नागपञ्चमी पर्व : महत्व र विशेषता : ज्योतिष पण्डित राजेन्द्र खनाल

हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।
पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिन देखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचीन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइ दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाईन्छ ।
वास्तु तथा घरको पूजा गर्दा पनि नागको पूजा गरिन्छ । 
नागपञ्चमी पूजा र विधि:
प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको तथा चट्याङको भय हुँदैन ।  नागपञ्चमीका दिन यसरी विधि विधानले नागको पूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक र प्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै “कालसर्प” आदि गरिएको योग पनि नष्ट हुन्छ ।
प्रार्थना मन्त्र  :
“ आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि ।
एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।।
अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः ।
कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।। “
भावार्थ : अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि, जगत्लाई आनन्द दिने नागमाता मनसादेवीलाई नमस्कार गर्दछु ।
नोटः यस पालीको नाग पञ्चमी यही जुलाई २८ तारिख शुक्रवार पर्दछ, यस बारेमा विस्तृत जानकारी तथा पूजा कसरी गर्ने ? भन्ने सम्बन्धमा थप छलफल गर्नका लागि तलको नम्बरमा संपर्क गर्नुहोला । यस्पाली यदि २८ तारिख सम्म पनि घरमा नागको चित्र आइ पुगेन भने यसै नागलाई प्रिन्ट गरी पूजा गरी घरमा टाँस्नु होला ।  हाम्रो धर्म तथा सँस्कारसम्बन्धी धेरै भन्दा धेरै जानकारी पाऊनको लागि यो वेबसाईटलाई सब्स्क्राइव गर्नुहोस् । WWW.HINDUCULTURECENTER.COM
सम्पर्क : हिन्दु कल्चरल सेन्टर USA 7038706480 or khanalguru@gmail.com or hinduculturecenter@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.