क्यानडामा पनि श्रीमद्भागवत ज्ञानमहायज्ञ हुँदै

क्यानडामा पनि श्रीमद्भागवत ज्ञानमहायज्ञ हुँदै –

may३०, २०१९

टोरोन्टो, क्यानडा-  आगामी जुलाई ६ देखि क्यानडाको टोरोन्टो सहरमा पनि  ७ दिने श्रीमद्भागवत ज्ञानमहायज्ञ  हुने भएको छ ।

क्यानडामा बस्दै आएका नेपालीहरुको संस्था नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरको आयोजनामा सो ज्ञानमहायज्ञ सञ्चालन हुन लागेको हो ।

ग्रेटर टोरन्टोको ब्राम्टनमा अवस्थित पशुपतिनाथको मन्दिर विस्तार तथा निर्माण गर्नका लागि आर्थिक स्रोत जुटाउने उदेश्यले सो महायज्ञ सञ्चालन गर्न लागिएको हो ।

महायज्ञ नेपालका चर्चित वाचन प्रवीण पंण्डित दिनबन्धु पोखरेल प्रमुख वाचकत्वमा हुनेछ । जुलाई ६ गते दिउसो ३ बजे पशुपतिनाथ मन्दिरबाट नेपाली भेषभुषासहित कलशयात्रा सुरु भई महायज्ञ हुने स्थान भारत सेवा आश्रम संघमा पुगी उद्घाटन समारोहमा  परिणत हुनेछ ।

प्रमुख अतिथिका रुपमा क्यानडाको लागि नेपाली  राजुदुत श्री भृगु  ढुंगानाले पानसमा बत्ति बालेर महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै अन्य अथितिहरुमा  ब्राम्टन सिटीका मेयर प्याटरिक ब्राउन, मिसिसागाका मेयर बोनि क्रोम्बि तथा टोरोन्टो सिटिका मेयर जोन टोरी र गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष  गोपीकृष्ण काफ्ले सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहने छन् ।

एक सय आठ वटा कलशको यात्रा गर्ने तयारी

महायज्ञका लागि नेपालबाट एक सय आठ वटा कलश झिकाइएको आयोजक मध्येका एक सदस्य मोहन सापकोटाले जानकारी दिए । क्यानडामा रहेका सबै नेपाली संघसंस्था समेटेर पहिलो पटक वेद र बुद्ध दर्शनमा अधारित महायज्ञ प्रवचन गर्न लागिएको उनको भनाई छ ।

महायज्ञको उद्देश्य मन्दिर विस्तारका लागि आर्थिक स्रोत संकलन हो भने क्यानडामा कर्मथलो बनाएर बसेका नेपालीहरुबीच भाइचाराको सम्बन्ध क़ायम रही
नेपालीहरुलाई धार्मिक, साँस्कृतिक कार्यक्रममा अभिप्रेरित गर्ने  रहेको छ । सो महायज्ञमा दोश्रो पुस्ताका बालबच्चाहरुलाई पनि आफ्नो संस्कृति हस्तान्तरण गर्ने उद्देश्यको लागि किशोर किशोरीहरुलाई उद्घाटनदेखि समापनसम्म विभिन्न कार्यमा प्रत्यक्षरुपमा सहभागी गराइनेछ ।
महायज्ञमा आउन चाहने नेपालीका लागि एयरपोर्टमै लिन र पुर्‍याउन जाने  व्यवस्था गरिएको छ ।

महायज्ञबाट एक मिलियन क्यानेडियन डलर रकम संकलन हुनसक्ने अपेक्षा गरिएको छ । महायज्ञमा टोरन्टो क्षेत्रमा रहेका नेपालीहरुका झन्डै ३० संघ संस्थासहित क्यानडाभरि रहेका सम्पूर्ण  नेपालीहरुको सहयोग र ऐक्यबद्धता रहनेछ ।

क्यानडामा सबैभन्दा बढी नेपालीहरु बसोबास गर्ने टोरोन्टो क्षेत्रमा लगभग दशदेखि पन्ध्र हजार नेपाली रहेको अनुमान गरिन्छ । बहुसांस्कृतिक शहर टोरोन्टो धेरैजसो आप्रबासीको रोजाईको स्थान भएकोले पनि यहाँको जनसंख्या दिन प्रतिदिन बढ्दै गएको छ । ब्राम्टनमा रहेको पशुपतिनाथको मन्दिर अत्यन्त साँघुरो भएकाले पनि यस महायज्ञबाट बचत भएको रकम मन्दिरको विस्तारमा खर्च हुनेछ ।

अमेरिकाको राजधानी वासिंटन डिसीमा जुन २२-२९ मा हुन गईरहेको बृहत् डिसी मेट्रो सप्ताह सकिएलगत्तै क्यानडाको यो सप्ताह महायज्ञ जुलाई ६ देखि  महोत्सवका रुपमा सुरु भई जुलाई १३ सम्म लगातार आठ दिनसम्म सञ्चालन भई समापन हुनेछ ।

धन्यवाद ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.