सँस्कारिक जीवनको महत्व -कविता

 

 सँस्कारिक जीवनको महत्व

(शार्दुल बिक्रीडित छन्द ‘श’ तथा ‘स’ को अधिक प्रयोग )

                                          -राज शर्मा खनाल

शब्दैबाट सुरु हुने सबथोक सत्प्रेम सँस्कारको । 

शवबाटै सकिने यो मानव जीवन संभोग संहारको । 

सन्सारै पनि अट्न सक्तछ यहाँ सत्कर्म राम्रो गर । 

सत्संगत् यदि भो भने त सहजै सन्तोष र सुन्दर । १। 

 

सारा काम सबै सुरम्य गतिमा गर्नु सु-सन्चालन ।

सत्संकल्प गरी सकामसहितै  सन्तानको चाहना । 

गर्नु नित्य सधै सफा हृदयले ईश्वरको साधना । 

हुन्छ सिध्दि सदा समग्रस्थितिमा सम्मान संभावना । २। 

 

सेवा गर्नु सधै गुरु स्वजनको मिल्नेछ आशीर्वचन्। 

पढ्नु ज्ञान हुने सबै संरचना विज्ञान जे जत्ति छन् । 

सुन्नु ज्ञान सबै पुराणहरुमा सम्पूर्ण सर्वोत्तम । 

बोल्नु सार निली नरम सरसले संक्षिप्त सम्भाषण । ३। 

 

सोँचाई गरनु सधै सफलता मिल्ने सकारात्मक । 

जीवनको पनि ख़्याल राखनु सधै सन्देह संरक्षण । 

ईच्छा गर्नु सधै समाजतिरको सेवा सुरक्षा पनि । 

दु:खी श्रमिकको भलाई गरनु शंका रहे तापनि । ४। 

 

स्वच्छन्द भई जागनु दिनदिनै गर्नु सधै चिन्तन । 

सर्वश्रेष्ठ भई सुशासन गरुन् संयन्त्र सन्तुलन । 

यत्ति मात्र गरे पनि सफलता हुन्छ जीवन सार्थक । 

सम्पूर्ण जनमा पुर्याई दिनुहोस् सज्जन् सुधी पाठक ।५। अस्तु । प्रकाशन मार्च २३, २०१९

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.