चैतेदशैँ अर्थात् चैत्राष्टमी र रामनवमी पर्व

चैतेदशैँ अर्थात् चैत्राष्टमी

एप्रिल ६ २०१९

दशैं अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व हो दशैँ  । यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य बड़ा दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिलेपहिले बडादशैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, माैसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछि दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ । जे होस् जसो होस्, चैते दशैंको रौनक पनि कम छैन। चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैत्र नवरात्रि भन्ने चलन पनि छ । यस वर्ष २०७६ को चाडपर्वको श्रृखलालाई यस वर्षको चैते दशैं अनि रामनवमीले स्वागत गरेको छ, यी पवहर्रु नै यस वर्षकालागि लगभग अन्तिम पर्व हुन् । अष्टमी पछिको रामनवमी पछि यो वर्षका सम्पूर्ण चाडबाडहरु सकिएर २०७६ को आगमनसँगै नयाँ सम्वत्सर सुरु हुन्छ ।

वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । चैत्र शुक्ल प्रतिपदाको दिनदेखि चैतेदशैँ सुरु हुन्छ तर सबै दिनलाई त्यति धेरै महत्व नदिएकोले चैत्राष्टमी विशेष महत्वका साथ मनाइन्छ । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दशैंमा पनि मुख्यड दशैंमा झै विभिन्न शक्तिपीठहरुमा पशुवली भोग दिने चलन छ ।
चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा वली दिईन्छ र यस्ता वली दिने कार्यक्रमहरुमा नेपाली सेनाको समेत सहभागीता रहन्छ । वलीका क्रियाकलापहरु पर्यटकहरुले सार्वजनिक रुपमा हेर्न पाउँछन्, पर्यटकीय रुपमा पनि यो चाड उत्तिकै महत्पूर्ण छ ।

अर्कोतर्फ प्राचिन समय देखि नै काठमाण्डौ उपत्यकाका यी देवालयहरुमा वली चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवति मन्दिरहरु अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुँइचो हुने गर्दछ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्दछ । यही चैत्र शुक्ल नवमीकै दिन मर्यादा पुरूषोत्तम श्री रामचन्द्रको जन्म दिन परेको र  १४ वर्षे वनवास सकाएर अयोध्या फर्किएको समय पनि मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्नका लागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, यसैकारण राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र चैते दशैंका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथि सत्यको जितको रुपमा चैते दशैं मनाउँदै आएका हुन् भन्ने सामाजिक मान्यता रहेको पाईन्छ ।

बड़ा दशैंमा झै चैते दशैंमा पनि दुर्गा पूजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्तोत्रहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ अष्टमीको दिन अशोकको फूल खाने गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास पनि छ ।

छोरी चेली भान्जा भान्जीलगायत दिदी बहिनी अनि नाता कुटुम्ब आदिलाई  बोलाएर खुवाउने चलन रहेको छ ।

असत्य अनि असमानता घट्दै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस् ।  असत्य भन्दा सत्यको महत्व सधै भईरहोस् । अस्तु । हाम्रो पात्रो साभार

आजदेखि चैतेदशैँ शुरु, यस नवरात्रीको सबैमा हार्दिक मंगलमय शुभकामना । नवदुर्गा माताको कृपा सम्पूर्णमा बनिरहोस् । सत्यको सधै जीत र असत्यको सधै हार हुन्छ भन्ने प्रमाण देखाउने आदर्श पुरुषोत्तम रामको जन्मकथासँग जोडिएको यो दशैँ सबैको लागि मंगलमय बनोस् । शुभकामना । यस वर्षको चैत्राष्टमी एप्रिल १२, रामनवमी एप्रिल १३ तारिख ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.