तीजको ब्रत तथा पूजा किन र कसरी गर्ने ? अमेरिका तथा क्यानडामा कहिले हो तीज ? By Astrologer & Priest Rajendra Khanal

तीज हिन्दू महिलाहरूले प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन उपवास बसेर उल्लासपूर्वक मनाइने विशेष सांस्कृतिक पर्व हो । पहिले सीमित समुदाय वा जातजातिले मात्र मनाउने यो चाड अहिले अन्य विभिन्न समुदायले पनि मनाउन थालेका छन् । पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई नै स्वामीका रूपमा पाएपछि यो चाडको सुरुआत भएको मान्यता छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।  पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । साथीहरुले हरण गरेको भन्ने अर्थमा हरितालिका प्रकटित भएको छ । तीजको अर्थ हो भाद्रशुक्ल पक्षको तृतीया तिथि । तृतीयालाई नेपालीमा तीज भनिन्छ ।

हरितालिका (तीज) का सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरियो नभई हरण गरिएको भन्ने हुन्छ । संस्कृत ब्याकरणको ‘हृञ् हरणे’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘हरित’ शब्दको अर्थ हरण हुन्छ । यसै सन्दर्भमा अर्को घटना पनि जोडिएको छ – द्वापर युगमा भगवान श्रीकृष्णको नामकरण गरिएको दिन पनि ताली बजाएर भजन तथा उत्सव  गरिएकोले पनि यसलाई हरितालिका भन्ने गरिएको हो भन्ने मत पनि पाईन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले यो दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।

“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ”  । आफ्नो स्वास्थ्यको अवस्था कस्तो छ, विरामी अवस्था छ भने वा
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न पनि सकिन्छ ।आफ्नो स्वास्थ्यलाई ख्याल राखेर मात्र ब्रत बस्दा राम्रो हुन्छ ।

श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने नभएर श्रीमान श्रीमतीबीचको प्रेम पनि दर्शाउँछ यस ब्रतले । यदि तपाई श्रीमानको दीर्घायु र सुश्वास्थको लागि नखाई-नखाई ब्रत वस्नु भएको छ भने पक्कै पनि श्रीमानले गर्ने व्यवहारमा पनि परिवर्तन आउन सक्छ । यस कारण पनि यो ब्रतको प्रभावले श्रीमान श्रीमतीको सम्बन्ध गाढ़ा रहोस्, कहिले पनि पारपाचुके गर्नु पर्ने स्थिति नआओस् भन्नका लागि पनि ब्रत बस्ने र भगवान शिवको पूजा गर्ने प्रचलनको सुरुआत भएको हो । यसै कारण पनि बुझ्न सकिन्छ कि हाम्रो हिन्दु समुदायमा भन्दा बढी अन्य समुदायका श्रीमान श्रीमतीबीच पारपाचुके ( Divorce) बढी हुन्छ । 

यस बाहेक अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ ।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाई छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मवादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व रहेको छ ।

व्रत तथा पूजा सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमले गर्न सकिन्छ । तीजको व्रत नित्य र काम्य दुवै खालको हुन्छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई समग्र मानवका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख छ ।

‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि बताईएको छ । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले द्वितीयाको दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई तृतीयाको दिन व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।

पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको संस्कृतिविद् एवं गुरु पुरोहितहरु बताउनुहुन्छ । अमेरिका मा बसेर नेपालका लागि बनेको पात्रोलाई प्रयोग गरेर निर्णय निकाल्ने, गुरु, पुरोहित तथा ज्योतिषलाई नसोधी आँफै निर्णय गर्ने बानि बसेको पाईन्छ । “कानो गोरुलाई औशी न पुर्णे” भने जस्तै भगवानको पूजा गर्नलाई किन तिथि मिति हेर्नु पर्‍यो र भन्ने जमात पनि हामी कहाँ नभएको होइन ।

तीजमा विवाहिता महिलाहरूले आफ्ना श्रीमान् तथा परिवारको सुख–समृद्धि र दीर्घायुको कामना गर्दै तथा अविवाहिताले योग्य श्रीमान् पाऊँ भनी व्रत बस्ने परम्परा छ । समग्रमा तीज नेपाली महिलाहरूको एउटा उल्लासमय सांस्कृतिक पर्व हो, जसलाई चार दिनसम्म विभिन्न धार्मिक-सांस्कृतिक क्रियाकलापका साथ मनाइन्छ । आधुनिक समाजमा तीज फेसन पर्वका रूपमा पनि विकास हुँदै गएकोे छ ।

भाद्र शुक्ल द्वितीयाका दिन विशेष गरी घरका छोरीचेलीहरूका साथ सबै सदस्यहरू भेला भई मीठामीठा परिकारहरू बनाएर खाने प्रचलन रहेको छ । तृतीयाका दिन विहान स्नान गरी मठ मन्दिरमा गएर महादेवको पूजा आराधना गर्ने र दिनभर व्रत बस्ने, दिदीबहिनी, साथीसँगी भेटघाट गरी नाचगान गर्ने परम्परा रहेको छ । भोलिपल्ट चौथीका दिन स्नान गरी भगवान गणेशलाई दूबो चढाई पूजा आराधना गरी व्रत पारायण गरेपछि  मात्र खाना खाने गरिन्छ ।


के के चाहिन्छ पूजा सामाग्री ?

जौ, तिल, कुश, अबिर, केसरी, चन्दन, अक्षता,
दूबो, फूल, दीयो 2, कलश ५ पन्चामृत, प्रसाद,
फलफुल, नैवेद्य, धूपबत्ती, सलाई/ लाइटर,
जनै, सुपारी, कर्मपात्र,
सौभाग्यको सामान(डोरी, टिकी, गाजल, ऐना, सिन्दुर, सारी आदि),
बेलपत्र, तुलसीपत्र, भेटी, पूर्णपात्र र दक्षिणा आदि यथाशक्य ।

चौथो दिन ऋषिपञ्चमी पर्ने भएकाले त्यस दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको नदी, तलाउ, धारा वा कुवामा गई विधिविधान पूर्वक स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास छ । त्यसै दिन अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खाने चलन छ । पञ्चमीको पूजाको छुट्टै परम्परागत महिमा रहेको छ ।

यो पूजा गर्नाले विशेष गरी महिलाहरूले रजस्वला भएका बेला छुवाछुत भएको दोष मेटिने र पापबाट मुक्त भइने पौराणिक तथा धार्मिक विश्वास रहिआएको छ ।

अमेरिका तथा क्यानडामा कहिले हो तीज ? when Teej?    August 21 2020 Friday, Teej -Haritalika vrata in USA 

यस वर्ष अमेरिकाको अक्षांश, देशान्तर तथा सूर्योदयअनुसार तिथि गणना गर्दा अगस्ट 20 तारिक विहीबार दर खाने, अगस्ट २१ तारिख शुक्रबार हरितालिका तीज व्रत, अगस्ट २२ तारिक शनिवार श्री गणेश चतुर्थी व्रत तथा अगस्ट २२ तारिख शनिवार नै ऋषिपंचमी पर्व मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ । दिनको सुरुवात पूर्वबाट हुन्छ भने तिथि एकैपटक सुरु हुन्छ । अतः कतिपय व्रत तथा पर्वहरु एकैदिन पनि अमेरिकामा मनाउनु पर्ने हुनसक्छ। जसरी ग्रहण जहाँबाट देखिन्छ त्यहींमात्र ग्रहणको असर हुन्छ र सुतक लाग्छ । त्यसैगरी विश्वमा छरिएर रहेका हामी नेपालीहरुले स्थानीय अक्षांश, देशान्तर एवं सूर्योदयको समय अनुसार तिथि गणना गरी चाडपर्व तथा व्रत आदिको निर्णय गर्नुपर्ने हुन्छ ।

तीजको सामाजिक महत्व
पहिला पहिला तीजमा विवाह गरी टाढा–टाढा गएका दिदी–बहिनीहरूलाई दाजुभाइ वा माइती तर्फका परिवारका सदस्यहरू गएर सम्मानपूर्वक ल्याउने प्रचलन थियो । अहिले भने यातायात र सञ्चारको सुविधाले यस कार्यलाई सहज तुल्याइ दिएको छ । चेलीबेटीहरू माइत आउने, आमाबाबा दिदीबहिनी, दाजुभाइहरूसँग बसी दर खाने तथा साथीसंगीहरू एकै ठाउँमा भेला भएर आफ्ना मनका भावना एवं सुख–दुःख गीत–संगीतका माध्यमबाट साटासाट गर्ने प्रचलन रही आएको छ । अर्थात् यो एउटा चाड मात्र नभएर परिवारका सबै सदस्यहरू तथा साथीसँगीहरूसँग भेटघाट हुने, चेलीबेटीहरूले माइत आउन पाउने र सुख दुखका कुराहरू साटासाट गर्ने सुखद् अवसरका रूपमा समेत रहेको छ ।

यस चाडले टोल छिमेकका नारीहरूमा समेत एकता, सद्भाव र आपसी सौहाद्र्रताको विकास गराएको पाइन्छ । यसर्थ यस चाडलाई नारी एकताको उत्सवका रूपमा समेत लिन सकिन्छ ।

तीजको पहिरन र शृंगार
तीजका दिन महिलाहरूले विशेष गरी रातो साडी वा पहिरन, चुरा, पोते, रातो धागो, विभिन्न गरगहना आदि लगाएर सजिने प्रचलन रहिआएको छ । यस बेला महिलाले लगाउने पहिरन र शृंगारको छुट्टै सांस्कृतिक महत्व रहेको छ । तीजको आगमनसँगै बजारमा नयाँ नयाँ पहिरन तथा सौभाग्यका सामग्री किन्नेहरूको घुइूचो लाग्ने गरेको छ । सांस्कृतिक अर्थमा नेपाली महिलाले प्रयोग गर्ने सिन्दूर, पोते, धागो तथा चुरालाई सौभाग्यको प्रतीक मानिन्छ ।

सिन्दुर
सिन्दुर विवाहित महिलाको प्रमुख शृंगार प्रसाधन हो । प्राचीन कालदेखि नै विवाहित महिलाहरूले आफ्नो सिउँदो सिन्दुरले सजाउने र अविवाहित महिलाहरूले पनि शुभ प्रतीकका रूपमा सिन्दुरको टीका लगाउने चलन रहिआएको छ । हाम्रोे संस्कृतिमा रातो रंगलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्ने र श्रीमान्प्रतिको समर्पण र विश्वास झल्काउने समेत सांस्कृतिक धारणा रहिआएको छ ।

सिउँदोमा सिन्दूर भरेका महिला देख्दा उनीहरू विवाहित हुन् भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । यसले विवाहित महिलाको परिचय दिन्छ । श्रीमान्को दीर्घायूका साथै सौन्दर्य प्रवद्र्धनका लागि लगाइने सिन्दूरले भाग्य रक्षा गर्ने आम धारणा छ । सामान्य रूपमा सिन्दूरले हरेक किसिमको कुदृष्टिबाट घरपरिवारलाई सुरक्षा दिने धारणा नेपाली समाजमा छ ।

टीका
सौभाग्यको प्रतीक टीकाले नारीसौन्दर्यलाई उजागर गर्छ । दुई आँखीभौँका बीचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा मानिन्छ । यसले घरपरिवारको सुख–शान्ति एवं समृद्धि बढ्ने संकेत दिन्छ । प्राचीन समयमा यसलाई सिन्दूर भनिन्थ्यो । यसलाई शक्तिको प्रतीक पनि मानिन्छ । सिन्दूरलाई मायाको प्रतीकका रूपमा पनि लिइन्छ । यसले श्रीमान्लाई आफूतिर आकर्षित गर्ने विश्वास गरिन्छ । यसलाई बिन्दी पनि भनिन्छ । परम्परागत रूपमा टीका रातो अथवा कलेजी रंगमा प्रयोग गरिन्थो । यो रंगलाई विवाहित महिलाको प्रतीकका रुपमा लिइन्छ ।

टीका विवाहित महिलाले मात्र नभएर स–साना बालबालिका अथवा युवतीले पनि प्रयोग गर्ने गरेका छन् । उनीहरूले प्रयोग गर्ने टीकाको रंग कालो हुन्छ । कालोले नराम्रो दृष्टिबाट बचाउनुका साथै प्रगति पथमा डो¥याउने विश्वास गरिन्छ । अहिले टीका लगाउनु आधुनिक समाजको फेसनका रूपमा विकास हुँदै गएकोे छ । आफ्नो अनुहार सुहाउँदो टीका लगाउन विवाहित महिला मात्र नभएर अविवाहित किशोरीहरू पनि पछि पर्दैनन् । यसले अहिलेको आधुनिक समाजमा पनि टीकाको महत्व दर्शाउँछ । टीकाले महिलाको सौन्दर्यमा निखार ल्याउँछ ।

पोते
पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ । यसले शुभमंगल, सौभाग्य र दीर्घायूको बोध गराउने सांस्कृतिक विश्वास रहेको छ । अझ रातो मोटो पोतेले त अनुहार नै उज्यालो बनाउँछ । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ । यसले व्रत बसेका बेला शरीरमा एक किसिमको ऊर्जा दिन्छ । तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् ।

रातो, पहेँलो, हरियो तथा गुलाबी रंगमा उपलब्ध पोतेले वातावरणलाई नै तीजमय बनाएका छन् । अहिले बजारमा साधारण एक लुङदेखि लिएर अंगुर आकार, चक्रमाला, माछीकाँडा एवं क्रिस्टलका पोते भित्रिएका छन् । अहिले आफूले लगाएको साडीसँग मेल खाने पोते लगाउने चलन समेत बढ्दो छ तीजमा ।



तीज पूजा विधि ( तीजकै भाकामा)
विहानै उठेर सफासुघ्घर भएर पूर्वोत्तर फर्किएर जाप गर्नु है । 
नित्यकर्म सकेपछि पूजापाठ गरने भगवानलाई सम्झिएर भक्ति गर है ! 
पूर्वतर्फ दियो कलश गणेशलाई राखेर बीचमा शिवजीको स्थापन् गर है । 
मनमा संकल्प जौँ तिलानी हातमा आफ्नो गोत्र न्वारानको नाम भन है ! 
अर्घ्यपूजा गरेपछि सूर्यलाई चढ़ाउनु बत्ति बाली दियो कलश पूजा गर है !
गणेशको पूजा गरी धूप बत्ती बालनु नैवेद्य र जल चढ़ाई मनले घुम है । 
अब बल्ल शिवजीको आराधना गरेर फूल अक्षता हातमा लिई ध्यान गर्नु है । 
आवाहनमा शिवजीलाई बोलाउनु मनैले उमासहित महेश्वरको पूजा गर्नु है । 
आशन भनी महादेवलाई कुश बिछ्याई राखनु जौ तिल कुश जल लिई स्नान गराऊ है । 
ल्वांग कपुरको जल लिई पुन: स्नान गराई दूध दही घिउ मह सक्खर खुवाऊ है ।
 पहेलो वस्त्र शिवजीलाई पहिराईदिएर जनै पनि चढाऊ है शिव शंकरलाई ! 
चन्दनको जलले पनि नुहाउनु शिवलाई बहु चन्दन र अक्षताले सिंगारनु है । 
फूलमाला लगाई दिनु शिवजीलाई गलामा पार्वतीलाई सौभाग्यले सजाउनु है  !  
शृंगार आदि चढाएर रातो वस्र ओढाई बेलपत्र र तुलसीले सजाऊ बरि लै । 
प्रत्येक अंग पूजा गर्नु शिवजीका नामैले पाउदेखि शीरसम्म पुज्नु बरिलै । 
धूप बत्ति बालेपछि नैवेद्य नि चढाउनु ल्वांग् कपुरको जल दिई, फल चढाऊ है । 
पान सुपारी चढाएर भेटी पनि चढाउनु आभूषण र गहनाले सजाउनु है । 
पार्वतीका नामहरुले अन्तिम पूजा गरनु मनोईच्छा पूरा हुने ब्रत बरिलै ! 
धूप बत्त्ती आरतीले दर्शाउनु शिवलाई क्षमा मागी भन्नु मनले रक्षा गर है !
 

नोट:
अमेरिका तथा क्यानडामा 2020 को तीज ब्रत अगस्ट २१ तारिख शुक्रवार पर्दछ ।
नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)द्वारा अगस्ट २१ मा सार्वजनिक ‘तीजको पूजा’ कोभिडको कारण जुमबाटै आयोजना गरिने भएको छ, जुम पूजा सुरु हुने दिउसो १ बजे
Time: Aug 21, 2020 01:00 PM Eastern Time (US and Canada)

Join Zoom Meeting link
https://us02web.zoom.us/j/89935382834
Meeting ID: 899 3538 2834

र तपाईंलाई तीजको पूजा र ॠषिपञ्चमिको पूजा गर्नको लागि पण्डित, गुरु तथा पुरोहितको आवश्यकता परेमा यी नम्बरहरुमा कल गर्न सक्नु हुनेछ । नोट: बिहान तथा साँझको समयमा पनि पूजा गर्न चाहनुहुने ब्रतालुहरुका लागि यो वर्ष कोरोनाको कारण जुमबाट व्यवस्था गरिने छ, तथा ऋषि पन्चमी (अगस्ट २२ तारिख)को पूजा गर्न ईच्छुकहरुले कृपया यो नम्बर 703-870-6480 मा सम्पर्क गर्नुहोला वा ईमेल khanalguru@gmail.com मा सम्पर्क गर्नुहोला – धन्यवाद ।
Teej 2020 USA and Canada August 21 2020
Rishipanchami 2020 August 22, 703-870-6480 or 571-315-7682 USA

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.