिमन्त्रण गरेर उक्त कलश यज्ञवेदीको पूर्वी भागमा राख्नुपर्छ । औँशीका देवता पितृ, चन्द्रमा र सूर्यका सुन, चॅादी र तामाका प्रतिमा बनाउनुपर्दछ । यसपछि विशेष विधिपूर्वक पूजा गर्नुपर्दछ । ‘सवितृ…’ मन्त्रले सूर्य र ‘सोमो धेनु…’ मन्त्रले चन्द्रमाको १०८ विशेष हवन गर्नुपर्दछ । यसपछि विधिपूर्वक अभिषेक लिनुपर्दछ । यसपछि ब्राह्मणलाई सुन चाँदी आदि दक्षिणा दिनुपर्छ भनी औंशी जन्मशान्ति विधि बताइएको छ । (होरारत्न अध्यय २ दर्शशान्ति, श्लो.१-७)

कृष्णचतुर्दशी जन्मशान्ति विधि
कृष्ण पक्षको चतुर्दशी तिथिमा जन्म भए पनि शान्ति गर्नुपर्दछ भनिएको छ । शुक्ल पक्षमा चन्द्रजन्य पक्ष सबल रहने भएकाले शुक्ल पक्षको चतुर्दशीको जन्मलाई शुभकारक नै मानिएको छ । कृष्ण पक्षको चतुर्दशी तिथिमा पनि चन्द्रमा अस्तप्राय रहन्छन् । व्यक्तिमा सूर्य एवं चन्द्रमा दुवै ग्रहको तात्त्विक अंश रहनु आवश्यक हुन्छ । एक पक्ष कमजोर रहने भएकाले शान्तिको विधान गरिएको हो । कृष्ण पक्षको चतुर्दशी तिथिको भागअनुसार शुभाशुभको व्यवस्था गरिएको छ : कृष्णपक्षको चतुर्दशीको भोग (६०-गत तिथि+वर्तमान चतुर्दशी तिथि) लाई ६ भाग गर्ने ।

पहिलो भागमा जन्म भए शुभ, दोस्रो भागमा जन्म भए बुबालाई हानि, तेस्रो भागमा जन्म भए आमालाई हानि, चौथो भागमा जन्म भए मामालाई हानि, पाँचौं भागमा जन्म भए वंशलाई हानि र छैटौं भागमा जन्म भए धनको हानि हुन्छ । यसैले शान्ति गर्नुपर्दछ भनिएको छ । यसका लागि १ कर्ष (८ रत्ती वा १६ मासा) वा आधा कर्ष परिमाणको सुनको साँढेमा सवार वरद मुद्रा वा अभय मुद्रायुक्त हात भएको, स्वच्छ सेतो स्फटिकको मणिसमान सेतो फूल र वस्त्रले अलङ्कृत महादेव (शिवजी) को प्रतिमा बनाउनु पर्दछ ।

मूल शान्तिमा बताएको विधिअनुसार सकेसम्म कृष्णपक्षकै चतुर्दशी तिथिमा दीयो गणेश र कलश स्थापना गरी महादेवको विधिपूर्वक पूजा गर्नुपर्दछ । वारुण मन्त्रले आवाहन गरी आग्नेय कोणमा वारुणी कलश स्थापना गर्नुपर्दछ । ‘इमं मे …’ ‘तत्तवायमि….’ ‘तन्नो अग्ने….’ ‘सत्त्वन्नो …’ इत्यादि मन्त्रले क्रमशः अन्य कलशको पनि पूजा गर्नुपर्दछ । पुनः ‘आनोभद्रा…’ ‘भद्राअग्ने…’ मन्त्र र पुरुषसूक्त एवं ‘कद्रुद्रेति…’ इत्यादि मन्त्रको जप गरी रुद्राभिषेक पनि गर्नुपर्दछ । यसका साथै नवग्रहको पूजा पनि गर्नुपर्दछ । यसपछि समिधा, घिउ, चरु, तिल, जौ, सस्र्युं, पीपल, ढाक, खयरका समिधाले १००८ ‘त्र्यम्बकं ….’ इत्यादि मन्त्रले हवन गर्नुपर्दछ । यसपछि पूर्णपात्र, दक्षिणा अभिषेकादि कार्य गर्नुपर्दछ । (होरारत्न, अध्याय २) जसले कृष्ण पक्षको चतुर्दशीमा जन्म भएको शान्ति हुन्छ भनी बताइएको छ ।

एक नक्षत्र जन्मशान्ति विधि
आमा, बुबा, दाजु वा दिदी आदिको नक्षत्रमध्ये कसैको नक्षत्रमा बालकको पनि जन्म भएको छ भने एक नक्षत्र दोष रहने गर्दछ । जसलाई अशुभ मानिएको छ । जस्तो कि बालकको जन्म नक्षत्र अश्विनी छ र बुबाको पनि अश्विनी नक्षत्रमै जन्म भएको छ भने एक नक्षत्रदोष रहन्छ । वसिष्ठले एउटै नक्षत्रको एउटै चरणमा जन्म भयो, एउटै लग्नमा जन्म भयो भने पनि अशुभ रहन्छ, यसैले शान्ति गुर्नपर्दछ भनेका छन् । आग्नेयबाट इशान कोणतर्फ नक्षत्रको प्रतिमा कलशमाथि स्थापना गर्नुपर्दछ । उक्त नक्षत्रका अधिष्ठित देवताको मन्त्रले विशेष पूजा गर्नुपर्दछ ।

समयको गतिमा चल्नु हाम्रो कर्तव्य हो । समयको प्रवाहलाई रोक्न सक्ने शक्ति हामीमा छैन । यसैले समयले दिएका शुभाशुभ विषयवस्तुको भोग गर्नु हाम्रो नियति हो । अशुभ समयबाट पनि शुभफल प्राप्तिको कामना राखी विशेष शान्ति विधि बताइएको हो ।
प्रत्येक नक्षत्रका स्वामी देवता रहेका छन् जुन कुरा मुहूत्र्त चिन्तामणिको नक्षत्र प्रकरणको पहिलो श्लोकमा उल्लेख छ । यसरी कलशमाथि राखिएका देवतालाई रातो कपडाले ढाक्नुपर्दछ । रातो सेतो कपडा कलशमा पनि वेष्टित गर्नुपर्दछ । अग्नि स्थापना विधिले हवन पूजन पनि गर्नुपर्दछ । तत् नक्षत्र देवतालई विशेष हवन पनि दिनुपर्दछ । यसपछि उक्त कलशको जलले अभिषेक गर्नुपर्दछ । यसपछि सुन, अन्न, वस्त्र, सवारी, शय्या आदि दान गर्नुपर्दछ । (होरारत्न, अध्यय २, एकनक्षत्र जन्मशान्ति, श्लो १-१०) जसले एउटै नक्षत्रमा जन्म भएका व्यक्तिको शान्ति हुन्छ भनिएको छ ।

वैधृतिव्यतीपातएवं सूर्य सङ्क्रान्तिजन्मशान्तिविधि
वैधृति, व्यतीपात एवं सङ्क्रान्तिका समय सम्पात कालीन र सङ्क्रमण कालीन हुन् । यस्ता सन्धियुक्त समयमा जन्म हुनु अशुभ कारक मानिएको छ । वैधृति, व्यतीपात एवं सङ्क्रान्तिमा जन्म भए दारिद्य्र फल मिल्ने भएकाले शान्ति गर्नुपर्दछ भनी होरारत्नमम्मा बताइएको छ । सूर्य सङ्क्रान्तिको १६ घडी पूर्व र परको समय दोषयुक्त रहन्छ । गणितागत वैधृति र व्यतीपातमा जन्म भए महा पातनामको दोष हुन्छ । यसैले गोमुख प्रसवपूर्वक शान्ति गर्नुपर्दछ भनिएको छ । घरको पूर्वी भागमा गोवरले लिपेर सुन्दर यज्ञ वेदी बनाउनुपर्छ । पाँच द्रोण धानमाथि यसको आधा चामल र चामलको आधा तिल राखी त्यसमाथि अष्टदल रेखी गरी त्यसमाथि एक कलशको स्थापना गर्नुपर्दछ ।

कलशमा तीर्थजल, सप्तमृत्तिका, सर्वौषधी, पञ्चपल्लव, पञ्चगव्य राखी वस्त्रले वेष्टित गराउनु पर्दछ । कलशमाथि थाली राखी अधिदेवता, प्रत्यधिदेवता र प्रधान देवताको प्रतिमा स्थापना गरी विधिपूर्वक पूजा गर्नुपर्दछ । मध्यमा वैधृति र दायँबायाँ सूर्य र चन्द्रमाको प्रतिमा राख्नुपर्दछ । यसैगरी व्यतीपात र सङ्क्रान्तिमा पनि प्रधान देवताको प्रतिमाका साथ सूर्य अधिदेव र चन्द्रमा प्रत्यधिदेव हुन्छन् । प्रधान देवलाई ‘त्र्यम्बकं….’ मन्त्रले, सूर्यलाई ‘उत्सूर्य…’ मन्त्रले चन्द्रको ‘आप्यायस्व…’ मन्त्रले विधिपूर्वक पूजा गर्नुपर्दछ ।

‘आनोभद्रा…’‘भद्राअग्ने…’ ऋचा र पुरूषसूक्त एवं त्र्यम्बकं …..इत्यादि मन्त्र जपका साथै १००८ वा १०८ हवन पनि गर्नुपर्दछ । ‘समुद्रज्येष्ठा….’ ‘आपोहिष्ठा….’ ‘अक्षीभ्यां….’ ‘पवमान…’, ‘उत्सूर्येण..’‘आप्यायस्व…’ वैदिक मन्त्र एवं ‘सुरास्त्वामभिसिञ्चन्तु …’ पौराणिक मन्त्रले अभिषेक गरी पूर्णपात्र, दक्षिणा आदि गर्नुपर्दछ । (उत्तरगाग्र्योक्त शान्तिविधि, होरारत्न,२।१–१३) । विधिपूर्वक शान्ति गर्नाले तज्जन्य दोषबाट निवृत्ति मिल्ने कुरा शास्त्रमा उल्लेख भएको पाइन्छ ।

समयको गतिमा चल्नु हाम्रो कर्तव्य हो । समयको प्रवाहलाई रोक्न सक्ने शक्ति हामीमा छैन । यसैले समयले दिएका शुभाशुभ विषयवस्तुको भोग गर्नु हाम्रो नियति हो । अशुभ समयबाट पनि शुभफल प्राप्तिको कामना राखी विशेष शान्ति विधि बताइएको हो । कुनै पक्ष कमजोर हुनु त्यसको दीर्घकालीन असर पर्नु हो । अदृष्ट शक्ति नै हाम्रो ऊर्जाको परं स्रोत हो । जुन समयसँगै प्राप्त हुने गर्दछ ।

यसैले अशुभलाई शुभ तुल्याउन औँसी, कृष्ण चतुर्दशी, एकनक्षत्र, व्यतीपात आदिको शान्ति विधि बताइएको हो । जसले जातक (जन्म लिने व्यक्ति), जातकका परिवारको पनि कल्याण हुने भएकाले शान्ति गर्नुपर्दछ भनी बताइएको छ । समयको सूक्ष्म तत्वको चिन्तन गरी दिएका शास्त्रोक्त विषयवस्तु हाम्रा मार्गदर्शक हुन् । जसको अवलम्बन हाम्रा लागि कल्याणकारी रहने गर्दछ ।
थप सामग्रीका लागि सम्पर्कः ०१-७०३-८७०-६४८० अमेरिका

Comments are closed.