धर्मनिरपेक्षताको भ्रम – उप–प्रा. श्याम खनाल

धर्मनिरपेक्षताको भ्रम – उप–प्रा. श्याम खनाल

April 30 2024

विश्वमा क्रिश्चियानीकरणको लागि बनाइएको शब्द हो धर्मनिरपेक्षता अर्थात् सेकुलारिज्म (secularism) । यसका प्रयायवाची शब्दहरू Irreligion, Godlessness, Animalism आदि हुन् । धर्म भनेको त्यस्तो अनुशासन हो जसले मान्छेलाई पशु बन्नबाट रोकी मानव बन्न सिकाउँछ । त्यसैले नीतिले भन्छ– धर्मेण हीनाः पशुभिः समानाः । आखिरी पश्चिमाहरूले पनि निरपेक्षको अर्थ Animalism नै भनेका छन् । कार्ल मार्क्सले इसाइ पादरीहरुले गरेको ज्यादती देखेर त्यसरी धर्मलाई अफिमको रुपमा व्याख्या गरेका थिए । उनी थोरै मात्र वैदिक सभ्यतासँग परिचित भएका भए उनको दर्शन सायद मानिसहरुको गास, वास र कपासमा मात्र सिमित नभएर मानवलाई महामानव बनाउनेतर्फ केन्द्रित रहन्थ्यो । उनले इशाइ धर्मका नाममा पादरीहरुले मानिसहरुबाट रकम असुली जिँउदै स्वर्ग लैजाने टिकट काटिरहेको र मानिसहरुले लामबद्ध भएर टिकट काटेको देखे । अनि धर्मलाई अफिमरुपी नशाको रुपमा परिभाषित गरे । अनि धर्मरहित अनुशाषित समाजको कल्पना गरे । तर के गर्नु संसाररुपी भवचक्रमा प्रवेश गरिसकेपछि पाप नगर्ने र नदीमा डुबुल्की मारिसकेपछि नभिज्ने कुरा गर्नु आफैमा मूर्खता देखियो र त्यो सफल हुन सकेन । मानिसहरुलाई धर्मको पत्तै भएन र अनुशासनको लागि मृत्युदण्डको व्यवस्था राख्नुपर्यो । यसरी कार्ल मार्क्सद्वारा इशाइ पादरीहरुबाट प्रताडित समाजको सुधारको लागि कल्पना गरिएको धर्मविहिन समाजको प्रारुपलाई पछि इशाइ मिसिनरी र कम्युनिष्ट नामधारीहरुले मार्क्सको मूल विचारलाई बङ्गाई विश्वका अधिकांश देशको धर्म, संस्कार र संस्कृति नष्ट गर्नको लागि प्रयोग गरे । ती देशमा पहिले कम्युनिज्मको विउ रोपी त्यहाँका मानिसलाई नास्तिक बनाइँदो रहेछ । अनि आँखा चिम्लन लगाई क्रिश्चियन बनाइँदो रहेछ । नेपाल यसको पछिल्लो उदाहरण हो भने भारतका पश्चिम वंगाल, केरला, नागल्यैण्ड आदि प्रदेशहरू पनि यसका ज्वलन्त उदाहरणहरू हुन् । नेपालमा विशेष गरेर यो धर्मनिरपेक्षताको अगुल्टो २०६२–२०६३ को आन्दोलन पछि नै आगोको रुपमा परिणत भएको हो । नेपालमा माओवादी आन्दोलनपछि भएको सबैभन्दा ठूलो विकास भनेकै चर्चहरूको निर्माण हो । माओवादी युद्धकालका सबैभन्दा प्रभावित जिल्लाहरू रोल्पा, रुकुम, जाजरकोट, गोरखा, सिन्धुली आदि जिल्लाहरूमा भ्रमण गर्ने जुनसुकै व्यक्तिले पनि यो कुराको प्रत्यक्ष अनुभव गर्न सक्छन् । नेपालका नेताहरूका मुखबाट प्राय निस्कने शब्द हो धर्मनिरपेक्षता । सबै धर्मको सम्मानका साथ नेपालको प्राचीन धर्मको रक्षा नै धर्मनिरपेक्षता हो भनेर जनतामा भ्रम छरे तापनि उनीहरूको व्यवहारले तेसो हुन सकेन । त्यसैले वैदिक सनातन धर्मको विरोध गरी वकर ईद र क्रिसमस मनाउन धर्मनिरपेक्षता ल्याइएको रहेछ भन्ने कुराको जानकारी सर्वधारणमा पनि लगभग भइसकेको अवस्था छ । धर्मनिरपेक्षताको फाइदा उठाएर अरू रिलिजनहरूले त अप्ठ्यारो पारेकै छन् । अझ त्योभन्दा बढी अप्ठ्यारो त हिन्दू धर्म संस्कार वेठिक हुन् भनी अन्धप्रचारवाजी गर्ने रामपाल, रामरहीम आदि हिन्दु धर्मभित्रकै परनामी धमिराले पारिरहेका छन् । आर्यसमाजका नाममा अतिवादी स्वामी अग्निवेशका चेलाहरूले पनि हाम्रो धर्म र संस्कारप्रति कसरी हुन्छ खेदो खन्ने काम नै गरिरहेका छन् । हिन्दु धर्म दर्शनले त्यो अरू रिलिजनहरूले जस्तो दलका सदस्यता वितरण गरे जस्तो नौटङ्की गर्न जान्दैन । यसले त “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग् भवेत् ।” भन्छ । यसले कतै पनि कहिले पनि हिन्दू मात्र सुखी होउन्, अरु धर्मका दुःखी होउन् भनेको छैन । त्यसैले वैदिक सनातन हिन्दु धर्म सबैको साझा हो । यो धर्मको लक्ष्य ब्रह्मप्राप्ति नै हो । बुद्धले भन्छन्– “बहुजनहिताय बहुजनसुखाय धम्मो” । अर्थात् जे गर्दा बहुजन हित र बहुजन सुख हुन्छ¸ त्यही ने धर्म हो । त्यस्तै वेदले भन्छ –“मा हिंस्यात् सर्वभूतानि” अनि धम्मपदले भन्छ–“अहिंसा परमो धम्मो” अर्थात् कुनै पनि स्थावर जङ्गम जीवको हिंसा नगर¸अहिंसा नै परम धर्म हो । वैदिक धर्मले “बाँडेर खाउ बाँडेर लाउ बाँडेर बस भन्छ । सबैलाई भोका नाङ्गा सुकुमवासी राखेर एकले वाँदर न बन” भन्छ । यो धर्ममा सानो, ठूलो, जातिवाद, पातिवाद, नातावाद, कृपावाद, थैलावाद, रैलावाद आदि कुनै किसिमको भेद छैन । वेदको सिद्धान्तले जन्मना जायते शूद्रः संस्काराद् द्विज उच्यते । वेदाभ्यासाद् भवेद् विप्रो ब्राह्मणो ब्रह्मबोधतः अर्थात् सबै मानिस जन्मदा निर्विशेष शूद्र भएर जन्मन्छन्, गायत्री दीक्षा संस्कार भएर दोस्रो जन्म भएपछि द्विज हुन्छन्, वेदको अभ्यास गरेपछि विप्र हुन्छन्, ब्रह्मको बोध भएपछि ब्राह्मण हुन्छन् भन्छ । अझ यसको मूल सिद्धान्त त “ईशावास्यामिदं सर्वं यत् किञ्च जगत्याञ्जगत् । तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्य स्विद् धनम्” अर्थात् “यो जगत् सबैतिर ईश्वरले वास गरेको छ । तिनै ईश्वरले दिएका वस्तुको उपभोग गर अरु कसैका चल अचल धनमा गिद्धका आँखा नगाड लोभ न गर” हो । यस्तो सबैको भलो चिताउने धर्म नाशेर यहाँ पैसाको लोभमा विभिन्न रिलिजनको विस्तार गर्नु भनेको यो देशलाई धर्मयुद्धतिर लैजानु नै हो । यो देशमा पशुपतिनाथ आदि मन्दिरहरूको आम्दानी राष्ट्रले हस्तक्षेप गरी चर्च निर्माण र मदरसाहरुको विकासमा लगाइरहेको छ भने मस्जिद् र चर्चलाई कुनै नियमभित्र पारिएको छैन । राष्ट्रगुरु योगी नरहरिनाथले “हे हिन्दुराष्ट्र ! गोर्खा ! ! तेरो मुख हेरेर ॐ गौः संस्कृतम् भन्ने विश्वका कोटि–कोटि हिन्दुहरु आफ्नो शिर ठाडो पार्छन् । आत्मा खलु विश्वमूलम् भनेर विश्वलाई आत्मा ठानेर वेदोऽखिलो धर्ममूलम् भनेर वेदलाई विश्वमानवधर्मको मूल मानेको हुनाले तँलाई विश्वले हिन्दुधर्मको एकताको केन्द्रविन्दु मानेको हो । परको ध्यान नराखेर¸विवेकहिन भएर आज तैँले हिन्दुत्व त्यागिस् भने भोलि तँलाई कसैले पनि मान्ने छैनन् । तेरो अस्तित्व पनि रहने छैन । साथै विश्वका हिन्दुहरूको पनि अस्तित्व मेटिने छ । सो जानी पूर्वजहरूको ऐतिहासिक आदर्श हिन्दु हम वीर जम्बूद्वीपका हिन्दुनामा एक असल हिन्दुस्थान हो भन्ने इतिहासका सुनौला पानामा कालोमोसो घसिने छ । सगरमाथा झुक्ने छ । हिन्दुजाती सदाका समाप्त हुने छन् । मनुका पालादेखि अटल रहेको कैलासकुटको मुकुट पनि मेटिने छ ।। सावधान ।।” गर्नुभएको भविष्यवाणी सत्य सावित हुँदै छ । “धर्मो रक्षति रक्षितः” भनेकोले धर्मको रक्षा गरे बल्ल त्यसले हाम्रो रक्षा गर्ने हो । नभए हाम्रो विभत्स मृत्यु अवश्यम्भावी छ । त्यसैले अझै पनि समय बाँकी छ । ८०% भन्दा माथि हिन्दुधर्मावलम्बी भएको देशमा धर्मनिरपेक्षता सिधै खारेज गरी सबै धर्म संस्कार र संस्कृतिको सम्मान गर्ने हिन्दु धर्मसापेक्ष देश गराउनु हामी सबैको कर्तव्य हुन आएको छ । बाबु र आमा परिवर्तन नभए जस्तै धर्म पनि परिवर्तन गर्ने वस्तु होइन । न त यो राजनीतिक दलजस्तै परीवर्तन गर्ने चिज हो । मानिस अब पनि Animalism तिर लाग्ने होइन “अहं ब्रह्मास्मि“ तिर लागौँ । यसैमा शिवशान्ति छ । अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.