‘मारकसवादी नवलेण्डुपे दर्शन ‘ – उप प्राध्यापक श्याम खनाल

“मारकसवादी नवलेण्डुपे दर्शन भन्दा बौद्ध दर्शन धेरै माथि छ – उप प्राध्यापक श्याम खनाल

 

पौरस्त्य एवं पाश्चात्त्य जगतमा विभिन्न दर्शन र वादहरू आए । ती प्रत्येक दर्शन भौतिक एवं आध्यात्मिक तरिकाको मानव जीवनको सार्थकताका लागि आएका हुन् । पौरस्त्य जगत्‌मा विभिन्न आस्तिक एवं नास्तिक दर्शनहरू प्रसिद्ध छन् । ती नास्तिक या आस्तिक जे भएपनि मानवको कल्याणका लागि नै आएका छन् । नास्तिक दर्शनले ईश्वरको अस्तित्वको भौतिकरुपमा खोजी गर्दछ । ईश्वर भौतिक रुपमा उपस्थित हुने विषय नभई अनुभूतिको विषय भएकोले उसले यी चर्मचक्षुले देख्न नसक्दा भन्छ -ईश्वर छैन । नास्तिक दर्शन पनि वास्तवमा पछि गएर आस्तिक नै हुन पुग्छ किनभने वादविवाद भनेको कुनै पनि अस्तित्वमा रहेको कुराकै हुने गर्दछ । अर्को कुरा आस्तिक नास्तिक सबैले खोजी गर्ने विषय भनेको आनन्द हो । त्यो आनन्द नै ईश्वर हो । त्यसैले आफूलाई नास्तिक भने पनि आनन्दको खोजी गर्ने ती वास्तवमा नास्तिक हुँदैनन् भन्ने मत पनि अत्यन्त रोचक नै छ । यी सबै दर्शनमा गहिरिएर पढ्दा अत्यन्त आनन्दको अनुभूति हुन्छ ।

त्यस्तै पाश्चात्त्य जगत्‌मा आएका दर्शनहरूमध्ये मार्क्सवाद पनि एक प्रमुख भौतिक दर्शन हो । यसको पनि त्यतिखेरको समाजमा महत्त्वपूर्ण स्थान थियो । तात्कालिक इसाइ समाजमा आएको विकृतिको विरुद्ध यो दर्शनले आफ्नो कुरा राखेको छ । परमेश्वर पुत्र जिससले भनेका कुरालाई कमाई खाने बाटो बनाएका तात्कालिक पादरीहरूको आचरण देखेरै मार्क्सले धर्मसम्बन्धी केही विपरित धारणा राखेका हुन् । उनीजस्ता चिन्तक यो भारतवर्षमा जन्मिएका भए सायद पौरस्त्यदर्शन सम्बन्धी उनको धारणा विश्वप्रसिद्ध नै हुने थियो । उनीजस्ता चिन्तकले बल्ल हाम्रा उपनिषद्का कुराहरू बुझ्न सक्दथे । अर्को कुरा उनले त्यतिखेर धर्मसम्बन्धी राखेको नीति कुनै चर्चमा लगेर आगो लगाउने वा पादरीहरूका जिसस अङ्कित माला चुँडाल्नेमा केन्द्रित थिएन । किनभने उनले बुझेका थिए – कुनै पनि धर्म कसैको पनि घातचिन्तक हुन सक्दैन । त्यसैले धर्म गलत भन्दा पनि धर्मका ठेकेदारहरूको कार्य गलत भएकाले त्यसको विरोध उनले गरेका हुन् । मार्क्स जन्मेको स्थानमा धनी र गरिबबीचको खाडल ठूलो थियो । धनीहरूले गरीबहरूलाई दास बनाएर राखेका थिए । धर्मको ठेकेदार पनि तिनै धनीहरू थिए । यस्तो अवस्था देखेका उनले तात्कालिक अवस्थामा एउटा धर्मरहित समाजको कल्पना गरेका हुन् । पहिला रोजी रोटी समस्याको समाधानतिर लागौँ भनेका हुन् ।

मार्क्सको दर्शन कालान्तरमा संसारका कुना कुनामा फैलन पुग्यो । मार्क्सले आफ्नो भौतिकवादी रोजी रोटीको दर्शन सुरु गर्दा हाम्रो भारतवर्ष पनि कुरानको निराकार ईश्वरवादको मर्म नबुझेका केही मुसलमानहरूको आतङ्कबाट प्रताडित भई पुनः व्यापारी अङ्ग्रेजहरूको शासनले लुटिएको अवस्थामा थियो । मुसलमान र अङ्ग्रेजको लुटाइबाट यहाँको आर्थिक अवस्था अत्यन्त कमजोर भएको थियो । तर पनि वैदिक साम्यवादका पक्षपाती यहाँ हिन्दूहरू आफ्नो सनातन धर्म र मातृभूमिको प्रेमबाट विचलित भएका थिएनन् । यस्तो अवस्थामा अङ्ग्रेजले यहाँ शासन गर्न यहाँको धर्म, संस्कार र संस्कृतिलाई नष्ट गर्ने योजना अगाडि सार्‌यो । मुसलमान र केही वर्ष अघिदेखिको अङ्ग्रेजको शासनबाट केही आर्थिक रुपमा कमजोर भएका जनतालाई यो सबै हुनुको कारण भनेको हाम्रो धर्म दर्शन हो भन्ने खालको विपरित कुरा बताउन लाग्यो । कामका आधारमा सनातन परम्पराबाट चलिआएको सबै वर्ण समान भन्ने सिद्धान्तलाई बाङ्गोटिङ्गो गराई मनगढन्ते परिभाषा गर्दै पुस्तकहरू छाप्न लाग्यो । यतिले मात्र नभएर मार्क्सले त्यहाँको समाजसुधारको लागि ल्याएको भौतिकवादी दर्शनलाई यहाँ मन्दिर तोडेर अराजकता फैलाउने काममा प्रयोग गर्न थाल्यो । उसको नीति पहिला कम्युनिष्टको नाममा यहाँका जनतालाई नास्तिक बनाउने अनि मात्र पछि बाइबल समाउन लगाउने हुन लाग्यो । अङ्ग्रेजले शासन गरेर गएको यतिका वर्ष हुँदा पनि ती अवशेषहरू कहिले केरला, कहिले दिल्ली, त कहिले पश्चिम वङ्गाल आदि स्थानमा जुर्मुराएको अवस्था देखिन्छ ।

भारतवर्षका विभिन्न राज्यमा आएका यी वादहरू नेपालमा पनि नछिर्ने कुरै भएन । यहाँका शासकवर्गले केही बाटो विराउँदा ती वादहरूलाई छिर्ने मौका मिलेको हो । तर पनि ती वादहरू भित्राउने पुराना नेताहरूले त्यस्तो मन्दिर भत्काउने र धर्मको खिल्ली उडाउने काम चाहिँ गरेनन् । किनभने उनीहरूले मार्क्सवादको सकारात्मक उद्देश्य बुझेका थिए । अर्थात् मार्क्सवादले समाजको भौतिकवादी चिन्तनमा ध्यान दिने तर आध्यात्मिक चिन्तनको विरोध गरेर हिँड्ने चाहिँ होइन भन्ने कुरालाई गहिरो तरिकाले बुझेका थिए । यिनीहरूको यस्तो यहाँको धर्म, संस्कार अनुरुपकै विचारले देशको विकास गर्ने नीति देखेर यिनीहरू भित्रकै दलमर्दनहरूबाट इण्डियामा रहेका काला-अङ्ग्रेजका आडमा क्रान्तिका नाममा यहाँका वैदिक धरोहरलाई भत्काउने काम भयो । धर्मनिरपेक्षताका नाममा देशलाई क्रिश्चियनमय गराउने काम भयो । यहाँको भाषा, भेष र संस्कारको नाश गर्ने काम गरियो । देशलाई तहस-नहस पार्न अनावश्यक विकेन्द्रीकरणको नाटक गरियो । यस्ता रहस्यमय वादका कुनै दलमर्दनहरू चाहिँ जङ्गल नपसीकनै विभिन्न दलहरूमा रही यहाँका धर्मदर्शनको विरोधमा वक्तव्यवाजी गर्न लागे । हो यिनै विभिन्न पार्टीहरूमा रहेका धर्म दर्शनको कुरो नबुझिकनै बक्बकाएर समाजमा आतङ्क फैलाउनेहरूको दर्शन नै नेपालमा मारकसवादी नवलेण्डुप दर्शन हो ।

नेपालका वास्तविक मार्क्सवादीहरूले यहाँको धर्म दर्शन सबै मान्छन् । नलगाई नहुने बेलामा सुट टाइमा सजिए पनि देशको प्रतिनिधि भएर संसद वा अन्तराष्ट्रमा रहँदा यहाँको भेषमै सजिएका हुन्छन् । महिलाहरू पनि संसदमा चुरा, पोते, सिन्दुर र साडिमा सजिएरै आफ्ना कुरा राख्ने गर्दछन् । यहाँका सनातन परम्पराबाट चलिआएका मन्दिरको पुनर्निर्माण गर्दछन् । श्राद्धादि पितृकर्म र चौरासीपूजन आदि देवकर्म पनि मजाले गर्ने गर्दछन् ।

तर यी मारकसवादी नवलेण्डुपहरू भने मरेपछिका बाबुआमाको श्राद्ध त कहाँ हो कहाँ जिउँदै भएका आमा बालाई पनि घरबाट निकाल्छन् । धन आउने भयो भने आफ्नी आमालाई जारी दिन पनि पछि पर्दैनन् । क्रिसमस एवं दिनप्रतिदिन हुने प्राणीहत्या देख्दैनन् । बकरइदमा हुने प्राणीहत्याको दिन पाएसम्म जिभ्रो पड्काउन पछि पर्दैनन् । तर एउटा परम्पराका रुपमा वर्षमा दुई दिन हुने बलि पूजाको भने खुब विरोध गर्दछन् । टीका लगाउँदैनन् । प्रसाद खाँदैनन् । आफ्नै पूर्वजहरूले पूजेका देवताहरूप्रति आफ्ना अनुहार पुस्तिका मार्फत् विषवमन गर्दछन् । मन्दिर गएर सात्विक चिन्तन गर्दैनन् तर मिन्स भएका दिन भने उनीहरूलाई मन्दिर जाने अधिकार चाहिन्छ । शिवलिङ्गमा चढेको दुध र यज्ञ गरिएको धुँवाले यिनका आँखा बिझाउने गर्दछन् । प्राणी जगत्‌की आमा गाईको हत्याका पक्षमा उभिन्छन् । जनताका आँखामा छारो हाल्न अमेरिकी साम्राज्यवाद मूर्दावाद, भारतीय विस्तारवाद मूर्दावाद भन्छन्, तर तिनीहरूको कमाउने माध्यमचाहिँ ती देशहरूबाटै सञ्चालित एन्.जि.ओ र आइ.एन्.जि.ओ. हुन्छन् । यहाँका शोषित पीडित हिमाली, पहाडी र मधेसी जनताका कुरा गर्दा उनीहरूलाई एलर्जी हुन्छ । तर २०६२ पछि नागरिक बनाइएकाहरूको भने आरक्षणका नाममा उनीहरूले राम्रै वकालतनामा दिने गर्छन् । विज्ञान भनेको त्यही टेस्ट्युबलाई बुझेका छन् । कान र घाँटीमा मयल टल्काई चट्ट टाई लगाएर हिँड्नु नै आधुनिकता मानेका छन् । संस्कृत भाषामा ‘अहं भवति’ को अशुद्ध वाक्य फलाक्दै फल्नो वेदमा फल्नो कुरो छ भन्न पनि पछि पर्दैनन् । गतिलरि अङ्ग्रेजी भाषा त कता हो कता बिहान बेलुका नेपाली विषय पढाएर भुँडी हल्लाउँदा पनि आफ्नो अनुहार पुस्तिकामा उनीहरूले मातृभूमि र माता प्रति गरेका विषवमनमा पनि भाषागत अनगन्ति अशुद्धि पार्दछन् । १०८ उपनिषद् त कता हो कता ईशादि दश उपनिषद् पनि कुन चराको नाम हो केही थाहै छैन । बह्मबोधका साधन टुप्पी र जनै त उनीहरूलाई विचरा स्याललाई अङ्गुर अमिलो जस्तै भएको छ । ज्ञानमा शून्यता छ । मातृभूमि र माता प्रति परचक्रीहरूले विषवमन गर्दा रमिते बन्ने उनीहरू आफ्ना अधोगतिशील मालिकहरूको भने लाज छोप्ने लङ्गौटी बन्न पु्ग्छन् । वैदिक दर्शन त कता हो कता आफूलाई भौतिकवादका हिमायती ठान्दा पनि क्वान्टम फिजिक्स कुन चरीको नाम हो थाहै छैन । भौतिक विज्ञानका पिता अल्बर्ल्ट आइन्स्टाइनको जीवनी नै थाहा छैन । पहिला आफै विगार्ने अनि पछि आफै सपार्दा के के न गरेँ भनेर रवाफ झार्छन् । गधामाथि चढेर भएपनि यिनीहरूलाई प्रसिद्ध हुनु छ । अझ भन्छन् आफूलाई भौतिकवादी दर्शनविद् ।

यी नवलेण्डुपहरूले देशलाई यस्तै भूमरिमा पारेर आफ्नो दुनो सोझाउन मस्त छन् । तर के गर्ने यिनका मालिकले आफ्नो अभीष्ट काम पछि यिनीहरूलाई उही ओसामा विन लादेनको स्थानमा पुर्‌याउने हो । त्यसैले यी मारकसवादी नवलेण्डुपहरूको दर्शन मातृभूमि, माता, मानवधर्म, संस्कार र संस्कृतिविरुद्ध भएकाले यिनीहरूको जालमा फस्ने काम नगरौँ । जस्ति भएपनि आफ्नै आमाको सेवामा समर्पित हुँदै आफ्नै धर्म, संस्कार र संस्कृतिमा रम्ने प्रयास गरौँ । अस्तु ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.