अमेरिकामा दशैं २०७७को दशमी तिथि र टिकाको साइत कहिले र कसरी ? – लेखनाथ भण्डारी, वासिंटन डिसी, अमेरिका
खिलेन्द्र नेउपाने तथा पर्शु राम तिमिल्सिना ज्यू !
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, (Nepal Education and Cultural Center)/NECC
ग्रेटर वाशिंगटन डीसी, सयुंक्तराज्य अमेरिका ।
बडा दशैंको साइत वा तिथिका सम्बन्धमा बहस हुनु खुशीको कुरा किन हो भने यसले बड़ा दशैंसँग जोडिएर आउने अन्य धेरै पक्ष (राम्रा वा नराम्रा) को पनि समीक्षा गर्न सहयोग गर्छ। तर यो पङ्तिकारका लागि यो विषय नजाने गाउँको बाटो यध्यपी तपाईंहरू समुदायका अगुवा सामाजिक अभियन्ता हुनु भएको र म आफूलाई पनि तपाईंहरूको परिचित मित्र हो भन्न पाउँदा ख़ुशी लाग्ने भएकोले १-२ कुरा उल्लेख गर्दैछु । यसो त नेपाली परम्परामा भनिन्छ- नजाने गाउँको बाटो नसोध्नु । तर जानेको वा सुनेको बाटोको कुरा पनि नबोली बस्न मन माने पो !
१) परम्परागत मान्यताअनुसार बडा दशैंको टिकाको साइत तिथिका आधारमा शुरु हुन्छ । ज्योतिष शास्त्रका विज्ञहरूकाअनुसार तिथि चन्द्रमाको गतिको आधरामा गणना हुन्छ । तर चन्द्रमाको आधरामा गणना हुने भएतापनि तिथिको मानक सूर्योदयसङ्ग सम्बन्धित छ । चन्द्रमाको गतिका आधारमा शुरु भएको तिथिको शुभ साइतलाई सूर्योदयको समयले अनुमोदन गर्नपर्छ अर्थात सूर्योदय शुरु भएको समयपछि मात्र सम्बन्धित तिथिको शुभ साइत जुराउने/खोज्ने गरिन्छ । यसका लागि सुक्ष्मतित ज्योतिष विज्ञान/गणित छ । र, यसमा खगोलिय परिवारमा स्थापित मानअनुसार सूर्य र चन्द्रको गति एकै प्रकारको तर तिनका आ-आफ्ना वृतमा निरन्तर हुन्छ ।
तिथिको शुरुवात र अन्त्य समग्र पृथ्वीको सबै कोण वा सबै भागका लागि एउटै हुन्छ । तर दिनरात भने फरक फरक समयमा स्थानअनुसार हुनेगर्छ । यो दिनरात एकप्रकारको पृथ्वीको आफ्नै छायाँ मात्र हो । हामीले गणना गर्ने ग्रीनवीच रेखामा आधारित समय मानव जीवनको व्यवहारिक पक्षलाई सहयोग गर्नका लागि कल्पना गरिएको एक काल्पनिक रेखा मात्र हो ।
२) दशैंको टिकाको साइतका लागि सूर्योदयपछिको उत्तम समयलई साइत (घड़ी पला आदिको गणना) को मानकअनुसार जुराइन्छ । तसर्थ नेपालमा दशमी तिथि कुनै बिहान ( मध्यरात १२ बजेबाट नै शुरू भए पनि ) उपयुक्त साइत बिहान सूर्योदयपछि कुनबेला छ भनेर हेरिन्छ । तर अपरान्हपछि तिथी शुरू भएको अवस्थामा भने अर्को दिनको सूर्योदयको पछिको समयमा त्यो तिथिको समय बाँकी छ भने मात्र कुन समय उपयुक्त छ भनेर साइत हेरिन्छ । यस्तो यदा कता धेरै कम मात्र हुनसक्छ । यी विज्ञान,गणित र ज्योतिष विज्ञले सूक्ष्म व्याख्या गर्ने ज्योतिष शास्त्रका विषय हुन् । एउटा तिथि सामान्यतया २१ घण्टादेखि २७ घण्टासम्मको हुने गर्छ ।
३) माथिको विवरणमा उल्लेख भएअनुसार यदि नेपालमा अपरान्हपछि दशमी तिथि शुरू हुन्छ भने यहाँको/अमेरिकामा भने बिहानको सूर्योदयपछिको उपयुक्त साइतमा दशमीको टिका लगाउनु शास्त्र सम्मत देखिन्छ । किनकि माथि पनि उल्लेख छ- तिथि विश्वभरकै लागि एउटै हुन्छ तर त्यहाँ/नेपालमा अपरान्हमा शुरु भएको तिथी यहाँ/अमेरिकामा अर्को दिन नरहन पनि सक्छ र रहे पनि २-४ घण्टा मात्र र त्यसमा उत्तम समय नपाइन सक्छ ।
विसं २०७७ सालमा विजया दशमी तिथिको सुरुवात नेपालको समयअनुसार अक्टोबर २५ अर्थात कार्तिक ९ गते आइतबार सुर्योदय पछि बिहान ११:१७ बजे (AM) मा शुरुहुन्छ | तर यो दिनको सूर्योदयपछिको मध्यान्न सम्मको समय (बाँकि ४३ मिनेट) मा भने ज्योतिष शास्त्रको मान्यतानुसार बड़ा दशैंको टिका वा अन्य शुभ कार्यको लागि उपयुक्त साइत नजुरेकाले भोलिपल्टको सूर्योदयको समयमा बाँकी रहेको दशमी तिथिबाट मात्र साइत निकालिएको हो | तर वाशिंगटन डीसीको समयअनुसार भने अक्टोबर २५ आइतवार बिहान ( यसलाई मध्यरात मान्न सकिन्छ) सुर्योदय भन्दा पहिले ०१: ३२ (AM) मा नै दशमी तिथि शुरू हुन्छ । यहाँ/डीसीमा यो तिथिको शुरूवात भएको समय पनि नेपालमा शुरू भएकै दशमीको तिथीकै समयअनुसारको नै समय हो ।
माथिको विवरणअनुसार दशमी तिथिको अन्त्य नेपालको समय अनुसार अक्टोबर २६ सोमबार बिहान ११:३६ बजे (AM ) मा हुन्छ भने वाशिंगटन डीसीको समयअनुसार अक्टोबर २६ बिहान सुर्योदय भन्दा पहिले नै ०१:५१ बजे (AM ) अर्थात मध्यरातमा नै समाप्त हुन्छ। त्यसरी हेर्दा अमेरिका अर्थात वाशिंगटन डिसीमा अक्टूवर २५ तारिख आईतवार सूर्योदयपछि सूर्यास्तको सबै समयमा दशमी तिथि पर्छ भने अर्को दिन अर्थात २६ तारीख सोमवार सूर्योदय नहुँदै अघिल्लो मध्यरातदेखि नै एकादशी तिथि लागिसक्छ ।
त्यसैले अक्टोबर २५ आइतबारका दिन वाशिंगटन डी सीमा बिहान सुर्योदयदेखि सूर्यास्तसम्म पुरै दशमी तिथि छ तर यो दशमी तिथि यहाँ अर्थात वासिंगटन डीसीमा अक्टोबर २६ सोमबारको बिहान सुर्योदयभन्दा पहिले नै ०१:५१ बजे (AM) नहुँदै सिध्दिन्छ। सोमबार अर्थात् अक्टोबर २६ का दिन सूर्योदयभन्दा पहिले नै एकादशी तिथि सुरु हुने भएकोले अमेरिकामा यो दिन अर्थात् अक्टोबर २६ सोमबारलाई दशमी तिथि (विजया दशमी) मान्यता दिन नसक्ने वा विजया दशमीको साइत रहँदैन भन्ने कुरामा ज्योतिष विदहरु, नेपाल पन्चाङ्ग समिति र अन्तर्राष्ट्रिय पन्चाङ्ग समितिको पूर्ण एकमत छ । सबैले सार्वजनिक गरेका पात्रोहरूमा एकै कुरा छ अर्थात् सबैले नेपाल पन्चांगको अनुमति लिएर मात्र ती पात्रोहरू सार्वजनिक गरेका छन् । फरक यति मात्र हो कि यसको यथार्थपरक व्याख्या के हो ? यसभन्दा पहिले हामीले त्यसलाई यसरी हेरेनौं र व्याख्या गरिएन । यो ज्योतिष शास्त्रका विज्ञको विषय हो तर पुराण शास्त्री, ब्यसाचार्य र धर्मगुरु वा पण्डितहरुको अध्ययन र अधिकारको क्षेत्र भित्र नपर्ने भएकोले सबैले ज्योतिषवीदहरुको निर्णयलाई स्वीकार गर्नु हाम्रो ज्योतिष शास्त्रको मानक हो ।
यसबारे यो पङ्तिकारले ज्योतिष शास्त्रका ज्ञातालाई सोधेर यस्तो हो वा होइन भन्नु र पुराण शास्त्री, व्यासाचार्य वा धर्मगुरु वा पण्डितहरुले भन्नु एकै हो । उहाँहरूले सनातन धर्म, वेद पुराण वा अन्य व्याख्याहरू गर्ने कुरामा भने उहाँहरू आधिकारिक मानिनुहुन्छ । तर हरेक व्यक्ति आँफैमा निर्भर के छ भने दशैंको टिका कहिले लगाउने,कोसंग लगाउने र कति दिन लगाउने वा नलगाउने ।
बडा दशैंको उल्लेख्य पक्ष हाम्रो परम्परागत चलनअनुसार मान्यजनको हातबाट टिका जमरा लागाउने हो । तर नेपालका सन्दर्भमा यो परम्परालाई राजाहरूले आफूलाई भगवानको अबतार मानेर जनसाधारण जनतालाई टिका लगाउने प्रचलन थियो यद्यपी राजाहरूले भने आफ्ना राजगुरूहरूलई मान्यजन मानेर टिका लाउने गर्थे । पछि अर्थात केही बर्ष यता गणतन्त्र नेपालमा राष्ट्रपति र प्रधानमन्त्री जो जनताका छोराछोरी नै हुनुनुन्छ र जनताबाट नै निर्वाचित भएर तत्स्थानमा पुग्ने अवसर पाउनु भएको छ, उहाँहरूले पनि बाँकी जनसाधारणलाई लाइन लगाएर, टाउको झुकाएर होस् वा घुँडा टेकाएर पनि टिका जमरा लगाउने गर्दै आउनु भएको छ । यो जनताका छोरा छोरी जनताबाट निर्वाचित भएर सासकीय संरचनाको ती पदहरुमा पुग्दा के को आधारमा जन साधारणको मान्यजन हुनु भयो वा कसको अवतार हुनु भयो कुनै लिखत अभिलेहरूमा उल्लेख भएको छैन । यद्यपि एउटा दु:खद स्मरण के छ भने पूर्व रास्ट्रपति डाक्टर रामवरण यादवज्यूको रामायण लेख्ने क्रममा लेखक/पत्रकार भरत भुर्तेलले गरेको आत्माहत्याको घटना भने रहस्यमय नै छ ।
४) माथि उल्लेख विवरण,स्पष्टिकरण र तथ्यहरुले के बुझिन्छ भने नेपालमा सूर्योदयमा शुरु भएको तिथिमा भने यहाँ अपरान्ह पछि हुने भएकोले अर्को दिनको सुर्योदय पछि पनि १०-१२ घण्टा सोही तिथि रहन्छ र उपयुक्त साइत पनि पाउन सकिन्छ । किनकि कुनै पनि तिथि अधिकतम २८ घण्टा र न्युनतम २१ घण्टा हुने ज्योतिष शास्त्रको मान्यता छ ।
यहाँ दुई तस्वीरहरुले पनि यो सालको विजया दशमीको तिथि मिति यकिन गर्न सहयोग गर्दछन् ।
५) अमेरिकावासी हामी नेपालीले योभन्दा पहिले अर्थात पछिल्लो ३-४ वर्ष पहिले वर्षौं बर्ष यता हामीले यो ख्याल गरेनौं तर भारतीय समाजले विसौं बर्षदेखि नै यही मान्यतामा काम गरेको हामीलाई थाहा छ । भुटानी नेपालीहरू नेपालमा विसौं वर्ष बसेर अमेरिका आए तर यही माथि उलेख ज्योतिष शास्त्रको मानक/मान्यता लिएर बुझेर आए ।
यस्ता कतिपय विषयमा केही अलमल ढिलो छिटो जानकारी हुनु स्वभाविक पनि हो । पृथ्वी ग्रह खगोल भूगोलमा यस्ता धेरै कुरा पहिले ग़लत बुझेको र पछि सच्याएको पाइन्छ ।
कसैले यति मात्र बुझेको होला- पृथ्वी गोलो वा सुन्तला आकार को छ । तर यही कुरा तपाईं हामी कोही विज्ञले देशान्तर/आक्षांस वा यति कोण उति कोण र यता ढल्केको उता फर्केको तथ्य पनि बुझाउन सक्नुहुन्छ ।
६) हामीले दशैंको मान्यतालाई जुँगाको लडाईं नबनाउँ । सच्याउँ । सच्याउँदा कसैलाई हानी छैन विज्ञान सम्मत हुन्छ । सराध्देमा बिरालो बाँध्नै पर्ने भनेको जस्तो नगरौं । यसलाई पारदर्शीरूपमा सामुहिक छलफलमा लैजानु पर्छ र सामुहिक समझदारी बनाउनु पर्छ। माने मान नमाने मेरो गोरुको बाह्रै टक्का नगरौं ।
७) यध्यपी तपाईंहरूले यसलाई नसच्याउन सक्नु हुन्छ र तर्कहरू पनि दिनु होला । तर्क नै हुन सच्याउने कुरा पनि तर एकजना साथी मार्फ़त थाहा पाएँ कि हाम्रो परम्परागत चलन सच्याउन पर्छ र बड़ा दशैंको टिका दशमी तिथि भित्र नै २५ तारिख आइतबार लगाउनु पर्छ भन्ने साथीहरूलाई सोमबार भन्नुहुनेहरूले सामाजिक बहिष्कार गरौं भनेर लेख्नु भएको छ रे ! यसै मेसोमा पर्शु रामजीले पनि पण्डित ज्ञवाली गुरूको खिल्लि उढाउनु भएछ । मलाई त्यो विश्वास नै नलागेपछि आँफैले हेरें, हो रहेछ दु:ख लाग्यो ।
स्मरणीय छ, पण्डित श्रीधर ज्ञवाली गुरू केही वर्ष पहिले सायद डेढ दुई वर्ष पहिलेसम्म यसै संस्थाको मूल पुरोहितकारुपमा तपाईंहरू सँगै नै हुनुहुन्थ्यो, जुन संस्थामा अहिले पनि तपाईंहरू हुनुहुन्छ । उहाँले संस्थाको लामो समय सेवा गरेर सम्मानपूर्वक विदाई लिनु भएको वा रिटायर्ड हुनु भएको हो । अहिले उहाँ त्यहाँबाट बाहिरनु भएकै कारण उहाँको नयाँ मतलाई खिल्ली उढाउनु सामाजिक शिष्टाचार र मर्यादा होइन । बडा दशैं आँफै पनि मर्यादा/शिष्टाचार,आपसी मेलमिलाप, एकता वा सद्भावको पर्व हो ।
८) माथि प्रस्तुत तथ्य विवरण दोहिरिन सक्छन् तर यसलाई अरु सरल गराउन यी केही थप चर्चाले सहयोग गर्न सक्छ-
अन्तराष्ट्रिय ज्योतिष संघकाअनुसार यहाँ आइतबार २५ तारिख बिहान ०१: ३२ (AM) मा शुरु भएको दशमी तिथि भोलिपल्ट सोमबार १८ तारिख बिहान ७:३० सूर्योदयको समयमा २७ भन्दा घण्टा पछि वा अझै ३१ घण्टा पछि पर्न सक्छ तसर्थ दशमी तिथि सकिएर एकादशी तिथिको पनि पुगनपुग ४ घण्टा बितिसकेको हुन्छ । तसर्थ यहाँ सोमबार टिका लगाउनु चैं दशमीको नहुन सक्छ । तर ५ दिन टिका लगाउने परम्परागत मान्यता हो भने एकादशीको टिका र एकादशीको साइत हेरे हुन्छ । त्यसमा पनि दशमीको साइत हेरेपछि सामान्यतया अर्को दिनको साइतलाई प्राथमिकतामा राखेको पाइन्न । यी मान्यताहरू विभिन्न क्षेत्र,समुदाय र परिवारहरूमा यसै पनि फरक छ ।
९) भन्नका लागि यो परम्परा/संस्कृति धर्म होइन विश्वकै पुरानो पहिलो सनातन सभ्यता पनि भन्ने अनि नेपालको परम्परा जो जुन ज्योतिष शास्त्र सम्मत छ,त्यो पनि नगर्ने हो भने यो ज्यादै संकुचित र अवैज्ञानिक पनि हुन्छ । विश्वका जति पनि हिन्दु छन्, तिनले जुन शास्त्रलाई मानक मानेका छन्, हामी नेपालको ज्योतिष शास्त्र/पन्चांग निर्माण समितिले मान्ने पनि त्यही हो । तसर्थ यो दशैं हामीले अमेरिकासम्म ल्याउने वा नेपाल बाहिरको संसारमा पनि विस्तार गर्ने हो भने त्यसको विज्ञान सम्मत मानक हामीले पनि अपनाउनुपर्छ । यदि यसलाई नेपालको सिमामा नै कुनै वर्ग समुदायमा मात्र सीमित गर्ने हो भने चैं अहिले तपाईंहरूले भन्नु भएजस्तो अक्टूबर २६ सोमबार यहाँ दशैंको दशमी माने पनि हुन्छ ।
१०) नेक अर्थात् नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, (Nepal Education and Cultural Center)/NECC को तर्फबाट तपाईंहरूले नै आयोजना गर्नु भएको कुनै एक सामुहिक छलफल कार्यक्रममा व्यासाचार्य भुवन गुरूले स्पष्ट बुझिनेगरि भन्नु भएको कुरा छ कि टिका दशमी तिथिमा रहेको साइतमा लगाउनु पर्छ । तर पर्शु रामजीले पण्डितज्यूलाई नै अलमल हुने गरि आफ्नो मतमा भोट गराउन प्रयास गर्दा कार्तिक १० गते सोमबार अक्टुवर २६ अझै किटान गरेर नेपालमा लगाएको अर्को दिन भनेर यकिन गराउन प्रयास गरेको देखिन्छ बुझिन्छ । यहाँ कार्यक्रम आयोजक अर्थात् पर्शु रामजीले आफ्नो मत पुष्टि गर्न प्रयास गर्नु भएपछि पण्डित व्यासाचार्यले आफ्नो पहिलेको शास्त्र सम्मत मत तिथिमा टिका लगाउने कुरालाई बाझिने/काटिने गरि नेपालको साइतको भोलिपल्ट अमेरिकामा टिका लगाए हुन्छ भनेर भन्नुहुन्छ/ विषानतरमा लाग्नुहुन्छ वा विवाद गर्न आवश्यक ठान्नु भएन । तर उहाँले पहिले नै यो मेरो विषय नभएता पनि ज्योतिषहरूलाई सोधेर आएको छु, दशैंको दशमीको टिका दशमीको तिथि भित्रको साइतमा लगाउनु पर्छ भन्ने मान्यता रहेछ, उहाँले भनिसक्नु भएको छ ।
यसै पनि उहाँ ( व्वियासाचार्य भुवन गुरू)को यस विषयमा रहेनछ जसरी यो पङ्तिकारले पनि यसका अन्य विज्ञहरूले भनेको र लेखेको कुरालाई आधार बनाएर दशैंको साइतको तर्क गरिरहेको छ, त्यसरी नै उहाँले पनि यसबारे अन्य विज्ञहरूले भनेको र लेखेको कुरालाई नै आधार मान्न पर्छ भन्नु भयो । तर कार्यक्रम आयोजकको अपेक्षा र उदेश्यको दबाबमा उहाँ पर्नु भएको स्पष्ट देखिन्छ । पण्डित व्यासाचार्य भुवन ज्यू स्वयम्ले आफूलाई यसमा आफूलाई आधिकारिक धारणा दिन मान्नु भएको छैन ।उहाँले अन्य हिन्दु धर्म र वैदिक परम्परा आदिका बारेमा आधिकारिक र स्पष्ट कुराहरू राख्नु भएको छ,जसलाई सबैले बुझ्न र बुझाउन पनि सकिन्छ । तर पर्शु रामजीले उहाँको मत मान्यता र उहाँले विज्ञसँग गरेको परामर्श अनुसार व्यक्त गरेको तथ्य विपरीत आफ्नो मत र निस्कर्ष सुनाउनु भएर गूरूलाई नै अलमलमा पारेर शास्त्रको मानक विज्ञको राय विपरीत कुरालाई स्थापित गराउन किन प्रयास गर्नु भयो ?
दशैंको परम्परागत मान्यता नवदुर्गाको आराधना वा देवीको शक्तिको महिमा हो । देवी वा अन्य देवहरूको उत्पत्ति आदिका बारेमा
आफ्नै प्रकारको धार्मिक मान्यता,मिथक वा श्रुति परम्परा छन् । दशैं असत्य माथि सत्यको विजयोत्सव पनि हो । हिन्दु धर्म परम्परा/सभ्यता वा अन्य धर्महरूमा महिला पुरुषका समानता वा अधिकारका विवाद र बहस छन् । दशैं देवीको शक्तिको प्रतिक पनि हो तर यो परम्परामा मान्यजनको हातबाट टिका जमरा फूल आदि लिएर आशीर्वाद लिने गरिन्छ । मान्यजनको मानक परिवार वा समुदायमा पुस्ता र उमेरले गर्ने चलन छ । यस अवस्थामा एकै परिवारका सदस्य श्रीमती र श्रीमान समान नै हुन् भने यो पुस्ता र उमेरको ख़्याल गर्न पनि परेन र कसैले कसैलाई टिका जमरा र फूल लगाएर आशीर्वाद दिन लिन पनि परेन तर पनि मान्यजनको/वरिष्ठताको आधार मान्ने हो भने उमेर पनि एउटा आधार हुनसक्छ यो वैज्ञानिक र व्यावहारिक मात्र होइन क़ानूनसम्मत पनि हो । कसैको भलो,सुख शान्ति सम्बृध्दीको लागि कामना गर्ने हो भने जस्ले जसलाई पनि गर्न सकिन्छ र गर्नु मानव धर्म/सभ्यता हो । भाइ होस् वा छोराले पनि टिका जमरा आदि लगाएर आमा दिदी वा बुबालाई आशीर्वाद दिनसक्छन् तर यसका लागि दशैंको टिकाका मानक पछ्याउन पर्दैन । छोरी वा बहिनीको हकमा हाम्रो हिन्दु परम्परामा फरक मान्यता छ, यो अहिलेको चर्चाको विषय होइन ।
हाम्रो सनातन संस्कृति भन्छ- वादे वादे जायते तत्व बोध ।
म ठान्छु- विज्ञेषू किमीधिकम् ।