कोरोनाको भविष्य ? Future of COVID 19 – ज्योतिष पण्डित राजेन्द्र खनाल, अमेरिका

 April 12, 2020
के हो त कोरोना ? 
गत साल २०१९ को डिसेम्बर महिनाको ३१ तारिख जन्म लिई विश्वमाझ फैलिएको महामारीको आज तीन महिना १० दिन पुगेको छ । विकसित देशहरुमा छिट्टै नै प्रभाव जमाउन सफल यो भाईरस चीनकाे हुबेई प्रान्तको उहानमा पहिलोपटक कोरोना नामले देखिन पुगेको हो,  यो भाईरस कसरी उत्पत्ति भयो भन्ने सम्बन्धमा चमेरो र सर्पको मासु खाएको व्यक्तिमा पहिलो संक्रमण देखियो भन्ने कुराको पुष्टि भएको छ । सर्प, मुसा र चमेराको मासुमा यो भाईरस पाईने कुरा केही विज्ञहरुले बताएको आधारमा यसैबाट मानिसमा सरेको हुन सक्ने कुरा अनुमान लगाईएको हुनसक्छ ।
I
ज्योतिषीय हिसाबले हेर्दा यो भाईरस अत्यन्तै शक्तिशाली भएर उत्पत्ति भएको देखिन्छ, डिसेम्बर ३१ को बिहानको समय राखेर हेरिएको वुहान शहरको यो कुन्डलीका आधारमा हेर्दा लग्नस्थानमै पाँचवटा ग्रहहरु बसेको छ, जसमध्ये राहु र केतु उच्च छन् भने मंगल व्ययस्थानमा स्वगृही भएर बसेको छ, यसबाट के बुझ्न सकिन्छ भने यो भाईरसको प्रभाव धेरै लामो समयसम्म रहन सक्ने अनुमान गरिन्छ । आजदेखि सूर्य मेष राशिमा प्रवेश गरेको कारण केही कम हुने संभावना देखिन्छ ।जुनपछि भने यसको प्रभाव धेरै कम हुनेछ । विक्रम संवत् २०७७ मा मंगल राजा हुनेछ भने चन्द्रमा मन्त्रित्व हुने कारणले ख़र्चको मात्रा बढ़े पनि शारीरिक क्षय कम हुने संभावना देखिन्छ ।
 डाक्टर तथा वैज्ञानिकहरु पनि यसलाई कसरी परास्त गर्न सकिन्छ भनेर रातदिन लागिपरेका छन् । तर पनि यो भाईरस रुघाखोकीबाट सुरु हुने तथा अलि कडा खालको भएकाले अहिलेसम्म विश्वभरबाट १ लाखभन्दा बढीको ज्यान गईसकेको छ, जसमध्ये अधिकांश ६० भन्दा माथिका दीर्घ रोगी तथा शारीरिक हिसाबले कमजोर मानिसहरु परेका छन् भने संक्रमितमध्ये ४% प्रतिसतको हाराहारीमा मृत्यु भएको बताईएको छ । सामान्यरुपमा हेर्दा मृत्यु हुनु दु:खद मानिए पनि यो एउटा पुनर्जन्मको सुरुआत हो । यसकारण यसमा शोक गर्नु पर्ने बढी चिन्ता गर्नु पर्ने, डराउने गर्नु हुँदैन । डर तथा भयकै कारण पनि धेरैजनाको ज्यान गएको बताईएको छ ।
यो भाईरसको विषयमा धेरै विचारहरु बाहिरिएसंगै एउटा निकै महत्वपुर्ण विषय पनि बाहिरिएको छ –
किन चीन सरकारले अहिलेसम्म कोरोना कसरी फैलन पुग्यो भन्ने बारेमा वास्तविक बयान दिन सकिरहेको छैन ? यस्को बारेमा एक चोटी सबैले सोँच्नु पर्ने बेला आएको छ । कोरोनाको जन्म कसरी भयो भन्ने विषयमा चीनको उहान ल्याबमा भाईरसको रिसर्च गरिरहेका वैज्ञानिकले आफ्नो माईक्र्रोस्कोपमा एउटा अनौठो भाईरस सल्बलाई रहेको देखे ।
यस्तो अनौठो भाईरस कहिल्यै नदेखिएको ल्याबमा कार्यरत एक वैज्ञानिक बताउँछन् । डिसम्बरको शुरुवातिसँगै उहान शहरस्थित सी फुड बजार क्षेत्र वरपर रहने चीनियाँहरु अचानक ज्वरोबाट पिडित बन्न पुगे । एकै चोटी ज्वरोबाट ग्रसित बन्न पुगेकाहरुको टेस्ट गर्नका लागि सेम्पल उहानस्थित ल्याबमा पठाईयो र त्यसपछि उनीहरुको सेम्पल उहान स्टुड अफ वेरोलोजी नेश्नल वायोसेफ्टी ल्याबमा पनि पठाईयो ।
वैज्ञानिकहरुले आफ्नो माईक्रोस्कोपमा जे देखिरहेका थिए त्यो निकै नै अपत्यारिलो र भयानक थियो । त्यो भविष्यमा मानिसको ज्यान लिन सक्ने निकै नै खतरनाक ग्लोबल भाईरसको संकेत थियो । तर चीनियाँ अधिकारीहरुले भाईरसका विषयमा खबरहरु बाहिर नफैलियोस् र पुरै विश्वसामू चीनको बदनाम नहोस् भन्नका लागि भाईरस देखेका त्यहाँका डक्टर र वैज्ञानिकहरुलाई आफ्नो मुख नखोल्न आदेश दिएका थिए ।

त्यसैबेला एकजना डाक्टर ली वेङ्ग लियाङको अस्पतालमा स्थानीय सि फुड मार्केटका करिब ७ जना बिरामीसँग पुगेका थिए । यी तिनै डक्टर लियाङ थिए जस्ले दुनियाँलाई पहिलो पटक यो खतरनाक भाईरसको बारेमा सचेत गराएका थिए । जब लीले आफ्नो अस्पतालमा आएका बिरामीलाई देखे त्यति नै बेला उनलाई थाहा भईसकेको थियो कि यी सातै जना त्यही भाईरसको शिकार भैसकेका रहेछन् भन्ने ।

डक्टर लीले तुरुन्तै यी बिरामी र भाईरसको बारेमा आफ्नै सहकर्मीलाई अर्लट पनि गराए । यो भाईरसको बारेमा रिर्पोट पनि पेश गरे । यति मात्र हैन यसको बारेमा उनले वि च्याट एपमा रहेको आफ्नो मेडिकल कलेजको ग्रुपमा पनि जानकारी दिए र डाक्टर लीले सबै आफ्ना साथीहरु आफन्त र परिवारमा पनि यो भाईरसको बारेमा सचेत गराएका थिए ।

डक्टर लीले जानकारी गराएलगत्तै केही समयपछि उनको स्क्रिन सर्ट भाईरल हुन थाल्यो । त्यसपछि चीन सरकारले डक्टर लीलाई कसैले पनि सोच्न नसक्ने त्यो अवस्थामा पुर्यायो । त्यो समय २०२० को शुरुवातिको समय थियो । पुरै संसार नयाँ साल मनाउनमा व्यस्त थियो । त्यही समयको मध्यतिर यो भाईरस फैलिँदै गयो । यो भाईरस यसरी फैलन शुरु भयो कि यस्को बारेमा कसैले पनि कल्पनासम्म गरेका थिएनन् ।

यो खतरनाक भाईरस ७ जना हुँदै १४ र १४ बाट २८ २८ बाट ५६ हुँदै सयौंको संख्यामा फैलन पुग्यो ।  अचम्मको कुरा त के भने यो भाईरसको विषयमा चीन सरकार जानकार हुँदाहुँदै पनि यस्को रोकथाम गर्नुको साटो यस्लाई लुकाउन तर्फ नै लागिरह्यो । तर चीन सरकारको आखाँ छल्दै भित्रभित्रै उहानको स्टुड अफ वेरोलोजी नेशलन वायोसेफ्टी ल्याबले यस्को जाँच जारी राख्यो ।

यो ल्याबमा पछिल्लो केही वर्षयतादेखि चमेराद्वारा फैलने रोगको विषयमा रिसर्च भईरहेको थियो । यो रिसर्च केवल उहान र उहानको आसपासको क्षेत्रमा चमेराको बाहुल्यता बढी थियो । यो रिसर्च हुनुको  मुख्य कारण चमेरालगायतका अन्य जीवजन्तुको मासु ती प्रजातिका झोलपदार्थ त्यस क्षेत्रका मानिसहरुले आफ्नो आहारको रुपमा दैनिकी लिने गरिरहेका थिए ।

अहिलेसम्मको रिसर्चमा यही पत्ता लगाउने कोसिस जारि थियो कि सायद यो भाईरस यिनै चमेराको मासुबाट फैलिरहेको हो । चाईनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन स्टडिको डाटाले पनि यसैतिर इशारा गरिरहेको थियो । डक्टर ली वेङ्ग लियाङले लगातार आफ्ना डक्टर साथीहरु र जनतालाई केवल सचेत रहन आग्रह गरिरहेका थिए । उनले बिरामीलाई आईशोलेसनमा राखेर आफैले नै उपचार गरिरहेका पनि थिए । यसैबीचमा यो भाईरसको भाईरल हुने खबर चीनबाट पुरै दुनियाँमा फैलन शुरु भईसकेको थियो ।

जब यो खबर पुरै दुनियाँमा फैलन थाल्यो तब बल्ल चीनले मान्न बाध्य भयो कि उस्को मुलुकलाई कोरोना नामको महामारीले जकड्न थालेको रहेछ भन्ने । त्यसै क्रममा चीनले ३४ वर्षीय डक्टर लीद्वारा भाईरल भईसकेको कोरोना भाईरसबाट सचेत रहन भनिएको म्यासेजको आधारमा उनलाई सरकारको तर्फबाट स्पष्टिकरणको नोटिस पठाएर जवाफ मागियो । तर डक्टर लीको तनाव आफ्नै सरकारलाई जवाफ दिएर मात्र सकिएन । यस लगत्तै उनीमाथि जनतामा भ्रम श्रृजना गरेको आरोप लागायो चीन सरकारले ।

आफूमाथि आरोप लागेपछि डक्टर लीले तुरुन्तै लिखित रुपमा माफी पनि मागे । यसैबीचमा उहान र आसपासका क्षेत्रलगायत पुरै चीनलाई यो खतरनाक भाईरसले आफ्नो चपेटामा पारिसकेको थियो । यसबाट भईरहेको मानिसको मृत्युको संख्यामा पनि अपत्यारिलो रुपले बृद्धि भईरहेको थियो । सोही समयमा कोरोनाको बारेमा शुरुमै सबैलाई जानकारी गराउने डाक्टर लीको मृत्यु भयो भन्ने खबर अचानक बाहिरियो ।

चीनको भनाईमा १२ जनवरीदेखि डक्टर ली अस्पतालमा भर्ना थिए र ३० जनवरीमा मात्रै पत्ता लाग्यो कि उनी कोरोना भाईरसद्वारा ग्रस्त भएका रहेछन् । चीनले भन्यो कि उनलाई बचाउनका लागि निकै नै कोशिश गरियो तर सकेनौं । उहान सेन्ट्रल अस्पतालले आफ्नो रिपोर्टमा डक्टर लीको मृत्यु ७ जनवरीको राति २ बजेर ५८ मिनेटमा भएको थियो । तर उनको मृत्युको खबरलाई सरकारविरोधि गुटले चीनले उनलाई भाईरसको बारेमा सबैलाई सचेत गराएकोमा सजायस्वरुप उनलाई मारेको हुन सक्ने आशंका व्यक्त गरिरहेका छन् ।

डक्टर लीको मृत्यु कोरोना कै कारण भएको हो  या चीनले लीको मृत्यु गराएको हो यो खबर अहिले पनि एउटा प्रश्नमै सिमित रहेको छ । कोरोना चमेराबाट फैलिएको हो कि चीनको ल्याबबाट भन्ने अर्को प्रश्न  आईरहेका बेला चीनका वैज्ञानिक र डक्टरहरुले भने कोरोना चमेराबाट नभई चीनको ल्याबबाट फैलिएको दाबी गरेका छन् । आखिर चीनले किन लुकाई रहेको छ त कोरोना उत्पत्तिको रहस्यलाई ?

चीनबाट जन्मिएको कोरोनाले पुरै विश्वलाई नै निल्न लागिसकेको बेलामा पनि चीनले यस्को वास्तविकतालाई लुकाएर राम्रो गरिरहेको छ या यो विषयमा सबैको ध्यान केन्द्रित हुन नसकेको कारण पत्ता लगाउन गाह्रो भएको हो । जतिसुकै लुकाए पनि एकदिन सत्यको पर्दाफास हुने नै छ ।

कोही मानिसहरु त्यसै ल्याबलाई आधार मान्दै हल्लाकै भरमा तिनै मानिसहरुले नै यो भाईरस बनाएका हुन् जो अमेरिका तथा क्यानडाका रिसर्चरहरु हुन् भन्ने कुरा पनि हल्ला गरिरहेका छन् तर यस्तो कुरा मान्छेले बनाउन सक्ने भए यति धेरै  जनाको ज्यान जाने थिएन, मान्छे चन्द्रमा नै पुगे पनि यसको उपचार तथा औषधी पत्ता लगाउन नसक्दा यो आँखाले पनि नदेखिने भाईरसले संसारलाई तहसनहस पारी अहिले विकराल स्थिति लिईसकेको छ । औषधि त पत्ता लगाउन नसक्ने मानिसले यस्तो रोगको आविष्कार गर्यो होला भन्न चाहिँ सकिँदैन ।यदि एन्टिभाईरस पनि बनाएर सफल भयो भने पत्याउन पनि सकिन्छ ।

कोरोनाबाट कसरी बँच्ने ? अर्थात् यसबाट विश्वले सिक्नु पर्ने पाठ तथा सचेतना के हो ? 

अहिले मृत्यु तथा यो भाईरसको भयले सामानको संग्रहमा मानिसहरु लागेका छन्, बजारमा उपभोग्य बस्तुको चरम अभाव हुन थालेको छ । कोरोना भाइसरका कारण केही धनाढ्यहरुले खर्बौँ खर्ब गुमाएको खबर पनि छ । चीनको मात्र सात सय अरब व्यापार घाटा हुने अनुमान गरिएको छ । विश्वको व्यापारको घाटाको लेखाजोखा गर्न पनि धरै समय खर्चिनुपर्ने स्थिति सिर्जना भएको छ । अमेरिका र क्यानडाले आर्थिक मन्दीको अनुमान गर्दै बैकको व्याजदर घटाएका छन् । विश्व एक घर भएकाले र अर्थतन्त्रको संजाल एकआपसमा जेलिएको र एउटा देशमा व्यापारिक घाटाको ओरालो  लाग्दा अर्को देशमा प्रभाव पर्नु स्वाभाविकै देखिएको छ । व्यापार व्यवसाय निकै ओरालो लागेको छ । शेयर मार्केटमा दिनानुदिन भासिने क्रम जारी छ । हवाई यात्रा स्वात्तै घटेको छ । तेलको मूल्य पनि घटेको छ ।
कतै मृत्यु मडारिएर फैलिएको छ, कतै बिरामी, कतै संत्रास, कतै डर, कतै नोक्सान, कतै संकटकाल, कतै दुःख, कतै कालाबजारी, कतै विद्यालय तथा कलेज बन्द, यस्तै यस्तै समाचार पढ्न र सुन्न हेर्न बाध्य हुनुपरेको छ । अझै भ्याक्सिन या औषधीको अत्तोपत्तो नभइसकेकाले यस्तो संत्रास अझै केही समय रहने र लाखौँ मानिस कोरोना भाइरसको शिकार हुनुपर्ने आंकलन गरिंदैछ ।
यस्तो भयावह परिस्थिति या संकट पहिलोपटक आएको भने कदापि होइन । चार वेद, उपवेद, आयुर्वेद, उपनिषद्, १८ महापुराण, उपपुराण तथा आख्यान ग्रन्थहरुमा रोग तथा उपचारका विषयमा व्यापक चर्चा गरिएको पाइन्छ । भगवान् गौतम बुद्धले आर्जन गरेको ज्ञानको हेय: हेयहेतु, हानो हानोपाय’ सूत्रको मर्म पनि यो संसारमा रोग छ, रोगको कारण छ, रोगको उपचार हुन्छ र उपचार सम्भव छ भन्ने नै हो । यसको मतलब यस संसारमा जीवनयापनका लागि जसरी प्राणवायु उपलब्ध छ त्यसरी नै सयौं हजारौं संख्यामा प्रतिकूल तत्वहरु पनि घुमिरहेका छन् । त्यस्ता जीवनका प्रतिकूत तत्वसंग संघर्षका लागि पनि हाम्रै शरीरका प्रतिरक्षात्मक तत्वहरुले काम गरिरहेका हुन्छन् । अनि शरीरको प्रतिरक्षात्मक तत्वलाई सहयोग गर्न वैद्य या वैज्ञानिकहरुले अनेक प्रकारका औषधी बनाएका हुन्छन् । औषधी तयार नभए हाम्रो शरीर तयार हुन्छ र रोगसँग लड्ने सामथ्र्य तयार हुँदैजान्छ, जसलाई आत्मबल भनिन्छ ।
वेदका अनुसार सबैलाई एक सय वीस वर्षको आयु प्राप्त छ । परन्तु व्यक्तिको आफ्नो कर्मअनुसार आयुमा तलमाथि पर्न गएको हुन्छ । जो सदाचार पालन गर्दैनन्, आलस्यले कर्मको त्याग गर्छन्, तमोगुणी वस्तुहरुको भोजन, जस्तोपायो त्यस्तै खाने, परस्त्रीगमन आदि कलियुगका अनेकन त्याज्य कर्मको पछि लाग्छन्, त्यस्तो अवस्थामा अनेक रोगको आक्रमण हुन्छ र आयु क्षण हुन्छ । यसैले
संस्कृतमा भनिएको छ –
मानुषः शतजीवीति पुरा वेदेन भाषितम् ।
विकर्मणः प्रभावेण शीघ्रं चापि विनश्यति ।।
वेदानभ्यसनेनैव कुलाचारं न सेवते ।
आलस्यात्कर्मणां त्यागो निषिद्धेऽप्यादर सदा ।।
यत्र तत्र गृहेऽश्नाति परक्षेत्ररतस्तथा ।
एतैरन्यैर्महादोषैर्जायते चायुषः क्षयः ।।
(गरुडपुराण)
यसरी हेर्दा अनेक युगमा भोजन, कर्म, परिवेश र वातावरणले अनेक खाले भाइरस उत्पत्ति हुन्छन् र जीवन यापनका लागि चुनौती खडा हुन्छन् भन्ने प्रष्ट देखिन्छ ।
आधुनिक घटनाक्रमलाई नियाल्दा पनि सन् १९१८ मा स्पानिस फ्लुबाट विश्वभरिमा करिब पाँच करोड मानिसको ज्यान गएको थियो । त्यतिखेर अमेरिकामा मात्र ६ लाख ७५ हजारको ज्यान लिएको थियो जुन संख्या प्रथम र दोस्रो विश्वयुद्धमा मारिएका व्यक्तिभन्दा पनि धेरै हो । त्यतिखेर जवान र स्वस्थ व्यक्तिलाई समेत मृत्युको चपेटामा पारेको थियो । सन् १९५७ मा एसियन फ्लु लागेर १० लाखदेखि २० लाख मानिसको ज्यान गएको बताइन्छ । सन् १९६८ देखि १९७० सम्म चलेको इन्फ्लुन्जा प्रकोपले ५ करोड मानिसको ज्यान गएको बताइन्छ । सन् २००२ नोभेम्बर देखि सन् २००३ जुलाई सम्म चलेको सार्स फ्लु आतंकले १७ देशका ७ सय ७४ जनाको जीवन समाप्त गरिदिएको थियो । त्यसैगरी अप्रिल २००९ देखि २०१० अगस्ट सम्म स्वाइन फ्लूको चपेटामा परी विश्वभरमा ५ लाख ७५ हजार मानिसको ज्यान गएको थियो । डेगु, बर्ड फ्लु, कमन फ्लु, निमोनिया, आदिआदि अनेकौं स्वास्थ्य प्रकोप मानव जीवनमा समयसमयमा आइरहेको देखिन्छ ।
यसरी विगतका घटना परिघटना नियाल्दा नोबल कोरोना भाइरस कोभिड १९ भयानक नभए पनि सावधान हुनुपर्ने प्रकोप हो । रोग प्रतिरक्षात्मक क्षमता कम भएमा यस्ता भाइरसले मानिसलाई मृत्युको मुखसम्म धकेल्ने गर्दछ । अतः रोग प्रतिरक्षात्मक शक्ति बढाउन कम्मर कसेर लाग्नुपर्ने देखिन्छ । यसका लागि घरमा पकाएको हरियो सागपात, फलफूल, दूध, गेडागुडी आदि नियमित खाने, भिटामिन सी युक्त भोजन गर्ने, नियमित योग तथा व्यायाम गर्ने, प्राणायाम गर्ने, चुरोट, सुर्ती तथा अल्कोहलको सेवन नगर्ने, मह, लसुन, बेसार, अदुवा, गुर्जो, कुरिलो, जिरा, दालचिनी आदि नियमित सेवन गर्ने बानीले पनि स्वस्थ रहन सहयोग पुग्ने गरेको अनुभव सनातन रुपमा चलिआएको पाइन्छ ।
कोरोना भाइरस मुलतः हात हुँदै मुख, नाक र आँखाको माध्यमले फोक्सोमा पसी नोक्सान गर्ने भएकाले बारम्बार साबुन पानीले हात धुने, साबुन नभएको ठाउँमा हातमा सेनेटाइजर लगाउने, भीडभाडमा अत्यावस्यक भए मात्र जाने, लगाएका कपडा सुरक्षित ठाउँमा राख्ने, काममा जाँदा लगाएका लुगा खोलेर मात्र भोजन गर्ने, खोक्दा मुख छोपेर खोक्ने, नियमित प्राणायाम गर्ने आदि उपायले प्रकोप फैलिनलाई कम गर्न सकिन्छ ।
स्थुल शरीरको क्षमतालाई शरीरको मानसिक उर्जाले मलजल गरिरहेको हुन्छ । मनबाट शक्ति तयार हुँदै बाहिरी शरीरमा आउने गर्दछ । अतः मन बलियो भएमा शरीरको संयन्त्रले काम गर्दछ । मन नै कमजोर भए शरीरका अवयवहरु पनि शिथिल हुँदै जाँदा रोगले आक्रमण गर्ने सम्भावना बढेर जान्छ । त्यसैले भाइरसको प्रकोप भएको बेला अत्तालिने, त्रसित हुने र डराउने कार्य नगरी उच्च मनाेबलका साथ सावधानी अपनाउनुपर्छ ।
सनातन वैदिक संस्कृतिले हामीलाई जीवन जिउने कला सिकाएको छ । बाहिर काममा जाँदा प्रयोग गरेका कपडा भोजनको समयमा प्रयोग नगर्ने, लुगा फेरेर पकाउने र खाने, भान्छा घरमा सबैलाई जान नदिने, बासी भोजन नगर्ने, खानुभन्दा पहिले आचमन गर्ने र औसानी हाल्ने, घाटमा मलामी गएर आएपछि अनिवार्य नुहाउने र कपडा फेर्ने, क्रियापुत्रीसँग हातमिलाउने र छुने कार्य नगर्ने, भेट हुँदा अँगालो मार्नुको सट्टा नमस्कार गर्ने,  घरमा तुलसी, गँहुत, गाइको दूध तथा गोबरको प्रयोग गर्ने, मौसमअनुसारको भोजन गर्ने, सूर्य नमस्कार आदि विधिले नित्य व्यायाम गर्ने आदि कार्यको सही अध्ययन र मनन गरी व्यवहारमा उतार्न सके समयसमयमा आउने यस्ता संकटबाट सजिलै पार पाउन सकिन्छ ।
अब जागौं सचेत बनौं, स्वस्थ बनौं र सबैलाई स्वस्थ रहन सहयोग गरौं । स्वस्थ शरीरले नै समुन्नत र सुन्दर विश्वको परिकल्पना गर्न सकिन्छ ।
विश्वका हामी सबै मनुष्य छलकपट, द्वेष, रिष, राग, अहङ्कार, मद, मोह, आलस्य जस्ता विकार त्याग गरी तन, मन र धनले एकताबद्ध भएर संकट निवारणका लागि अग्रसर भएमा सफलताको शिखर चुम्न सक्ने शक्ति आर्जन गर्नेछौं । जरुरी छ त केवल दया, करुणा, सद्भाव र एकताको । अनि एक दिन पुनः उठी आर्तनाद घाउहरुमा मल्हम लगाउन सक्ने नै छौं । राष्ट्र्कवि माधव प्रसाद घिमिरेले आफ्नो खण्डकाव्यमा त्यसै भनेका छन्-
कालैलाई पछार्न सक्छ जसले खेलेर कुस्ती तर ।
मान्छेकै अघि हार्नुपर्छ यदि छन् मान्छे भने निष्ठुर ।।

यी सबै कुराहरुलाई मनन गर्दा यो अदृश्यशक्ति(प्रकृति) ले दिएको चेतावनी हो । कोरोना भाईरस जनावरमाथिको अत्याचारविरुद्धको महामारी हो भन्न सकिन्छ, अहिले आधुनिकताको नाममा मानिसले खानै नहुने जनावरहरुको मासु खाने, गर्नै नमिल्ने परीक्षणहरु टेस्ट गर्ने, ५/७ दिनको बासीत्यासी पनि खाने, महिनौँ दिनसम्म पनि फ्रिजमा राखेको खानेकुराहरु खाने, बन्द गरिएका प्याकेटका  खानेकुराहरु खाने, डेट एक्सपायर भईसकेका खानेकुराहरु पनि नहेरी खाने आदि कारणले पनि यस्ता किसिमका महामारीहरु फैलन्छन् । मान्छे जति नै आधुनिकताको खोल ओढेर मैं हुँ भने पनि यस्ता किसिमका महामारी आउँदा भने कसैको पनि केही लाग्दो रहेनछ । यो कुरा अहिलेको यो भाईरस महामारीले पुष्टि गरेको छ ।

यसबाट सकेसम्म बँच्नुपर्छ, अरुलाई पनि बँचाउनु पर्छ, यसका धेरै उपायहरु छन्, अहिलेको यो कोरोना भाईरसको आक्रामक स्थितिबाट कसरी बँच्ने भन्ने सन्दर्भमा केही टिप्सहरुलाई पनि अनुशरण गर्नुहोला, किनकि अहिले हस्पिटल गएर मात्र समस्याको समाधान हुँदैन, ईमरजेन्सी अवस्थाबाहेक हस्पिटल जाने स्थिति छैन, रोगले भन्दा पनि बढी डर र त्रासका कारण मान्छेको ज्यान गईरहेको छ । त्यसकारण यस्ता कुरामा बढी ध्यान दिनुहोला-

१. प्रातस्नान, नित्यकर्म, जप, पूजापाठ, सन्ध्याबन्धन, प्राणायाम, ध्यान, योग, व्यायाम आदि गर्नुहोस् !

२. घरभित्र बसिरहँदा पट्यार लाग्यो भने स्वाध्यायन, भजन-कीर्तन, मुभी, पाठ आदि हेरेर, सुनेर आफ्नो मनलाई एकत्रित हुन दिनुहोस् । चन्चल नगराउनु होस् ।

३. आफ्नो घर परिवारभित्र कसैलाई लक्षणहरु देखिएर शंका लागेमा छि छि र दूरदूर नगरी उसलाई हौसला दिने, छुट्टै कोठामा राखी आरामसहितको सेवा सुबिधा दिनुहोस् । यदि कसैको परिवार नै छैन साथमा भने नजिकको साथीभाईलाई कल गर्नुहोस् ।

३. संभव भएसम्म कामबाट विदा लिनुहोस् । लिन नमिलेमा साबधानीपूर्वक सुरक्षित रहने नियमहरुको पूर्णत: पालना गरी होसियारीपूर्वक गर्नुहोस् ।

४. खाना खाँदा सकेसम्म शुद्ध र ताज़ा खानेकुराहरु बनाई खानुहोस्, बासी र माछामासुहरु सकेसम्म नखानुहोस् ।

५. आफ्ना नजिकका आफन्त साथीभाईसँग फोन, ईमेल, ईन्टरनेटको माध्यमबाट सम्पर्कमै  रहनुहोस् ताकि कुनै समस्या पर्दा सहयोग होस् । कोरोनासँग सम्बन्धित समाचार सकेसम्म हेर्ने र सुन्ने बानी कम गर्नुहोस् ।

६. भाईरसको शंका लागेर ईमरजेन्सी जानुपर्ने स्थिति आएमा आफ्नो परिवार र नजिकको साथीभाई, ईस्टमित्रलाई सम्पर्क गरेर मात्र जानुहोस् ।

७. सपिंगको लागि बजार जानु पर्दा होसियारीपूर्वक सकेसम्म कसैसँग नछोईई ६ फिटको दूरीलाई क़ायम राखी व्यवहार गर्नुहोस् । आवश्यकताअनुसार माक्स र ग्लोबको प्रयोग गर्नुहोला ।

८. यी मध्ये वा अरु कुनै पनि समस्या आईलाग्यो, सहयोगको खाँचो पर्यो भने वा कहाँ फोन गर्ने वा कसलाई सम्पर्क गर्ने भन्ने कुरा पत्ता लगाउन सक्नु भएन भने कृपया यो नम्बर ७०३-८७०-६४८० मा सम्पर्क गर्नुहोला !

यी बाहेक  धेरै विधिहरु हुन सक्छन् तर ती मध्येको यो एऊटा विधि हो र अन्तिम विधि पनि हो अध्यात्म । मान्छेको जीवनमा यो भन्दा अन्तिम विकल्प पनि हुँदैन । जप, तप, प्राणायाम, योग, स्वाध्ययन, कीर्तन, श्रवण आदि अध्यात्मवादका प्रक्रियाहरु हुन् ।  यी प्रक्रिया मन्त्रोचारणद्वारा संसारभर भईराखेको विपत्ति कम होस् भन्नको लागि स्वयं भगवानसँग प्रार्थना गरिने बिधिहरु  हुन् । विश्व अध्यात्म केन्द्रद्वारा सुरुआत गरिएको यस आध्यात्मिक अनुष्ठानमा अहिले सबैले साथ दिई रहनु भएको छ । यसैगरी साथ दिई रहनुहोस्, बेलुकाको समयमा दीप प्रज्वलित गरी कीर्तन पनि गर्नुहुन अनुरोध ।

मृत्यु अन्तिम सत्य भए पनि यो पुनर्जन्मको सुरुआत हो किनकि मानिसले उसले गरेको कर्मको आधारमा फलत: पुनर्जन्म पाउँछ तर मानिस नै भएर जन्मन्छ भन्ने कुराको ग्यारेन्टी चाहिँ हुँदैन तर जन्म अवश्य हुन्छ । भगवानले यो सृष्टि केबल मानिसको लागि मात्र बनाएको होईन । यहाँ ३३ कोटी देवता, गन्धर्व, यक्ष, नाग, असंख्य राक्षसादि दानब गणहरु, जनावरहरु, चराचुरुंगीहरु, बनस्पतिहरु, रुखबिरुवाहरु, खोला नाला समुद्रभित्र पाईने माछा आदि जलचरहरु आदि सबैको उत्तिकै महत्व र आवश्यकता छ । प्रकृतिबाटै प्राप्त हुने बिषजन्य पदार्थलाई शमन गर्नको लागि नाग(सर्प)को आवश्यकता पर्दछ । यहाँ हरेक प्राणीको आ-आफ्नो कर्तव्य र दायित्व हुन्छ । त्यसकै लागि सबै जीवजन्तु जन्म लिएर आएका हुन्छन् ।

यति मात्र गर्न सक्नु भयो भने यसले तपाईलाई लग्दैन । भगवानकै लीला हो यो, भगवानभन्दा ठूलो केही पनि हुँदैन, यसकारण भगवानको प्रार्थना मात्रै गरे पनि मनको भय धेरै कम हुन्छ ।

कोरोना भाइरसबाट आफू पनि बँचौँ र अरुलाई पनि बचाऔँ ! जय होस् सबैको ! भगवानले  हामी सबैको कल्याण गर्नेछन् । हरि शरणम् !

यसै कारणले गीतामा भनिएको छ – सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।               अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः १८/६६

भावार्थ: सम्पूर्ण धर्म अर्थात् अर्थ, काम सब त्यागेर केवल एक परमात्मा सर्वशक्तिमान, सर्वाधार परमेश्वर को शरणमा आऊ, मैले नै तिम्रो सम्पूर्ण पापबाट मुक्त गराई मोक्ष दिलाउनेछु । शोक नगर !

 

नयाँ वर्ष २०७७ को शुभकामनासँगै तपाईहरु सबै जनाको लागि सुश्वास्थको कामना र प्रार्थना  गर्दछु । धन्यवाद ।

In details https://hinduculturecenter.com/archives/3811

नोट:  हिन्दु कल्चरल सेन्टरको पूजा सामग्री सेवा, ज्योतिषीय सेवा र पुरोहित सेवा अनलाईनमा उपलब्ध –

कोरोना भाईरसको महामारीबाट बँच्न र बँचाउनका लागि आध्यात्मिक ज्ञान अनुष्ठानमा भाग लिई पूजा, पाठ, जप, ध्यान आदि गरी सुरक्षित रहनुहुन सम्पूर्णमा विशेष आग्रह गर्दछौँ । अहिले यो कोभिड १९को संक्रमणका कारण न्वारान( नामकरण) बाहेक ज्योतिषीयसेवा लगायत गुरु, पुरोहित तथा सम्पूर्ण पूजाविधि, जप तथा पाठहरु र पूजा सामग्री डेलिभरी तथा अन्य सेवा सुविधा फोन तथा अनलाईनबाट मात्र हुने भएकोले यो नम्बर 703-870-6480 मा वा ईमेलमा INFO@HINDUCULTURECENTER.COM वा वेबसाईट WWW.HINDUCULTURECENTER.COM मा सम्पर्क गरी सेवा लिनुहुन  हार्दिक अनुरोध गर्दछौँ ।
धन्यवाद
हिन्दु कल्चरल सेन्टर, अमेरिका

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.