प्रगतिशील कि अधोगतिशील – श्याम खनाल
अहिले हाम्रो समाजमा विशेष गरेर कम्युनिष्ट दर्शनको हिमायती हुँ भन्नेले प्रगतिशील विवाहप्रति आकर्षित गर्ने गराउने गरेको देखिन्छ । अरु पार्टीकाहरूले पनि यस किसिमका विवाह गर्ने गरेको केही नगन्य रुपमा पाइन्छ । मलाई पनि त्यो प्रगतिशील विवाह भन्ने कस्तो रहेछ ? के त्यहाँ गरगहना आदि सबै वर्जित गरिएको हुँदो रहेछ त ? के त्यहाँ भोज-भतेरका नाममा हुने अनावश्यक खर्च आदिलाई कम गरिएको हुने रहेछ त ? के त्यहाँ पोशाकको अनावश्यक तडक-भडक पनि गरिँदो रहेछ त ? भनी म पनि लुरुलुरु त्यस्तो विवाह हेर्ने उत्सुकताले केही वर्ष पहिलेको निम्तोअुनसार कसैको विवाहमा गएँ ।
विवाह सुरु हुने भनेको स्थानमा गएर हेरेँ । यज्ञ मण्डप, बाजा गाजा केही न देखेकोले एकछिन त अल्मलिएँ । हैन विवाह कतै रोकिएछ कि भन्ने लाग्यो । पछि विवाह स्थानमा घाँटीमा टाइ, कोटमा मार्क्सको फोटो भएको ब्याज र खुट्टामा गोल्डस्टारका जुत्ता लगाएर उभिरहेका पहाडबाट भरखर झरेका जस्ता नौला बुबालाई सोध्दा विवाह यहीँ नै हुने कुरा गर्नुभएकोले म पनि कुरेरै बसेँ । राम्रै मूल्य तिरेर होटलमा राखिएको प्रगतिशील विवाहमा होटलको वेटिङ्रुममा केही बेर कुर्न मलाई खासै गाह्रो लागेन । एकछिनपछि केटी पक्षका मानिसहरूको भेला हुन थाल्यो । सुटेड बुटेड जेन्टलमेनहरू र सुनका दाम्लाहरूले घाँटी भरिएका लेडिजहरूको उपस्थिति हुन लाग्यो । त्यसको केही बेरपछि जन्ती आए । म पनि दुलाहा पक्षको भएकोले जन्तीका पछि लागेँ । दुलाहाका बाबा हाम्रा आफन्ती भएकाले गएर नमस्कार गरेँ । जन्तीहरूको तडकफडक पनि केटी पक्षका मानिसहरूको भन्दा कम थिएन । कहिले पाइन्ट नलगाएका दुलाहाका बुबालाई टाइ पनि लगाइदिएर ल्याएको देख्दा अलि नौलो लाग्यो ।
विवाहमा जन्तीलाई स्वागत कोक फान्टा र स्प्राइटले गरियो । एकजना नेता टाइपका मानिस आएर उद्घोषण गर्न लागे । विशेष व्यक्तिहरूलाई आसन ग्रहण गराए भने अरु शेष व्यक्तिहरूलाई तलतिरै बस्न आग्रह गरे । पहिलेदेखिकै चिनजानमा दुलाहा दुलहीले एक-अर्कालाई मन पराएरै यो विवाह भएको भएता पनि जन्तीहरूलाई बेकुप बनाउँदै दुलाहाले स्टेजमा गएर दुलहीलाई विवाहको प्रस्ताव गरे । दुलहीले पनि स्टेजमै गएर आफूले पनि स्विकार गरेको कुरा ओकलिन् । दुलाहा दुलहीबाट माला टीका र औँठी एवं गरगहना साटासाट गर्ने काम गरियो । अङ्ग्रेजीमा Happy Wedding भन्ने शब्द गुञ्जियो। सबैले ताली पिटे । १४ वटा डिक्कमा राखेको माछा, मासु आदिको भतेर चल्यो । आफूलाई नचल्ने भएकोले पानी र जेरी खाएर बसेँ । एकजनाले मुख मिठाउँदै क्या राम्रो व्यवस्था गरेछ । एकजनालाई १८०० बराबरको खर्च रे भन्दै थिए । वेदमन्त्र विनै विवाह सकियो । वेदका मन्त्र पढेर यज्ञ गर्दा लाग्ने धेरैमा पनि दक्षिणा सहित रु ३५००।- लाग्ने रकम बचाएर प्रगतिशीलको नाटक गरियो ।
मैले केही समय पहिलेदेखि नै लेख्दै आएको छु । नेपाल एवं भारत र अन्य अविकसित स्थानहरूमा कम्युनिष्टहरूको सुरुवात गरिएकै त्यहाँको सनातन परम्परालाई नष्ट गरेर विस्तारै क्रिश्चियनीकरण कै लागि हो । मदन भण्डारीले त्यो कुरा बुझी कम्युनिष्टहरूमा केही संशोधन गरेका थिए । अहिले पनि चाइनाले त्यहाँको सनातन परम्परालाई बचाउँदै लगेकोले उसलाई अमेरिकाको दानापानी खाएका कमनिष्ट (निष्टता नभएका) हरूले चाइनाले प्रजातन्त्रको मास्यो भनी विभिन्न माध्यमले आफ्ना कुरा उकेल्ने गरिरहेका छन् । नेपालमा पनि मठ-मन्दिर बनाउने, दौरा सुरुवाल लगाउने कम्युनिष्टलाई दक्षिणपन्थी र प्रतिगमनकारी भन्ने गरिएको प्रत्यक्षै छ । संसदमा जाँदा पनि नेपाली पनको राष्ट्रिय ड्रेस नलगाइकन कुनै फिरङ्गीको ड्रेसमा विदेशी वाद र भेषभुषाको प्रचार-प्रचार गर्ने र जनता झुक्काउन राष्ट्रियता र देशभक्तिका कुरा गर्नेहरूको कमी छैन । उच्च नेताहरू त उनीहरूले के का लागि यो सबै वैदिक सभ्यता विरोधि कार्य गर्छन् भित्र-भित्रै स्पष्ट नै छन् । तर कम्युनिष्ट कार्यकर्ताहरूले धेरै बुझेर हो वा बुझ्दै नबुझेर हो – ईश्वर नमान्नु भनेको ईश्वरको विरोध गर्नु होइन भन्ने बुझेकै छैनन् । कोही बसबाट यात्रा गर्छ भने त्यसले कारबाट यात्रा गर्नुलाई विरोध गर्छ भन्ने होइन । तत्कालिक अवस्थामा कार्ल मार्क्स जन्मेको स्थानमा क्रिश्चियनका पादरीहरूले क्रिश्चियन धर्मको मूल मर्मलाई उल्टा-पाल्टा पारी आफू अनुकूल धर्मको परिभाषा गरी हिँडेकाले उनीहरूको विरोध गरेका हुन् । त्यस समयमा गरिव जनतालाई एक छाक खानु थिएन । तर धनीहरू मोजमस्तीमा रहेका थिए । त्यसैले अहिले स्वर्ग नर्कको कुरा गर्न छाडी पहिले भोकोलाई भोजनको व्यवस्था गर । जनतालाई ईश्वरीय रुपमा देखी सेवा गर भनेका हुन् । ईश्वर छ छैनमा वहस गर्दै हिँड भनेका होइनन् । कुनै पनि धर्मको उद्देश्य चराचर जगतको कल्याण नै हो । भाषा फरक भएपनि सबै धर्मको उद्गमस्थल हिमाल नै हो भनी योगी नरहरिनाथले भन्नुहुन्थ्यो । क्रिश्चियन र मुस्लिम धर्मका पादरी एवं मुल्लाहरूले पनि आफ्ना धर्ममा आफू अनुकूल क्षेपकहरू थप्दा ती धर्महरू भिन्न देखिएका हुन् । हाम्रो वैदिक धर्ममा पनि हाल आएर केही परनामी, रामपाल र रामरहिमहरूले आफू अनुकूल परिभाषा गरिरहेको हामीले देख्दै आएका छौँ । त्यसैले धर्मको मूल कुरा नबुझी आफ्ना ऐस आरामका लागि धर्मको ठेक्का लिएका ठेकेदारहरूको आचरणअनुसार सिङ्गो धर्मको परिभाषा गर्नु भुल हुनेछ ।
एउटा उदाहरणको लागि यहाँ प्रस्तुत गरिएको विवाह जस्तै अन्य महत्त्वपूर्ण स्थानमा पनि यी प्रगतिशीलहरूले हाम्रो वैदिक सत्य सनातन परम्परालाई कुल्चिँदै सुट टाइ लगाउनुलाई नै प्रगति देखेका छन् । त्यही अनुरुप गरिमामय संसदमा उपस्थित हुने गरेका छन् । सिन्दुर र गुन्यु चोली बिना विदेशीको ड्रेस लगाएर जानी नजानी yes, no र thank you भन्नु नै प्रगति देखेका छन् – यसको सट्टा हस्, नाई र धन्यवाद जस्ता शब्द गर्न सकिन्छ नि । पूर्व प्रधानमन्त्री जस्ता र वर्तमान मन्त्रीहरूलाई पनि नेपाली भाषा र ड्रेसको ख्याल छैन । सनातनदेखि चलिआएको मन्दिरमा वेदमन्त्र गुञ्जिँदा उनीहरूको निद्रा विग्रन्छ तर दिनको तीनपटक माइकबाट गुञ्जने मुल्लाबचनको विरुद्ध बोल्ने आँट छैन । धन्यवाद ।