गुरु शुक्र अस्त हुनु भनेको के हो? अस्त समयमा के के गर्नु हॅुदैन ?

गुरु तथा शुक्र ग्रह अस्त हुनु भनेको के हो ? किन बृहस्पति र शुक्र अस्तमा शुभ कार्य वर्जित हुन्छ ? ग्रहहरुको बाल्यावस्था र बृद्धावस्था भनेको के हो ?

अप्रिल ३० २०२४ अमेरिका डिसी

आजदेखि शुक्र पूर्व दिशामा अस्त हॅुदैछ, मे ५ तारिखदेखि बृहस्पति अस्त हॅुदैछ भने जुलाई ३ तारिख शुक्र पश्चिममा उदय हुनेछ भने गुरु जुनको ३ तारिख उदय हुँदैछ । यी दुबै ग्रहहरु अस्त भएको समयमा काम्य कर्महरु बर्जित हुनेछन् भनी शास्त्रमा बताईएको छ ।

अस्त भनेको के हो किन अस्त हुन्छ ग्रह भन्ने विषयमा ब्रह्मसिद्धान्तमा यसरी बताईएको छ –

“रविणाऽऽसत्तिरन्येषां ग्रहाणामस्त उच्यते ।

ततोऽर्वाग्वार्ध्दकं प्रोक्तमूर्ध्वं बाल्यं प्रकीर्तितम्”

अर्थात् सूर्यसँग कुनै पनि ग्रह सॅगै बस्दा सूर्यको प्रकाशले अरु ग्रहहरुको बल र शक्ति न्यून गराउँछ जसलाई अस्त भनिन्छ । यसलाई ज्योतिषीय भाषामा अस्त भनिन्छ । अस्त हुनुभन्दा पहिलेको अवस्था वृद्धावस्था हो भने उदाएपछिको अवस्था बाल्यावस्था हो । बाल्यावस्था हुँदा पूरै फल नमिल्ने कुरा पनि विभिन्न विद्वानहरुको मत पनि छ त्यसैकारण यस अवस्थालाई सूतकको रुपमा बार्नु पर्ने भनी गुरुहरुको निर्देशन रहँदै आएको पनि छ ।

सूर्यसँग बसेका सबै ग्रहहरु अस्त भएतापनि हामी बृहस्पति र शुक्र अस्तको बारेमा धेरै सुन्ने गरेका छौं । बृहस्पति देव गुरु हुन् भने शुक्र अर्थात् शुक्राचार्य दैत्य गुरु हुन् । त्यसैले देव गुरू र दैत्य गुरु अस्त हुँदा कुनै पनि नयां योजनाबद्ध कार्यहरु गर्न शुभ मानिदैन । यस बेला गरेको कार्यहरुको फल नपाउने र गरेको कामहरु पूर्ण नहुने हुन्छ । उदाहरणको लागि गुरुको अनुपस्थितिमा विद्यार्थीहरु विद्यालय गएजस्तै हो । नयाँ पाठ र मार्गदर्शनको लागि उनीहरुलाई गुरुको उपस्थिति जरुरी हुन्छ । त्यस्तै ज्योतिषमा गुरु अस्त हुँदा नित्य कर्म, नित्य पूजा इत्यादि गर्न मिल्छ तर नयाँ काम वा नयाँ सुरुवात गर्न भने  मिल्दैन ।

बृहस्पति÷ शुक्र अस्त हुँदा गर्न नहुने काम्य कर्महरु?

“वापिकुपतडागयज्ञ भवनं क्षौरं प्रतिष्ठा ब्रतम् ।

विद्या मन्दिर कर्णवेधन महा दानं गुरो सेवनम् ॥

तीर्थयात्राविवाह काम्यहवनं मन्रोपदेशं शुभम् ।

दूरेनैव जिजीविषुः परिहरेदस्तगुरौ भार्गवे ॥

गुरू शुक्र अस्तमा ईनार -कुवा आदि निर्माण, बगैंचा निर्माण,  विवाह, व्रतबन्ध, पुराण–श्रवण, लघुपाठ, शतचण्डी, गृहारम्भ, नयाँ गृहप्रवेश, नाक कान छेड्ने, छेवर, तीर्थयात्रा, तुलादान, महादान, मूर्तिप्रतिष्ठा, भवन तथा देवालय निर्माणारम्भ, मन्त्रग्रहण, विशेष दीक्षाग्रहण, सप्ताह नवाह आदि महायज्ञ इत्यादि वर्जित हुन्छन् ।

गुरु शुक्रको अस्तमा गर्न मिल्ने कर्महरु –

नामकरण (न्वारान), अन्नप्राशन – पाश्नी,  मासिक तथा स्नान, सन्ध्याबन्दन, नवग्रहशान्ति, आतुरदान,  नित्यकर्म (ग्रह जाप, पान्चायन पूजा, देवीपूजन, चण्डीपाठ, नारायण पूजा, नित्य हवन) जन्मोत्सव पूजा आदि तथा कुनै पनि फलको अपेक्षा नलिई गरिने कर्महरु गर्नका लागि रोकावट हुने छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.