ग्रहण किन र कसरी लाग्छ ? अमेरिकामा खग्रास सूर्य ग्रहण लाग्दै

ग्रहण भनेको के हो ? ग्रहण किन र कसरी लाग्छ ? अमेरिकामा खग्रास सूर्य ग्रहण लाग्दै – ज्योतिष पण्डित राजेन्द्र खनाल, अमेरिका

April 8 2024 Monday
Washington DC
संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ । खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ ।

सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो । ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ।

पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ। जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ। यस घटनालाई सूर्यग्रहण भनिन्छ। सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथिमा नै पर्छ।

जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ, अर्थात् एउटै रेखामा पृथ्वी,चन्द्रमा र सूर्य रहॅदा सूर्यग्रहण लाग्छ । अमावश्याको दिन जब चन्द्रमाले सूर्यलाई पूर्णरुपमा छेक्छ त्यस अवस्थालाई खग्रास सूर्य ग्रहण भनिन्छ । आंशिकरुपमा छेकिनुलाई खण्डग्रास भनिन्छ । आज अप्रिल ८ को यो चन्द्र ग्रहण भर्जिनिया डिसी मेरिल्यान्ड लगायतका पूर्वीय क्षेत्रमा दिउसो २ बजेदेखि ४ः३० बजेसम्म रहेको छ ।

ऋषि-मुनिहरूले सूर्यग्रहण लागेको समयमा भोजन गर्न न हुने भनेका छन्, किन भने धार्मिक मान्यताअनुसार ग्रहणको समयमा कीटाणुहरू बाहुल्यताले फैलिन्छन् । खाद्य वस्तु, पानी आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर दूषित गर्दछन् जसको कारण विविध प्रकारको रोग लाग्न सक्छ भन्ने कारणले नखानु भनेको हुन सक्छ ।

ग्रहणमा किन सूतक बार्नु पर्छ ? सूर्य ग्रहणमा ४ प्रहर(१२ घन्टा) अगाडि र चन्द्रग्रहणमा ९ घन्टा अगाडि सूतक बार्नु पर्ने कारण के हो ?

पौराणिक मान्यताअनुसार सूर्य ग्रहणले राहु, चन्द्रमा र केतुलाई विशेष ग्रस्त बनाउॅछ । राहुले सूर्य वा चन्द्रमालाई ग्रस्त बनाउॅदा सूतक लाग्दछ । राहु यस्तो ग्रह हो जसलाई छॅायाभित्र पनि लुकेर बस्नसक्ने अधिकार प्राप्त भएको छ, जब ग्रहण लाग्ने दिन आउॅछ तब राहु र केतुजस्ता नकारात्मक असर गर्ने ग्रहहरु चल्न थाल्छन् त्यसको छायामा आई बस्दछन् । जसका कारण पृथ्वीमा यसको प्रत्यक्ष असर पर्न सक्छ । भौतिकवादमा मात्र विश्वास गर्ने वैज्ञानिकहरु सूर्य चन्द्र आदि पिण्डलाई जड मान्दछन् । सूर्यमाथि पर्ने चन्द्रमाको छाया र चन्द्रमा माथि पर्ने पृथ्वीको छायालाई पनि यिनीहरु जड मान्दछन् । अध्यात्मवादी वैदिक वांग्मयमा उक्त पिण्डहरु जड भए पनि तिनका अभिमानी देवताहरु चेतन हुन्छन् भनिएको छ । यही कुरालाई सिद्धान्त शिरोमणि ग्रन्थमा यसरी बताईएको छ –

“दिग्देशकालावरणादिभेदा- न च्छादको राहुरिति ब्रुवन्ति ।

यन्मानिनः केवल गोलविद्यास्तत्संहिता वेदपुराण बाह्यम् ।।

राहु कुभामण्डलग शशांकम् शशांकगश्च्छादयतीनबिम्बम् ।

तमोमयः शम्भु वरप्रदानात् सर्वागमानाम विरुद्धमेतत् ।। “

भावार्थः दिशा, देश, काल र आवरण आदिको तारतम्यबाट ग्रहण लाग्छ । राहुले ग्रस्त गर्छ भन्ने कुरा होईन भनी केही मानिसहरु भन्दछन् तर त्यो मान्यता ज्योतिष, वेद र पुराणविरुद्ध छ । फलत राहु नामक चेतन असुरले पृथ्वीको छायाभित्र प्रवेश गरी सूर्यलाई डसिरहेको हुन्छ, त्यो असुर आफै तमोमय छ । त्यसलाई यो सामर्थ्य भगवान शिवको कृपाबाट प्राप्त भएको हो ।
यसै कारणले पनि ग्रहणलाई राहु लागेको भन्ने भनाई प्रचलित नै छ । वैज्ञानिकहरुले यस विषयमा थुप्रै अनुसन्धान गरेका छन् तर पनि यी दुबै ग्रह अहिलेसम्म पत्ता लगाउन सकिरहेका छैनन् । छायाभित्र बस्नसक्ने शक्ति भएकै कारण यी दुबै ग्रहको प्रभावलाई अनुभव गरे पनि देख्न र छुन नसकिएको हुन सक्छ । मानिसको चीना कुन्डलीमा यिनीहरुको ग्रहदशा चलिरहेको बेला अनेक दु:ख कष्टको सामना गर्नु पर्ने हुन्छ ।

चन्द्र ग्रहणको समयमा कफको प्रधानता बढ्दछ र मनको शक्ति क्षीण हुन्छ, त्यस्तै सूर्यग्रहणको समयमा जठराग्नि, नेत्र तथा पित्तको शक्ति कमजोर हुन्छ । गर्भवती स्त्रीले सूर्य-चन्द्र ग्रहण हेर्न हुन्न, किन भने उसको दुष्प्रभावले शिशु अङ्गहीन भएर अपाङ्ग बन्न सक्छ, गर्भपातको सम्भावना बढ्न जान्छ । यस समयमा गर्भवती महिलाले अंग प्रत्यंग चलाउने / कन्याउने आदि गर्नु हॅुदैन । यसको लागि गर्भवतीको उदर( पेट) भागमा गोबर र तुलसीको लेप लगाइन्छ, यसो गर्नाले राहु-केतु उसलाई स्पर्श गर्न सक्दैनन् । ग्रहणको समयमा गर्भवती महिलालाई कुनै पनि चिज कैँची या चक्कुले काट्न रोकिन्छ र कुनै वस्त्रादि सिउनबाट पनि रोकिन्छ । किन भने यस्तो गर्नाले शिशुका अङ्गहरू या त काटिन्छन् या सिलाई एक अर्कोमा जोडिन्छन् भन्ने मान्यता छ ।

ग्रहण लाग्नु भन्दा पहिले नदी वा घरमा उपलब्ध जलले स्नान गरेर भगवानको पूजन, यज्ञ, जप गर्नु पर्छ। भजन-कीर्तन गरेर ग्रहणको समयलाई सदुपयोग गर्नुपर्छ । ग्रहणको समयमा कुनै कार्य न गर्नु भनिएको छ । तर ग्रहणको समयमा मन्त्रको जाप गर्नाले मन्त्र दान लिनाले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ । ग्रहणको अवधिमा तेल लगाउनु, भोजन गर्नु, जल पिउनु, मल-मूत्र त्याग गर्नु, कपाल कोर्नु, रति-क्रीडा गर्नु, दाँत माँझ्नु वर्जित गरिएको छ । ग्रहणका दिन पानी, पात, सिनका, दाउरा और फूल फलफूल बटुल्न हुन्न । कपाल तथा वस्त्र निचोर्नु हुन्न र दन्त धावन गर्नु हुन्न । ग्रहणको समयमा ताल्चा खोल्न, सुत्न, मल मूत्र त्याग गर्न, मैथुन गर्न र भोजन गर्न – यि सबै कार्य वर्जित छन् ।

सूर्यग्रहणमा ग्रहण भन्दा चार प्रहर ( १२ घन्टा) पहिले र चन्द्र ग्रहणमा तीन प्रहर( ९ घन्टा) पहिले भोजन गर्न हुन्न। वृद्ध बालक र रोगी एक प्रहर पहिले सम्म खान सक्छन् तर ग्रहण समयमा नखानु नै राम्रो । ग्रहण पूरा भए पछि सूर्य वा चन्द्र, जसको ग्रहण होस्, ग्रहणको समयमा मनमा सत्पात्रलाई उद्देश्य गरेर जल हाल्नु पर्छ । यस्तो गर्नाले दिनेलाई उसको फल प्राप्त हुन्छ र लिनेलाई उसको दोष पनि लाग्दैन । ग्रहणको समयमा गाईलाई घाँस, पक्षीहरूलाई अन्न, बस्त्र नभएकोलाई वस्त्र दानले अनेक गुणा पुण्य प्राप्त हुन्छ । देवी भागवतमा भुकम्प एवं ग्रहणको समयमा पृथ्वीलाई खनजोत गर्नु हुन्न भनिएको छ ।

केही मान्छेहरू ग्रहणको समयमा पनि स्नान गर्दछन् । ग्रहण समाप्त भए पछि स्नान गरेर ब्राह्मण लाई दान दिने विधान पनि छ । कतै-कतै वस्त्र, भाँडा आदी धुने नियम पनि छ । पुरानो पानी, पुरानो अन्न नष्ट गरेर नयाँ भोजन पकाउनु पर्छ । ताजा पानी भरेर पिउनु पर्छ । ग्रहण पछि शुद्रलाई दान दिनाको अधिक माहात्म्य बताइएको छ, किनकी शुद्रलाई राहु-केतुको स्वरूपमा मानिन्छ ।

सूर्य ग्रहणमा जब चन्द्रपिण्डको छायॅा( राहु)ले सूर्यलाई ढाकिदिन्छ त्यसबेला पृथ्वीका प्राणीहरुले सूर्यबाट पाउने प्राणशक्ति अवरुद्ध हॅुदा आफूमा पनि प्राणशक्तिको कमी महसुस गर्दछन् । यस्तो स्थितिमा मानिसले सांसारिक प्रपन्चका सबैकामलाई छोडेर भगवानको ध्यान आराधना, दान, पूण्य, पूजापाठ आदि गरी क्षीण भएको प्राणशक्तिलाई स्थीर राख्नु नै राम्रो हुन्छ । अन्यथा यसको दुस्प्रभावबाट प्राप्त रोगब्याधको सामना गर्नु पर्ने हुन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.