मकर (माघे) संक्रान्ति महत्व र विशेषता -ज्योतिष पण्डित राजेन्द्र खनाल (यूएसए )

माघ १, २०७६,
आज माघे संक्रान्ति अर्थात यसलाई माघी पर्व पनि भनिन्छ ।  माघ महिनाको पहिलो दिन हो आज,  आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् । यसैकारण यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।
  यसको धार्मिक र पौराणिक महत्व पनि उत्तिकै छ,  महाभारतमा भिष्म पितामहलाई ईच्छा मृत्युको वरदान थियो, रणभूमिमा अर्जुनका धनुष वाणहरुले शरिरमा सर्वत्र छेडेका भिष्म पितामहले आजकै दिन मृत्युको ईच्छा जाहेर गरेर विदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भिड हुन्छ ।  आजकै दिन ईन्डिया तथा नेपालका विभिन्न तीर्थस्थलहरु  देवघाट, सुनसरिको चतरा, अर्घाखाँची तथा गुल्मीको रिडी,  कालीगण्डकीको किनार, पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो हुन्छ । यसरी माघी नुहाईसकेपछी तिलको सुकेको वुट्यानलार्इ बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्य पुराणमा उल्लेख गरिएको पाईन्छ ।
मधेशमा भने मैथिल र थारुसमुदायहरुले आज बडो सद्भावका साथ यो चाड मनाउने गर्दछन् । थारु समूदायमा आजको दिन येले दुंगंका रुपमा लगभग नयाँ वर्ष जस्तै मनाईन्छ । आजकै दिन किराँत वंशले काठमाण्डौ उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किराँत संवत शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दै भोज खाने र जाग्राम बस्ने चलन छ । अानन्दी नामक चामलको जाँड पश्चिमी थारु समुदायमा बहुत चर्चित छ । यसैगरी छोरीचेलीहरु माईत आउने र फर्कदाखेरि ‘निसराउ’ अर्थात उपहारहरु दिएर पठाउने चलन पनि छ ।
नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । आज काठमाण्डौ उपत्यका नजिकैको पनौतीमा एतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको  मानिन्छ ।
माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुले राष्ट्रिय पर्वका रुपमा मान्यता दिएका छन् । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । बनतरुलबिना मगरहरुको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरु सङ्क्रान्ति अघि नै जंगलबाट बनतरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात बनतरुल खाने गर्दछन् । घरका पुरुषहरुले धनुषबाँडले तारो हान्दै यो पर्वमा रौनकता थप्छन् । उनीहरुले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरु चैं साँझमा जम्मा भई घरघरमा गई “बासी आन्द्रा पाई कि नपाई” भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटाहरूलाई खानेकुरा दिन्छन् र केटाकेटीहरु रमाउँदै घरघरमा  जाने परम्परा छ ।
माघे संक्रान्ति, तिलुवा संक्रान्ति या मकर संक्रान्ति या माघीका रुपमा यसलाई आ-आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाइन्छ । हाम्रो हिन्दु सँस्कारमा तिलको विशेष महत्व रहेको छ, पूजाआजा, होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा या दान गर्दा होस् या कुनै पितृकर्ममा तिलको आवश्यकता पर्दछ । आजको दिन तिलको पक्वान्न तथा परिकारका लागि प्रसिद्ध छ, तिललाई भुटेर सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार मानिन्छ, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ ।
सूर्य र पृथ्वीको दिशालाई उत्तरी र दक्षिणी ध्रुवको अवस्थितिका आधारमा गणना र मापन गरिन्छ, आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ ।यससँगै उत्तरायणमा विभिन्न पूजाआजा तथा सँस्कारका कर्महरु गर्नलाई पनि शुभ साईत मानिन्छ । आजको दिन अयन परिवर्तनको दिन हो । अयन दुईबटा हुन्छन् –  उत्तरायण र दक्षिणायन ।
सूर्य उत्तरतर्फ सर्दै जाने भएकोले यसलाई उत्तरायण भनिएको हो । माघ १ देखि आषाढ मसान्तसम्मलाई उत्तरायण भनिन्छ । यस अवधिमा ३ ऋृतुहरु फेरिन्छन् – शिशिर, बसन्त र ग्रीष्म ।
१२ महिना, ६ वटा ऋृतुहरु अनि १२ मशान्त र १२ वटै संक्रान्तिहरु, विक्रम संवतका यी महत्वपूर्ण गणकहरु हुन्  ।
आजको दिन घरमा विभिन्न प्रकारका परिकारहरु जस्तै
 घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु, खिचडी ( मास र चामललाई मरमसला हाली बनाईएको खजाना यसलाई खित्रो पनि भनिन्छ ) र   तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने र खुवाउने गरिन्छ ।
जाडोको समयको यो न्यानो चाड माघे संक्रान्तिमा  विहान सबेरै उठी नजिकको तीर्थस्थल नदी, समुद्र, तलाउ आदिमा गई  नुहाईधुवाई गरेर, चोखो कपडा लगाएर, ब्राह्मण  ज्वाईँचेली, भान्जाभान्जी आदिलाई घरमा बोलाई दान दक्षिणा दिनुको साथै कतिपय घरमा अाजको दिन रुद्री तथा सत्यनारायण भगवानको पूजा लगाउने कार्य पनि गरिन्छ र यी सबै परिकारहरु खुवाउने र खाने गरिन्छ । यी परिकारहरु खानाले जाडोलाई सजिलैसँग पचाउन सकिन्छ भन्ने मान्यता पनि रहि आएको छ ।
यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदिबाट पनि मुक्ति मिल्ने जनविश्वास छ ।
स्वदेश तथा विदेशमा बस्नु हुने सबैलाई मीठो खाने र सबैको भलो चिताउने यस पर्व माघीको  धेरै धेरै शुभकामना !  जनवरी १५, २०२० ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.