आजको आवश्यकता – संस्कारसहितको शिक्षा – उप प्रा. खनाल

आजको आवश्यकता – संस्कारसहितको शिक्षा – उप प्रा. श्याम खनाल

गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यू महाराजले शिक्षामा संस्कारको महत्त्वको वारेमा यसरी स्पष्ट पार्दै हुनुहुन्थ्यो – हिरण्यकश्यपुले आफ्नो पुत्र प्रह्लादको शिक्षा–दीक्षाको लागि कुलगुरु शुक्राचार्यलाई जिम्मा लगाएका थिए । तर त्यस बखत शुक्राचार्य आफू व्यस्त भएकाले प्रह्लादलाई पढाउने जिम्मा आफ्ना छोराहरू शण्ड र अमर्कलाई दिएका थिए । ब्रह्माजीबाट वरदान पाई शक्तिशाली भएका हिरण्यकश्यपुले आफ्नो शक्तिको घमण्डले गर्दा आफूलाई नै ईश्वर घोषणा गरेका थिए । आफ्नो राज्यमा भएका भगवान्का मन्दिर भत्काउन लगाई आफ्नै मन्दिर बनाएका थिए । यज्ञ यागादि बन्द गराएका थिए । त्यसैले उनको राज्यको शिक्षा–नीति नै आसुरी प्रवृत्तिको थियो । अरुलाई विनाकारण दुख दिने, आफ्नो पेटलाई मात्र महत्त्वपूर्ण मानी हिंसा गर्ने, असत्य बोल्ने, ईश्वरीय सत्य बाटोबाट दिग्भ्रमित गराई व्यक्तिवादी असत्य बाटोमा लगाउने खालका आसुरी–शिक्षाले प्रह्लादलाई छुनै सकेन । उनी अविचलित भई सत्यको बाटोमा हिँडिरहे । यसको कारण के थियो त ? असुरको कुलमा जन्मेका प्रह्लादलाई पेटारे आसुरी शिक्षाको प्रभाव हीनताका कारण भनेका उनी आफ्नी आमा कयाधुको गर्भमा रहँदाको समय एवं जन्मउपरान्तको संस्कारयुक्त शिक्षा नै प्रमुख रूपमा देखिन्छन् ।

हिरण्यकश्यपु तपस्या गर्न गएको मौका छोपी इन्द्रले पेटमा भएको बच्चा मार्नका लागि कयाधुलाई अपहरण गरी स्वर्ग लैजाँदै थिए । बाटोमा भेटिएका नारदको सम्झाई–बुझाई पछि उनले कयाधुलाई नारदसँगै छोडिदिए । नारदसँगको बसाईका क्रममा नारदले गर्ने गरेका भगवद्चिन्तन एवं खान–पानको प्रभाव, कयाधुको पेटमा रहेका प्रह्लादमा परिसकेको थियो । एवं प्रह्लाद जन्मिसकेपछि पनि हिरण्यकश्यपु तपस्याबाट नफर्कँदासम्म कयाधु र प्रह्लादको बसाई नारदसँग भएकोले नारदको वैदिक शिक्षानीतिले प्रह्लादलाई सुसंस्कृत बनाइसकेको थियो । त्यसैले प्रह्लादमा आसुरी विद्याको प्रभाव पर्नै सकेन । “यो जगत्को सबैतिर ईश्वरले वास गरेको छ । तिनै ईश्वरले दिएका वस्तुको उपभोग गर अरु कसैका चल अचल धनमा गिद्धका आँखा नगाड लोभ नगर” “कुनै पनि स्थावर जङ्गम जीवको हिंसा नगर, अहिंसा नै परम धर्म हो” “बाँडेर खाऊ बाँडेर लाऊ बाँडेर बस, सबैलाई भोका नाङ्गा सुकुमवासी राखेर एकले वाँदर न बन” “पिता, माता र गुरुलाई देवतासरह मान” जस्ता अनेकौँ अनुशासनले युक्त संस्कार सहितको वैदिक शिक्षाको प्रभाव प्रह्लादमाथि पर्न गयो । त्यसैले संस्कारले बाँधिएका प्रह्लादमा आसुरी शिक्षाको प्रभाव पर्नै सकेन ।

त्यस्तै हरिहर संन्न्यास आश्रमका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वतीका प्रत्येक वाणीको निचोड नै संस्कार सहितको शिक्षा हुन्छ । विना संस्कारको शिक्षाले मानिसलाई ठूलो दुर्घटनामा लैजाने कुरा उहाँले पटक पटक दोहोर्याई रहनुभएको हुन्छ । एवमेव आफ्नो जीवन नै अध्ययन र अध्यापनमा समर्पित गर्नुभएका ब्रह्मलीन स्वामी डा. रामानन्द गिरिका शिष्य एवं महेश संन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिका वाणीहरू पनि संस्कारित शिक्षामा नै केन्द्रित हुन्छन् । त्यसैले यी तीनैजना स्वामीहरूले संस्कार सहितको शिक्षाकै लागि दैनिक भिक्षाटन गरी हजारौँ विद्यार्थीहरूको पालन–पोषण गरिरहनुभएकै छ ।

त्यस्तै आजीवन–अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथले
वि.सं.२०२८ मा नयाँ शिक्षा लागु हुँदा त्यसको खुलेरै विरोध गर्नुभएको थियो । संस्कृत र संस्कारलाई महत्त्व नदिइएको पेटारे शिक्षाले व्यक्तिकल्याण, राष्ट्रकल्याण केही पनि गर्दैन भन्ने उहाँको भनाई थियो । उहाँले “शिक्षाविकारे सकलविकारः, शिक्षासुधारे सकलसुधारः” भन्ने सिद्धान्तको प्रचार–प्रसारका क्रममा शिक्षामा विकार ल्याए राष्ट्रको नाश अवश्यम्भावी छ भन्नुहुन्थ्यो । “बुद्धिको विकास गर्नु शिक्षाको लक्ष्य हो । अचेलको शिक्षाले रोजी–रोटीकै मात्र कुरा गर्छ । २०२८ साले वाँदरे शिक्षाले सबैलाई वाँदर बनाउँदै छ । यो वाँदरे शिक्षाको आर्जन पछि देवी देवताका सन्तान, ऋषि, मुनीका सन्तान सबै वाँदरका सन्तान बन्न पुग्ने छन् ।” भन्दै संस्कार सहितको स्वदेशीय शिक्षामा योगीजीको विशेष जोड थियो ।
योगी नरहरिनाथले भन्नुभएजस्तै आजकलका शिक्षा पढेकाले तेरा पूर्खा को हुन् भन्दा मेरा पूर्खा फल्ना ऋषि हुन् भन्न जान्दैनन्, जानेका हुन्छन् त केबल ‘मेरा पूर्खा बाँदर हुन्’ भन्न । बुबा, आमा प्रतिको व्यवहारको बारेमा उनीहरूलाई ज्ञानै हुँदैन । देवऋण, पितृऋण, मातृऋणको बारेमा पत्तै पाएका हुँदैनन् । “अन्यायमा बोल्न नसक्ने पनि अन्याय गरेसरह हुन्छ” भन्ने नीतिका कुरा थाहा नपाउँदा समाजमा कसैमाथि परेको अन्यायका विरोधमा बोल्न खुट्टा कमाउँछन् । स्वधर्म र स्वकर्तव्यको बोध नै हुँदैन । योग, ध्यान, प्राणायामले शरीर शुद्धि गर्न नजानेर जिन्दगी सुगर, प्रेसर र दममा बिताउँदछन् । “बढी सम्पत्ति थुपार्नु पनि रोगको कारण हो” भन्ने वैदिक नियम नबुझ्दा, थुपारेको सम्पत्ति उपभोग गर्न नजानेरै ज्यान फाल्दछन् ।

अहिलेको शिक्षाले अधिकांश व्यक्तिलाई असल नागरिक, असल पुत्र नबनाएरै होला सायद धेरै अभिभावकहरू अत्यन्तै चिन्तित छन् । डाक्टर, इन्जिनियर, पाइलट, प्राध्यापक, धनी बनेस् भनेर आशीर्वाद दिनभन्दा पनि उनीहरूले अचेल असल मानिस बनेस् भनेर आशीर्वाद दिन थालेका छन् । गुरुको निगरानीमा सदाचारी बन्न प्रेरित गराउने गुरुकुलमा आफ्ना सन्ततिहरूको भविष्य देख्न थालेका छन् । पेट त कुकुरले पनि पालेको हुन्छ । पेट मात्र सबथोक रहेनछ । त्यसैले मातृभूमि, माता एवं पिताको सेवाका साथ विश्वलाई नै परिवार मान्न सक्ने सुसंस्कृत पुत्र बनाउने लक्ष्यमा अभिभावकहरू देखा पर्न लागेका छन् ।

यसैले होला अचेल युनेष्कोले पनि सुगा रटाईलाई मात्र शिक्षाको रुपमा परिभाषित न गरेर Who can change his behavior is called Education को नारा दिन लागेको छ । त्यसैले शिक्षा मात्र नभएर संस्कार सहितको शिक्षा नै महत्त्वपूर्ण कुरा हो । त्यसका लागि राष्ट्रगुरु योगी नरहरिनाथको यो कविताका साथ विराम लिएँ ।

विदेशीको सिको गरिकन स्वदेशीहरू पनि
उपन्यासैलाई सकलि इतिहासै हुन भनी ।
पढी लेखी घोकी अरूकन पढाई सब कुरा
अपूरा ती मिथ्या जब हुन गए भ्रान्त जनता ।।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.