गुरु शब्दको अवमूल्यन – श्याम खनाल उप प्रा.

गुरु शब्दको अवमूल्यन – श्याम खनाल उप प्रा.

 

संस्कृतको गुरु शब्दको अर्थ हुन्छ- अविद्यालाई नाश गरेर ज्ञान दिने पुरुष । यस कुराले गुरुले शिष्यलाई ज्ञान मात्र भरिदिएर हुँदोरहेनछ, शिष्यमा रहेको अविद्यालाई पनि नाश गरिदिनुपर्ने रहेछ भन्ने बुझिन्छ । यहाँ ज्ञान भरिदिइसकेपछि त अविद्याको नाश त स्वतः हुनुपर्ने हो । तर संसारमा रहेका सबै किसिमका ज्ञानले अविद्याको नाश गर्न नसक्ने हुनाले, शिष्यले पनि त्यस्तो किसिमको ज्ञानको खोजीमा हिँड्नुपर्यो, जसले अविद्याको नाश गर्न सकोस् । आखिरी ज्ञान भनेको जान्नु हो । त्यसैले त्यो जानाई विश्वकल्याणका लागि हुनुपर्यो नकि विश्वलाई तहस नसह पार्नका लागि । यहाँ अविद्या भनेको इन्द्रियहरूको दोष र संस्कारको दोषबाट उत्पन्न दुष्ट ज्ञान हो । त्यसैले त्यो संस्कार दिने व्यक्ति अर्थात् गुरु पनि असल हुनुपर्यो । असल गुरुबाट आर्जित विद्याले मात्र व्यक्तिलाई अविद्याबाट मुक्त गराई ज्ञानको सागरमा डुबाउन सक्दो रहेछ, जुन ज्ञानले व्यक्ति, समाज, देश र विश्वकै कल्याण गर्दो रहेछ । कुनै विषयको जानकारीले मात्र वास्तवमा विद्या प्राप्ति हुँदोरहेनछ । त्यसैले त पाश्चात्त्य शिक्षासँग मात्र जोडिने युनेस्कोको नारा पनि हाम्रो पौरस्त्य सभ्यताले भनेजस्तै Who can Change his behavior is called Education हुन पुगेको छ । अर्थात् केही कुराको जानकारी मात्र शिक्षा होइन, व्यक्तिले आफ्ना इन्द्रियजन्य दोषबाट हुने व्यवहार परिवर्तन गरेर असल व्यवहारमा लाग्नु नै वास्तवमा शिक्षा हो । यहाँ शिक्षाको अर्थ गुरुबाट विद्या सिक्नु भन्ने बुझ्नुपर्छ । यी सबै कुराहरूले हामीलाई असल शिक्षा दिने असल गुरुको खोजी गर भन्ने बुझाउँछ । उपनिषद्‌मा विद्या दुई प्रकारका मानिएका छन् । एक परा विद्या अर्को अपरा विद्या । परा विद्या भनेको अध्यात्मविद्या हो । अध्यात्म भनेको आत्मा र ब्रह्मसम्बन्धी भन्ने हो । अपरा विद्या भनेको लौकिक विद्या हो, जसअन्तर्गत वेद, शिक्षा, व्याकरण, निरुक्त, छन्द र ज्योतिषसम्बन्धी ज्ञान आउँछ । कुरो गहिरिएर बुझ्दा आत्मा र ब्रह्म नजानिकन त वास्तवमा विद्या प्राप्ति नै हुँदो रहेनछ त । आत्मा र ब्रह्मको ज्ञानपछि मात्र बल्ल इन्द्रियजन्य दोषको निवारण भई वास्तविक विद्याको प्राप्ति हुँदोरहेछ त । हो बल्ल यस्तो कुराको ज्ञान दिने व्यक्ति नै गुरु हुन् । ती गुरुको परम्परा भगवान् नारायणबाट सुरु भई ब्रह्मा, वसिष्ठ, शक्ति, पराशर, व्यास, शुकदेव, गौडपद, गोविन्द, शङ्कराचार्य, रामानुजाचार्य, वल्लभाचार्य, निम्बार्काचार्य, गोरक्षनाथ हुँदै हामीमा आउने रहेछ । त्यसैले श्वेताश्वेतरोपनिषद्‌मा – “यस्तं न वेद किमृचा करिष्यति” अर्थात् जसले वेदप्रतिपाद्य त्यस तत्त्वलाई जानेको छैन भने वेदलाई मात्र जानेर त्यसले के नै जान्यो र ? यहाँसम्मका कुराबाट हामीले व्यवहार चलाउन वेद, ज्योतिष आदि अपरा विद्या ज्ञान गरेता पनि वेदप्रतिपाद्य तत्त्वलाई जान्नको लागि त्यो परा विद्या, ब्रह्म विद्या जान्नैपर्दछ । नभए त्यो हामीले जानेको कुरा ज्ञान हुँदैन । अपरा विद्याले मात्र त झन् हामीमा अहङ्कार उत्पन्न गराइदिई आफूलाई एकदमै जान्नेसुन्ने गराई कता लगेर पतन गराउँछ पत्तै हुँदैन । त्यसैले हामीले परा एवं अपरा विद्याको ज्ञान भएको गुरुलाई नै गुरु मान्नुपर्ने देखिन्छ, जोद्वारा हामीहरूले भौतिक एवं आध्यात्मिक दुबै सुख प्राप्त गर्न सकौँ । गुरु परम्पराबाट आएका यस्ता गुरुहरू अहिले पनि भारत र नेपालका विभिन्न कुनाहरूमा साधनारत हुनुहुन्छ नै ।

यस्तो गहन अर्थको गुरु शब्द अहिले आएर हामीले कहाँसम्म प्रयोग गर्ने गरेका छौँ, त्यो सबैले जानेको विषय नै हो । चाहे जस्तोसुकै शिक्षा दिने पनि गुरु भित्रै पर्दछन् । रु ५०० मा गायत्री मन्त्र बेच्नेदेखि अहिलेका हामी हेलमेट टिचरहरू पनि गुरु भित्रै पर्दछौँ । त्यस्तै गाडीको सहयोगी भाइले आफूलाई ड्राइभिङ्गको ज्ञान दिनेलाई सम्बोधन गर्ने शब्द पनि गुरु नै हो । पेट पाल्नका लागि बाटोमा बसेर केही नजानिकन हातदेखि धर्को हेर्नेसम्मका पनि गुरु नै हुन् । रक्षाबन्धनका दिन झिस्मिसैमा मुण्डनादि कर्म र ऋषि तर्पण नगरिकनै धागो र जनै लिएर हिँड्ने पनि गुरु नै हुन् । बाटामा गाँजा खाएर लड्ने पनि गुरु नै हुन् । मुण्डनादि कर्म नगरिकनै व्यास आसनमा बसी नारी नचाएर द्रव्य आर्जन गर्ने पनि गुरु नै हुन् । दिनमा सातवटा श्राद्ध गरी ल्याएको द्रव्यले धुम्रपानादि कर्म गर्ने पनि गुरु नै हुन् । एवं भक्तहरूलाई अनावश्यक रुपमा तर्साएर ग्रहका ‍औँठी र माला बेच्ने एवं कालसर्प योगको डर देखाएर नागपञ्चमीका दिन सामूहिक कालसर्प योगको निवारण गर्ने भनेर लाखौँ कुम्ल्याउने पनि गुरु नै हुन् । एवं मनगडन्ते चालले डलरमा बिकी पाँच दिने र सात दिने क्रियाकर्म गराउँदै हिँड्ने पनि गुरु नै हुन् । ज्योतिष र कर्मकाण्डका दोकान खोलेर कालिदासले भनेजस्तै ज्ञान बेच्ने पसल खोलेकाहरू पनि गुरु नै हुन् । घरमा श्रीमतीसँग परेको झगडालाई विद्यालयका छात्रहरूका कान राता बनाएर शान्त हुने पनि गुरु नै हुन् । भगवान्‌ र आफ्ना गुरुहरूलाई विस्थापित गरी आफ्ना फोटा र मूर्ति स्थापित गर्ने पनि गुरु नै हुन् । फेसबुक या कतैबाट कतैका लेख रचना सुटुक्क कपि पेष्ट गर्ने पनि गुरु नै हुन् । कुनै संस्थालाई मोटो रकम दिई ती संस्थाहरूबाट पाउने घरगुरु, सम्प्रदायगुरु, जगद्गुरु आदि विशेषणयुक्त पनि गुरु नै हुन् । भ्रान्तिकारी, जटाधारी, लटाधारी, कुण्डले, मुण्डले सबै गुरु नै हुन् ।

त्यसैले यसरी गुरुत्व हराएको गुरु शब्दको हामी गुरु कहलाइएकाहरूले पुनर्जीवन दिनु परम कर्तव्य हुन आएको छ । जीवनमा आउन लागेका ग्रह जनित दोषहरूलाई ट्राफिक सिग्नलको रुपमा देखाएर जीवन जीउन केही मार्गदर्शन गर्ने ज्योतिष विद्या, अर्थकरी विद्या त पक्कै हो, तर यसरी विना अध्ययन दलका जस्ता सङ्गठन खोलेर मानिस तर्साउने खालको विद्याको रुपमा व्यवहार नगरी यसलाई आफ्नो गहिरो अध्ययनपछि मात्र शास्त्रोचित प्रयोग मात्र गर्ने तर्फ ज्योतिषगुरुहरू लाग्न पर्ने देखियो । त्यस्तै कर्मकाण्ड गर्नेहरू पनि शास्त्रोचित तरिकाले लोभ नगरिकनै कर्मकाण्ड गर्नेतर्फ लागि आफूलाई सम्बोधन हुने गुरु शब्दको महत्ता बढाउनेतर्फ लाग्नुपर्यो । एवमेव सबैले आफ्नो धर्म सम्झी अनुचित तरिकाले ल्याएको धन हितकारी भन्दा पनि हतकारी हुन्छ भन्ने शास्त्रको वचन पालना गर्दै गुरु शब्दको अर्थलाई प्राकृत अवस्थामै ल्याउन लाग्नुपर्यो ।

त्यस्तै अन्त्यमा हामी शिक्षक वर्ग जसलाई हाम्रा विद्यार्थीहरूले अति सम्मान गरी गुरु शब्दले पुकार्दछन्, उनीहरूलाई उचित शिक्षा दिन अहोरात्र खट्नुपर्‌यो । योगी नरहरिनाथले पटक पटक शिक्षाविकारे सकलविकारः शिक्षासुधारे सकलसुधारः भन्ने कुराको हृदयङ्गम गर्नुपर्यो । आधुनिक शिक्षाका शिक्षकहरूले आफू कार्यरत सरकारी क्याम्पसमा आफ्नो समय नियमानुसार बिताउनुपर्यो । प्राचीन शिक्षाका शिक्षकहरूले पनि हामी त्यस्तो गुरु शब्दको पूर्ण अर्थको परा विद्या सिकाउन सक्ने नभए पनि कमसेकम तोकेको पाठ्यक्रमलाई राम्रोसँग पुरा गरी सही गुरु हुनुपर्यो । कर्मकाण्ड आदि धनार्जनका कुरा विदाको दिनमा मात्र गर्न पर्यो । आफूले पढ्दादेखिका नोट लेखाएर मात्र नभएर विद्यार्थीलाई नै सक्रिय बनाएर उसको विद्याप्रतिको भोकलाई मेटाउनुपर्यो । हाम्रो शिक्षणको जादुले विद्यार्थीलाई पढ्ने रुचि पैदा गरिदिनुपर्यो । अनि मात्र अरुले गुरु भनेर सम्बोधन गर्दा आंशिक मात्रामा भएपनि भित्रैदेखि आफूलाई आनन्दको महसुस हुनेछ । जय गुरुदेव ।

मैले चरणस्पर्श गर्ने सौभाग्य प्राप्त गरेका ब्रह्मलीन स्वामी परमानन्द गुरु एवं ब्रह्मलीन स्वामी रामानन्द गुरुमा समर्पित यो लेख ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.