ऋषि पन्चमीको ब्रत र यसले दिने गोप्य अर्थ -ज्योतिष शास्त्री राजेन्द्र खनाल

ऋषि पन्चमीको ब्रत र यसले दिने गोप्य अर्थ

Sep 11, 2021

नेपाली महिलाहरूको महान चाड हरितालिका तीज पछि आज (शनिवार ) ऋषिपञ्चमीको पूजा गरी सकिँदै छ । हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू (गलत कृयाकलाप) छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ । रजश्वला नै सृष्टिको सुरुआत मानिने  भएकाले हाम्रो परम्परामा यस अवधिमा भए/गरेका गल्तिहरुबाट मुक्ति पाउनको लागि यो ब्रत महत्वपूर्ण मानिन्छ । रजश्वला हुनु नै नारीमा नारीत्वपन झल्कनु हो, यसलाई नराम्रो भन्न खोजिएको पटक्कै होईन तर आजकलका अर्धज्ञानीहरु यसलाई हुन्दुधर्म भित्रको अन्धविश्वास भनेर टारिदिन खोज्छन् ।

तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । यस दिन नेपालका टिस्टुङ, टेकु, कोटेश्वरलगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने गर्दछ ।

ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा गई दतिवनले दाँत माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दान दक्षिणा आदि दिने प्रचलन छ । अझ गाउँघरतिरको परम्परा त तीजको दिन महिलाले आफ्नै तरिकाले मनदेखि ब्रत बसेर पूजा गरी, चतुर्थीको दिन पनि आफ्नै तरिकाले ब्रत पूजा गरी यो अन्तिम दिन अर्थात् ऋषिपन्चमीको दिन ब्राह्मण बोलाई वा समूहमा जम्मा भई विधिपूर्वक अरुन्धतीसहित सप्तऋषिहरुको पूजा गरी गुरु पुरोहितहरुद्वारा तीजको कथा, चौथी दोषको कथा (भाद्र शुक्ल चतुर्थीको चन्द्रमा हेर्नु हुँदैन हेरेमा चोरेको आरोप वा गर्दै नगरेको पापको आरोप आदि लाग्न सक्छ) र ऋषिपन्चमीको कथा श्रवण गर्ने चलन छ । त्यसै कारणले पनि यो अन्तिम दिन पन्चमीको पूजा गरी तीजलाई विदा गर्ने चलन रहिआएको छ । तर अहिले त कस्तो भयो भने कसैलाई देखाउनका लागि जस्तै गरी ब्रत बस्ने, मन्दिर गएँ भनेर फोटो खिच्नु पर्ने, तिथि न मितिसँग ब्रत बस्ने देखावटी चलन बढ्दै गएको छ, यसले न त हाम्रो सँस्कार जोगिन्छ न त गर्नेले फल नै पाउँदछ । 

ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेको छ । ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता रही आएको पाइन्छ ।

हिन्दु धर्म अति लचकदार भएकै कारण यस्ता ब्रत उपवास बसी ग़लत( पाप) कामहरुको फल नलागोस् भन्ने कामनास्वरुप यी ब्रत स्वरुप प्रायश्चित्त गरिन्छ, यस दोषको भागी हुनै नपरोस्, मुक्ति मिलोस् भन्नका लागि अलि ठूलो ब्रत तथा यज्ञका रुपमा  सलक्षबर्ति (सबा लाखबत्ति बाल्ने) प्रचलन पनि  हाम्रो समाजमा व्याप्त छ ।

अहिले हाम्रो समाजमा आफूलाई आफैले विद्वान र महिला समाज सेवी ठान्नेहरुले ऋषिपन्चमी जस्तो अन्धविश्वास भित्र्याउने खालको पर्व महिलाकै विरुद्धमा बनाईएको ब्रत हो भन्दै यस्ता प्रश्नहरु तेर्स्याईरहेका छन् –  ‘रजस्वला हुनु भनेको पाप हो, त्यही पाप पखाल्न सहज हुनेगरी बनाएको महिलामैत्री पर्व ऋषिपञ्चमी हो’ भन्ने तर्क हिन्दु धर्मशास्त्र र यसका धर्मभिरू पण्डितहरूको छ । उसोभए रजस्वला पछिको प्रजनन परिपक्वतालाई के भन्ने ? अहिलेसम्मको मानव सभ्यतालाई के मान्ने ? जो रजस्वलापछि मात्र सम्भव छ । किन रजस्वलापछिको सृष्टि पाप भएन ? सन्तानप्राप्ति सुख तर रजस्वला किन पाप ? रजस्वला जस्तो स्वभाविक चक्रको समयमा किन घर भित्र र बाहिर मानसिक तनाव ? दतिवनले दाँतका किरा मार्ने हो भने किन यसको प्रयोग ऋषिपञ्चमी अघि र त्यसपछि हुन नसकेको ? किन पुरुषहरूले यसको प्रयोग नगरेको ?  अनि कसरी ऋषिपञ्चमीको रीतलाई वैज्ञानिक मान्न सकिन्छ ?

यस्ता किसिमका प्रश्न गर्ने महिलाहरुले खोई यसको गोप्य अर्थ बुझेको? ऋषि पन्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ, अझ भन्ने हो भने वैदिक सनातन कालको इतिहास त लाखौँ वर्ष पुरानो छ । न त्यो बेला  अहिलेको जस्तो विश्वविद्यालयहरु थिए न त अहिलेको जस्तो विश्व व्यापार नै ।  केबल थियो त ऋषिमुनिहरुको सत्संगत र धर्मशास्र आदि पुराणहरुमा लेखिएका ज्ञानहरुको व्याख्या, जुन अहिलेको वैज्ञानिक भन्दा पनि अझ गहकिला र व्यवहारिक हुन्थे र उनीहरुले कहिले पनि ग़लत कुरा सिकाएनन् र जे सिकाए सत्य कुरा नै सिकाएर गए । हाम्रा पुराण शास्त्रहरुमा ८८ हजार ऋषिमुनिहरुले ब्रत पारायण गरेको, कथा श्रवण गरी विविध विषयमा ज्ञान हासिल गरी जीवनमा भोगेका र भोग्न सकिने घटनाहरुलाई आधार मानी यसो गर्नु हुन्न है, यसो गर्दा पाप हुन्छ भनेर नलेखिदिएको भए आज संसारमा मान्छेको अस्तित्व मान्छेले नै सहज रुपमा स्वीकार गर्न नसक्ने जटिल अवस्था आउन सक्थ्यो ।

हाम्रा धर्मशास्रले मानिसलाई जहिले पनि गोप्य ज्ञान  बताउने काम गर्छन् र गर्न जानेन भने नाशवान पनि बनाउँछन् । यो रजश्वलाको शुद्धिका लागि गरिने ऋषिपन्चमी ब्रतले अति वैज्ञानिक र गोप्य अर्थ राखेको हुन्छ, यदि रजश्वला भएको बेला पाँच दिन भित्र तपाइ बच्चाको लागि गर्भधारण गर्नु भयो भने त्यो जीवनभर नै तपाई आफ्नो पापको प्रायश्चित्त गर्न थाल्नुहुन्छ । तर ती प्रायश्चित्तले पनि तँपाईले गरेको पापलाई पखाल्न सक्दैन ।किनकि तपाईको मन शान्तिले बाँच्न पाउँदैन, तपाईले दोष देखाउन थाल्नुहुन्छ आफ्नो सन्तानलाई तर दोष सन्तानको थिएन त्यो दोष तपाईको थियो । यस्तो कुरा बुझ्नलाई अलि अलि आध्यात्मिक सामान्य ज्ञान हुनु पर्दछ अनि बल्ल यसको अर्थ बुझ्न सकिन्छ ।  सबैजना सचेत होऊन् भनेर यसलाई धर्मसँग गाँसेर भनिएको हो । त्यतिबेला नियम कानुन भनेकै धर्म थियो । अहिलेको विज्ञानले पनि यो कुरा मान्न तयार भएको छ । रजश्वला भएको पाँचदिन सम्म गर्भ रहन नहुने र  १८ दिनसम्म गर्भ रहन्छ भन्ने कुरा हाम्रा बाबुबाजेले अहिलेको विज्ञानले भनेर थाहा पाएका होईनन्,  पुराण सुनेर / पढेर जानेका हुन् । यसकारण यस्ता किसिमका पूजा अर्चना र ब्रतहरुका विषयमा जथाभावी नलेखुन्, नबौलुन् भनेर नै महिला तथा दलित समुदायमा वेद पढाईनु हुँदैन, अपर्याप्त ज्ञानले अपव्याख्या हुनसक्छ भनेर हो । अपव्याख्या गर्नु भनेको समाजलाई अधोदिशातर्फ धकेल्नु हो । सायद यी सबै प्रश्नको उत्तर आईसके जस्तो लाग्छ, कृपया कुनै पनि कुरा हाम्रा शास्त्रका विषयमा लेख्नु या प्रश्न गर्नुभन्दा अगाडि पढ़्ने र बुझ्ने गर्नुहोस् जसले गर्दा तपाईमा निखार र सुधार ल्याओस् ।

सन्तान तथा गर्भाधान सँस्कार सम्बन्धी थप जान्न चाहेमा यहाँ click गर्नुहोस् ।यो गर्भाधान सँस्कार सम्बन्धी विस्तृत ज्ञान यो आलेखभित्र छ । जुन कुरा जीवनको सुरुआतको केन्द्रबिन्दु हो ।

सम्पूर्ण हिन्दुधर्माबलम्बी दिदीबहिनीहरुमा तीज तथा ऋषिपन्चमीको शुभकामना ! धन्यवाद । 

जानकारी :अमेरिकाको भर्जिनियालगायत अन्य स्टेटहरुमा  यही सेप्टेम्बर ११, तारिख २०२१ शनिबार ऋषिपन्चमी ब्रत परेकोले ब्रत तथा पूजा गर्न ईच्छुक महिला दिदी बहिनीहरुले प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट  पूजा गर्नको लागि प्रिस्ट/ पुरोहित तथा पूजा सामग्रीको लागि यो नम्बरमा   फ़ोन : 703-870-6480 गर्न सक्नु हुनेछ ।
Or email : khanalhuru@gmail.com

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.