• Advertisement upload

अमेरिकामा किन ७ तारिख पर्यो दशैँ ? समाधान र यसका उपायहरु

अमेरिकामा किन ७ तारिख पर्यो दशैँ ? नेपालमा किन ८ तारिख? समाधान र यसका उपायहरु

– ज्योतिष पण्डित राजेन्द्र खनाल

वासिंगटन डिसी, अमेरिका

अमेरिका तथा क्यानडामा दशैँ कुन दिन मनाउने भन्ने विषयलाई लिएर अहिले समाजिक सन्जाल फेसबुकमा नेपालीहरुले यसलाई निकै बहसको विषय बनाएको देखिन्छ । कसैकसैले यसलाई विवाद र विभाजन हुने भयो नेपाली समाज भनेर तर्क पनि राखेको पाईयो भने दुई खालको भनाई आउँदा कुन दिन मनाउने भन्ने विषयमा दोधार उत्पन्न भई भ्रम सृजना भयो भन्ने भनाई पनि आयो ।

ज्योतिष मेरो पनि आफ्नो प्रमुख विषय भएकोले कसैलाई पनि भ्रममा नपर्नु हुन अनुरोध गर्दछु । यो कुनै विवादित विषय होईन र कुनै पनि राजनीतिक विषयसँग पनि जोडिएको छैन । यो एउटा समय र गणितको सत्यतालाई जनसमुदायमा पस्कने अभियान हो । हाम्रो समाजमा दशैँको जति साँस्कृतिक महत्व छ त्यतिकै धार्मिक महत्व पनि रहेको छ ।

दिग्गज दिग्गज विद्वानहरुले पनि आफ्नो तर्क राख्दा परम्परालाई बढी जोड दिईएको पाईयो । तर वैज्ञानिक आधार र धार्मिक र शास्त्रीय मान्यतालाई कुल्चदैँ विभिन्न ठाउँमा रहेका मन्दिर सन्चालकहरु तथा सामाजिक अभियन्ताहरुमार्फत् दशैँको साईतको निर्णयहरु लगायत अन्य चाडपर्व तथा ब्रतहरु नेपालका लागि बनेका पात्राहरुका आधारमा निर्णय  गर्दै सूचनाहरु प्रकाशित गरेको देख्दा  मलाई पनि यो विषयमा केही लेख्न मन लाग्यो । हुनत: हाम्रो समाजले सत्यको खोजी गर्नु भन्दा पनि जता आगो ठूलो बल्छ त्यतै ताप्न जाने हाम्रो बानीले गर्दा पनि यस्तो स्थिति आएको हो ।

अमेरिकाको अति व्यस्त जीवनमा रहेर पनि धर्म तथा सँस्कृतिप्रति चाख देखाउने सम्पूर्ण भक्तजन, ईस्टमित्र बन्धुबाधवहरु सबैमा हार्दिक आभार व्यक्त गर्दै २/४ वटा प्रमाणहरुको साथमा यो लेख पस्कन चाहन्छु ।

अहिलेको समाज र पहिलेको समाजमा धेरै अन्तर आईसकेको छ । पहिलेको समाजले यो हाम्रो परम्परा हो त्यही भएर दशैँ मनाको हो भन्दा विश्वास गर्थ्यो भने अहिलेको समाजले कारण अर्थात् त्यसको इतिहास खोजिरहेको हुन्छ र तपाईले दिएको उत्तर व्यवहारिक लागेन भने उसले मान्दैन । उत्तरमा किन, के, कहाँ र कहिले भन्ने सबै प्रश्नको उत्तर नआएमा नयाँ पुस्तालाई चित्त बुझाउन सकिँदैन । स्मार्ट फोन चलाउन जान्दैमा, २/४ अक्षर लेख्न र पढ्न जान्दैमा विद्वान भईँदैन । कोही कोहीलाई भने यस कुरामा आफूले स्नातकोत्तर  नै पास गरेको जस्तो भान हुँदो रहेछ । बिना अध्ययन र बिना अभ्यास पस्किँदा कहिलेकाही “अनभ्यासे विषं विद्या अजीर्णे भोजनं विषम्” भने जस्तै अमृत तुल्य वस्तु पनि विष बन्न सक्छ । आफूलाई ज्ञान नै नभएको विषयमा कृपया स्वयं ज्योतिषी वा आफ्नो लागि आफै पुरोहित नबनिदिनु होला ।

ज्योतिषका पाँच अंग, नौ ग्रह र अठ्ठाईस नक्षत्रका नाम सम्म नजान्ने व्यक्तिहरू पनि आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ, ज्योतिष ज्ञातासम्म लेख्न पछि पर्दैनन् जसको फल स्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परेको हो त्यसका केही दोषी हामीहरू पनि हौं । किनकि यस विषयलाई कमाई खाने भाँडाको रूपमा मात्र प्रयोग गर्नु पूर्व हामी गहन अध्ययन गर्ने हो भने यस्तो अवस्था आउँदैन । पढ्दै नपढी
 दुईचार वटा श्लोक रटेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्ते फलादेश गर्न थाल्दछन् कोही व्यक्तिहरु, संयोगबस कसैको मिल्छ, कसैको मिल्दैन । मिल्नेहरुले ओहो फलानो ज्योतिषी त कति जानेको सबै कुरा मिलायो भन्दै हामी सबै जना उसैकहाँ पुग्दछौँ उसले कति पढेको छ वा कति जानेको छ त्यसको विचार गर्दैनौँ । जसले गर्दा पढेर जानेका ज्योतिषीहरु पनि ओझेल परेको देखिन्छ ।

  यी कुरामा न अल्झिई अव दशैँ कसरी र कहिले सुरु भएको थियो त ? भन्ने कुरालाई आधार मान्दै यसको निर्णयतर्फ लागौँ । तर निर्णय लिनु भन्दा अघि यो लेख पूरै पढेर मात्र लिनु होला ।

दशैँको शाब्दिक अर्थ तथा महत्व –

फेसबुकमा धेरैका प्रतिक्रियाहरु हेर्दा “दशैँ “नाम किन रह्यो भन्ने सामान्य बुझाई पनि नभएको पाईयो । हो, दशैँ (दशहरा, दूसरा, विजया दशमी, बडादशैँ) धेरै अर्थमा महत्वपूर्ण मानिन्छ तर दशैँ चाहिँ किन भनियो होला त ? यसको साँस्कृतिक अर्थ फ़रक छ, सामाजिक अर्थ भिन्नै छ तर यसको सामान्य अर्थ पनि छ जुन तिथिसँग जोडिन पुगेको छ । जुन कुरा ‘दशमी’ तिथिसँग सम्बन्धित छ । सामान्य अर्थ पनि सबैले बुझ्ने गरी दिन सकिएन भने अरु कुनै अर्थ पनि महत्वपूर्ण मानिदैँन । तिथिको कुरा गर्नुभन्दा अगाडि वेदको छैँठौ अंग अर्थात् ज्योतिषको कुरा गर्नु पर्ने हुन्छ । जुन तेस्रो आँखा अर्थात् अहिलेको युगमा विज्ञानका नामले संसारमा प्रसिद्ध छ ।

ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ । वैज्ञानिकहरूले आज कम्प्युटर, दुर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोगशालामा बसेर पूरा ब्रह्माण्डकै अध्ययन गर्दै आएका छन् ।
नेपालमै पनि यो ज्योतिष विषय दुई खण्डमा फलित र सिद्धान्त गरी पीएचडी सम्म पढ़ाई हुन्छ । ज्योतिषको पाँच अंग मध्ये तिथि एक हो भने बाँकी बार, नक्षत्र, योग र करण हुन् । यी पाँच ( तिथि, बार, नक्षत्र, योग र करण ) लाई व्यवस्थित रुपमा गणना गरी बनाईएको वर्षभरिको क्यालेन्डरलाई पन्चांग ( पात्रो) भनिन्छ ।
हाम्रो नेपाल तथा दक्षिण एसियामा मनाउन सुरु गरिएका जति पनि चाडपर्वहरु छन् ती सबै मुख्यतया तिथिको आधारमा मनाईन्छन् । जुन कुनै कुनै ग्रह नक्षत्रहरुसँग पनि जोडिएर आउँछन् । गते र बार जस्तो एउटै समयमा तिथिको सुरुआत हुँदैन । दिन सधै २४ घन्टाको मात्र हुन्छ भने  तिथि घटबढ हुन्छ । सधै एकनास हुँदैन ।
दशैँ हुनका लागि दशमी तिथि र श्रवण नक्षत्रको संयोजन चाहिन्छ जुन कुरा भगवान रामचन्द्रका पालादेखि चल्दै आईरहेको छ ।
चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। चन्द्रमालाई पृथ्वीको परिक्रमा पूरा गर्न करिब एक महिनाको समय लाग्छ। यसै क्रममा कहिले सूर्य तथा पृथ्वीको सन्मुख दिशा त कहिले विपरीत दिशामा पर्ने भएकाले कहिले पूर्ण रूपमा देखिन्छ भने कहिले देखिदै देखिँदैन, कहिले आधा, कहिले सानो अथवा ठूलो आकारको देखिन्छ। यसरी चन्द्रमा कहिले दृश्य त  कहिले अदृश्य हुने क्रियालाई चन्द्रमाको कला भनिन्छ । चन्द्रमाको कलाको आधारमा चन्द्रमा पूरा देखिएको दिनलाई हामी पूर्णीमा(पूर्णी) र अदृश्य भएको दिनलाई हामी अमावश्या(औँशी)भन्छौँ । यसै गरी औँशीदेखि पूर्णिमासम्म पुग्न चन्द्रमाले १५ दिन लगाउँछ । पूर्णिमादेखि औँशीसम्म पुग्न अर्को १५ लाग्ने हुँदा यसलाई कृष्ण पक्ष र शुक्लप़क्षका नामले अलग अलग नाम दिईएको छ जसलाई तिथि भनिन्छ । तिथिहरूका नाम यस प्रकार छन्:

अव लागौँ  तिथि र दशैँको संयोजन कसरी भएको छ ?भन्नेतर्फ – यिनै तिथिहरु शुक्लपक्ष र कृष्णपक्षका नामले प्रत्येक दिन हामी माझ झुल्कन्छन् । वैशाख, जेष्ठ, असार, साउन, भदौ हुँदै आश्विन शुक्लपक्षको प्रतिपदादेखि दशैँको सुरुआत हुन्छ यसलाई हामी नवरात्र भन्छौँ । नौ रात्रि अर्थात् नौवटी देवीको छुट्टाछुट्टै  पूजा आराधना गरिन्छ । जुन कुरा देवीभागवत महापुराणमा उल्लेख्यरुपमा वर्णन गरिएको पाईन्छ ।

आश्विन शुक्ल प्रतिपदामा घटस्थापन गरी जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथि र महानवमीको दिन रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप खड्गजात्रा गरी रातो टिका र जमरा लगाउने चलन छ । फलस्वरूप अझै पनि गुल्मी तथा अर्घाखाँची जस्ता जिल्लाका विभिन्न ठाउँहरुमा  फूलपाती सेलाउँदा खड्ग नचाउँदै बाजागाजाका साथ सराएँ निकाली दशैँलाई रमाईलो मेलाका साथमा विदा गरिन्छ ।

आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो ।  भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमासम्म गरिन्छ । आफ्ना नाता, कुटुम्ब, ठुला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

दशैँको सामाजिक तथा साँस्कृतिक पक्ष 

दशैँ शक्तिपूजाको प्रतिक हो, विजयका लागि शक्ति प्राप्त होस् भनेर अस्र तथा खड्ग आदिको महाअष्टमी तथा महानवमीमा पूजा गरिन्छ । हाम्रा लागि यो हर्ष एवम् उल्लासमय पर्व हो किनकि हामी यसलाई देशको सबैभन्दा ठूलो राष्ट्रिय पर्व बडादशैँका रुपमा मनाउँछौँ । गरिब नै किन हुनु नपरोस् यो दशैँमा सबैको घरमा मीठो खाना पकाई खाने, पिंग खेल्ने र जुवा तास आदि खेलेर रमाईलो गर्ने चलन छ ।

प्राचीन कालदेखि नै मनाउँदै आईरहेको यो पर्वमा नेपाल आर्मी तथा नेपाल प्रहरी गण भित्र पनि दशैँमा सम्पूर्ण सिपाहीको रगतमा वीरता प्रकट होस् भनी देवीको प्रार्थना गरिन्छ । लडाईका लागि जानुपर्यो भने पनि देवीदेवताको आरधना गरी प्रस्थान गर्ने परम्परा छ यो एक हिसाबले राम्रो पक्ष पनि हो किनकि यसबाट उर्जा प्राप्त हुन्छ । अन्नमा सबैभन्दा शुद्ध मानिएको जौँलाई भिजाई घटस्थापनाको दिन छरेर दशमीको दिन टीका र जमरा देवीलाई चढ़ाई अनिमात्र ठूलाले सानालाई टीका र जमरा लगाई दिएर यी मन्त्रद्वारा आशीर्वाद दिईन्छ । जौँ तथा जमरालाई आयुर्वेदिक ओषधीका रुपमा पनि प्रयोग गरिन्छ ।

दशैंको उपलक्षमा शुभकामना आदान प्रदान गर्नुका साथै बडादशैँको दिन (दशमी) देखि सबैले आफूभन्दा  टिका लगाइदिंदा निम्न मन्त्रहरु पढ्ने गरिन्छ । यि मन्त्र पनि पुरुषलाइ छुट्टै र महिलालाइ छुट्टै हुन्छ:

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद

आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ति सुते
विज्ञानं विदुरे भवतु भवतां किर्तिश्च नारायणे ।।

महिलालाई टिका लगाइदिदा भन्ने आशिर्बाद

जयन्ति मंगला कालि,
भद्र-कालि कपालिनि।

दुर्गा क्षमा शिवा धात्रि,
स्वाहा स्वधा नमोऽस्तु ते।

निष्कर्ष

संक्षेपमा भन्नुपर्दा महिषासुर राक्षसले त्यतिखेरको दैविक समाजलाई दु:ख दिन थालेपछि सबै देवताहरु मिलेर देवीको सृष्टि गर्छन् र तीनै शक्तिमाताको कृपाबाट महिषासुर आदि राक्षसादि दैत्यहरुको बध गरेपछि त्यसैको विजयोत्सव स्वरुप महिलालाई पनि महत्व दिन थालियो र फलस्वरूप कुमारी पूजाको सुरुआत भयो । त्रेता युगमा भगवान रामचन्द्रले पनि यसै समय (आश्विन शुक्ल) को अवसर पारेर रावण र कुम्भकर्ण राक्षसको बध गरी आदर्श समाजको निर्माण गर्दै दशमीको दिन खड्गजात्रासहित विजयोत्सव मनाएको कथा हामीमाझ छर्लंग छ ।भगवान कृष्णले पनि जाम्बवानलाई जित्नका लागि वसुदेव र देवकीले देवीभागवतको ब्रतकथा श्रवण गरेपछि त्यहीँ शक्तिकै माध्यमले जित्न सफल भई उसकी छोरी जाम्बबतीलाई लिई घर फर्किएको प्रसंग पनि उल्लेख छ । फलस्वरूप यिनै ईतिहासलाई आधार मान्दै हामी दशैँ मनाउँदै आईरहेका छौं । यो ईतिहाँससँगै धर्मशास्त्रलाई मनन गर्दा देश, समय र परिस्थितिअनुसार आफ्नो सँस्कारका कर्म तथा चाडबाड मनाउनु पर्छ भन्ने कुरा धर्मसिन्धु तथा निर्णय सिन्धुमा पनि उल्लेख गरिएको छ । जुनसुकै ठाउँमा बसे पनि दशैँको शुभ साईत मान्नका लागि दशमी तिथि र श्रवण नक्षत्रले युक्त हुनु पर्दछ । नवरात्र प्रदीप -निर्णय सिन्धु आदि ग्रन्थमा यसरी निर्णय गर्नु भनेर लेखिएको पाईन्छ । ( सूर्योदये यदा राजन् ! दृश्यते दशमी तिथिः । आश्विने शुक्लपक्षे तु विजयां तां विदुर्युधः॥ आश्विने शुक्लपक्षे तु दशस्य पूजयेन्नरः । एकादश्यां न कुर्वीत पूजनं चापराजिताम् ॥ दशमी यः समुल्लङ्घ्य प्रस्थानं कुरुते नरः। तस्य संवत्सरं राज्ये न काऽपि विजयो भवेत् ॥)

यिनै भनाईहरुलाई आधार मान्दै अन्तरराष्ट्रीय पन्चांग निर्णायक समितिले नेपाल पन्चांग निर्णायक समितिको सहमतिमा  प्रेसविज्ञप्तिमार्फत् विदेशमा रहेका नेपालीहरुलाई सहज होस् भन्ने उद्देश्यले यस किसिमको विज्ञप्ति निकाल्न सफल भयो ।

दशैँमा मात्र यो समस्या होईन अन्य चाडपर्व, ब्रत आदिहरुमा पनि अमेरिका तथा क्यानडामा सजिलैसँग मनाउन सकियोस् भन्ने हेतुले बिगत ५ वर्षदेखि हामीले मारुतीनन्दन नेपाली पन्चांग र क्यालेन्डर पनि प्रकाशित गर्दै आईरहेका छौं र यसमा पनि ७ तारिख नै दशैँ परेको कुरा अवगत छ ।

कृपया यो पन्चांग तथा क्यालेन्डर लिन चाहनेहरुले अग्रिम बुकिंगको लागि सम्पर्क गर्नुहोला ।

Hindu Calendar 2019 for USA and CANADA only.

भौगोलिक हिसाबले हामी नेपालभन्दा पश्चिममा छौँ र समयको हिसाबले हामी ११/ १२ घन्टा पछाडि छौँ तर तिथिको हिसाबले हामी पछाडी छैनौँ ।२०१९ असोज २१ गते नेपालको समयअनुसार दशमी तिथि ७ तारिखको दिउसो ३ बजेर ७ मिनेटमा सुरु भई त्यहाँको समयानुसार भोलिपल्ट बेलुका मंगलवार ४ बजेर १९ मिनटसम्म रही श्रवण नक्षत्रले युक्त भएकोले नेपालमा ८ तारिख दशैँ मनाउने निर्णय भयो तर अमेरिकाको पूर्वी भागमा भने सोही समयमा मनाउनका लागि रातको समय भयो । ७ तारिखको राति (विहान) २ बजेर ३७ मिनेटदेखि सुरु भई ८ तारिखको विहान ४ बजेर ५० मिनेटसम्म मात्र रहने भएकोले सजिलैसँग ७ तारिख पर्न गएको हो । समय पछाडि छ भन्दैमा तिथिको सुरुआत पनि पछाडि चाहिँ हुँदैन । त्यस्तै घटस्थापना किन एउटै दिनमा पर्यो त ? भन्ने सम्बन्धमा नेपालको समयअनुसार २९ तारिख रातिको १२ बजेर २२ मिनेटमा औँशी सकिई प्रतिपदा तिथि सुरु हुन्छ भने त्यहीँकै समयअनुसार २९ तारिखको साँझ १० बजेर ३ मिनेटसम्म रहन्छ भने अमेरिकाको पूर्वी भूभागमा २८ तारिख दिउसो १ बजेर ५६ मिनेटमा सुरु भई २९ तारिख विहान १० बजेर १३ मिनेटसम्म रहेकोले २९ मै घटस्थापना पर्न गएको हो । यदि सूर्योदय पछाडि तिथि नरहेको भए घटस्थापना पनि सेप्टेम्बर २८ मै मनाउन पर्ने स्थिति हुन्थ्यो ।

हाम्रो पुर्खाको गौरबपूर्ण सनातन हिन्दु धर्मको मर्म,  परम्परा र संस्कृति सबैको लागि महत्वपूर्ण छ । प्राकृतिक नियमलाई मान्ने हो भने पनि मानब प्राणी, वनस्पती र ग्रहहरुबीच अन्योन्याश्रित सम्बन्ध स्थापित हुन्छ, यस आधारमा पनि ठाउँअनुसारको नियम पालना गर्नु पर्ने हुन्छ । उदाहरणका लागि हरपल हामीले वनस्पतीलाई स्वास दिन्छौँ, वनस्पतीले हामीलाई स्वाँस र स्वच्छ हावा दिन्छ, सूर्यले हामी तथा पृथिवीवासीलाई ताप दिन्छ, चन्द्रमाले शितलता दिई वनस्पति आदिलाई शक्ति मिलेको हुन्छ । दिनानुदिन हामीमाझ प्रत्यक्ष प्रभाव समयको आधारमा परेको हुन्छ । ज्योतिष शास्त्रले हाम्रा प्रत्येक सूर्य आदि नव ग्रहहरुको स्थान, गति र ग्रहणहरुको  समय पनि प्रत्येक पलपलमा जानकारी दिनसक्छ ।
सबै शुभ साइतहरुमा मिल्ने सकारात्मक उर्जाको बारेमा त वर्णन नै गर्न सकिँदैन । किनकि यो ज्ञान ज्योतिष शास्त्रमा अथाह छ । पूजा गर्दा, यात्रा गर्दा, कुनै पनि योजना बनाउँदा, किनबेच गर्दा, घर सर्दा, पाश्नी आदि सँस्कारिक कर्महरु गर्दा शुभ साईतको कति महत्व हुन्छ मैले यहाँ भनिरहनु नपर्ला । जुन दिन ज्योतिषी, पाइलट र डाक्टरप्रति अविश्वास बढ्न थाल्छ त्यसपछि त यो संसारमा कुन चीजको महत्व हुन्छ होला र ?  विचार गर्ने हो कि ?

हाम्रा ऋषिमुनिहरुले दिएको कल्याणकारी ज्ञानलाई प्रयोग गर्न सकेमा हामी कति धन्य हुन्छौँ होला ।

यसर्थ  यी सबै कुरालाई भुलेर परम्पराको नाममा नेपालमा गरेपछि मात्र अमेरिकामा गर्नु पर्छ भनेर सिकाईयो भने हाम्रा  बच्चाहरुले के भन्छन् होला ? अमेरिकामा बसेर हामीले यहाँको समयलाई मान्नु पर्दैन, नेपालको समयअनुसार चल्नु पर्छ, संविधान पनि नेपालकै मान्दा हुन्छ भन्यो भने तपाईहरुका छोराछोरीले के उत्तर देलान् ? अर्थात् यसरी विरालो बाँध्ने सँस्कार सिकाईयो भने त्यो सँस्कारलाई भावी पुस्ताले मान्लान् कि नमान्लान् विचार गर्नुहोस् है ।

अहिलेको पुस्ताले किन ? को उत्तर पाउने अपेक्षा गरेको हुन्छ, त्यसकारण आफूले जान्नु भयो भने मात्र उत्तर दिन सक्नु हुनेछ । आफूले जसरी गरेँ त्यसैगरी उनीहरुले पनि मान्नुपर्छ भन्न थाल्नुभयो भने के होला स्थिति ?

यस्तै यस्तै परम्पराहरुका कारण आज हाम्रो हिन्दु सँस्कार कठघरामा पर्न बाध्य भएको छ । यदि हामीले हाम्रा सन्ततिलाई व्यवहारिक सँस्कार सिकायौँ भने भोलिको हिन्दु सँस्कार विश्वभर नै नचम्कला भन्न सकिँदैन ।किनकि अहिलेसम्म हिन्दु सँस्कारजस्तो पुरानो र वैज्ञानिक सँस्कार कुनै पनि अन्य धर्ममा पाईँदैन ।  हाम्रो सँस्कारलाई माझेर परिमार्जन गर्दै लग्न सकियो भने मात्र संसारले मान्न सक्छ, अन्यथा हामी नै अर्थात् हाम्रा सन्ततिहरु नै उनीहरुको सँस्कारमा गाभिन बेर लाग्दैन । डिसेम्बर २५  तारिख अचल दिनमा क्रिसमस मनाएजस्तो होईन हाम्रो दशैँ । सधै फरक दिनमा पर्छ, कहिलेकाहीँ नेपाल र यहाँ एउटै बारमा पनि पर्न सक्छ । यसका लागि यो लिंकमा गई हेर्नुहोला – Nepali panchanga U.S.A. and Canada 

अमेरिकामा कहाँ कहाँ ७ तारिख दशैँको शुभसाइत हुँदैछ?  यकिन उत्तर आउन नसके पनि केही विवरण यसप्रकार छ – 

१. अमेरिकाका सबै स्टेटहरुमा अवस्थित सम्पूर्ण ईन्डियन मन्दिरहरु

२. नेपाली दुर्गा मन्दिर  रिजवुड, न्युयोर्क

३.  डालसको नेपाली मन्दिर तथा वरपरका भूभागहरु

४. डिसी नेपाली समाज अमेरिका, भर्जिनिया

५. क्यालिफोर्नियामा रहेका नेपालीहरु तथा केही नेपाली मन्दिरहरु

५. क्यानडाको टोरन्टोमा रहेका सम्पूर्ण नेपालीहरुलगायत पशुपतिनाथ नेपाली क्यानेडियन कल्चरल सेन्टर  ।

नेपालको लागि भनेर निकालिएका पात्राहरुको अमेरिका तथा क्यानडामा हुबहु प्रयोग गर्नु हुँदैन र तिथिअनुसार मनाईने हाम्रा सबैजसो चाडपर्वहरु नेपालसँग एकैदिन वा एकदिन पछि पर्नसक्छन् ।त्यसकारण अमेरिकाकै समयअनुसार यहीँकै तिथिमितिमा गर्नु, गराउनु पर्छ भन्ने कुरामा हामी सबै ज्योतिषी गुरुहरुको मतैक्यता भएको छ ।

नोट: दशैँ कुन दिन मनाउने भन्ने कुरा अब यति कुरा बुझिसकेपछि हजुर आफै निर्णय गर्न सक्नु हुनेछ भन्ने यो ज्योतिषी लेखकको बुझाई छ ।  हामी चाहिँ यसरी मनाउँदै छौँ यो दशैँ । हेर्नुहोस् click 

 अक्टोबर ७ सोमबार दशमीको दिन देवी विसर्जन तथा जमरा बितरण बिहान 10 बजेदेखि 11 बजेसम्म  हुनेछ । आफ्नो अनुकूलमा टीका लगाउन चाहनुहुनेहरुले अक्टोबर १२ तारिखसम्म लगाउन सक्नु हुनेछ ।
यहीँ ७ तारिखदेखि १२ तारिख सम्ममा हाम्रो घर हरन्डनमा  पनि गुरु तथा बुवाआमाको हातको टीका आशीर्वाद थाप्न आउन चाहनुहुने भक्तजन महानुभावहरुले सम्पर्क गरी जुनसुकै समयमा पनि आउन सक्नु हुनेछ । 703-870-6480 or khannalguru@gmail.com
यदि तपाई ज्योतिष पढ्न चाहनु हुन्छ भने सम्पर्क गर्नुहोला । वा ज्योतिषसम्बन्धि शास्त्रार्थ गर्न तत्पर हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला ।
 महान चाड विजयादशमीको सबैमा शुभकामना !
कृपया पढिसकेपछि कमेन्ट गर्न नभुल्नु होला ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.