किन कुनै पनि माला बनाउँदा वा पूजा गर्दा १०८ नै हुनु पर्ने कारणहरु केके हुन् ?

किन कुनै पनि माला बनाउँदा वा पूजा गर्दा १०८ नै हुनु पर्ने कारणहरु केके हुन् ? १०८ अंकको महत्व के हो ?

ज्यो. पं राजेन्द्र खनाल

मे २८,  २०१९ ⇒सनातन वैदिक धर्मावलम्वी तथा  हिन्दु, बौद्ध तथा किरातहरुले जप्ने माला १०८ नै हुनु पर्ने  रहस्य  तथा कारणहरु केके हुन् ?

१०८ अंक नै हुनु पर्ने विविध कारणहरु छन् हाम्रो सनातन हिन्दु संस्कारमा, जसमध्ये यी प्रमुख कारणहरु लाई लिन सकिन्छ ।

सर्वप्रथम त सूर्यको व्यास (Diameter) पृथ्वीको व्यासभन्दा १०८ गुणा ठूलो छ । अनि सूर्यदेखि पृथ्वीसम्मको औषत दूरी सूर्यको व्यासभन्दा १०८ गुणा बढि छ।

पृथ्वी देखि चन्द्रमासम्मको औषत दूरी चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढि छ।

आयुर्वेदका अनुसार, जीवित प्राणीलाई जीवन प्रदान गर्ने १०८ वटा ‘मर्म विन्दु’हरू हुन्छन्।

हिन्दु धर्ममा शक्तिशाली ठानिने ‘श्रीयन्त्र’मा भएका रेखाहरू ५४ ठाउँमा प्रतिच्छेदन (Intersect) हुन्छन्, जसको आ-आफ्नै शिव र शक्ति गुण हुन्छ। अनि त्यसको कुल निकाल्दा १०८ हुन जान्छ।

ज्योतिषशास्त्रका अनुसार १२ राशि र ९ ग्रहहरू हुन्छन्, जसलाई गुणा (Multiply) गर्दा १०८ हुन आउँछ ।

ज्योतिषशास्त्रका अनुसार २७ नक्षत्रका ४ /४वटा पाउ ( अक्षर) हुन्छन् जसलाई गुणा गर्दा पनि १०८ नै हुन आउँछ । मनुष्य भित्र जम्माजम्मी ३६ गुणहरु हुन्छन् यिनलाई ३ ले गुणा गर्दा पनि १०८ नै हुन्छ ।

पौराणिक मान्यताअनुसार, एक प्राणीले एक दिनमा करिब २१,६०० पटक अजपा गायत्रीको नामबाट श्वास फेर्ने गर्दछ, “षट्शतानि दिवा रात्रौ,सहस्त्राण्येकविंशति: एतत्संख्यान्वितं मन्त्रं जीवौ जपति सर्वदा” .जसमध्ये गणेशलाई ६००, ब्रह्मालाई ६०००, विष्णुलाई ६०००, रुद्रलाई ६०००, जीवात्मालाई १०००, गुरुलाई १००० र विश्वरूप आत्मालाई १००० गरी २१६०० पटक हंस नामले अजपा गायत्री को जप गर्नाले हाम्रो शरीरमा रहेका १०८ अंगहरुलाई सहयोग पुग्दछ ।

तान्त्रिक विद्याअनुसार सौर्य ऊर्जा १०८०० र अर्को  १०,८०० लाई चन्द्र ऊर्जा मानिन्छ । १०,८०० लाई १०० ले भाग गर्दा पनि १०८ नै हुन्छ ।

हिन्दु धर्मका प्राचीन साधु ‘भरत’ले ‘नाट्य शास्त्र’ रचेका थिए, जसमा १०८ करणहरू छन्। (करण:- हात र खुट्टाको चाल)

संस्कृत भाषामा ५४ वटा अक्षरहरू छन्, जसको आफ्नै शिवपक्ष र शक्तिपक्ष हुन्छन्। जसको कुल निकाल्दा १०८ अक्षरहरू हुन आउँछन् ।

हिन्दु धर्ममा १०८ पुराणहरू र १०८ उपनिषदहरू छन् ।

९ र १२ को गुणा गर्दा १०८ हुन्छ र विश्वका अनेकौँ परम्परामा यी दुवै ९ र १२ अङ्कको विशेष महत्व रहेको पाइएको छ।

अङ्गगणितमा १, २ र ३ को पावरलाई जोड्दा १०८ हुन्छ:-
१ को पावर १ = १
२ को पावर २ = ४
३ को पावर ३ = २७ र
१, ४ र २७ को गुणा गर्दा १*४*२७ = १०८ हुन्छ।

संस्कृत भाषाको गणितमा ‘हर्शद अङ्क’ भन्ने हुन्छ, जसको अर्थ हुन्छ:- यस्तो मूलाङ्क (Integer) जसलाई त्यसैको अङ्कसङ्ख्या (Digit)ले भाग गर्दा मूलाङ्क नै आउँछ। हर्शद अङ्कको एउटा राम्रो उदाहरण भनेकै १०८ हो।

अभिलाषा

हिन्दु शास्त्रका अनुसार, नश्वर प्राणीमा १०८ वटा सांसारिक अभिलाषाहरू हुने ठानिन्छ।

असत्य

शास्त्रका अनुसार, मानवजातीले बोल्ने असत्य कुराहरूको १०८ प्रकार भएको ठानिन्छ।

अज्ञानता

मानवजातिका १०८ अज्ञानता हुन्छन् भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ।

हृदयचक्र

अध्यात्मवादका अनुसार, मानिसको शरीरमा हजारौँ शक्तिरेखाहरू हुन्छन् र त्यसको प्रतिच्छेदन भएको विन्दुलाई नै ‘चक्र’ भनिन्छ। अनि हाम्रो मुटुनेर हुने हृदयचक्र १०८ वटा शक्तिरेखाहरू मिलेर बनेका हुन्छन्, जसमध्ये एक रेखा ‘सुषुम्ना’ शिरचक्रतर्फ फैलिएको हुन्छ। आत्मज्ञान प्राप्त गर्नको लागि यही शिरचक्रलाई महसुस गर्नुपर्छ भन्ने अध्यात्मशास्त्रीहरू विश्वास गर्दछन्।
प्राणायं

यदि कोही व्यक्ति ध्यानमा तल्लीन भएर दिनमा केवल १०८ पटक मात्रै सास फेर्न सक्षम हुन्छ भने उसले बुद्धत्व प्राप्त गर्नसक्ने अध्यात्मशास्त्रमा उल्लेख गरिएको छ।

पञ्चभूत

भनिन्छ, यो ब्रह्माण्ड पञ्चभूतले बनेको छ:- जल, वायु, अग्नी, धर्ती र आकाश। हिन्दु शास्त्रमा यी ५ तत्वलाई ‘पञ्चभूजाकार’ (Pentagon) मा राखिएको छ। अनि पञ्चभूजाकारको प्रत्येक कुनाको कोण १०८ डिग्री हुन्छ।

काल

यो पनि भनिन्छ कि मानवजातिमा १०८ प्रकारका भावनाहरू हुन्छन्:- ३६ प्रकार भूतसँग जोडिएका, ३६ प्रकार वर्तमानसँग जोडिएका र ३६ प्रकार भविष्यसँग जोडिएका।

गङ्गा नदी

महाभारत क्षेत्रमा बग्ने पवित्र नदी ‘गंगा’ पृथ्वीको १२ डिग्री देशान्तर (longitude) र ९ डिग्री अक्षांश (latitude) मा फैलिएको छ। अनि १२ र ९ लाई गुणा गर्दा १०८ हुन आउँछ।

१, ० र ८

हिन्दु धर्मका पुराणका अनुसार, १ लाई ज्ञान, ० लाई पूर्ण ज्ञान अर्थात् सम्पूर्णता र ८ लाई अनन्त ज्ञानको प्रतीक मानिन्छ।

चाँदी र चन्द्रमा

ज्योतिषशास्त्रमा धातु चाँदीलाई चन्द्रमाको प्रतीक मानिन्छ र रसायन शास्त्रका अनुसार चाँदी (Silver – Ag) को परमाणविक तौल (Atomic Weight) १०८ हुन्छ।

अङ्कसीमितता

१०८ को १ र ८ लाई जोड्दा ९ हुन्छ र गणितशास्त्रमा प्रमुख अङ्क अर्थात मूलाङ्क केवल ९ सम्म मात्रै सीमित हुन्छ:- ०, १, २, ३, ४, ५, ६, ७, ८, ९

ध्यान

अध्यात्मवादका अनुसार, ध्यान गर्ने जम्मा १०८ तरिका हुन्छन्।

मेरु वा सुमेरु

रुद्राक्ष मालाको टुप्पामा हुने एउटा दाना, जहाँबाट गन्न सुरु गरिन्छ, जुन १०८ मा पर्दैन, त्यसलाई सुमेरु अथवा मेरु भनिन्छ। यसको मतलब हुन्छ, आदि पनि त्यही र अन्त्य पनि त्यही ।

एकदेखि १०० सम्मका अंकलाई एकैपटक मिलाएर लेख्नु पर्दा १०८ लेखिन्छ ।

१०८ योगमुद्रा, १०८ शक्तिपीठहरु

१ भनेको पृथ्वी ० भनेको आकाश र ८ भनेको अष्टदल भएकोले १०८ को महत्व अत्यधिक रहेको छ

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.