अमेरिकामा चाड पर्व र तिथि फरक किन ? – शिवहरि नेपाल, भर्जिनिया, अमेरिका

अमेरिकामा चाडपर्व र तिथि फरक किन ? – शिवहरि नेपाल,  भर्जिनिया, अमेरिका  सेप्टेम्बर २७, २०१९

अन्तर्राष्ट्रिय पंचांग महासंघलाई मेरो व्यक्तिगत तर्फबाट धन्यबाद दिंदै त्यसैको अन्तर-राष्ट्रिय तालिका अनुशरण गर्नु गराउनु हुन सबैमा हार्दिक अपील गर्दछु ।

पूर्वीय ज्योतिष शास्त्रको मार्गदर्शक सिध्दान्त बाक्य हुन् ( चन्द्रमा मनसो: जात: र देश काल परिस्थिति )

चन्द्रमा मनसो: जात: अर्थात्  यस धर्तीमा जन्मलिने जातकको मन चन्द्रमाको कला वा गतिसँग मेल खान्छ । मन वा इच्छाले नै मनुष्यलाइ भूत बर्तमान र भविष्यका बास्तबिक र काल्पनिक पथमा डोहोर्याउँछ देश, समय र परिस्थिति एक अर्काका परिपुरक हुन् अर्थात देश र समय को परिवर्तनमा नयाँ परिस्थितिको जन्म हुन्छ)

हामी हाम्रो चाड पर्ब तिथी अनुसार मनाउँछौँ । तिथि र पक्ष( Lunar calendar) पृथ्वी र चन्द्रमाको गति र कलालाइ आधार मानेर बनाइएको हो । दिन र महिना भने सूर्य र पृथ्वीका गतिको आधारमा राखिएको हो । यी दुइ नितान्त फरक कुरा हुन् र इ कुराहरुको मेल पंचांगामा गराइएको छ ।

हिजो नेपाल र भारतमा मात्र बसोबास गर्दा देशान्तरले खासै प्रभाब राख्दैनथ्यो । अक्षांशअनुसार मात्र धर्तिको राशि परिबर्तन हुन्थ्यो उदाहरणको लागि मकर संक्रान्ति कर्कट संक्रान्ति पर्ब इत्यादि । आज देश परिबर्तन भएपछि हाम्रो देशान्तर परिबर्तन भएका छन्, जापानदेखि अमेरिकासम्म । त्यसैले नेपाल र भारतभूमिलाइ आधारित मानेर बनाइएको पंचांगलाई मानेर नेपालबाट १०-१२ घण्टा फरक पर्ने बिदेशमा हाम्रो सनातन र परम्परागत धार्मिक वा अन्य महत्वपुर्ण कर्म गर्नु अब सान्दर्भिक हुँदैन।

स्थानअनुसार चन्द्रमा र पृथ्वीका क्रिया र कलाहरु फरक देखिन्छन् । जस्तै महासागरतिरबाट मात्र देखिने ग्रहण लागेको बेलालाई हामीले नेपालमा ग्रहण लागेको भनेर त पक्कै मान्दैनौँ । जुन ठाउँमा लागेको हुन्छ (ग्रहण, तिथि, घडी, पला) आदि ती त्यहि ठाउँको लागि मात्र मान्य हुन्छ ।त्यसैले देशान्तर एउटा ख्याल राख्नु पर्ने महत्वपुर्ण कुरा रहेको छ जुन भारतीय मूलका बिदेशी मन्दिरहरुले अनुसरण गरेका छन् ।

परम्परागत मान्यताको धार्मिक कार्यमा संलग्न हुने सम्पूर्ण गुरुजन, पण्डितज्यू, पुरोहितज्यूहरुलाई फरक देशान्तरनुसारको पंचांग तालिका अनुसरण गरी सोही अनुसार प्रोत्साहन गरी कार्य गर्न र गराउनु हुन हार्दिक अनुरॊध गर्दछु र विदेश आएपछि मैले व्यक्तिगत र पारिवारिकरुपका महत्वपूर्ण तिथि र धार्मिक कार्यक्रमहरु अमेरिकी समयअनुसार गर्दै आएको जानकारी गराउन चाहान्छु ।

परिवर्तन अलिकति कष्टकर हुन्छ नै । तर सुझबुझका साथ चलेमा त्यो सजिलै ग्रहण गर्न सकिन्छ ।
उदाहरणका लागि बिजयादशमी २०१९ –


यो फोटोमा देखाइएझै विशेष गरी अमेरिकाको वाशिङ्टन डिसी र पूर्बी अमेरिकी तट पूरै लागु हुने Eastern Standard Time अनुसार अक्टोबर ७, २०१९ मा बिहान ५ बजे दशमी तिथि सुरु भै सुर्योदय ७:१० बाट दिवाकालीन दशमी तिथि मान्य हुन्छ।दशमी तिथि आक्टोबर ८ को बिहान ५:२० सम्म मात्र रहने हुँदा अक्टोबर ८ मा ७:१० बजे हुने सूर्योदयले अक्टोबर ८ लाई दशमी तिथि भनेर मान्यता दिन सक्दैन। तसर्थ जुन दिन बिहान सूर्योदय हुँदा जहाँ दशमी तिथि पर्छ र जुन समयमा साइत जुर्छ त्यो समयमा टिका जमरा लाउनु राम्रो हो तर सधै अहिलेको जस्तो नपर्न पनि सक्छ ।

सामाजिक रुपमा हामी सच्चिन आबस्यक छ ! यो नितान्त गैर राजनैतिक र सामाजिक बिषय हो,  अन्यथा नलिइदिनु होला । ज्योतिषको विद्यार्थी भएको सबैमा पर्न गएको यसपालीको दशैंको तिथिको भ्रमसम्बन्धि व्यक्तिगत धारणा ब्यक्त गर्नु मेरो सामाजिक उत्तरदायित्व सम्झेर यो धारणा ब्यक्त गरेको छु।

लेखक शिवहरि नेपाल, भारत र अमेरिकाबाट computer and electronics engineering मा औपचारिक शिक्षा लिएर गत २५ वर्षदेखि निरन्तर IT technology मा सेवारत रहे पनि गणित ज्योतिषमा बिशेष रुचि भै त्यसमा स्व-अध्ययन र अनुसन्धानमा लागिरहेका एक ज्योतिषको विद्यार्थी हुन् । उहाँसँग   सम्पर्क गर्न चाहेमा sh_nepal@hotmail.com मा ईमेल गर्नुहोला । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.