तिहारमा गरिने लक्ष्मी पूजाविधि तथा दीपावली पूजाविधि र महत्व -ज्योतिष पण्डित राजेन्द्र खनाल, अमेरिका
October 24 Monday 2022
आज धनधान्यकी देवी लक्ष्मीको पूजा विशेष आराधना गरी मनाईदैछ । पहिलो दिन कागलाई बली दिई पूजा गरिसकेपछि दोस्रो दिन कुकुरको पूजा गरे पछि तेस्रो दिन अर्थात् गाई तिहारको दिन विशेषरुपमा लक्ष्मीपूजा मनाइँदैछ ।आजको दिनमा दीप-बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक विश्वास पनि रहिआएको छ । बिहानै उठी, नुहाईधुवाई गरी आफ्नो नित्यकर्म सकियकेपछि गाईको पूजा गर्ने नुन र नैवेद्य खुवाई घर सफा राख्ने, दैलो, झ्याल, ढोका, कौसी सबैतिर सरसफाइ गरी घरको मूल ढोकामा गाईको घिउ तथा चामलको पिठोले वशुधारा हाल्ने चलन पनि छ । त्यसपछि साँझमा
झिलिमिली बत्ती बाल्ने गरिन्छ र लक्ष्मी पूजा गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन पनि छ । सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलीले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गरेका थिए । यमपञ्चकमा जुन घरमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनु भयो । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले धनदौलत मात्र होइन कि सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ । नेपाललगायत विश्वका धेरै ठाउँमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । अन्य धर्मावलम्बीहरुले पनि यसलाई मनाउन थालेको पाईन्छ । धेरै पहिला वैश्य (व्यापार – व्यवसाय गर्ने ) जातिले मनाउन सुरु गरेको यो पर्व अहिले सबैले उतिकै महत्वका रुपमा मानिन थालेको छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ । वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिनदेखि स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन थियो भने अहिले सबै जना जम्मा भई मिलेर खेल्ने चलन छ । लक्ष्मी धनकी देवी हुन् ।
लक्ष्मीको पूजा गर्दा चन्दन, अक्षता, फूल, जौँ तिल, कुश, गणेश, कलश, दीयो, कर्मपात्र, अर्घ्यपात्र, पूजाथाली, पन्चामृत, नैवेद्यका परिकार(काजु किसमिस, हलुवा, पुरी, सेल, फिनी, मनभोग, पानमसला, नरिवल, ओखर, कटुस, बिमिरो, लड्डु, पेडा, अपुंगो आदि) लक्ष्मीको प्रतिमा, धूप बत्ति कपुर, बस्र, सौभाग्य शृंगार, आभूषण (गहना), पैसा, चामल र फलफूल आदि आवश्यक पर्दछ ।
यस दिन प्रातः उठेर नित्यकर्म गरी दिनभर लक्ष्मीको उपवास बसेर सन्ध्याकालमा स्नान गरी लक्ष्मीको पूजा गर्नुपर्दछ । पूजामा बस्दा शुद्ध हुनुपर्दछ । छालाका सामान वा फुटेका भाडाबर्तन प्रयोग गर्न हुँदैन । जल आचमन गरी मण्डपमा दीप–कलश–गणेशको पूजा गरिन्छ । यस दिन विशेष रूपले गणेश, इन्द्र, कुबेर र लक्ष्मी स्थापना गर्नु पर्दछ । तीन देवी देवताको प्राणप्रतिष्ठापूर्वक पूजा गर्नुपर्दछ । मण्डप निर्माण गर्न नसके पनि पूजास्थानमा तामा वा काँसको थालीमा अष्टदल लेखी अष्टदलको बीचमा लक्ष्मीको सुवर्णप्रतिमा स्थापना गर्नुपर्छ । हातमा द्रव्य र जल लिएर “मेरो घरमा मलाई वेद, पुराण, धर्मशास्त्रहरूले बताए अनुसार अहिलेसम्म प्राप्त गर्न नसकेकी लक्ष्मी प्राप्त हऊन् र आर्जित लक्ष्मी दीर्घकालसम्म रहिरहून्, यसका लागि दीप–कलश–गणेश महालक्ष्मीसहित, सरस्वती, इन्द्र र कुबेर आदिको पूजा गर्दछु ।” यस्तो संकल्प पश्चात् अर्घ्य स्थापना गरी दीप कलश पूजन गरी विघ्नहर्ता श्री गणेशजीको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नम: भन्दै पाद्य (तिलानी जल, अर्घ, कपुर जल, शुद्धजल, तीर्थजल, पन्चामृत आदि ) उपचारले पूजा गरिसके पछि चन्दन अक्षता फूल, धुप, दीप, नैवेद्य, फल, प्रसाद, प्रदक्षिणा गर्दै गणेशजीको पूजा गर्ने तत्पश्चात् इशानकोणमा रहेको वरुण कलशको पनि यसै गरी पूजा गर्नु पर्दछ । कुवेर आदि दस दिग्पालको पनि पूजा गर्नु पर्दछ । अब यति गरेपछि

“महालक्ष्मीजीको प्रतिमा, मूर्ति वा फोटो राख्ने र महालक्ष्मीजीको पूजनको लागि हातमा कमलफूल रातो अक्षता लिएर ध्यान गर्दै चढाउने – मन्त्र –
ॐ ध्यायामी तां महालक्ष्मीं कर्पूरक्षोदपाण्डुरम् ।
शुभ्रवस्त्रपरिधानां मुक्ताभरण भूषिताम् ।
पंकजासनसँस्थानां स्मेकाननसरोरुहाम् ।
शारदेन्दु कलाकान्तिं स्निग्धनेत्रां चतुर्भुजाम् । पद्मयुग्माभयवरव्यग्रचारुकराम्बुजाम् ।
अभितो गजयुग्मेन सिच्यमानां कराम्बुना ।।
ॐ श्री महालक्ष्म्यै नम:
ॐ महालक्ष्मी समागच्छ पद्मनाभपदादिह
पूजामिमां गृहाणत्वं त्वदर्थं देवी संभृताम् ।
यदि प्रतिमा, मूर्ति वा फोटोको प्राणप्रतिष्ठा नभएको भए प्राणप्रतिष्ठा गर्ने र फूल अक्षता सहितले आवाहन पनि गर्ने र कुशको आसन राखिदिने, ॐ श्री महालक्ष्मै नम: भन्दै पाद्य, अर्घ्य, आचमनी, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई दूध, दही, घ्यू र मह मिश्रित मधुपर्क तथा गंगाजलले स्नान गराई महालक्ष्मीलाई आफ्नो गच्छेअनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, अक्षता, वस्त्र, सौभाग्य चढाउनु पर्दछ । तत्पश्चात्, जौँ,तिल, फूल, माला, बेलपत्र, सहित शोडषोपचारले पूजा गर्दै महालक्ष्मीको ॐ महालक्ष्मै नम: भन्दै अङ्ग पूजन गरी धूप, दिप, विभिन्नखाले नैवेद्य, फलफूल, पान, सुपारी, भोगटे, कौडी, कमलगट्टा, कमलको फूल, जटा नरिवल विशेष रूपमा चढाइन्छ, यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास छ । त्यसपछि रातो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । यसै समयमा सरस्वती र कुवेरको पनि पूजा गर्नु पर्दछ । तत्पश्चात् हातमा फूल, चन्दन र अक्षताले अङ्गपूजा गर्ने । ॐ चपलायै नमः, पादौ पूजयामि । ॐ चञ्चलायै नमः, जानुनी पूजयामि । ॐ कमलायै नमः, कटिं पूजयामि । ॐ कात्यायन्यै नमः, नाभिं पूजयामि । ॐ जगन्मात्रे नमः, जठरौ पूजयामि । स्तनौ पूजयामि । ॐ विश्ववल्लभायै नमः, वक्षस्स्थलं पूजयामि । ॐ कमलवासिन्यै नमः, हस्तौ पूजयामि । ॐ पद्मानानायै नमस्, मुखं पूजयामि । ॐ कमलपत्राक्ष्यै नमस्, मुखं पूजयामि । ॐ श्रियै नमः, शिरः पूजयामि । ॐ महालक्ष्म्यै नमः, सर्वाङ्गं पूजयामि । अब महालक्ष्मीको निराजन आरती शङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गरी पुन: पुष्पान्जली गर्नु –
ॐ अमलकमलसंस्था–तद्रजः पुञ्जवर्णा ।
करकमलधृतेष्टा भीतियुग्माम्बुजा च ।
मणिमुकुटवित्रतालङ्कृता कल्पजालै–
र्भवतु भुवनमाता सन्ततं श्रीः श्रियै नः ।।
करकमलधृतेष्टा भीतियुग्माम्बुजा च ।
मणिमुकुटवित्रतालङ्कृता कल्पजालै–
र्भवतु भुवनमाता सन्ततं श्रीः श्रियै नः ।।
या सा पद्मासनस्था विपुलकटितटी पद्मपत्रायताक्ष
गम्भीरावर्तनाभिस्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया ।
या लक्ष्मीर्दिव्यरूपैर्मणिगणखचितैः स्नापिता हेमकुम्भैः
सा नित्यं पद्महस्ता मम वसतु गृहे सर्वमांगल्ययुक्ता ।।
गम्भीरावर्तनाभिस्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया ।
या लक्ष्मीर्दिव्यरूपैर्मणिगणखचितैः
सा नित्यं पद्महस्ता मम वसतु गृहे सर्वमांगल्ययुक्ता ।।
ॐ केतकी जाति कुसुमैर्मल्लिकामालतिभवै
पुष्पान्जलीर्मयादत्तं स्तव प्रित्यै नमोऽस्तुते ।।
ॐ कमला चपला लक्ष्मीश्चलाभूतिर्हरिप्रिया ।
पद्म पद्मालया संपदुच्चै: श्री पद्मधारिणि ।।
नमस्ते सर्वदेवानां वरदासि हरिप्रिये ।
या गतिस्त्वत्प्रपन्नानां सा मे भूयात्वदर्चनात् ।।
या देवी सर्वभूतेषु लक्ष्मीरुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम : ।।
शारदेन्दु कलाकान्ति: स्निग्धनेत्रा चतुर्भूजा ।
पद्मयुग्मा चाभयदा करव्यग्रकराम्बुजा ।।
विष्णोर्वक्षसि पद्मे च शंखे चक्रे गदाधरे ।
लक्ष्मीदेवी यथाऽसि त्वं मयि नित्यं तथा भव ।।
ॐ धनदाय नमस्तुभ्यं निधिपद्माधिपाय च ।
भवन्तु त्वत्प्रसादान्मे धनधान्यादि सम्पद ।।
ईति लक्ष्मी पूजाविधि समाप्तम् ।
आदि मन्त्र द्वारा पुष्पाञ्जली गरेर आरतीलाई घुमाई, सबैजनाले आरति लिनु र आफ्नो मनोकामना पूर्णहोस् भनी जगत् जननी महालक्ष्मीलाई साष्टाङ्ग प्रणाम गरी आशीर्वाद लिनु पर्दछ ।अन्त्यमा टीका लगाई पन्चामृत प्रसाद आदि खाई सुख रात्रीभर देउसी भैलो गाएर नृत्य गरी जाग्राम बस्नु पर्दछ । यसरी गरिएको पूजाबाट महालक्ष्मी प्रसन्न भई भक्तहरूको मनोकामना पूरा गरिदिने विश्वास रही आएको छ । अन्त्यमा श्रीसूक्त पाठ गर्ने / सुन्ने चलन पनि रहिआएको छ ।
…
ॐ महालक्ष्मीं च विद्महे विष्णु पत्निं च धिमहि तन्नो लक्ष्मी प्रचोदयात् । १०८ पटक जप्ने ।
ऋणरोगादि दारिद्र्यं पापन्च अपमृत्यव ।
भयशोकमनस्तापा नश्यन्तु भव / मम सर्वदा ।।
ईति