गर्भाधान सँस्कार – सन्तान कस्तो जन्माउने ? किन जन्माउने ?

June 1, 2019 
गर्भाधान संस्कारको विशेषता र महत्व- ज्योतिष पण्डित राजेन्द्र खनाल 
सन्तान कस्तो जन्माउने छोरा कि छोरी ? 
How to born son ?
How to born Daughter ? 
 जीवनको एक महत्वपूर्ण कामका रुपमा सन्तान प्राप्तिलाई लिईन्छ । धर्म, अर्थ, काम र मोक्ष मध्ये काम अर्थात् कामना /ईच्छा पनि यसैलाई भनिन्छ । अहिले धेरै मानिसहरुको समस्या गरिवी मुलुक होस् अथवा धनी मुलुकमा होस् सन्तानसम्बन्धी रहेको पाईएको छ । सामान्य ज्ञान हुँदाहुँदै पनि यससम्बन्धी कार्यमा राम्रो विचार र विवेक पुर्याउन नसक्दा सम्पन्नशाली भएरै पनि अपांग तथा असाधारण बच्चालाई जन्म दिएर बाबुआमाले पीड़ा भोगिरहेको यथार्थ हाम्रो समाजमा  छर्लंग छ ।
उदाहरणका लागि कुनै पनि किसानले बिउ रोप्दा बिउ राम्रो भएन भने उसको बाली नउम्रन पनि सक्छ र उम्रिएर फल नलाग्न पनि सक्छ । एउटा सामान्य किसानले त आफ्नो बाली लगाउँदा मौसमअनुसार बिउ रोप्दा  विचार र विवेक पुर्याउनु पर्छ भने झन् हामी त मानिसको जन्म दिँदा विचार पुर्याईएन भने के के हुन्छ होला ? त्यसकारण जथाभावी र जबरजस्ती गरिएको यौन सम्बन्धबाट बच्चा जन्माईयो भने त्यो भन्दा ठूलो पीड़ा केही पनि हुँदैन ।आधुनिक समाजमा कस्तो, कहिले र कसरी सन्तान जन्माउने भन्ने आम चिन्ता र चासोको विषय हो । छोरा वा छोरीको लालसामा धेरै प्रयोग र गैरकानुनी काम पनि हुने गरेको छ । सम्भोग प्रक्रियालाई आनन्ददायक र फलदायक तुल्याउन विभिन्न अध्ययन समेत भएका छन् । कुन समय र कस्तो प्रक्रियामा सम्भोग कार्य उचित हुन्छ भनेर अध्ययनका निश्कर्ष पनि सार्वजनिक गरिएको छ । यो भन्दा पनि गहिरो अध्ययन, चिन्तन र अनुसन्धान गरेर सम्भोग प्रक्रिया र सन्तान पैदा गर्ने विधिवारे शास्त्रमा धेरै पहिले नै उल्लेख गरिएको छ । कुन अवस्थामा कसरी सम्भोग गर्दा छोरा र छोरी जन्मन्छन् भन्ने कुरा वेद तथा पुराणमा निकै राम्रोसँग उल्लेख गरिएको छ । सन्तान जन्माउने बारेमा भन्नु भन्दा अघि विवाहको पनि कुरा आउँछ त्यसकारण विवाह गर्नु पर्ने उमेर कुन हो त ?
१. विवाह कहिले र कस्तोसँग गर्ने ?
बीस वा चौबीस वर्ष ब्रह्मचर्यमा रही सैद्धान्तिक स्नातक, प्रायोगिक स्नातक र सैद्धान्तिक सम्पूर्ण पक्षलाई प्रयोगमा ल्याउन सक्ने स्नातकमध्ये कुनै एक किसिमको स्नातक भएपछि मात्र समावर्तन संस्कार (सहस्रधारा स्नान) र दीक्षान्त समारोह गरेका युवा र युवतीहरू गृहस्थाश्रममा प्रवेश गर्न पाउने सिद्धान्तको वर्णन वाजसनेयी संहिताको पारस्कर गृह्यसूत्र (का.३) मा छ । सूत्रकार र स्मृतिकारहरूका साथै आयुर्वेदविज्ञ सुश्रुतले समेत चौबीस वर्षसम्म ब्रह्मचर्यमै रहेर पढ्नुपर्ने धारणा प्रकट गरेको पाइन्छ ।पण्डित दत्तरामले चाहिं २० वर्षसम्म ब्रह्मचर्यमा रही स्नातक भएका युवाले विवाह गरेर गृहस्थाश्रममा प्रवेश गरी यौनानन्द प्राप्त गर्न सक्ने बताएका छन् । सुश्रुत र दत्तराम दुवैले कन्याका निमित्त १६ वर्षसम्म ब्रह्मचर्यमै रहेर प्रायोगिक स्नातक हुनुपर्ने आशय व्यक्त गरेका छन् । ऋग्वेदको आश्वलायन श्रौतसूत्रमा कन्याका निमित्त पनि उक्त तीनखाले स्नातकमध्ये कुनै एक किसिमको स्नातक भएपछि स्नान (ज्ञानसागर–स्नान) संस्कार गर्नु अनिवार्य बताइएको छ । गुरुसँग विद्याध्ययनकालमा सिकेका सिद्धान्तहरूलाई व्यवहारमा लागु गर्नसक्ने प्रायोगिक स्नातक नभई दीक्षान्त समारोह नहुने र सो नभई गृहस्थाश्रम प्रवेश गर्न नपाउने नियम सूत्रकालमा रहेको देखिन्छ । कन्याहरूले ब्रह्मचर्यधर्म पालना गरेर स्नातक भएमात्र भनेजस्तो (रोजेको र खोजेको) युवा जीवनसाथी पाउने आशय अथर्ववेदमा प्रकट गरिएको छ ।ऋग्वेद युगमा त आवश्यक सैद्धान्तिक ज्ञानलाई प्रयोग गर्न जान्ने १६ वर्षे युवतीले २०–२५ वर्षे युवासँग पनि विवाह गर्दथे । विशेष गरेर मन्त्रद्रष्टाले मन्त्रद्रष्टीसँग नै विवाह गर्दथे । सैद्धान्तिक ज्ञानमात्र गरेको, तर व्यवहारमा काँचोलाई छोरी नदिने चलन पनि थियो । ऋग्वेदकी मन्त्रद्रष्ट्री सूर्यपुत्री सूर्याको विवाह चन्द्रमाका साथ गराउँदा दुवैको मञ्जुरी र अभिभावकहरूको स्वीकृतिमा दुवै कुलमा र केटाकेटीमा समेत कुनै सरुवा रोग भए नभएको कुरा थाहा पाउनका लागि धर्म–विज्ञान र चिकित्सा विज्ञानका धुरन्धर विद्वान्, देवताहरूका वैद्य अश्विनीकुमारहरूलाई जिम्मा दिइएको थियो । अश्विनीकुमारहरूको सिफारिसमा सूर्या स्वयंले साक्षात्कार गरेका ऋग्वेदका धर्म–विज्ञान, आयुर्विज्ञान, कामकला–विज्ञान र समाज–विज्ञानअनुकूलका मन्त्रहरूद्वारा सूर्य र चन्द्रमाको विवाह–संस्कार सम्पन्न भएको वर्णन पाइन्छ । त्यस युगमा यिनै मन्त्रहरूद्वारा वैदिक युगका ऋषिहरूले आफू समानका नारीसँग प्राणीग्रहण संस्कार सम्पन्न गर्थे । उत्तरवर्ती युगका गौरीशङ्कर, सीताराम र राधाकृष्ण आदि देवताहरूका विवाहदेखि आजसम्मका सम्पूर्ण हिन्दु विवाहहरू यिनै मन्त्रहरूबाट नै सम्पन्न गरिँदै आएका छन् । यी मन्त्रमा कामकलालाई प्रशस्त महत्व दिइएको छ र जीवनका चार पुरुषार्थमा यसलाई गणना गरी मानवीय जीवनको सफलताको एउटा आधार कामशक्ति पनि हो भन्ने कुरालाई स्वीकार गरिएको छ । धर्म, आयु र काम, यी तीन किसिमको वातावरण अनुकूल गराई गृहस्थाश्रमलाई सुख–शान्तिमय गराउन उक्त वैदिक मन्त्रहरूद्वारा राष्ट्रभृद्, जया, गुप्ताहुति र लाजाहोम आदि गर्ने गरिन्छ ।गृहस्थाश्रमलाई एक आपसमा मिलेर चलाउने प्रतिज्ञामा आधारित सप्तपदी गरी चतुर्थी होम गरेपछि मात्र दुई धाराको जल एकै ठाउँमा मिसाएर एकै बनाएझै वेदमन्त्रद्वारा वर र वधूका पञ्च ज्ञानेन्द्रिय, पञ्च कर्मेन्द्रिय एवं आत्मा एकै गराउने प्रतिज्ञा गरिन्छ । तब मात्र दुई जीवात्मा एक हुन पुग्दछन् र  विवाह सुसम्पन्न हुन्छ । यसरी सनातन विवाह पद्धति यौन समागममा मात्र आधारित छैन, यौन र भावना दुवैको ऐक्यबद्धता र सम्मिलनमा आधारित छ । यो स्त्रित्व र पुरुषत्व एक भई अर्धनारीश्वर हुने विज्ञान हो । यसबाट दम्पतिको सर्वत्र समान हक अधिकार सुरक्षित हुन पुग्ने विश्वास मनीषिहरूले प्रकट गरेका छन् । यसरी विवाह बन्धनमा बाँधिएकी पतिव्रता स्त्रीले आफ्नो पतिलाई वश गर्न सक्छे भन्ने धारणा धर्मशास्त्रहरूमा प्रकटित छ । यसैलाई आधार मानेर सृष्टि सञ्चालनका लागि वेदले अग्नितत्व र सोमतत्वको, साङ्ख्य दर्शनले प्रकृति र पुरुषको, वेदान्त दर्शनले माया र ब्रह्मको, पुराणले शक्ति र शिवको अवधारणा प्रस्तुत गरेको देखिन्छ ।
२. विवाहपछि सहवासको सिद्धान्त र मान्यता के हो ?
आश्वलायनको स्पष्ट अभिव्यक्ति यस्तो छ – प्रथम रजोदर्शन भन्दा पहिले कुनै श्रीमानले संभोग गर्नु हॅुदैन गरेमा ब्रह्महत्याको दोष लाग्दछ । 
विवाहपछि ऋतुस्नाता (रजस्वलापछिको  स्नान गरेकी स्त्री ४दिनपछि १६ दिनभित्र ) ले इच्छा गरेमा दुवैको सम्मतिमा ‘ऋतुसङ्गम’ हुनसक्ने र त्यसबेला गरिने छुट्टै संस्कारको उल्लेख ‘वैखानस गृह्यसूत्र’ मा गरिएको छ । त्यसो त ऋतुस्नान गरेकी स्त्रीले इच्छा गरेको बेला वीर्यदान नगर्ने व्यक्तिलाई ठूलो पाप लाग्ने कुरा पनि शास्त्रहरूमा वर्णित छ । वैखानस गृह्यसूत्रमा नै यथाविधि सन्तानोत्पादनका दृष्टिले गरिने गर्भाधान संस्कारलाई अर्को दोश्रो संस्कारका रूपमा गणना गरिएको छ ।वाजसनेयी संहिताको पारस्कर गृह्यसूत्रमा चाहिं विवाहको अङ्ग मानिने चतुर्थी पूजा–होम–संस्कार गरेपछि सोही रातमा यथाविधि गरिने गर्भाधान संस्कार दुवैको मञ्जुरीमा गर्नका लागि अनुमति दिइएको छ । कारणवश कन्याको सानो उमेरमा विवाह भएको भए दुवै जना तीन वर्ष ब्रह्मचर्यमा बस्ने र कन्या सोह्र वर्ष पुगेपछि ऋतुस्नाताका साथमा मात्र गर्भाधानका निमित्त सहवासको अधिकार ऋग्वेदको सूक्त ‘युवा ह युवत्या क्षेत्ति योनिषु’ को सिद्धान्तका आधारमा धर्मसूत्रहरूले दिएका छन् । पुरुषको हकमा भने आयुर्वेदको बृहन्निघण्टुरत्नाकरमा बीस वर्षसम्म ब्रह्मचर्यमा रही एक्काइस वर्ष पुगेको युवालाई मात्र सहवासको अधिकार दिइएको छ ।विवाह गरिदिने अभिभावकहरू नभएमा त कन्यालाई ऋतु हुन लागेको तीन वर्ष पूरा भएपछि मात्र सहवासका लागि जीवनसाथी रोज्न पाउने अधिकार धर्मसूत्रहरूले दिएका छन् । त्यसभन्दा पूर्व सन्तानोत्पादनका लागि सहवास गर्ने अधिकार धर्म–विज्ञान, आयुर्विज्ञान र कामविज्ञानले पनि दिएको छैन । छोटकरीमा भन्नुपर्दा बालातरुणी अर्थात् १२ देखि १५ वर्षकी युवती र बालातरुण अर्थात् १६ देखि २० वर्षसम्मको युवकलाई धर्मसूत्रहरूले गर्भाधानका लागि अधिकार दिएका छैनन् । सुश्रुतले नारीको मासिक रजको मुख्यकाल १२ वर्षदेखि ५० वर्षसम्मलाई मानेका छन् । १६ वर्षदेखि ५० वर्षसम्मकी नारीलाई उनले तरुणीको संज्ञा दिएका छन् ।
३. कुन अवस्थामा कस्तो प्रकारको गर्भ रहन्छ ?
पृथ्वी, अन्तरिक्ष र द्युलोकसम्बद्ध दैवी, आध्यात्मिक र भौतिक वातावरण अनुकूल रही ग्रह, नक्षत्र र लग्न राम्रो भएको; बस्ने घर, कोठा र सुत्ने बिछ्यौनासमेत सेतोले सुसज्जित भएको; पलङलाई सेतो चाँदीले मोडिएको; सेता सुगन्धित पुष्पमाला र श्रीखण्ड चन्दनको बास्ना चलेको; पञ्चपल्लव, पञ्चरत्न, पञ्चामृत, सर्वौषधि, कुश र दुबोसमेत राखेको कलश जलले अभिषेक गरिएको; शुद्ध गाईको घिउमा मधुरो बत्ती बलिरहेको; अष्ट सुगन्धको बास्नाले सारा वातावरण मगमग भएको; वरिपरिको वातावरण स्वच्छ र सुमधुर भएको; सेता साँढे, सेता घोडा, सेतो सस्र्यूँ र दहीसमेत नजिकै राखिएको; सेता भाले परेवाले हावा दिइरहेको; सुसन्तति गराउने कामराग, सामसङ्गीत र स्वस्तिवाचनको क्यासेट सुमधुर स्वरमा गुञ्जिरहेको; दुवै दम्पतिको मन प्रसन्न भएको; उल्कापात, ग्रहण, श्राद्ध, पर्वदिन (औंसी, सङ्क्रान्ति) नपारी,  शुभरात्रिमा वैदिक मन्त्रद्वारा बाह्यरति (स्पर्श, चुम्बन र मर्दन आदि) पूरा गरेर चन्द्रअनुकूल हुने गरी मुस्कुराएकी धर्मपत्नीसँग मुस्कुराएको युवाले गर्भाधान गर्दा चाहेजस्तै, भनेजस्तै र खोजेजस्तै सुसन्तति जन्मिने गर्भ रहन्छ भन्ने ठम्याइ धर्म–विज्ञान, आयुर्विज्ञान र ज्योतिर्विज्ञानको रहेको छ । त्यस्तो अवस्थामा आफूले सॅोचेजस्तै सुन्दर सन्तानको गर्भ रहन्छ ।ऋतुस्नाताले सहवास गर्दा डराई आँखा चिम्लेमा धृतराष्ट्रजस्तो नेत्रहीन, डराएर फुस्रो अनुहार लगाएमा पाण्डुजस्तो रोगी र प्रसन्न मुद्रा भएमा विदुरजस्तो ज्ञानी सन्तान जन्मिन्छ भन्ने कुरा महाभारतबाट स्पष्ट हुन्छ । जबर्जस्ती अनैच्छिक करणी, अत्यन्त अप्रसन्न अवस्थामा गरिने सम्भोग र भँगेराको जस्तो यौनक्रीडाबाट रोगी, अन्ध, अपाङ्ग र क्षीण मस्तिष्क भएका नपुङ्सक सन्तति पनि जन्मिन सक्छन् ।
४. सहवासका लागि कस्तो स्थान, आसन र समय उत्तम हो ?सहवासका लागि एकान्त, शान्त र वरिपरि सुमधुर वातावरण भएको; बेली–चमेली–पारिजातका सुगन्धित पुष्पबगैचा भएको; सम्भव भएमा सुन्दर पोखरी र झरनासमेत भएको; वरिपरि बस्ने कुर्सी, टेबुल, घर र कोठासमेत सेतो कमेरे रङ्गले पोतिएको; तन्ना, तकिया र सिरकसमेत सेतै रहेको; वर र वधूले समेत श्रीखण्ड चन्दन वा अत्तर आदि सुगन्धित द्रव्य लेपन गरेको अत्यन्त मनोरम स्थान र वातावरण हुनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । यस्तो वातावरणमा पुरष र स्त्रीको कामेच्छालाई अझ बढाउने वा उद्दीपन गर्ने शक्ति हुन्छ ।माथि बताइएको वातावरणमध्ये जे–जस्तो सम्भव हुन्छ, अधिकांश कुरा जुटेको परिवेशमा स्त्री उत्तानो आसनमा पल्टिनुपर्छ । त्यतिखेर हाँसो–ठट्टा र मजाकहरू गर्दै दुवै जना अत्यन्त प्रसन्न र हाँसिरहेको मुद्रामा हुनुपर्छ । खाना खाँदाबित्तिकै सम्भोगक्रिया गर्नु हुँदैन, १/२ घन्टापछि मात्र उपयुक्त हुनसक्छ शारीरिक अवस्थाअनुसार । पाचनयन्त्रले खाद्यपदार्थ पाचन गरी रसरक्तमा परिणत गर्ने सन्दर्भमा पुरुष शुक्रकीट प्रबल हुने रातको तेश्रो प्रहरमा ऋतु भएको सात दिनपछिको रज र पाठेघर शुद्ध भएको समयमा दुवैले बाह्यरति पूरा गरी कृष्णजस्तो छोरो जन्माउने मन भए कृष्णको स्वरूपलाई मनमा साकार पारेर, विष्णु लक्ष्मी वा रामसीता भगवानजस्तो सन्तान जन्माउने मन भए विष्णु वा राम भगवान्लाई झल्झली सम्झेर अनि शिवजीजस्तो छोरो जन्माउने इच्छा भए शिवजीको स्वरूप हृदयमा धारण गरेर वा अन्य कुनै प्रिय–प्रतीक सम्झेर गर्भाधान गर्नु ज्यादै राम्रो हुन्छ भनी धर्मविज्ञान, आयुर्विज्ञान र कामविज्ञानसम्बद्ध ग्रन्थमा प्रकाश पारिएको छ । मनुले चाहिं ऋतुस्नानको सोह्रौं रात्रिमा प्रसन्न मन भएका दम्पतिले गर्भाधान गर्नाले कुलदीपक छोरो जन्मन्छ भनेका छन् । अतः रज, पाठेघर र स्त्रीडिम्ब राम्रो हुने शुभ समयमा सहवास गर्नु उचित हुन्छ ।
४.१ ऋतुकाल(४-१६) मा गर्भाधान सॅस्कार गर्दा तिथि वार र नक्षत्र विचार 
त्याज्य तिथि – षष्ठी, अष्टमी, पूर्णिमा, चतुर्थी र दुबै पक्षका चतुर्दशी रविवार, मंगलवार र शनिवार ।
गर्भाधानका लागि उत्तम नक्षत्र – श्रवण, रोहिणी, हस्ता, अनुराधा, स्वाती, रेवती मूल, तीन उत्तरा, शतभिषा । मध्यम नक्षत्र – पुष्य, धनिष्ठा, मृगशिरा, अश्विनी, चित्रा र पुनर्वसु । बॅाकी नक्षत्र निष्फल मानिन्छन् । 
यस विषयमा विज्ञ ज्योतिष तथा धार्मिक तथा सॅस्कारिक व्यक्तित्व,  बैद्य आदिलाई पनि सोधपुछ गरी गर्भाधानको समय निर्धारण गर्न सकिन्छ ।
५. छोरा र छोरी जन्माउने तरिका र विधि के हो ? How to born son or Daughter? 

सनातन हिन्दू मान्यता अनुसार प्रत्येक पिढिका मान्छेमा उसको अघिल्लो पुस्ताको मातृ कुल र पितृ कुलको ‘गुणसूत्र’ समन्वित भएको हुन्छ भन्ने कुरा यथार्थ हो | गुणसूत्र र जीन ( Chromosomes and Genes ) को अर्थ हो त्यस्तो सूत्र वा संरचना जसले आफ्ना सन्ततिमा बाबु आमाको गुण पुर्याउने काम गर्दछ । गुणसूत्र (क्रोमोजोम) इंट्रासेल्युलर वस्तुहरु , गुणसूत्रहरुको (chromatin) एक आनुवंशिक स्वभाव हो , यसको सार deoxyribonucleotidyl हो , nucleoprotein रचना गरेर नाभिक भएर सन्तानमा पुर्याउछ,  पुरुष बर्गमा २ ३ जोडी गुणसूत्र हुन्छन् । प्रत्येक जॊडीमा एउटा गुण सूत्र आमाबाट र अर्को गुणसूत्र बाबुबाट प्राप्त हुन्छ | यस प्रकार प्रत्येक कोशिकामा कूल ४ ६ गुणसूत्र हुन पुग्छन | जसमा २ ३ आमा बाट २ ३ बाबुबाट आउँछन् | कूल जोडा २ ३ छन् भने यी २ ३ मध्ये एक जोड़ा लिंग गुणसूत्र हो जसले जन्मिने संतानको लिंग निर्धारण गर्दछ अर्थात् छोरा हुन्छ कि छोरी भन्ने कुराको निर्धारण गर्दछ ।
यदि यो एक जॊडामा गुणसूत्र xx छ भने जन्मिने सन्तति छोरी हुन्छे र यदि xy छ भने छोरा हुन्छ | ती दुईमा x सामान छ | जो जन्मिने बच्चाले आमाबाट पाउँछ र शेष रहन पुगेको बाबुबाट पाउँछ | अब यदि बाबुबाट प्राप्त गरेको गुण सूत्र x छ भने xx मिलेर स्त्रीलिंग निर्धारित हुन पुग्छ र यदि बाबुबाट y गुण सूत्र पाएको छ भने पुलिंग हुन पुग्छ । यसरी x छोरीको लागि y छोराको लागि निर्धारित हुन पुग्दछ | यस प्रकार छोरा वा छोरी जन्मिनु पूर्णतया बाबुबाट प्राप्त हुने x अथवा y गुणसूत्र माथि निर्भर हुन्छ ।  यही कुरा हृदयंगम गरेर हाम्रा ऋषि मुनिहरुले ज्योतिष तथा आयुर्वेद शास्त्रको परिपाटी चलाएर गए, आज यहीँ कुरालाई वैज्ञानिकहरुले पनि प्रमाणित गर्दै आईरहेका छन् जुन कुरा अनुभवका आधारमा लाखौँ वर्षअघिदेखि भनियो र  लेखिएको थियो ।

(क) छोरा जन्माउने विधि ( How to born Son? ) 
छोरा जन्माउन पुरुषसंज्ञक सूर्य, मङ्गल र बृहस्पतिको लग्नमा वा पुरुष सन्तान गराउने ग्रह पाँचौँ स्थानमा रहेको वा उक्त स्थानलाई देखेको बखतमा; बिजोर राशिको अंशमा चन्द्रमा रहेको बखतमा; ऋतुस्नान रजस्वला भएको दिनबाट जोर रात (४, ६, ८, १०, १२, १४, १६) मा; पुंसज्ञक तिथिको रातमा; पुंसंज्ञक राशिको लग्न अर्थात् मेष, मिथुन, सिंह, तुला, धनु र कुम्भ राशिको लग्न–नवमांशमा; पुरुषसंज्ञक बार अर्थात् आइत, मङ्गल र बृहस्पति बारमा; शुभ लग्न अर्थात् वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, धन र मीन लग्नमा; आठौं स्थान शुद्ध र शुभग्रहले देखेको वा रहेको बेलामा; लग्नको चारौं, सातौं, दशौं, पाँचौं र नवौं स्थानमा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा मङ्गल, शनि, राहु र केतु रहेको बखतमा; पुंग्रहहरूले देखेको लग्नमा; बिजोर राशिमा चन्द्रमा रहेको बेलामा; ऋतुस्नानका उत्तरार्धका समरात्रिमा गर्भाधान गर्दा छोरो जन्मिन्छ (मु.चि. सं.प्र. श्लोक ७, पीयूषधारी टीका पृ. २३०) ।

बिजोर राशिको वर्ग पाँचौँमा रहेको र शुक्रलाई चन्द्रमाले नदेखेको मुहूर्तमा गर्भाधान गर्दा पनि छोरो नै हुन्छ (बृहज्जातक निषेका. अ. श्लो १–२२) । केन्द्रमा र त्रिकोण (९, ५) मा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा राहु, केतु, शनि र मङ्गल बसेको बखतमा जोर रातमा गर्भाधान गर्दा पनि छोरो हुन्छ (ज्योतिःसार, मु. प्र. श्लो. १९५) ।

मङ्गलको लग्न नवमांशमा वा स्त्री पुरुषको मूल र अन्तर्दशा मङ्गलकै भएको मौकामा गर्भाधान गर्दा पनि छोरो हुन्छ । फेरि लग्नबाट वा चन्द्रमा बसेको स्थानबाट पाँचौं भाव शुभग्रह वा आफ्नै स्वामीले युक्त वा दृष्ट अवस्थामा छोरा हुन्छ (त्रि. ज. कु. द., श्लो. १०, पृ. २१३) । शनि लग्नबाट ३, ५, ७, ९ र ११ स्थानमध्ये कुनै एकमा रहेको बखतमा छोरो हुन्छ (बृहज्जा. निषेका. ४, श्लो. १२) ।

लग्नस्थानमा सूर्यचन्द्र पापग्रहयुक्त नभएमा, सातौं स्थानमा राहु–केतु–शनि नभएको बखतमा, आठौं स्थानमा मङ्गल र चौथो स्थानमा पनि पापग्रहहरू नभएको लग्न र लग्नबाट ४, ५, ७, ९ र १० स्थानमा शुभग्रह रहेको अनि ३, ६ र ११ औं भावमा चाहिं पापग्रह बसेको मुहूर्तमा शुभतिथि र शुभनक्षत्रमा सम/ जोर रातमा गर्भाधान गर्दा छोरा हुन्छ (मुहूर्त चिन्तामणि, संज्ञाप्रकरण) ।

गर्भशास्त्रका एक जना अमेरिकी विशेषज्ञले ऋतुस्नानका उत्तरार्धका आठ रात छोराका लागि उपयुक्त हुन्छन् भनेका छन् । दिनमा सहवास गरियो भने सूर्यकिरणको प्रभावबाट उग्र स्वभावको, बेलुका सन्ध्यामा हिरण्यकशिपुजस्तो, ऋतुस्नानको चौथो दिनमा शूरवीर भए तापनि अभिमन्युजस्तो अल्पायुको हुने धर्मविज्ञानको धारणा रहेको छ । सूर्यचन्द्र समरेखामा रहने पर्व दिन, ग्रहण, उल्कापात र वज्र खसेको समय पनि गर्भाधानका लागि अनुचित हुन्छन् । ऋतुस्नाताद्वारा ऋतुकालीन नेत्रज्योतिबाट आत्मसात् गरिएका यावत् वस्तुहरूको प्रभाव भावी सन्ततिमा पर्ने हुँदा त्यस समयमा सच्चित्र, सत् शास्त्र, सद् गुरु र सत् सङ्गीतमात्र ग्रहण हुने स्थानमा रहनु राम्रो हुन्छ ।

कतिपय बुहारीहरू गर्भाधानका समयमा अत्यन्त कर्कश सासूको गाली सुन्न वा अत्यन्त रुखो वातावरणमा रहन बाध्य हुन्छन् र उनीहरूले त्यस समयमा भोगेका वा सुनेका वाक्यहरूको प्रभाव भावी सन्ततिमा पर्ने हुँदा जन्मेका सन्तान पनि त्यस्तै कर्कश र रुखा हुन जान्छन् । त्यसैले राम्रा सन्तान जन्माउन चाहनेले घरको वातावरण कर्कश, रुखो र अनेकौं बहाना गरेर बुहारीलाई सताउने खालको छ भने त्यस ठाउँबाट अन्यत्रै राम्रो ठाउँमा बस्नु उचित हुन्छ ।

(ख) छोरो जन्माउनका लागि केही व्रत, यज्ञ र शास्त्रीय औषधिका विधिहरु के के छन् ? 

छोरो जन्माउन विभिन्न यज्ञ र व्रतहरूको विधान पनि शास्त्रमा गरिएको पाइन्छ । त्यस्ता यज्ञहरूमा पुत्र्येष्टि यज्ञ (अ.रा.बा.का. ३।१–१८), मरुस्तोम र मित्रावरुण याग (तैत्तिरीय संहिता २।२।५), पुत्रमन्थ (शतपथ ब्राह्मण १४।५।५।१), षष्ठीदेवी उपासना (देवीभागवत ९। ४६। ६९–७२), हरिवंश श्रवण (श्रीमद्भागवत ६ ।१४। १०।३०) आदि प्रमुख छन् ।

सुसन्तति गराउनका लागि ऋतुस्नानपछि सूर्यदर्शन, सिद्ध महात्माको दर्शन, सेता घोडा र साँढेको अवलोकन, सात दिन ब्रह्मचर्यमा रही सेती गाईको दूधमा चाँदी वा काँसको भाँडामा मह–घिउ राखेको जौको सातु वा परिकार घोलेर पिउने र सायं प्रातः दूधभात सेवन गर्नुपर्ने साथै सेतो घर, कोठा र शैयामा सम रातमा चाँदीका पाउजेब लगाएर गर्भाधान गर्दा राम्रो गुण भएको छोरा हुन्छ भन्ने चरकको मत छ । पुरुषले पनि एक महिना पूर्वबाट नै ब्रह्मचर्यमा रही आयुर्वेदिक औषधि खानुपर्ने नियम छ । त्यस्ता औषधिमा शुद्ध च्यवनप्राश, नरसिंह चूर्ण, अश्वगन्धा, यार्सागुम्बा, पाँचऔंले, केसर, गाईभैंसीको दूध, घिउ, नौनी, दही, मह, घिउ र पुष्टकारी आदि मुख्य छन् ।

(ग) छोरी जन्माउने तरिका ( How to born Daughter ?) 

रजस्नानबाट बिजोर रात (५,७, ९, ११, १३, १५) मा; स्त्रीसंज्ञक बार अर्थात् शुक्रबार र सोमबारमा; स्त्रीसंज्ञक लग्न अर्थात् वृष, कन्या, वृश्चिक, मकर र मीन लग्नमा; स्त्रीसंज्ञक नक्षत्रहरूमा; जन्मनक्षत्रबाट साताँै नक्षत्रका साथै मूल, भरणी, अश्विनी, रेवती र मघा नक्षत्रलाई समेत छाडेर; ग्रहण–दिन, व्यतिपात र महापातयोग एवं वैधृति योग छाडेर; बाबुआमाको श्राद्धको दिन, जन्मनक्षत्र, जन्मलग्नबाट आठौं लग्न र पापग्रह रहेका नक्षत्र एवं लग्न नपर्ने गरी लग्नबाट पाँचौं भावमा चन्द्रमाको षड्वर्गमा शुक्र रहेका बखतमा; पाँचौ स्थानमा रहेको शुक्रलाई चन्द्रमाले देखेमा वा त्यहीँ बसेको मुहूर्तमा गर्भाधान गर्नाले सर्वथा छोरी नै हुन्छिन् (बृहद्यवनजातक, अ.१, श्लो.११) । त्यस्तै शुक्र र चन्द्रमाको लग्न नवमांशमा पनि छोरी नै हुन्छे (बृहज्जातक निषेकाध्याय ४। १२) । छोरी जन्माउने पद्धतिलाई अथर्ववेदमा ‘स्त्रैषूय’ को संज्ञा दिइएको छ । यससम्बन्धी विस्तृत विवरण शौनक चतुराध्यायी अध्याय २, खण्ड ८८ र अध्याय ४, खण्ड ८३ मा छ । याज्ञवल्क्यको मतअनुसार ९, ११ र १३ औ रातलाई निन्दित मानिएको छ ।

एक अमेरिकी सन्ततिविशेषज्ञले ऋतुस्नानका आद्य चार रात (५,६,७,९) छोरी गराउन सहयोगी हुन्छन् भनी लेखेका छन् । ऋतुस्नाताले चारौं दिनदेखि सम्भव भएमा शुक्रबार र सोमबार पारेर लक्ष्मणा, सहदेवा, श्वेतबृहती, वरको कोपिला वा वरको दारीका टुप्पाहरूमध्ये कुनै एउटा औषधी कुटेर कपटछान गरी पिचकारीद्वारा देब्रे नाकको पोराबाट गर्भ नहुँदा र गर्भ भइसकेपछि पनि दुई महिनासम्म सुस्तरी एक थोपा राख्ने गर्नाले छोरी हुन्छे भनी सुश्रुतमा प्रकाश पारिएको छ । सोही रस त्यसरी नै दाहिने नाकको पोराबाट राख्ने गर्नाले चाहिं छोरा हुन्छ भनिएको छ ।
(घ) नेपालको जनगणनाअनुसार नारीको सङ्ख्या अधिक हुनुको कारण र अन्ध, अपाङ्ग वा रोगी सन्तान हुनुको कारण

यद्यपि नारी वा पुरुष जसको सङ्ख्या बढी भए पनि राष्ट्र र समाजलाई खासै फरक नपर्ला । तर पनि पुरुषको सङ्ख्या कम र नारीको सङ्ख्या बढी हुनुको कारण के होला भन्ने स्वाभाविक जिज्ञासा मानिसहरूमा पैदा हुन सक्छ । यहाँ त्यसैका बारेमा केही बताउन खोजिएको छ । युवतीहरूले प्रायः चुइगम, चकलेटजस्ता वस्तुहरू ऋतुकालमा बढी सेवन गर्नाले र युवाहरूले प्रायः चुरोट, बिंडी, सुर्ती, खैनी, पानपराग, जर्दा र चिया–कफी एवं गुणस्तरहीन मद्यपदार्थको अम्मल गर्नाले साथै अखाद्य वस्तु मिसिएको, विषको प्रभाव भएको भोजनबाट पुंबीज (वीर्य) कमजोर हुन्छ र रेत (अर्थात् स्त्री रज) बढी तरल हुन जान्छ । यस्तो अवस्थामा नारीको रजकीट प्रबल एवं रजको आधिक्य हुने हुँदा विशेष गरेर छोरीहरूको जन्म हुन्छ । यही नै नारी जनसङ्ख्या बढ्नुको मूल कारण हो ।

त्यस्तै धर्मविज्ञान र आयुर्विज्ञानले तोकेका वा बाजीकरण गराउने औषधी एवं खाद्यपदार्थहरू पुरुषले सेवन नगर्नु र मासिक, पाक्षिक, साप्ताहिक एवं त्रिदिवसीय एक पटक मात्र सहवास गर्न पाउने आयुर्वेदिक अधिकारलाई समेत बेवास्ता गर्नाले अन्ध, अपाङ्ग र क्षीण मस्तिष्क भएका रोगी सन्तान हुन गएका हुन् भन्न सकिन्छ । पत्नीकै साथमा हुने अनैच्छिक सहवासबाट पनि त्यस्ता सन्तान जन्मिन सक्छन् भन्ने देखिन्छ । लग्न नवमांशमा वा लग्नकुण्डलीको स्थानमध्ये तनु, धन, सन्तान, भाग्य आदि स्थानमा अन्ध, अपाङ्ग, क्षीण मस्तिष्क गराउने गरी ग्रहहरू रहन गएको अवस्था र युद्ध बमवारीको समाचार सुनेको वा घटना देखेको बेला गर्भ रहनाले पनि त्यस्ता सन्तान हुन सक्तछन् ।

त्यस्तै गर्भ रहेदेखि आठ महिनासम्म गर्भको शिशुलाई हानि पुर्‍याउने खाद्य पदार्थ सेवन गर्दा र चोटपटक लाग्दा, नराम्रा उल्कापात र ग्रहणको अवलोकनबाट, चट्याङको आवाजजस्ता कुराहरूबाट पनि गर्भस्थ शिशुमा नराम्रो प्रभाव पर्न गई रोगी, अपाङ्ग, क्षीण मस्तिष्कको सन्तान हुन सक्दछ । अतः दुवै दम्पति सावधान भएर आपसी सहमतिमा प्रसन्न मुद्रामा सुसमयमा गर्भाधान गरी नौ महिनासम्म मातृशिशु कल्याणका लागि तोकिएका पेटको बच्चालाई हानी नहुने  औषधी सेवन गरी राम्रो दक्ष विशेषज्ञबाट प्रजनन गराउनु पर्दछ । पाँच वर्षसम्म शिशुलाई दिनुपर्ने खोप, आहारविहार पनि सन्तुलित हुनु पर्दछ ।
(ङ) सन्तानको आकार–प्रकार सम्बन्धमा

मातृज, पितृज, आहारज र आत्मकर्मज महाभूतहरूमध्ये जसको आधिक्य हुन्छ, तदनुकूलको गर्भ एवं सन्तान हुन जान्छ भन्ने सुश्रुतको वैज्ञानिक भनाइ पनि यहाँ लागू हुन पुग्दछ ।

(च) गर्भाधानको विशेषता
गर्भाधान संस्कारको मुहूर्तकै आधारमा जीवात्माको पूर्वजन्म, परजन्म र वर्तमान जन्मको आयु, कर्म, धन, विद्या र मरण निश्चित हुनसक्ने ज्योतिर्विज्ञानको अवधारणा रहेको हुँदा र स्वयं ब्रह्मतत्व नै सो मार्गमा जीवात्मा रूपबाट प्रवेश गर्ने र मानव सोही रूपमा प्रवेश गरी सन्तानका रूपमा अमर बन्ने अवधारणा सनातन हिन्दू संस्कृतिको रहेकाले पनि श्रुति, स्मृति, सूत्र, पुराण, आयुर्वेद, तन्त्र र कामशास्त्रले समेत गर्भाधान संस्काररूपी महाकर्मलाई तीन लोकको र तीनै किसिमको वातावरणलाई अनुकूल गराउने विशेष पद्धतिद्वारा सुसम्पन्न गर्ने नियम राखेको देखिन्छ । वेदव्यासका अनुसार ऋतुकालमध्येको चौथो रात – निर्धन र अल्पायु, पाचौ- मध्यम गुणयुक्त पुत्री, छैटौ – मध्यम गुण युक्त पुत्र, सातौ रात्रि निःसन्तान, आठौ ऐश्वर्यशाली पुत्र, नवौं ऐश्वर्यवती कन्या, दशौं -उत्तम पुत्र, एघारौं धर्महीन पुत्री, बाह्रौं रात्रि उत्तम पुत्र, तेह्रौं रात्रि बर्णसंकर दोषले युक्त कन्या, चौधौ रात्रि – धर्मज्ञ, कृतज्ञ, आत्मज्ञानी र सत्य संकल्प युक्त पुत्र, पन्ध्रौं रात्रि- पतिब्रता कन्या, १६ औं रात्रि – सम्पूर्ण प्राणीहरुको आश्रयमा विख्यात र पुरुषोत्तम पुत्र पैदा हुन्छ । यो मनन गर्न सकेमा पनि राम्रो सॅस्कारले युक्त सन्तान पैदा हुन्छन् ।

अन्य संस्कृतिमा चाहिं यस्तो सूक्ष्म वैज्ञानिक चिन्तन लागु भएको भेटिँदैन । यो सनातन हिन्दू संस्कृतिका अनुयायीहरूले गौरव गर्ने विषय हो ।
(छ) उपसंहार / सारांश 

सृष्टि संरचनाको सूक्ष्मताको धरातलमा स्त्री र पुरुषको आयु एवं शारीरिक र मानसिक अवस्थाको समेत विश्लेषण गरी दम्पतिले सांसारिक रंगमञ्चमा खेल्नुपर्ने वैज्ञानिक र व्यावहारिक मन्चन भूमिकालाई विवाह र गर्भाधानका पृष्ठभूमिमा राम्रोसँग केलाइएको छ । जुन प्रकारको धर्मविज्ञान, ग्रहअनुकुलको वातावरणीय विज्ञान, कामकलाविज्ञान, समाजविज्ञानका दृष्टिबाट मात्र महत्वपूर्ण नभई वैदिकदर्शन, सांख्यदर्शन, शक्ति र शिवको योजनद्वारा गरिने सृष्टिखेलको पौराणिक र तान्त्रिक दर्शनका दृष्टिबाट समेत उत्तिकै महत्व रहिआएको वस्तुतथ्य विवाह र गर्भाधान संस्कारको विश्लेषणबाट छर्लङ्ग हुन्छ । दम्पतिले सेवन गर्ने वस्तुहरू र त्यसबाट बन्ने बीज र उक्त बीजलाई योनिरूप अग्निकुण्डमा आहुति गर्दाको समय र त्यसले पार्ने प्रभाव, गर्भस्थ शिशुमा दश महिनासम्म गरिने दशकर्मको आशय र प्रजनन् गर्दाको मुहूर्त एवं सोका आधारमा निर्धारण गरिने भविष्य हिन्दू संस्कृतिको आफ्नै विशेषता हो भन्न सकिन्छ । यस विषयमा विज्ञ ज्योतिष तथा धार्मिक तथा सॅस्कारिक बैद्य आदि व्यक्तित्वलाई पनि सोधपुछ गरी गर्भाधानको समय निर्धारण गर्न सकिन्छ ।

(ज) सुझाव/ सल्लाह 
पुंसन्ततिकारक (छोरो गराउने) रात्रिक्यालेण्डर (रात्रिको घण्टा, बजे, मिनेटका आधारमा) बनाउनु पर्दछ ।
छोरी गराउने रात्रिक्यालेण्डर (रात्रिको घण्टा, बजे, मिनेटका आधारमा) गराउनु पर्दछ ।
सन्तान नहुनेलाई सन्तान हुने गरी रात्रिक्यालेण्डर (रात्रिको घण्टा, बजे, मिनेटका आधारमा) गराउनु पर्दछ ।
छोरा गराउने रात र छोरी गराउने रातको सूची जानकारी गराउनु पर्दछ ।
छोराछोरीमध्ये चाहेको सन्तान गराउने र सन्तान नगराउने समेत धर्मविज्ञान, आयुर्विज्ञान र कामशास्त्रमा बताइएका औषधिहरूको सूची बनाएर प्रयोग परीक्षण गरिनुपर्छ ।

चाइनाले १२६३ ई. मा १८ वर्षदेखिका दश हजार गर्भिणी महिलाहरूको जन्ममिति, महिना, दिन र गर्भ रहेको महिना एवं त्यसको आधार लिँदै जन्मेका छोरा र छोरीको प्रतिशतका आधारमा बनाएको र ९९ प्रतिशत सफल भएको भनी दाबी गरेको क्यालेण्डरजस्तै नेपालको हावापानीअनुरूपको क्यालेण्डर नेपालमा बनाउनका लागि प्रसूतिगृहमा भर्ना गरिने महिलाहरूको प्रतिशत गणना गरी १– २ वर्षभित्रमा तयार गरी गराई समाजमा प्रयोग परीक्षण गर्ने ।

फलित ज्योतिर्विद्वानबाट  ज्योतिषसम्बद्ध उक्त क्यालेण्डर बनाउने ।

पूर्वोक्त सबै विद्या जानेको अनुसन्धाता र एक जना आयुर्वेद औषधिविज्ञबाट पूर्वोक्त औषधिमात्रा र सूची तयार पार्ने ।

 

यी माथि उल्लेख गरिएका कार्यहरू गराउँदा जनसङ्ख्यालाई सन्तुलनमा राख्न पनि सकिन्छ ।

सहवास अर्थात् सँगै बस्नु । सन्तान जन्माउने उद्देश्यले विपरीत लिंगीहरू सँगै बस्नु नै वास्तविक अर्थमा सहवास हो । प्राचीन समयमा प्रचलित नियमअनुसार सहवासबाट वंशवृद्धि, साहचर्य सुख, मानसिक परिपक्वता, दीर्घायु तथा मानसिक एवं शारीरिक स्वास्थ्य वा सुख हासिल गर्न सकिन्छ ।

मानिसले यी नियमहरूमा बाँधिएर सहवास गरेको खण्डमा ऊ संस्कारी हुन्छ र विभिन्न बाधा व्यवधानहरूबाट मुक्त रहनसक्छ । पशुवत् सहवासबाट जीवन नष्ट हुन्छ । झन् हिजोआज त मानिसको सहवास पशुको भन्दा पनि निकृष्ट तहमा पुगेको छ । सहवासमा सदाचारको अभाव छ, नियम एवं लज्जाको मर्यादालाई पनि लत्याइएको छ ।

प्राचीन कालमा दम्पति हिजोआजजस्तो हरेक रात सहवासमा लिप्त रहँदैनथे । उनीहरूको सहवास सन्तान प्राप्तिको उद्देश्यले मात्र हुने गर्दथ्यो । शुभ दिन एवं मुहूर्त हेरेर विधिपूर्वक सम्भोग गरी योग्य सन्तान जन्माउने प्रयास गरिन्थ्यो । अहिले पनि यो कुरा संभव छ ।

वर्तमान समयमा गर्भ कतिखेर रह्यो भन्ने सम्म ज्ञान हुँदैन । बाँदर झैं भएर दिनरात सम्भोग गर्दै जाँदा कतिखेर कस्तो प्रकारको गर्भ रहन्छ भन्ने कुराको ख्याल नहुँदै गर्भ बसिसक्छ । कन्डोमको प्रयोग गरी गरिएको सम्भोग सन्तान अप्राप्तिको उद्देश्यले मात्र गरिएको हुन्छ, यसमा अनुशासन पालना गरिँदैन, केवल क्षणिक दैहिक सुखको मात्र ध्यान राखिन्छ । यदि राम्रो सन्तान जन्माउने हो भने यस्तो सामान्य सॅोचाईले मात्र पुग्दैन त्याग तपस्या, सॅस्कारिक र आध्यात्मिक बन्नु पर्दछ ।

सहवास पतिपत्नीबीचको सम्बन्ध बलियो बनाउने प्रमुख आधार हो तर यो आधार प्रेममय हुनुपर्छ, कामवासनाले युक्त हुनुहुँदैन । वर्तमान समयमा यस्ता कुरा गर्ने व्यक्ति हाँसोको पात्र बन्दछ ।

घरमा कसैलाई पनि सहवासको नियम थाहा छैन र भए पनि वास्ता गरिँदैन । बरु पतिपत्नीइतरका सम्बन्ध राखिन्छ, सम्भोग र सहबासका लागि विवाह कुरिँदैन, क्षणिक शारीरिक सुखको लागि मर्यादाको सबै हद पार गरिन्छ ।यसै कारण आधुनिक युगमा संस्कार समाप्त भएको छ, छाडापन बढेको छ र मानिसहरूमा स्वार्थी भावना प्रबल हुँदै गएको छ ।फलस्वरुप अपांग र सुस्तमनस्थिति भएका बच्चाहरुको जन्म भएको कुरा हाम्रो समाजमा छर्लंग देखिएको छ । यस्तो कुरा न त डाक्टर ले नै निको पार्न सक्छन् न त अरु कसैले । यसकारण यस्ता कुराहरुमा विशेष ध्यान पुर्याउनु पर्दछ र गर्भाधानपछिका सम्पूर्ण १५ वटा सॅस्कारको ज्ञानसहित पालना गर्यो भने परिवार सुखी सम्पन्नशाली बन्ने कुरामा कुनै शंका छैन  ।

गर्भाधान सॅस्कारसॅग सम्बन्धित ज्ञानसॅगसॅगै प्रथम रजोदर्शन(पहिलो पटक रजश्वला हुंदा) को बारेमा पनि केही ज्ञान लिनु आवश्यक हुन्छ जस्तै मदनरत्नमा नारदजीका अनुसार अमावश्या, प्रतिपदा, रिक्तातिथि (४/९/१४), अष्टमी, षष्ठी, द्वादशी, परिघयोगको पूर्वार्ध, व्यतिपातयोग, वैधृतियोग, सन्ध्याकाल, ग्रहण लागेको समय र भद्राको समयमा  प्रथम रजोदर्शन अशुभ मानिएको छ । त्यस्तै रविवारमा रजोदर्शन भएमा रोगिणी, सोमबार पतिब्रतालु मंगलबार दुखी, बुधवार पुत्रवती, बिहीवार भोगभाग्यशाली, शुक्रवार पतिब्रतालु, शनिवार क्लेशभागिनी हुने कुरा बताईएको छ ।

त्यस्तै तिथिअनुसार प्रतिपदा- वैधव्य दोष, द्वितीया- पुत्रप्राप्ति, तृतीया- मित्रता, चतुर्थी- शत्रुवृद्धि, पन्चमी मित्रलाभ, षष्ठी शत्रुवृद्धि, सप्तमी-कुलवृद्धि, अष्टमी-बन्धुनाश, नवमी-मृत्युजन्य कष्ट, दशमी-वंशवृद्धि, एकादशी खाद्य सामग्री अभाव, द्वादशी कुल नाश, त्रयोदशी तेजप्राप्ति, चतुर्दशी पुत्रनाश, अमावश्या तथा पूर्णिमा कुलको हानि । त्यस्तै राशिअनुसारको फल कर्क, वृष, धनु, मीन, मिथुन, कन्या, तुला र कुम्भराशिमा शुभफलदायक हुन्छ भने मेष सिंह, वृश्चिक र मकरमा अशुभफलदायक हुन्छ । त्यस्तै नक्षत्रअनुसार भरणी, कृतिका, आर्द्रा, अश्लेषा, पूर्वाफाल्गुनी, पूर्वाषाढा, शतभिषा, पूर्वभाद्रपदा र उत्तरभाद्रपदामा अशुभदायक हुन्छ भने अन्य नक्षत्रमा शुभफलदायक हुन्छ ।

यसरी प्रथम रजोदर्शनका बेला दोष देखिएमा शुद्ध भएपछि शान्तिकर्म गर्नु भनी निर्देश गरिएको छ । शौनकका अनुसार चौंथो वा पांचौ दिन ग्रहयज्ञका साथ शान्तिहवन गर्नु भनी निर्देश गरिएको छ ।   जबसम्म रजोवती नारीको रज देखिईरहन्छ तबसम्म अशुद्ध नै मानिन्छ । त्यस्तो अवस्थामा संबन्ध /संसर्ग / संपर्क/सहवास बर्जित गरिएको छ । शान्तिकर्मको लागि विज्ञ ब्राह्मण वा ज्योतिषीको सल्लाह लिन सकिन्छ ।

 

सहवाससम्बन्धी केही प्राचीन नियमहरु पनि छन् ती मध्ये मुख्य  मुख्य सहवासको प्राचीन नियम के कस्तो छ? त्यस कुराको जानकारी लिइराखौँ, पालना गर्दा लाभ होला, नगरे पनि केही छैन, जसरी चलेको छ त्यसैगरी चल्दै जाला । कुरा के हो भने यी नियम पालन गर्दा जीवनमा सुखशान्ति वृद्धि हुने कुराचाहिँ पक्का छ ।

पहिलो नियम:

मानव शरीरमा पाँच प्रकारको वायु रहेको हुन्छ-प्राण, अपान, व्यान, समान र उदान । यी ५ वायुमध्ये अपान वायुको काम मल, मूत्र, शुक्र, गर्भ आदिलाई बाहिर निकाल्नु हो । शुक्र भनेको वीर्य हो अर्थात् अपान वायुको सम्बन्ध सम्भोगसँग हुन्छ । जब कुनै कारणवश यो वायुको गतिमा फरक आयो वा कुनै तरिकाले यो दूषित भयो भने मूत्रथैली एवं मलद्वारसम्बन्धी समस्या उत्पन्न हुन्छ ।

यसबाट सम्भोगको शक्तिमा पनि असर पर्छ । अपान वायु महिनावारी, प्रजनन एवं सम्भोग शक्ति नियन्त्रण गर्ने कारक हो । यसकारण यो वायुलाई शुद्ध एवं गतिशील बनाइराख्नका लागि आफ्नो पेटलाई स्वस्थ राख्नुपर्ने हुन्छ । यसका लागि उचित समयमा शौचादि कर्मबाट निवृत्त हुनुपर्छ ।

दोस्रो नियम:

कामशास्त्रका रचयिता वात्सायनका अनुसार महिलाहरूलाई कामशास्त्रको ज्ञान हुनु अत्यावश्यक छ किनभने यस्तो ज्ञानको प्रयोग पुरुषहरूभन्दा महिलालाई बढी जरुरी हुन्छ । हुन त दुवैलाई यस विषयको पर्याप्त ज्ञान भयो भने इच्छित सुख प्राप्ति हुन्छ । वात्स्यायन भन्छन्-महिलाले विवाहअघि बाबुको घरमा र विवाहपछि पतिको अनुमति लिई कामशिक्षा लिनुपर्छ । वात्सायनका अनुसार महिलाले ओछ्यानमा वेश्याजस्तो व्यवहार गर्नुपर्छ । यसबाट दाम्पत्य जीवनमा स्थिरता कायम हुन्छ र श्रीमान् परस्त्रीप्रति आकषिर्त हुन पाउँदैनन् । महिलालाई यौनक्रियाको राम्रो ज्ञान भयो भने श्रीमान्लाई आफ्नो प्रेमपाशमा बाँधेर राख्न सजिलो पर्छ ।

वात्सायनका अनुसार कन्याले विश्वसनीय व्यक्तिबाट यौनक्रियाको ज्ञान लिन सक्छन् । यसका लागि आमा, सानिमा, फुपू, समान उमेरका विवाहित साथी जसले यौन आनन्द लिइसकेका छन् त्यस्ता अनुभवी आदिबाट शिक्षा लिनसक्छन् । शिक्षा दिने व्यक्ति स्पष्ट एवं मधुर बोलीवचन भएका हुनुपर्छ त्यसो भयो भने उचित शिक्षा मिल्छ ।

तेस्रो नियम:

शास्त्रका अनुसार केही दिन त्यस्ता छन् जुन दिन कुनै पनि हालतमा यौनसम्बन्ध राख्नुहुँदैन । औंसी, पूणिर्मा, चतुर्थी र अष्टमी तिथि, आइतवार, मंगलवार, संक्रान्ति, पितृ पक्ष, नवरात्रि, साउन महिना तथा महिनावारीका समयमा समागम वर्जित छ । यो नियमको पालन गर्नाले घरमा सुखसमृद्धि, शान्ति एवं आपसी प्रेम बनिरहन्छ भने पालन नगर्दा गृहकलह, धनहानि एवं आकस्मिक दुर्घघनाको डर बनिरहन्छ ।

चौथो नियम:

रातको पहिलो प्रहर यौनसम्बन्ध राख्न उचित समय मानिन्छ । यो समयमा गरिएको सम्भोगका कारण धार्मिक, सात्विक, अनुशासित, संस्कारवान्, आमाबाबुप्रति प्रेम राख्ने, यशस्वी एवं आज्ञाकारी सन्तानको जन्म हुन्छ । शिवको आशीर्वाद प्राप्त यस्ता सन्तान दीर्घायु एवं भाग्यशाली हुने कुरा शास्त्रमा बताइएको छ ।

पहिलो प्रहरपछि राक्षसगण पृथ्वीलोकको भ्रमणमा आउँछन् तसर्थ त्यतिबेला गरिएको सम्भोगबाट जन्मने सन्तान पनि राक्षसी प्रवृत्तिका हुन्छन् । यसबाहेक यस समयमा सम्भोग गर्दा शरीर रोगी हुन्छ । मानिस अनिद्रा, मानसिक क्लेश एवं थकानको सिकार हुनुका साथै भाग्यहीन हुन्छ ।

पाँचौँ नियम:

कुनै दम्पतिलाई सन्तानका रूपमा छोरी मात्र छन् र छोरो चाहिएको छ भने के गर्ने त भन्ने सवालमा वात्सायन भन्छन्-महिलाले सदैव श्रीमान्को बायाँतर्फ सुत्नुपर्छ । केही समय बायाँ कोल्टे सुत्नाले दायाँ स्वर र दायाँ कोल्टे सुत्नाले बायाँ स्वर चालु हुन्छ । यस्तोमा दायाँतर्फ सुत्दा पुरुषको दायाँ स्वर चल्छ भने बायाँतर्फ दायाँ कोल्टे सुतेकी महिलाको बायाँ स्वर नै चालु हुन्छ । यस्तो अवस्थामा सम्भोग गरेर गर्भधान गर्दा इच्छित फल मिल्छ ।

छैटौँ नियम:

आयुर्वेदका अनुसार महिनावारी भएका समयमा अथवा कुनै रोग वा संक्रमण भएको बेलामा सम्भोग गर्नु हुँदैन । अन्य अवस्थामा पनि संक्रमणबाट जोगिन यौनसम्पर्क राख्नुअघि स्वच्छतामा ध्यान दिँदै यौनांगहरू राम्रोसँग सफा गर्नुपर्छ । यौनांगमा कुनै प्रकारको घाउ, फोकाफोकी, वा बिबिरा आदि छन् भने यौनसम्पर्क राख्नु हुँदैन । प्राचीन समयमा यौनसम्पर्क राख्नुअघि र राखिसकेपश्चात् स्नान गर्नुपर्ने नियम थियो ।

सातौँ नियम :

मित्रवत् व्यवहार नभएमा, यौनेच्छा नभएमा, रोग वा शोकका समयमा सम्भोग गर्नुहुँदैन । यसको मतलब श्रीमान्श्रीमतीबीच पनि कुनै दिन मित्रवत् व्यवहार छैन, मन उदास छ भने यौनसम्पर्क राख्न हुँदैन । मनमा वा घरपरिवारमा कुनै किसिमको शोक, तनाव वा चिन्ता छ भने पनि सम्भोग गर्नुहुँदैन ।

मन आनन्दित भएका बेला, दुवैमा उत्तिकै चाहना जागृत भएका बेला धर्मपूर्वक यौनसम्पर्क राख्नाले अनेक किसिमका लाभ पाइने कुरा शास्त्रमा उल्लेख छ ।

आठौँ नियम :

पवित्र मानिएका वर, पीपल, शमी आदि रुखका मुनि, सार्वजनिक स्थान, चौतारो, चौबाटो, बगैँचा, मसानघाट, बधस्थल, अस्पताल, मन्दिर, ब्राह्मण, गुरु एवं अध्यापकको निवास स्थानमा यौनसम्पर्क राख्न वर्जित छ । कसैले यस्तो कार्य गरेमा अवश्य पनि उसले नकारात्मक परिणाम भोग्नैपर्ने हुन्छ ।

नवौँ नियम:

नराम्री वा नराम्रो, दुश्चरित्र, अशिष्ट, अकुलीन, परस्त्री एवं परपुरुषसँग सम्भोग गर्नुहुँदैन अर्थात् आफ्नै श्रीमान् वा श्रीमतीसँग मात्रै सहवास गर्नुपर्छ । नियमविरुद्ध गएर कार्य गरे पछुताउनुको विकल्प रहँदैन ।

दसौं नियम:

गर्भ रहेको बेलामा पनि सम्भोग गर्नु हुँदैन । यस्तो समयमा यौनसम्पर्क राखेमा सन्तान अपांग अथवा रोगी हुने सम्भावना बढ्छ । कुनै शास्त्रमा गर्भ बसेको २ देखि ३ महिनासम्म यौनसम्पर्क राख्न सकिने बताइएको छ तर पनि गर्भ रहेको ज्ञात भएपश्चात् सम्भोग नगर्नु नै बुद्धिमानी हुन्छ ।

एघारौँ नियम:

शास्त्रका अनुसार सुन्दर, दीर्घायु एवं स्वस्थ सन्तानको चाहना हुनेले गण्डान्त, ग्रहण, सूर्योदय एवं सूर्यास्त, निधन नक्षत्रत्र, रिक्ता तिथि, दिन, भद्रा, पर्वकाल, औंसी, श्राद्धको दिन, गण्ड तिथि एवं नक्षत्र तथा आठौँ चन्द्रमा छोडेर शुभ मुहूर्तमा सम्भोग गर्नुपर्छ । गर्भधानका समयको गोचरमा श्रीमान् श्रीमतीको केन्द्र एवं त्रिकोणमा शुभ ग्रह, तेस्रो, छैटौं र एघारौं घरमा पापग्रह, लग्नमा मंगल, गुरु आदि शुभ ग्रहको दृष्टि एवं महिनावारीबाट समरात्रि भयो भने अवश्य पनि पुत्रप्राप्ति हुन्छ । यो समयमा पुरुषको दायाँ तथा महिलाको बायाँ स्वर चलेको हुनुपर्छ ।

पुरुषको दाहिने स्वर चलेको समयमा दाहिने अण्डकोष बढी मात्रामा वीर्य निष्कासन गर्दछ जसमा प्रशस्त पुलिंगी शुक्रकीट निस्कन्छ र पुत्र प्राप्ति हुन्छ ।

बार्‍हौँ नियम:

महिनावारीपछिका पहिला ४ दिन गरिनेे सम्भोगले पुरुषलाई रोगी बनाउँछ । पाँचौँ रातको सम्भोगले छोरी, छैटौंले छोरा, सातौंले बाँझी छोरी, आठौंले ऐश्वर्यशाली छोरो, नवौंले ऐश्वर्यशालिनी छोरी, दसौंले अति उत्तम छोरो, एघारौंले सुन्दर तर शंकास्पद आचरण भएकी छोरी, बार्‍हौंले गुणवान् छोरो, तेर्‍हौँले चिन्ता बढाउने छोरी, चौधौं रात्रिको सम्भोगले सद्गुणी एवं बलवान् छोरो तथा पन्ध्रौँ रात्रिको सम्भोगबाट लक्ष्मीजस्ती छोरी प्राप्त हुन्छ । सोर्‍हौँ रातमा गरिने सम्भोगले सर्वज्ञ पुत्रको प्राप्ति हुन्छ भने यसपछिका रातमा गरिने सम्भोगबाट गर्भ बस्ने सम्भावना नै कम हुन्छ ।

घरमा कसैलाई पनि सहवासको नियम थाहा छैन र भए पनि वास्ता गरिँदैन । बरु पतिपत्नीइतरका सम्बन्ध राखिन्छ, सम्भोग र सहबासका लागि विवाह कुरिँदैन, क्षणिक शारीरिक सुखको लागि मर्यादाको सबै हद पार गरिन्छ । यसै कारण आधुनिक युगमा संस्कार समाप्त भएको छ, छाडापन बढेको छ र मानिसहरूमा स्वार्थी भावना प्रबल हुँदै गएको छ ।फलस्वरुप अपांग र सुस्तमनस्थिति भएका बच्चाहरुको जन्म भएको कुरा हाम्रो समाजमा छर्लंग देखिएको छ । यस्तो कुरा न त डाक्टर ले नै निको पार्न सक्छन् न त अरु कसैले । यसकारण यस्ता कुराहरुमा विशेष ध्यान पुर्याउनु पर्दछ र गर्भाधानपछिका सम्पूर्ण १५ वटा सॅस्कारको ज्ञानसहित पालना गर्यो भने परिवार सुखी र सम्पन्नशाली बन्ने कुरामा कुनै शंका छैन । 

विवाहित जोडी यसरी परस्पर भावमा भावित भएर गर्भाधान सॅस्कार गर्नाले बीजसम्बन्धि तथा गर्भसम्बन्धी सम्पूर्ण मलिनताहरु नष्ट हुन्छन् ।  गर्भशुद्धि भई स्त्रीको पनि सॅस्कार हुने कुरा र सुयोग्य सन्तान प्राप्त हुने कुरा गर्भाधान सॅस्कारको फल हो । गर्भाधान गर्ने समय, गर्भधारण योग्यता, वीर्य( Sperm) निषेचन योग्यता गर्भाधान सॅस्कारको लक्ष हो । गर्भाधान गर्ने बेला आमाबुवाको मनमा जस्तो किसिमको भावको उदय हुन्छ, गर्भस्थ सन्तानको शरीर तथा मन पनि उस्तै किसिमको भावमा गठित हुन्छ । कामभावबाट कामुक, वीरभावबाट वीर पुत्र, धार्मिक भावबाट धार्मिक / सॅस्कारिक पुत्र/पुत्री उत्पन्न हुन्छ । पुरषले आफूलाई ब्रह्म ठानी, स्त्रीले आफूलाई सहनशीला पृथ्वीजस्तै ठानी देवी देवता तथा महापुरषहरुको चिन्तनपूर्वक गर्भाधान सॅस्कार सम्पादन गर्नु पर्छ । गर्भाधान सॅस्कार गर्दा स्त्रीको कामेन्द्रियमा स्पर्श गरी जप्नु पर्ने मन्त्र यस प्रकार छन्  “ ॐ विष्णुर्योनिं कल्पयतु त्वष्टारुपाणि पिंशतु । आ सिन्चतु प्रजापतिर्धाता गर्भं  दधातु ते । गर्भं धेहि सिनीवालि गर्भं धेहि सरस्वति । गर्भं ते अश्विनौ देवावा धत्तां पुष्करस्रजा । हिरण्ययी अरणी यं निर्मन्थतो अश्विना । तं ते गर्भं हवामहे दशमे मासि सूनवे । ॐ पुषा भगं सविता मे ददातु रुद्रः कल्पयतु ललाम्म ।”  अर्थात् पोषणकारी सूर्य तथा रुद्रले उत्तम गर्भस्थान ( योनि) को व्यवस्था गरुन्, सर्वव्यापी विष्णुले यो गर्भ ग्रहण गर्ने स्थान देऊन्, देवशिल्पी त्वष्टाले उत्तम रुप निर्माण गरुन् । प्रजापतिले सिन्चन ( निषेक) गरुन्, सृष्टिकर्ता ब्रह्माले गर्भको सही संगठन मिलाउन् चन्द्रकलाकि देवी र सरस्वती देवीले गर्भाधान गरुन्  । हे स्वर्गीय वैद्य अश्विनीकुमार हो यो गर्भलाई तिमीहरुले धारण गरी आयुष्मान बनाई सत्वगुण सम्पन्न बनाओ । सबै प्रभावशाली देवताहरु आई यो गर्भलाई शक्तिशाली ( मजबुत) बनाओ ।”

यसरी धार्मिक र सॅास्कृतिक दृष्टिबाट गर्भाधान सॅस्कार अत्यन्त महत्वपूर्ण मानिन्छ किनकि दिव्य भावयुक्त भएर गर्भाधान सॅस्कार गरेमा सन्तान उत्तम लक्षण तथा गुणले युक्त भई धार्मिक हुन्छन् । यसमा कुनै संशय छैन ।  अस्तु ।

श्रोत : धर्म शास्त्र तथा ज्योतिषका ग्रन्थहरुको साथै विभिन्न पत्रपत्रिकामा छापिएका लेखहरुको सारांशबाट लेखिएको सार हो यो । यसलाई बुझ्नका लागि पनि सामान्य ज्ञान हासिल भएको हुनु पर्दछ । बुझ्न सक्नुभएन वा यो भन्दा बढी बुझ्न मन लाग्यो भने तलको नम्बरमा सम्पर्क गर्नुहोला ।

नोट : सन्तानको विषयमा परामर्श लिनु पर्यो वा चिना कुन्डली देखाउनु पर्यो वा  यस बाहेक पनि ज्योतिष तथा धर्मसँस्कारसम्बन्धी थप जानकारी लिन चाहेमा ज्योतिष पण्डित राजेन्द्र खनाललाई सम्पर्क गर्न सक्नु हुनेछ । 1-703-870-6480 USA. Or Khanalguru@gmail.com

Info@hinduculturecenter.com

One Comment

  1. Pingback: ऋषि पन्चमीको ब्रत र यसले दिने गोप्य अर्थ -ज्योतिष शास्त्री राजेन्द्र खनाल – Hindu Cultural Center

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.