ऋषिपञ्चमी : यस्तो छ महत्व
Sep 1, 2019
नेपाली महिलाहरूको महान चाड हरितालिका तीज पछि आज (मंगलबार) ऋषिपञ्चमीको पूजा गरी सकिदै छ । हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू (गलत कृयाकलाप) छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ । रजश्वला नै सृष्टिको सुरुआत मानिने भएकाले हाम्रो परम्परामा यस अवधिमा भए/गरेका गल्तिहरुबाट मुक्ति पाउनको लागि यो ब्रत महत्वपूर्ण मानिन्छ ।
तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । यस दिन टिस्टुङ, टेकु, कोटेश्वरलगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने गर्दछ ।
ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा गई दतिवनले दाँत माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दान दक्षिणा आदि दिने प्रचलन छ । अझ गाउँघरतिरको परम्परा त तीजको दिन महिलाले आफ्नै तरिकाले मनदेखि ब्रत बसेर पूजा गरी, चतुर्थीको दिन पनि आफ्नै तरिकाले ब्रत पूजा गरी यो अन्तिम दिन अर्थात् ऋषिपन्चमीको दिन ब्राह्मण बोलाई वा समूहमा जम्मा भई विधिपूर्वक अरुन्धतीसहित सप्तऋषिहरुको पूजा गरी गुरु पुरोहितहरुद्वारा तीजको कथा, चौथी दोषको कथा (भाद्र शुक्ल चतुर्थीको चन्द्रमा हेर्नु हुँदैन हेरेमा चोरेको आरोप आदि लाग्न सक्छ) र ऋषिपन्चमीको कथा श्रवण गर्ने चलन छ । त्यसै कारणले पनि यो अन्तिम दिन पन्चमीको पूजा गरी तीजलाई विदा गर्ने चलन रहिआएको छ । तर अहिले त कस्तो भयो भने कसैलाई देखाउनका लागि जस्तै गरी ब्रत बस्ने, मन्दिर गएँ भनेर फोटो खिच्नु पर्ने, तिथि न मितिसँग ब्रत बस्ने देखावटी चलन बढ्दै गएको छ, यसले न त हाम्रो सँस्कार जोगिन्छ न त गर्नेले फल नै पाउँदछ ।
ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेको छ । ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता रही आएको पाइन्छ ।
हिन्दु धर्म अति लचकदार भएकै कारण यस्ता ब्रत उपवास बसी ग़लत कामहरुको फल नलागोस् भन्ने कामनास्वरुप यी ब्रत स्वरुप प्रायश्चित्त गरिन्छ, यस दोषको भागी हुनै नपरोस्, मुक्ति मिलोस् भन्नका लागि अलि ठूलो ब्रत तथा यज्ञका रुपमा सलक्षबर्ति (सबा लाखबत्ति बाल्ने) प्रचलन हाम्रो समाजमा व्याप्त छ ।
सम्पूर्ण हिन्दुधर्माबलम्बी दिदीबहिनीहरुमा ऋषिपन्चमीको शुभकामना !
जानकारी : भर्जिनियाको हरन्डनलगायत अन्य ठाउँमा यही सेप्टेम्बर 3 तारिख मंगलबार ऋषिपन्चमी पूजा गर्न लागिएको हुँदा यो ब्रत/पूजा गर्न ईच्छुक महिला दिदीबहिनीहरुले समयको बारेमा जानकारी पाउनको लागि यस नम्बरमा सम्पर्क गर्नु होला । Address :1330 April way Herndon, VA 20170
फ़ोन : 703-870-6480
Or email : khanalhuru@gmail.com
Error: Contact form not found.