अमेरिकामा बस्ने तराईमूलका नेपालीहरुले यसरी मनाए छठ, छठ पर्वको महत्व र विशेषता

एचसीसी सम्बाददाता

नोभेम्बर २, २०१९

अमेरिकामा बस्ने तराईमूलका नेपालीहरुले डिसी भर्जिनियाको नजिकै पर्ने स्टार्लिंग सहरको पूर्वी भागमा रहेको पोटोम्याक नदीको किनारमा सयौँको संख्यामा उपस्थित भई निकै हर्सोल्लासपूर्वक छठ मनाए । जसको व्यवस्थापन विजय सिंह तथा अनिल द्विवेदीलगायतले गरेका थिए ।

यो पर्व श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाईन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यो एउटा यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुँडा र चिजविजको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।  विशेष गरेर तराईवासीले कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिक महिनाको शुक्ल चतुर्थीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज  जस्ता वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरुले आँखा पनि भन्ने गन्ने गर्छन् ।

पञ्चमी तिथि दोस्रो दिनलाई ‘खरना’ संरक्षण अर्थात् पापको क्षय भनिन्छ । खरना छठ पर्वको दोस्रो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । षष्ठीका दिन तेस्रो दिन०गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटन–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ ।

छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले श्रद्धापूर्वक गीत गाउने गर्छन् ।

छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊन् भनेर गीतबाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् । यस अवसरमा व्रतालु महिलाले श्रद्धापूर्वक गाउने गर्छन् –

“हातबा मे फूलवा के डलिया, छठ पूजन जाय ।
छठी मैया होइब सहाय, छठ पूजन जाय ।।”

यसको अर्थ – हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ, छठी माता हामीमाथि विशेष कृपा बनाइराख्नु होला । निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरुप अर्घ दिन पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठो’ र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गर्दछन् ।

अर्घ दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातःकालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि प्राप्त हुन्छ । महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले पनि ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतीका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैनन् उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभावमा भिक्षा मागेरै भए पनि मानिसहरू मनाउने गर्छन् ।

विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो सँस्कार सबैलाई प्यारो लाग्दछ । त्यसकारण आफ्नो सँस्कारको रक्षा हामी आफैले गरे मात्र हाम्रा सन्तानलाई चिनाउन सकिन्छ । सबैलाई यो छठ पर्वको शुभकामना !

video clip 

Error: Contact form not found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.