नागपन्चमी – महत्व र विशेषता

अगस्ट २०, २०२३

नागपन्चमी – महत्व र विशेषता

By HCC Priest Rajendra Khanal

हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, समुद्रमन्थन गर्दा होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।


पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचिन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाई दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको हो । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ ।नेपाल, ईन्डियालगायतका मुलुकमा यो पर्वको सुरुआतपछि अन्य चाडपर्वहरु लगातार आईरहने भएकोले यसलाई सुरुआतको चाडको रुपमा मनाईन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाईन्छ ।पाताललोकमा बसेर विषाणु चिजलाई ग्रहण गरी समस्त पृथ्वीको  रक्षा गर्ने भएकोले पनि नागलाई रक्षकको रुपमा पूजा गरिन्छ । श्रीमद्भागवत कथाको सुरुआत र अन्त्य पनि नागकै प्रसंगबाट गरिएको छ, महाभारतमा पनि नागको प्रसंग निकै धेरै ठाउँमा आउँछ । अहिलेको कोरोना महामारी पनि नाग देवता रिसाएर यस्तो भएको हुन सक्छ भन्ने कुरा आईरहेको पाईन्छ, यसकारण पनि नागलाई देवताको रुपमा पूजन गर्नाले महामारी निबारण हुन सक्छ ।
रुद्री, वास्तु तथा घरपूजा आदि गर्दा नागको पूजा गरिन्छ ।

नागपञ्चमी पूजा र विधि:
प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको तथा चट्याङ, भूकम्प आदिको भय हुँदैन ।  नागपञ्चमीका दिन यसरी विधि विधानले नागको पूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक र प्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै “कालसर्प” आदि गरिएको योग पनि नष्ट हुन्छ ।
प्रार्थना मन्त्र  :
“ आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारीणि।
एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।।
अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः ।
कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।। “
भावार्थ : अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि र जगत्लाई आनन्द दिने नागमाता मनसादेवीलाई नमस्कार गर्दछु ।अस्तु ।

Nag panchami 2021 August 12 in America and canada.

नोट: अमेरिकामा यस पालीको नाग पञ्चमी यही अगस्ट २१ तारिख पर्दछ, नेपाललगायत पूर्वी देशहरुमा पनि यो वर्ष २१ तारिख  नै परेको छ  यस बारेमा विस्तृत जानकारी तथा पूजा कसरी गर्ने ? भन्ने सम्बन्धमा थप छलफल गर्नका लागि यसमा भएका लेख रचनामार्फत शास्त्रीय ज्ञानको बारेमा पनि चर्चा गरिएको हुँदा हेर्न र पढ्न सक्नु हुनेछ,  यदि २१ तारिखसम्म पनि तपाईहरुको घरमा नागको चित्र आइ पुगेन भने यसै नागलाई प्रिन्ट गरी पूजा गरी घरमा टाँस्न सक्नु हुनेछ । अगस्त ३० तारिख पूर्णिमासम्म  नाग पक्ष भएकोले नाग टाँस्न मिल्नेछ । धार्मिक समाचार, ज्योतिष तथा पूजालगायत वैदिक सनातन धर्म तथा सँस्कारसम्बन्धी धेरै भन्दा धेरै जानकारी पाऊनको लागि यो वेबसाईटलाई सब्स्क्राइव गर्न सक्नुहुनेछ । धन्यवाद । WWW.HINDUCULTURECENTER.COM
सम्पर्क : हिन्दु कल्चरल सेन्टर USA 7038706480 or khanalguru@gmail.com or info@hinduculturecenter.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.