• Advertisement upload

भर्जिनियामा वहुउद्देश्यीय सामुदायिक भवनको आवश्यकता किन ? सप्ताह  महोत्सव नै किन ? कसरी सुरु भएको थियो सप्ताह महापुराण  यज्ञ ? 

भर्जिनियामा वहुउद्देश्यीय सामुदायिक भवनको आवश्यकता किन ? सप्ताह  महोत्सव नै किन ? कसरी सुरु भएको थियो सप्ताह महापुराण  यज्ञ ? 

ज्योतिषी/ पण्डित राजेन्द्र खनाल 

डिसेम्बर 2९, 2018

विभिन्न किसिमको रोजगारी, सुख, सुविधा र सुरक्षित भविष्यका लागि नेपालबाट बसाई सर्ने क्रम सुरु भएसँगै अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जापान हुँदै विभिन्न मुलुकमा स्थाई तथा अस्थाई रुपमा जानेको संख्या बढ्दो छ । यसै क्रममा “नमरी स्वर्ग देखिँदैन, नगई अमेरिका पुगिदैँन।” अमेरिका भूस्वर्ग नै हो” भन्ने भ्रम नेपालमा बसिरहेको जनमानसमा पुगेकै कारण आज अमेरिका अझ बढि आकर्षणको केन्दवि’न्दु बनेको छ । म भूस्वर्ग पुगेर फर्किनेछु भन्ने उद्देश्य हुँदाहुँदै पनि हामी यहाँ बसोवास गरी बस्न विवश भएका छौँ । जसको कारण हो नेपालको अस्तव्यस्तता । चाहे जे सुकै कारण किन नहोस् विगतलाई हेर्दा अमेरिकामा नेपालीहरु सन् १९३९ देखि नै भ्रमण भिसामा आउन सुरु गरे पनि १९६० देखि विद्यार्थी भिसामा आउने क्रम बढ्दै गएको र सन् १९९५ देखि त डिभी लोटरी भिसाको सुरुआतपछि अमेरिका आउने नेपालीको संख्या बढ्दै गएर अहिले २०१९ सम्म आईपुग्दा यति नै छ भनेर यकिन गर्न सकिने स्थिति नै छैन किनकि यो डाटा अमेरिकाको आधिकारिक संस्था यूएससिआईएससँग पनि नहुन सक्छ किनकि लिगल तरिकाले अमेरिका आउनेहरुको मात्र डाटा रहन्छ त्यहाँ । २००७ पछि अमेरिकामा “नेपाली भूटानी शरणार्थी” भिसा लागेपछि झन् यो संख्या ह्वात्तै बढेको देखिन्छ, भूटानी भनिए पनि उनीहरु सबै नेपाली नै हुन् । यस हिसाबले अन्दाजी ३ लाख नेपालीहरुको संख्या अमेरिकामा छ भन्न सकिन्छ तर अहिलेसम्म यसको यकिन डाटा संकलन कसैले पनि गर्न सकिरहेको छैन । 

किन आवश्यक छ नर्देन भर्जिनियामा वहुउद्देश्यीय सामुदायिक भवनको ?

१. नेपाली भाषा तथा सँस्कृतिको रक्षाकाे लागि-

नेपाल भौगोलिक हिसाबले सानो भए पनि यहाँ बहुभाषी तथा बहु साँस्कृतिकपन रहेको छ । नेपालबाट हामी जहाँ गए पनि हाम्रो भाषा तथा सँस्कृति बोकिरहेका हुन्छौँ, जसले गर्दा हामी नेपाली भनेर चिनिन्छौँ । विभिन्न जातजाति  गुरुंग, राई, मगर, लिम्बु, तामांग, दर्ज़ी, नेवार, विश्वकर्मा, बाहुन, क्षेत्री, वैश्य तथा शुद्र आदि सबैको  आ-आफ्नै पहिचान रहेको छ, जसले गर्दा हामी नेपाली बनेर चिनिन सक्छौँ । त्यसकारण हाम्रो सँस्कृति नै हो हामीलाई नेपाली भनेर चिनाउने पहिचानमूलक चिनारी हो । विदेशमा आएर पनि यी सबै कुराको बचावटका लागि हामीलाई एउटा विशेष ठाउँको अत्यन्त ठूलो आवश्यकता रहेको  छ । नेपाली भाषा कक्षा, नेपाली तथा पूर्वीय गीत संगीतकाे नियमित कक्षाहरूको दीगोरूपमा संचालन गर्न, आवधिकरूपमा विभिन्न संप्रदाय र संस्कृतिका बारेमा बाैद्धिक प्रवचन तथा सत्संगतको आयोजना गर्न, परंपरागत चाडपर्वहरू, सांस्कृतिक तथा रीतिरिवाजसंग सम्वन्धित कार्यक्रमहरूको दीगो र सुचारू संचालन गर्न, याेगा, ध्यानलगाएतका सामुदायिक कार्यहरू नियमित रूपमा संचालन गर्न, भाषा, संस्कृति, मूल्य मान्यता र संस्कारकाे बारेमा दाेश्राे पिँढीलाइ सुशिक्षित गराउने वातावरणको निर्माण गर्न, हामीलाई हाम्रो आफ्नै सांस्कृतिक सामुदायिक भवन ज्यादै आवश्यक छ, त्यस्तो स्थायी सांस्कृतिक सामुदायिक केन्द्रकाे स्थापना गर्न सकियोस्, जसबाट नेपालको पर्यटन विकाशमा पनि टेवा पुग्न सक्दछ । यस्ता विषयहरुमा यदि यहाँ बसिरहेको पहिलो पुस्ताले ध्यान नदिएमा भोलिका दिनमा हाम्रा बच्चाहरुले आफ्नो परिवार, आफन्त, नातागोता र संस्कृतिलाई नचिन्ने, लाज मान्नु पर्ने स्थिति नआउला भन्न सकिन्न । हाम्रा छोराछोरी जति टाठाबाठा हुन्छन्, जति सफलता हाँसिल गर्छन् उति नै हामीलाई गर्व लाग्छ, तर हाम्रा छोराछोरीले भनेको नमान्ने, मानमर्यादा नराख्ने,  अनुशासनको पालना नगर्ने, कुलतमा फँस्ने, आफ्नो मनोमानीले काम गर्ने, बाबुआमाको सरसल्लाहलाई नमान्ने आदि क्रियाकलाप गर्न थालेमा बाबुआमालाई जत्तिको पीड़ा अरु कसैलाई पनि हुँदैन । यसैकारण हाम्रा बालबच्चाहरुलाई पनि हामी को हौँ ? कसरी अमेरिकामा बसोवास गर्न आइपुग्यौँ? हाम्रो पूर्वीय सँस्कृति के हो ? किन सँस्कृतिलाई बचाई राख्ने ? दया, करुणा, विनयशीलता के हो ? किन हजुरबा-आमा तथा बुबाआमालाई ईज्जत/सम्मान गर्नुपर्ने ? जस्ता कुरामा ध्यान दिएमा यी सबै विषयहरुको विस्तृत व्याख्याको बारेमा बुझाउन सहज हुनेछ । 
२. इतिहास रच्नका लागि –
अमेरिकाको भर्जिनिया एक ऐतिहासिक सहर हो । शिक्षा, स्वास्थ्य र सुऱक्षाका दृष्टिले यो सहर अमेरिकाका अन्य सहरभन्दा विशेष महत्वको छ । त्यसैले यहाँ दिन प्रतिदिन नेपालीहरुको बसोबास बढ्दै गइरहेको छ र यसले गर्दा आम नेपालीहरुमा एउटा अपनत्व जगाउने र सामाजिक तथा व्यवसायिक विषयमा छलफल गर्न सहज होस् भन्ने स्वाभाविक अभिप्राय रहिआएको छ । अमेरिकाको राजधानी वासिंटन डिसी पनि यहीँ भएकोले अमेरिकाकै नमूनाको रुपमा एउटा वहुउद्देश्यीय सामुदायिक भवन बनाउन सकेमा हाम्रो पहिलो पुस्ताको इतिहासलाई जीवन्त राख्न सकिन्छ, जहाँ नेपाल झल्किरहने छ । यस क्षेत्रमा करिब नेपालीहरुका १०० वटा भन्दा बढ़ी सँस्थाहरु जन्मिएको देखिन्छ तर यस्ता उल्लेखनीय कार्यहरु कसैले गर्न प्रयासरत छन् तर पूरा भएका छैनन् । यसका लागि चाहिने एकता नै सबैभन्दा ठूलो मन्त्र हो यो हुन सकिरहेको छैन ।मानिसको गाँस बास र कपासपछिको काम भनेकै यस्तै सामाजिक काम हो ।  जुन काम गर्नाले पछि हामी मरेर गए पनि मनसपटलमा रहिरहने छौँ । हाम्रा बाबु बाजेले सँस्कृतिका लागि निकै ठूलो काम गरेका रहेछन् भनी हाम्रा छोरा नाती पलातीहरुले यस्को अझ राम्रो संरक्षण गरी अगाडि बढ्ने छन् । हामीले बाटो देखाउन सके मात्र यो कुरा भोलिको पुस्ताले अनुशरण गर्ने छ । यसकारण सबै जना जुटौँ र यस अभियानलाई अगाडि बढाऔँ । मरेर गए पनि हाम्रा सन्ततिले त्यहीँ ठाउँमा गई हामीलाई सम्झने मोका मिल्नेछ । यसकारण आफ्नो नाम जीवन्त राख्नका लागि पनि हामीले यस्ता कामहरु गरिरहनु पर्दछ । 
३.  धर्म तथा सँस्कारको बचावटका लागि – धर्म भनेको अत्यन्त राम्रो (स्वभाव, काम, गुण, सिद्धान्त, नियम, सँस्कार ) कर्म हो, जुनकुरा अनुशरण गर्न योग्य पनि होस् त्यसलाई धर्म भनिन्छ, हिन्दु, बुद्ध, क्रिश्चियन, इस्लाम, यी सबै संस्कार हुन् । यिनमा यी सबै कुराहरु हुन सकेमा धार्मिक मान्न सकिन्छ । जो कोहिले पनि सोध्न सक्ने वेद के हो ? गीता के हो? जीव के हो ? आत्मा के हो ? ब्रह्माण्डको उत्पत्ति कसरी भएको थियो ? कसरी यो संसार एउटा चर्खाजस्तै चलिरहेको छ, कसरी समुद्रमाथि यो जमिनको भूभाग (पृथ्वी) अडिएको छ ?  ज्योतिष, गणित, विज्ञान, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नीति-नियम यी सबै विषयहरुको विस्तृत व्याख्याको बारेमा बुझाउन पनि सहज हुनेछ यदि हामीले सोँचेजस्तो स्थल निर्माण गर्न सकेमा । सम्पूर्ण ग्रह-नक्षत्र, पिण्ड–ब्रह्माण्ड तथा परमात्माको जानकारी, वेददेखिको सम्पूर्ण मानव सभ्यता, मानव जीवनको लौकिक एवं परलौकिक उन्नतिका लागि उपयोगी सबै सिद्धान्त एवं उपदेशको उद्भुत सम्बन्ध आदि यी सबै विषयज्ञानहरुको विस्तृत व्याख्याको बारेमा बुझाउन पनि सहज हुनेछ । 
भौतिक विज्ञानले मानिस जतिसुकै सुखी भए तापनि जबसम्म आध्यात्मिक ज्ञान हुँदैन मानिसलाई शान्ति मिल्दैन।  अाध्यात्मिक ज्ञानका साथ–साथै विज्ञान, कला, संगीत तथा आयुर्वेदको ज्ञान पनि अपरिहार्य नै छ किनकि बाहिरी ज्ञानले मात्र मानिसलाई पुग्दैन । हाम्रो आफ्नो धर्म र संस्कृतिलाई जोगाइराख्ने किसिमको पूजाआजा वा अन्य धार्मिक संस्कारहरु गर्न सहज होस् भन्ने स्वाभाविक अभिप्राय सबैको मनमा आईरहेको विषय हो । यस क्षेत्रमा एसियनहरुको सबैभन्दा ठूलो बस्ती भएकोले सबैका आ-आफ्नै मन्दिर, स्तुप, मस्जिद, चर्च र सामुदायिक भवनहरु निर्माण भइरहेका छन् । नेपाली समाजलाई पनि सांस्कृतिक एकताको सूत्रमा बाँधेर सामुदायिक भवन निर्माणको लागि सकारात्मक वातावरण तयार गर्न ‘डीसी महानगर क्षेत्रमा धर्म सँस्कृति र नेपालीपनकाे भावनालाई थप जागृत गर्न तथा गराउन, हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्राे संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न  पूर्वीय आध्यात्मिक चिन्तनकाे जानकारी गराउन, नेपाली संस्कृतिको जगेर्ना गर्न, तथा समुदायका सदस्यहरूका परलोक हुनु भएका आफन्तजनको आत्माको शान्तिको लागि दाहसँस्कार क्रियाकर्मलगायत जन्मदेखि मृत्युसम्म परिरहने सम्पूर्ण काम गर्नका लागि यो सेन्टरको आवश्यकता छ । किनकि हामी मरिसकेपछि हामीसँग जाने भनेको एकसरो लुगा र एउटा कात्रो मात्र हो, त्यो पनि कसैले गरिदिन सक्यो भने मात्र । यसकारण हामीले यस्तो कामकाजको लागि पनि केही आयश्रोत छुट्याउनु पर्छ । यसैकारण हाम्रो धर्मशास्रमा आफ्नो आम्दानीको १०% यस्तै धार्मिक/ सामाजिक कामको लागि छुट्याउनु भनेको छ । मरेर गए पनि हाम्रा सन्ततिले त्यहीँ ठाउँमा गई हामीलाई सम्झने मोका मिल्नेछ । यसकारण आफ्नो नाम राख्नका लागि पनि हामीले यस्ता कामहरु गरिरहनु पर्दछ अन्यथा हाम्रो जीवन यस श्लोकमा भनिए जस्तै पशुसरह बन्दछ । 

  येषां न विद्या न तपो न दानं

    ज्ञानं न शीलं न गुणो न धर्मः ।

 ते मर्त्यलोके भुवि भारभूता

    मनुष्यरूपेण मृगाश्चरन्ति ॥

अर्थ : यदि मानिस भएर पनि न विद्या, न तपस्या, न दान, न शीलस्वभाव, न गुणवान, न धार्मिक नै हुन सकिएन भने मनुष्यरुपी मृग भएर चरिरहने पशुतुल्य प्राणी हुनेछौँ । यस मर्त्यलोकको भूमिलाई पनि भार हुनेछौँ । 

हाम्रो हिन्दु सँस्कृतिमा यति धेरै अथाह ज्ञान छ कि पूरा जीवन खर्चिदा पनि सबै ज्ञान आर्जन गर्न सकिदैंन । हामी जति धेरै बुझ्दै जान्छौँ त्यति नै थौरै कुराहरु मात्र बुझेको जस्तो अनुभव हुँदै जान्छ । धर्म तथा सँस्कारको बारेमा हामीले नै बुझ्न सकेनौँ भने हाम्रा सन्तानले कसरी बुझ्लान् र ? हामीले हाम्रा छोरा छोरीले ग़लत गरे भनेर चिन्तित हुन्छौँ, तर के कारणले गल्ति गरे भन्नेतर्फ हामीले ध्यान दिदैनौँ  । 

४. पहिचानको लागि – 

मानिसको लागि अत्यावश्यक गाँस, बास र कपासपछिको काम भनेकै यस्तै समाजको संरचना र सेवा हो । मबाट जब हामीको समूहमा परिणत भईन्छ तब समाजको आवश्यकता पर्दछ । समाज भनेकै एउटा समूह अर्थात्  मिलेर बसेको व्यवस्थित समूह भन्ने बुझिन्छ । एक अर्काको भावना बुझ्ने, पर्दा सहयोग पुर्याउने, आफूलाई अन्य समुदायसँग नेपाली भनेर चिनाउन पहल गर्ने, आफ्नो भेषभुषालाई निरन्तरता दिने, जहाँ गए पनि आफ्नो भाषा संस्कृतिलाई महत्व दिने हो भने हाम्रो नेपाली पहिचान अरुले पनि थाहा पाऊन सक्छन र देशको पर्यटन विकाशमा पनि थप टेवा पुग्दछ । कुनै पनि भोज/पार्टी तथा सामाजिक कार्यक्रममा पुग्दा आफ्नो देशको टोपी, झन्डा, चिन्ह, पिन आदि संकेतजनक वस्तु लगाई गएमा हामीलाई अरुले पनि नेपाली भनेर चिन्ने मौक़ा मिल्दछ । विभिन्न किसिमका  नेपाली पोशाक, भाँडाहरु, परिकार र अन्य वस्तुहरुको संग्रहालयको पनि आवश्यकता छ । यी सबै वस्तुहरुलाई संग्रह गरी राख्ने र अरुलाई / बालबच्चालाई पहिचान गराउन, चिनाउनको लागि पनि हामीलाई सामुदायिक तथा सांस्कृतिक केन्द्रकाे आवश्यकता अपरिहार्य छ ।

  यो सेन्टर स्थापनापछि हामी नेपालीहरुले हाम्रा रीतिरिवाज, परम्परा तथा सामाजिक संस्कार एवं चाडपर्वहरु यसै ठाउँमा मनाउने नै छौँ । यस अतिरिक्त विचारको आदान प्रदान, सरसल्लाह, आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध बढाउने, विवादका विषयमा छलफल गर्ने, सरसहयोग तथा व्यापार व्यवसायका कुराको जानकारी लिने, शिक्षा, रोजगार, कर, आप्रवासन, नेपाल, अमेरिका र स्थानीय निकायका गतिविधि र अरु विविध विषयमा प्रत्यक्ष तथा परोक्षरुपमा थुप्रै जानकारी प्राप्त हुने भएकोले यो सेन्टर एक महत्वपूर्ण कडीका रुपमा रहनेछ । यसले गर्दा समाज गतिशील हुन्छ । हाम्रा बालबच्चाहरुले हाम्रो परम्परा र संस्कृति बुझ्न सक्छन् । संस्थाको गतिशीलताले समाज परिवर्तन हुनेछ ।

यी बाहेक पनि हामीलाई सामुदायिक भवनको आवश्यकता यसकारण अपरिहार्य छ – १.धार्मिक, सामाजिक तथा साँस्कृतिक कार्य गर्न गराउन सकिने,२. घरमा कार्यक्रम गर्दा हुने झन्झट, पार्किंग व्यवस्थापन आदिबाट बँच्न सकिने, ३. बुढ़ा भएका बावुआमालगायत सबैको सत्संगत गर्ने स्थल बनाउन सकिने । ४. हाम्रा बालबालिकाहरुलाई नेपाली नृत्य, खेलकुद तथा नेपाली भाषा तथा सँस्कृत भाषा कक्षा आदि सन्चालन गर्न सकिने,५. ॐ कार परिवारको जन्मदेखि मृत्युसम्मका सबै सँस्कारहरु गरिने ६. हिन्दुसंस्कारअनुरुपको काजक्रियालगायत अन्य कर्मका लागि सजिलो हुने गरी कोठाहरु बनाउन सकिने । 
त्यसैले हामी कम्युनिटी सेन्टर स्थापनाको प्रक्रियामा निरन्तर लागिरहेका छौँ । यसका लागि हामीले सप्ताह महापुराणको आयोजनालाई रोज्यौँ । हामी यस क्षेत्रमा धेरै जना छौँ तर केही समस्या पर्दा समेत एक अर्कालाई थाहा हुँदैन । त्यसकारण सप्ताहको माध्यमबाट हामी जोडिन सक्छौँ । यो त्यति सहज त छैन तर हामी सबै जना जुटेर लाग्यौँ भने सजिलैसँग सम्पन्न गर्न सक्छौँ । हाम्रा बावुबाजेहरुले पनि सप्ताह यज्ञ गरेको कुरा हामीलाई स्मरण छ । 

महायज्ञ/महापुराण के हो ?

दैवी पक्षका देवी-देवताहरुको प्रसन्नताका लागि वैदिक विधिअनुसार गरिने धार्मिक कार्यलाई यज्ञ/पुराण भनिन्छ । धेरे दिन लगाई गरिने त्यसैको ठूलो रुपलाई  महायज्ञ/महापुराण भनिन्छ । त्यही महापुराण यहाँ आयोजना गरिएको छ ।

महायज्ञ / महापुराण किन लगाइन्छ ? के के कुरा प्राप्त हुन्छ ?

महायज्ञ / महापुराण गर्नुको उद्धेश्य प्रष्ट छ — चार पुरुषार्थ अर्थात् धर्म, अर्थ, काम तथा मोक्षको प्राप्तिका लागि यस्ता महापुराणहरु लगाई श्रवण गरिन्छ । यसलाई ज्ञान महायज्ञ पनि भनिन्छ ।

धर्म : धर्म भन्नाले राम्रो कुराको अनुशरण गर्नु, धारण गर्नु अर्थात् क्षमा, दया, माया, करुणा, सेवा, सद्भाव र अनुशासनलाई धर्म मान्न सकिन्छ । राग र द्वेषबाट मुक्त विद्वानहरुको सदाचारलाई पनि धर्म भन्न सकिन्छ किनकि यो अनुशरण(धारण) गर्न योग्य हुन्छ । यसैले भनिएको छ-

“अष्टादश पुराणानि व्यासस्य वचनद्वयम्  । 

परोपकाराय पुण्याय पापाय पर पीड़नम् ।”

वास्तवमा धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । भलो गर्नु, उपकार गर्नु, सामाजिक संरचनाहरुमा सहयोग जुटाउनु, विभिन्न कारणले असहज भएकाहरुलाई सहयोग गर्नु नै धर्म हो । पाप भनेको अरुको कुभलो गर्नु, सामाजिक संरचनाहरु नष्ट गर्नु, व्यक्ति वा समाजलाई पीडा हुने जस्ता कार्य गर्नु पाप हो ।

‘धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षित’ अर्थात् धर्मको नाश भयो भने हाम्रो पनि नाश हुन्छ र धर्मको रक्षा भयो भने हाम्रो पनि रक्षा हुन्छ भनिएको छ । धर्म विना मानिसको जीवन व्यर्थ छ भनेर पनि धेरै ठाउँमा भनिएको छ –

“आहार निद्रा भय मैथुनं च

सामान्यमेतत् पशुभिर्नराणाम् ।

धर्मो हि तेषामधिको विशेष:

धर्मेण हीनाः पशुभिः समानाः ॥”

यस श्लोकमा भनिएको छ आहार, निद्रा, भय र मैथुन यी चार वटा मात्र काम गर्ने हो भने मानिस र पशुमा कुनै फरक छैन यसकारण  मनुश्यले धर्मको अनुशरण गर्नु पर्दछ  । हाम्रो यस धर्मलाई सनातन धर्म भनिन्छ । सधैंभरि रहिरहने भएकोले यसलाई सनातन भनिएको हो । धर्मबाटै मानिसले सँस्कार सिक्ने भएकाले यसलाई जन्मदेखि मृत्युपछिसम्म पनि प्राप्त होस् भन्ने उद्देश्य राखिन्छ जुन कुरा सप्ताह ज्ञानले पूरा गर्न सक्दछ । यसभित्र धेरै ऐतिहासिक पौराणिक कथाहरु जोडिएका छन्  जुन कुरा सुनेर ज्ञान मात्र लिन सक्यो भने पनि हामी धार्मिक हुनेछौँ । 

अर्थ : धन, सम्पत्ति तथा ऐश्वर्यलाई अर्थ भनिन्छ । संस्कृत भाषाको शव्दकोश अमरकोशमा अर्थ शब्दका पर्याय यस प्रकार दिइएका छन्- “द्रव्यं वित्तं स्वपातेयं रिक्थमृक्थं धनं वसु । हिरण्यं द्रविणं द्युम्नमर्थरैविभवाऽपि” अर्थात् द्रव्य, वित्त, स्वापतेय, रिक्थ, धन, वसु, हिरण्य, द्रविण, द्युम्न, अर्थ, रा, विभव आदि यी मध्ये प्रत्येक शब्दको एउटा अभिधेय अर्थ धन हो यस बाहेकका तात्पर्य कोष्ठमा उल्लेख गरिएको छ– द्रव्य (बहुमूल्य पदार्थ), वित्त (आय स्रोत), स्वापतेय (व्यक्तिगत धन), रिक्थ (उत्तराधिकारमा पाएको धन), ऋक्थ (प्रभाव), धन, वसु (मूल्यवान्, असल), हिरण्य (सुन र सुनले बनेका वस्तु ), द्रविण (बल,प्रबल  सार), द्युम्न (आभा, कीर्ति, उत्साह, बैभव), अर्थ (तात्पर्य), रा (शान, शौकत), विभव (सम्पन्नता) आदि यी सबै अर्थ हुन् । संक्षेपमा अर्थका पर्यायलाई तीन भागमा विभाजन गर्न सकिन्छ– १. धन तथा ऐश्वर्य २. भावार्थ, र ३. शक्ति । 
अमरकोशको नामार्थ वर्गमा भने स्व र सत्व यी धनवाची बताइएका छन् । अर्थ शब्दको शब्दार्थ भने यस प्रकार उल्लेख छ– अर्थोSभिधेयरैवस्तुप्रयोजन निवृत्तिषु, अर्थात् कुनै पद वाक्यको अभिप्राय जस्तै, घट भनेको घडा, धन, कुनै वस्तु, लक्ष्य, प्रयोजन, उद्देश्य, निवृत्ति, कार्य सम्पन्न हुनु । 
स्व शब्दको सन्दर्भमा अमरकोशको पंक्ति यस्तो छ– स्वो ज्ञातावात्मनि स्वं त्रिष्वात्मीये स्वोद्sस्त्रियां धने (अर्थात् स्व भनेको दाजुभाई, आफू, धन, र आत्मीय गरी चार नाम हुन्)। स्व शब्दको सन्दर्भमा पाणिनीय सूत्र यस प्रकार छ – स्वमज्ञातिधनाख्यायाम् ।ऋग्वेदमा अर्थलाई यसरी परिभाषित गरिएको छ- “अग्निना रयिमग्नात् पोषमेव दिवे दिवे। यशसं वीरवत्तमम् ।।” अर्थात् ईश्वरको उपासना र पुरुषार्थबाट निरन्तर बृद्धि हुने, पुष्ट हुने र कृति बढ्ने कामबाट नै धनको आर्जन गर्नु पर्दछ । कौटिल्यले अर्थलाई यसरी परिभाषित गरेका छन् –  मनुष्याणां वृत्तिरर्थः । मनुष्यवती भूमिरित्यर्थः । तात्पर्य– मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने तत्व नै अर्थ हो । धर्मपूर्वक ( कसैलाई पनि हानी नोक्सानी नपुर्याई) नै अर्थको आर्जन गर्नु नै जीवनको अन्तिम लक्ष हो, धर्मविरुद्धको धन त्याज्य हुन्छ यसकारण अर्थशुद्धी अर्थात नियन्त्रण हुन जरुरी छ । सही तरिकाले कमाएको हो कि होईन विचार पुर्याउनु पर्दछ भनेर अथर्व वेदमा व्याख्या गरिएको छ । अन्यायपूर्वक कमाएको धन धेरै दु:खदायी र पीड़ा दिने कष्टदायी हुन्छ । धनले मानिस तृप्त हुन नसके पनि अर्काको धन सित्तैमा लिनु पनि हुँदैन र धन त्यति मात्रै कमाउनु जसबाट आवश्यकताहरु परिपूरित होस् र बढ़ी भएको जति अरुको आवश्यकतामा ख़र्च होस् ।  यस्तै गरुड़ पुराणको एउटा श्लोकले यहाँ के पनि भन्दछ भने -‘अधमा धनमिच्छन्ति,धनमानंचमध्यमा । उत्तमा मानमिच्छन्ति मानौ हि महतां धनम्।।’ अधम मान्छे धनको इच्छा गर्छ, मध्यमले धन र मान दुवैको इच्छा गर्छ, उत्तम मान्छेले केवल मानको मात्र इच्छा गर्छ, यसकारण धेरै सम्मान प्राप्त गर्न सक्नु पनि धन कमाए जत्तिकै हो । महापुराणले आर्थिक श्रोतको परिचालन र सामुदायिक उत्साह सिर्जना हुने हुँदा पुनित कार्यमा सक्रिय सहयोग गरौँ र सामुदायिक सांस्कृतिक केन्द्रकाे स्थापना गर्न हाेस्टेमा हैसे गरौँ । यसैकारण हामीलाई अर्थको आवश्यकता परिरहन्छ जसका लागि हामी स्वयं लक्ष्मीलाई नै पुज्दछौँ । हाम्रो यो सामुदायिक भवनका लागि पनि अर्थको आवश्यकता अपरिहार्य छ जसका लागि हामीले आफ्नो आम्दनीको १०% मात्र छु्ट्यायौँ भने पनि पर्याप्त मात्रामा आर्थिक संकलन हुन पुग्छ, जसले हाम्रो सपना सजिलैसँग पूरा हुन सक्दछ ।

काम :  काम भनेको इच्छा शक्ति हो । जसलाई हामी  उर्जा पनि भन्दछौँ । यदि हामी उर्जालाई बढाउन मात्र सक्यौँ भने पनि हामीले गरेका ईच्छाहरु सबै पूरा हुन सक्दछन् । ऋग्वेदमा कामलाई यसरी व्याख्या गरिएको छ – “कामस्तदग्रे समवर्तताधि रेत: प्रथमं यदासीत् । सतो बन्धुमसति निरविन्दन्ह्रिदि प्रतिष्याकवयो मनीषा” सारा जगत नै कामनामय छ, जहाँ मन हुन्छ त्यहाँ कामना हुन्छ । मनको प्रथम रेत अर्थात् सार नै काम हो । मानव जीवनको भावुक अभिव्यक्ति नै काम हो यो सुखद र सहज अनुभूतिसँग सम्बद्ध राख्दछ । कामवासनाको इच्छाशक्ति पैदा हुनु पनि काम नै हो किनकि त्यहाँ सन्तानको इच्छा हुन्छ । कामको सिद्धान्तको रुपमा प्रतिपादन गर्ने   कामशास्त्रको रचयिता वैज्ञानिक वात्स्यायन हुन् । उनको कामशास्त्र अहिले विश्वप्रसिद्ध हुन पुगेको छ । पुरुष प्रतीकका रुपमा कामदेवलाई लिईन्छ भने स्त्री प्रतीकको रुपमा रतिलाई लिईन्छ । यी दुईको संगमबाट मात्र प्राणीले आफ्नो ईच्छाशक्ति अनुरूप  सन्तानको उत्पत्ति गर्न सक्दछ । सन्तानरहित व्यक्तिले दिएको वस्तु पितृले पनि ग्रहण गर्न सक्दैनन् भनी यसको विषयमा गरुड़ पुराणमा विस्तृत व्याख्या पनि गरिएको छ । यो मानिसमा हुने स्वभाविक प्रवृति हो । यो सत्य पनि हो । मानिसको मनोविज्ञान पनि सृष्टिमा आधारित छ जसका कारण गृहस्थ आश्रमको पालना विधिको विधानदेखि चलिआएको छ । जसलाई समाजको मुख्य अंग मानिन्छ । व्यक्ति, समाज, देश र राष्ट्रको समस्त गतिविधिहरु गृहस्थमाथि निर्भर हुन्छ । कामवासनामा जथाभावी नगरोस् भनेर हाम्रा ऋषिमुनिहरुले यसको परितृप्तिको लागि विवाहको व्यवस्था गरेका हुन् । अलिप्त भई संयमितरुपमा भोग गरुन् भनी विवाहको रचना गरेका हुन् । यो पद्धति आर्यसंस्कृतिको मूलाधार पनि हो । लोकमर्यादा विरुद्ध कामनाको आचरण नगरोस् । उचित मात्रामा मात्र संभोग गरोस् भनेर यससम्बन्धी नियामको परिपालनका लागि ‘अति सर्वत्र वर्जयेत्’ भनिएको छ । अनियन्त्रितरुपमा कामाशक्ति भएमा बलबुद्दिनाशक मानिन्छ । यसैकारण ज्योतिष शास्त्रको पनि हेर विचार गरी गर्भाधान सँस्कार गर्नु भनिएको छ । भोग तथा कामनाको विषयमा भर्तृहरि लेख्छन् – ‘भोगा न भुक्ता वयमेव भुक्ता तृष्णा न जीर्णा वयमेव जीर्णा ।’ यो भोगबाट मानिस कहिल्यै तृप्त हुँदैन, बरु जर्जर हुन पुग्छ, व्यक्ति बुढो हुन्छ तर तृष्णा बुढो हुँदैन । “नास्ति कामसमो व्याधिर्नास्ति मोहसमो रिपु : नास्ति कोपसमो वह्निर्नास्ति ज्ञानात् परं सुखम् ।।” कामसमान कुनै रोग व्याधि छैन, मोहसमान कुनै शत्रु हुँदैन, क्रोधसमान अग्नि पनि हुँदैन भने ज्ञानभन्दा ठूलो कुनै सुख छैन । कामको बारेमा भगवान कृष्ण गीतामा भन्नु हुन्छ- “काम एष क्रोध एष रजोगुण समुद्भव महाशनो महपाप्मा विद्ध्येनमिह वैरिणम्” मानिसलाई पापकर्ममा लगाउने तत्व भनेकै कामवासना हो, रजोगुणको सम्पर्कबाट यो कामभावमा परिणत हुन्छ, कामभाव सन्तुष्ट नहुँदा यो क्रोधमा परिवर्तन हुन्छ । यसकारण यसलाई आफ्नो शत्रु सम्झनु पर्दछ । आहारको माध्यमबाट मानिसमा भएको रजोगुणलाई तमोगुण हुनबाट बचाई सत्वगुणमा लग्न सकेमा मात्र मानिसले कामबाट फल प्राप्त गर्न सक्दछ । मानिसमा प्राप्त हुने दुर्व्यसन पनि काम र क्रोधको कारणबाट हुन्छ, यो मृत्युभन्दा पनि कष्टप्रद हुन्छ । यसकारण मानिसले आफ्नो इन्द्रियलाई वशमा राखी सम्पत्तिको मार्गमा लागिरहनु पर्दछ । कामाशक्त पुरुष न इन्द्रियलाई रोक्न सक्छन् न चित्तवृत्तिलाई, र यस्ता कामाशक्त पुरुषहरु बलात्कार गर्न पुग्छन् । यसैकारण उनीहरुलाई विपत्ति आई लाग्दछ । यसैले गर्दा धेरै व्यक्तिहरुका सन्तान दुर्व्यसनीपूर्वक महापाप गर्न पुग्छन् । यो सँस्कार बाबु आमाले दिन नसक्दाको परिणामको रुपमा मृत्युतुल्य कष्ट भोग्न बाध्य हुन्छन् । अत: एव भोगविलासलाई आत्मसंयमद्वारा नियन्त्रित र सीमित राख्नु पर्दछ । सीमित मात्रामा गरिएको भोगविलासले स्वास्थ ठीक रहन्छ र मन पनि निर्मल भइरहन्छ । कामलाई आनन्दको प्रतीक पनि मानिन्छ । धर्म अर्थ र कामको अनन्याश्रित सम्बन्ध रहन्छ तर आजकलका मानिसहरु धर्मलाई महत्व नदिई अर्थ र कामवासनामा मात्र जोड दिन्छन् । जसले गर्दा पूरा आयु पनि नबाँची छिटो पतन हुन पुग्छन्  । यसैकारण पनि हामीले यी बारेमा हाम्रा सन्तानलाई शिक्षा दिनु पर्दछ । 
मोक्ष: शास्त्र तथा पुराणका अनुसार जीवको जन्म तथा मरणको बन्धनबाट छुटकारा पाउनु नै मोक्ष हो । मनुष्य तथा प्राणी अज्ञानकै कारण बारबार जन्म लिदै मर्दै गरिरहन्छ । यस जन्ममरणको बंधनबाट छुटेर जो देवलोक तथा स्वर्गलोकमा बसिरहन पाउँदछ त्यो मोक्ष हो । जब मनुष्य मोक्ष प्राप्त हुन्छ, तब यस मर्त्यलोकमा आई जन्म लिनुको आवश्यकता पर्दैन । यसकारण धर्म अर्थ र कामको प्राप्ति विना मोक्ष प्राप्त हुँदैन । अत एव धर्म, अर्थ र कामको प्राप्तिबाट सजिलैसँग मोक्ष प्राप्ति हुन्छ । आत्माज्ञान तथा तत्वज्ञान जुन मनुष्यले प्राप्त गर्न सक्दछ उसले माोक्ष पनि प्राप्त गर्दछ । जब ज्ञानरुपी सप्ताह यज्ञ पूरा हुन्छ तब मोक्ष पनि मिल्दछ ।

कसरी सुरुआत भएको थियो त सप्ताह यो कलियुगमा ?

भगवान श्री कृष्णको देहावसान – 

जब द्वापर युग समाप्त भई कलियुगको सुरुआत हुन लाग्यो अधर्म बढ़ेर जान थाल्यो । युधिष्ठिरले राजाकाे सिंहासन परीक्षितलाई दिई चार भाइ अनि द्रौपदीको साथ हिमालय पर्वतमा गए । 

महाभारतको युद्ध सकिएपछि कलियुगको सुरुआत भएको थियो । 

श्री कृष्णद्वारा जब उत्तराको गर्भमा रहेको बच्चाको रक्षा भई परीक्षितको जन्म भयो ।

युद्धपछि अश्वथामाले पान्डव वंशको खत्तम गर्न जब  उत्तरा को गर्भमा ब्रह्मस्त्रद्वारा हत्या गर्ने प्रयास गरे तब  श्री कृष्णले गर्भमा प्रवेश गरी भ्रूणको ब्रह्मस्त्र वेघबाट बचाउनु भयो । परीक्षित राजाको जन्म हुन पुग्यो । 

कलि:

कलियुगको शुरुवात : कुरु वंशको विनाश अभिमन्यु उत्तराको पुत्र परीक्षित राजाको मृत्‍यु , सम्पूर्ण यदुकुलको नाश, पछि  कलियुको शुरुआत भएको थियो ।  

जब कलियुगको सुरुआत भयो, परीक्षित राजा आफ्नो साम्राज्यको सासनको लागि तयार भए । जब कलियुगले संसार जित्न खोज्यो अनि विश्वासघात, वासना, लोभ, लालच  अन्याय, अत्याचारको उदय भयो । राजा परिक्षित ज्ञानी थिए, धर्मात्मी थिए तर पनि कलिलाई जित्न सकेनन् । कलिले पृथ्वीमा धेरै दु:ख दिन थालेपछि पृथ्वीले गाईको रुप धारण गरिन् र राजासँग बिन्ती गरिन् । कलिलाई बस्ने ठाँउको व्यवस्था गर्नुहोस् अन्यथा राम्रो हुनेछैन संसार नष्ट हुनेछ भनेपछि परीक्षितले कलिलाई सोधे – मदिरामा बस, वेश्यालयमा बस, जुवा तासको खालमा बस भन्दा कलिले बिन्ती गर्यो यी तीनवटै ठाँउमा बसी तपाईको आज्ञा पालन गर्नेछु तर मलाई एउटा अलि राम्रो ठाउँ पनि मिलाउनु होस् भन्दा राजाले बिचारै नगरी त्यसोभए सुनमा बस भनेकाले कलि गएर राजाको मुकुटमा बस्यो । कलि शिरमा बसेपछि राजालाई अहंकार पैदा हुन थाल्यो र शिकार खेल्न भनी जाँदा प्यास लाग्यो र शमीक ऋषिको आश्रममा पुगे । जहाँ ति ऋषि तपास्या गरिरहेका थिए, ऋषिलाई ध्यानबाट जगाउन सकेनन् र रिसाएर मरेको सर्प गलामा लगाई दिएर हिँडे । जब ऋषिपुत्र शृंगि कुटीमा आए बाबुको त्यस्तो हालत देखेपछि मरेको सर्प गलामा लगाउनेलाई तक्षक नागले डसेर सातै दिनमा मर्नुपरोस् भनी श्राप दिए । श्रापबाट मुक्त हुने उपायहरु खोज्दै जाँदा कुनै सिप नलागेपछि अन्त्यमा शुकदेव स्वामीसँग परीक्षित राजाको भेट भयो र शुकदेवको आज्ञाअनुसार ७ दिने सप्ताह गर्ने निर्णय भयो र यसैबाट मुक्ति (मोक्ष) मिल्ने भएपछि परीक्षित राजाले यो ७ दिने यज्ञको सुरुआत गरे फलस्वरूप हामीले पनि यहाँ सोही निर्णय गर्यौँ । जसबाट मोक्ष पनि प्राप्त गर्न सकिन्छ । 

अमेरिकी ईतिहासमै हाम्रा धरोहर धर्म, सँस्कृति र परम्पराहरुलाई जगेर्ना गर्दै हाम्रा भावी पुस्तालाई सँस्कार सिकाई हस्तान्तरण गर्ने उद्देश्यअनुरुप मूल नारा “हाम्रो सँस्कृति बचाऔँ” भनी बिगत १० बर्षदेखि गर्दै आइरहेका छौ । यस्ता कार्यक्रमहरु सम्पन्न गर्न भर्जिनियामा एउटा पनि नेपाली सामुदायिक भवन नभएको हुँदा हामीले धेरै साँस्कृतिक तथा सामाजिक कार्यक्रमहरु गर्दा  निकै कठीन तथा अप्ठेराहरु झेल्नु परेका कुराहरु यहाँहरु सबैलाई अवगत नै छ । यसै परिस्थितिमा यस नर्देन भर्जिनियामा नेपाली सामुदायिक भवनको अति नै आवश्यकता महसुस गरिरहेका छौं  ।

हामी सनातन धर्मावलम्बी नेपालीहरुद्वारा निर्माण गर्न खोजिएको प्रस्तावित भवनका लागि बेलाबखत विगत १० वर्षदेखि नै यो अभियानमा दत्तचित्त भएर लागिरहेका छौं । तर रकम संकलनमा हामीले सोचेजस्तो आर्थिक श्रोत उपलब्ध नहुँदा, यसका लागि आदरणीय गुरु पं दीनबन्धु पोखरेलसँगको निर्देशनअनुसार उहाँले नै यस्ता कार्यक्रमहरु गर्दा एकातर्फ धर्म प्राप्त हुने र अर्कोतर्फ डिसी भर्जिनियामा  सामुदायिक भवन निर्माणको लागि सहयोग पनि प्राप्त हुने भएकोले उहाँकै सक्रियता, सहयोग र सल्लाहअनुसार ज्ञानवर्धक सप्ताह महोत्सवका लागि म आफूले सेन्टर निर्माण गर्न सक्दो सहयोग गर्नेछु भनी वचन दिनुभएकोले यस महोत्सवको आयोजना गरिएको हो ।

यसैकारण हामीले यस कम्युनिटी सेन्टर निर्माणार्थ सप्ताहमा सनातन ओमकार  मानिसहरुलाई समाहित गर्ने लक्ष्य लिएका छौँ । हामी नेपालीहरु स्वभावैले उदार छौँ, सहिष्णुता छौँ र सहयोगी भावनाका  पनि धनी छौँ । हामीले यो भावनालाई जगाएर अगाडि बढाउनुपर्ने टड्कारो अनुभव गरेका छौँ । यसका लागि केवल समर्पण र सहयोगको आवश्यकता छ । तपाई हाम्रो सहयोगले नै सेन्टर स्थापना हुने हो । हामी सबैजना यो महान् यज्ञ सप्ताहमा समाहित भयौँ भने यो सेन्टर स्थापना भई हामीले यथाशीघ्र हाम्रा कर्महरु गर्न सक्नेछौँ भन्ने आशा एवं विश्वास लिएका छौँ । तपाईँ हामीले उदारता देखाउनैपर्छ ।

पं. पोखरेलको मुखारविन्दबाट प्रवचन सुनेर लाभान्वित हुन र आफ्नो गच्छे अनुसारको रकम दान वा चन्दाका रुपमा प्रदान गरेर हाम्रो यो विशाल अभियानमा एक इँटा थप्न पनि हामी अनुरोध गर्दछौँ । हाम्रो आफ्नो पहिचानका लागि पनि हामीलाई आफ्नै खालको सामुदायिक भवनको जरुरत परेको छ, यदि हामीले सोँचेअनुसारको भवन बनाउन सकेमा हामीलाई सहज हुनुका साथै फाईदा पुग्नेछ । सप्ताहमा कर्ता बनी पूण्य लाभ गर्ने मौका प्रदान गर्न प्रस्तावित सप्ताह माहापुराणको आयोजना गर्न लागिएको हो ।

 प्रस्तावित सप्ताह महापुराणले आर्थिक श्रोतको परिचालन र सामुदायिक उत्साह सिर्जना हुने कुरामा दुई मत छैन । त्यसैले यो पुनित कार्यमा सबैले सकेको सहयोग गरौँ र सामुदायिक सांस्कृतिक केन्द्रकाे स्थापना गर्न हाेस्टेमा हैसे गरौँ । सबै जुटौं, सबै उठौं, यो महाअभियानमा कोही पनि नछुटौँ ।

त्यसैले तपाई यस धार्मिक  तथा ज्ञान महोत्सवको अभियानमा सहभागी बन्नुहोस् । तपाईँको परिवारलाई ल्याउनुस् र साथीहरुलाई खबर गर्नुहोस् र पतृहरुका लागि समेत पूण्य आर्जन गर्नुहोस् । यो ऐतिहासिक पर्वलाई हामीले सफल बनाउँ ।

हाम्रो आफ्नो धार्मिक, सांस्कृतिक एवं सामाजिक सम्पत्ति अर्को पुस्तामा हस्तान्तरण गर्नका लागि हामीले हाम्रो आफ्नो धर्म, संस्कृति, रीतिरिवाज तथा सामाजिकपनको क्रमशः संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यअनुरुप निर्माण श्रोत जुटाउनका लागि महापुराण (७ दिने सप्ताह) लगाउने निष्कर्ष निकालेका हौँ र यसका लागि १००१ सदस्यीय निर्माणाधीन समितिको पनि सुरुआत भएको छ । 

 

यसै क्रममा डिसेम्बर २९ तारिख भर्जिनियाको चान्टिल्लीमा सामाजिक बैठकको कार्यक्रममा कार्यपत्र प्रस्तुतीकरणसहितको यो कार्यक्रम सामाजिक अभियन्ता ददिराम ढुंगानाको विशेष पहलमा भएको हो । हामी सबैले उहाँलाई साथ दिएर यस अभियानमा सबै लागि परेमा पाँच वर्षभित्रमा हाम्रो योजना सफल हुनेछ । नेपाली समाजलाई सांस्कृतिक एकताको सूत्रमा बाँधेर सामुदायिक भवन निर्माणको लागि सकारात्मक वातावरण तयार गर्न ‘डीसी महानगर क्षेत्रमा नेपाली संस्कृति र नेपालीपनकाे भावनालाई थप जागृत गर्न तथा गराउन, हाम्रो भावी पिंढीलाई संस्थागत रूपमा हाम्रोपन, हाम्राे संस्कृति र सामाजिक विरासत हस्तान्तरण गर्न  पूर्वीय आध्यात्मिक चिन्तनकाे जानकारी गराउन, नेपाली संस्कृतिको जगेर्ना गर्न, तथा समुदायका सदस्यहरूका परलोक हुनु भएका आफन्तजनको आत्माको शान्तिको लागि सप्ताहमा कर्ता बनी पूण्य लाभ गर्ने मौका प्रदान गर्न प्रस्तावित सप्ताह माहापुराणको आयोजना गर्न लागिएको हो ।

नेपाली तथा पूर्वीय गीत संगीतकाे नियमित कक्षाहरूको दीगोरूपमा संचालन गर्न, आवधिकरूपमा विभिन्न संप्रदाय र संस्कृतिका बारेमा बाैद्धिक प्रवचन तथा सत्संगतको आयोजना गर्न, परंपरागत चाडपर्वहरू, सांस्कृतिक तथा रीतिरिवाज संग सम्वन्धित कार्यक्रमहरूको दीगो र सुचारू संचालन गर्न, याेगा, ध्यानलगाएतका सामुदायिक कार्यहरू नियमित रूपमा संचालन गर्न, भाषा, संस्कृति, मूल्य मान्यता र संस्कारकाे बारेमा दाेश्राे पिढीलाइ सुशिक्षित गराउने  वातावरणको निर्माण गर्न, हामीलाई हाम्रो आफ्नै सांस्कृतिक सामुदायिक भवन ज्यादै आवश्यक छ त्यस्तो स्थायी सांस्कृतिक सामुदायिक केन्द्रकाे स्थापना गर्न प्रस्तावित सप्ताह महापुराणले आर्थिक श्रोतको परिचालन र सामुदायिक उत्साह सिर्जना हुने कुरामा दुई मत छैन । त्यसैले यो पुनित कार्यमा सबैले सक्रिय सयोग गरौँ र सामुदायिक सांस्कृतिक केन्द्रकाे स्थापना गर्न हाेस्टेमा हैसे गरौँ । सबै जुटौं, सबै उठौं, यो महाअभियानमा कोही पनि नछुटौँ । 

कृपया यससम्बन्धी थप जिज्ञाशा,  सल्लाह र सुझावका लागि कमेन्ट गर्नुहोला, धन्यवाद ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.