भावातीत ध्यानको लक्ष्य : चेतनाको विकास । -श्याम खनाल – उप -प्राध्यापक , नेपाल संस्कृत विश्वविद्यालय
हामीले खाना खाइरहेका हुन्छौँ । त्यति नै खेर कसैले जोडतोडले ख्याक खुक र सिँ सिँ गरिरहेको हुन्छ । उसका चर्मचक्षुले हामीले खाना खाइरहेको देखेता पनि उसको चेतनाको पूर्ण विकास नभएकोले हामीले खाना खाइरहेका बेला उसले ख्याक खुक गर्दा हामीलाई अप्ठ्यारो पर्छ भन्ने ठम्याउन सकिरहेको हुँदैन । त्यस्तै मन्दिरमा भगवान्को आरती हुँदा पनि बाहिर बसेर टुप्पी हल्लाउँदै मोबाइलमा अनावश्यक गफदेखि अनावश्यक वैरागी भेला गराउनेहरूको पनि त्यस्तै हालत देखिन्छ । त्यस्तै कोही बसिरहेको ठाउँको अगाडि थुक्दै हिँड्नेहरूको पनि चेतनामा कमी नै देखिन्छ । एवमेव मानव–मानवबीच छि–छि दुर्दुर गर्ने पेट र जिभ्रोको लागि कसैको हत्या गर्ने इत्यादि कुराहरूमा पनि चेतना कै कमी देखिन्छ । मसानघाटमा गएर जुवा खेल्ने, कोही मरेको ठाउँमा गएर गलल्ल हाँस्ने इत्यादि कुरा पनि चेतनाको कमी कै उदाहरणहरू हुन् ।
यी त सामान्य मानिसले नबुझेर गर्ने व्यवहार भए । समाजमा आफूलाई शास्त्रको ठूलो चिन्तक ठानेर विहान बेलुका शङ्ख फुक्ने र घण्ट हल्लाउनेमा पनि यो समस्या देखिन्छ । जप गरिरहेको बेला कसैप्रति रिस उठ्दा वित्तिकै जपकै अवस्थामा पनि दुर्वासा अवतार गरेर ऊ चिच्चाउन थाल्छ । शास्त्रले बताएका कर्मकाण्डादि विषय पुरोहित र विश्वकल्याणका लागि भएको थाहा पाउँदैन । केबल जीविकाको लागि कर्मकाण्ड गर्दछ । भागवत्का कथामा मान्छे नचाउँछ आफू भित्रैदेखि नाँच्न सक्दैन । घरको फ्रिजमा राखेर सडाएको जनावर खाई आफूलाई विशिष्ट ब्राह्मणको संज्ञा दिँदैमा व्यस्त रहन्छ । तर संस्कृत र संस्कारमा जीवन विताएका विदेशी विद्वान्हरूलाई समेत म्लेच्छ देखी छि छि दुर्दुर् गर्दछ । शास्त्रले बताएका कुरा भन्दा पनि अलि पैसा बढी आउने भयो भने कुशको सट्टा घुसले पनि काम चलाउन तत्पर रहन्छ । शास्त्रलाई उसैको अनुरुप व्याख्या गर्दछ । गम्छा र धोती ब्राह्मण वरणीमा मगाउने त्यही ब्राह्मणले म्लेच्छका सर्ट–पाइन्ट–कोट र यवनका कुर्ता–पाइजामा नै पूजा कर्म सिद्धाउँछ । वैदिक सत्य सनातन धर्मको मर्मलाई सानैदेखि रटान लाएर पनि अलिकति पैसा आउने भयो भने वैदिक धर्मका धमिरा रामपाल आदिका सदस्य भएर अज्ञान–गङ्गा बाँड्दै हिँड्छ । दुनियालाई तार्ने ठेक्का लिएर गाउँ चाहार्ने पण्डाले तालु खुइलिएकोले मुडेर गाउँ निकाला गरेको जस्तो रूप हुँदा पनि ऋषितर्पणीको दिन समेत कपाल मसारेरै डोरो बान्दै हिँड्छ । पौरस्त्य दर्शनका यत्रा अनगन्ती शास्त्रहरूलाई स्यालले अंगुर अमिलो भनेजस्तै गरेर हल्का रुपले लिन्छ । यति धेरै प्रकारका आस्तिक दर्शन देख्दैन, पढ्दैन अनि व्यवहार गर्दैन, देख्छ त केबल तर्कका लागि कल्पना गरिएको चार्वाकको नास्तिक दर्शन । संस्कृतको दानापानी खाएर संस्कृत र संस्कारको विरोधमै समय विताउँछ । शास्त्रीय चिन्तनमा रमाउनुको सट्टा दल र दलालका पछि लागेर आफ्ना मालिकहरूलाई उचाल्ने, फुटाउने, गाली गर्ने र अन्धभक्तिमा रमाउने कामको गुरु बन्छ । पाणिनिले लेखेका व्याकरणका पुस्तक सारेर आफैलाई लेखक घोषित गरी प्रचारमा आउन पनि लाजै मान्दैन । वर्णाश्रमको वैज्ञानिकता नबुझीकन छुवाछुतको अमानवीय, दानवीय प्रकृतिमा रमाउन खोज्छ । केटाकेटी र श्रीमति पाल्नकै लागि एवं ऐश, आरामयुक्त विलासी गाडी र जीवनमा रमाउन अनेकानेक रुद्राभिषेक आदि पूजाका माध्यमले पैसा कमाउनु नै जीवनको उद्देश्य राखेको छ । १०८ उपनिषद् खोलामा बगाएर विदेशी उपन्यासमा रमाउँछ ।
अरु धर्मकालाई मारेर वा परिवर्तन गराएर आफ्नो जनसंख्या बढाउने धुनमा छन् मुस्लिम र क्रिश्चियनहरू । वेदको एकेश्वरवाद नै मुस्लिम हो र दानव प्रवृत्तिमा रमिरहेका पश्चिमाहरूलाई मानव बनाउने लक्ष्य लिएर ईश्वरपुत्र क्राइष्टको जन्म भएको हो भन्ने उनीहरूलाई पत्तै छैन ।
त्यस्तै समाजमा के के न परिवर्तन गरेर के के गर्छौ भन्नेको पनि त्यस्तै अवस्था देखिन्छ । उसले भौतिकवाद भनेको त वैदिक धर्मको अपहेलना गर्ने भन्ने बुझेको छ । ८०% जनताका कुरा नसुनेर २०% मा रमाउन पुगेको छ । विज्ञानले समेत प्रमाणित गरेको गाइको महिमालाई बेवास्ता गरी जातजातीका नाममा पाश्चात्य संस्कारको टाइ लगाएर गोहत्याको वकालत गरिरहेको छ । शिवशान्तिमा विश्वास नगरी शवशान्तिको पछाडि दौडिरहेको छ । के के विदेशी वादका पछि परेर तिनैका फोटा सजाएर जनतालाई भ्रममा पारिरहेको छ । शरीरको सफाइ र बुद्धिको विकास गर्नु त कता हो कता सुट टाइ लगाएर चिटिक्क परेर हिँड्नुलाई आमूल परिवर्तनको संज्ञा दिइरहेको छ । गुरु गोरखनाथ, पृथ्वीनारायण शाह, योगी नरहरिनाथ, राजा जनकलाई आदर्श सम्झेर तिनका वादहरूलाई अनुसरण गरेर समाजको दीगो विकासमा लाग्नुको सट्टा गास–बास–कपासका कुरा गरेर जनतालाई भ्रममा पार्ने विदेशीहरूका वादमै रमाएको छ । आफ्नै गुरुबाट पाएको ज्ञानलाई आफैले आविष्कार गरेको भन्दै प्रचार–प्रसार गरी आफै विश्वगुरु बन्ने होडमा लागेको छ । वैदिक देवता र भगवान्लाई विस्थापित गरी आफ्नै मन्दिर बनाउने र भक्तहरूलाई आफ्ना फोटा पूजाउने कार्यमा तत्पर रहेको छ । पशुमानवलाई मानव, मानवलाई महामानव र महामानवलाई देवमानव बनाउने आफ्ना पौरस्त्य चिन्तन छोडेर अर्थ न वर्थका भौतिकवादका पछि लागेको छ ।
यी सबै कुराहरूको समस्या देखिनुको प्रमुख कारण भनेको चेतनाको कमी हो । त्यो चेतनाको कमिको परिपूर्ति ध्यानले गर्छ भन्दै विश्वमा चेतना फैलाउने श्रेय महर्षि महेश योगीलाई जान्छ । उहाँले बताउनुभएको ध्यान ऋग्वेदकै दशौँ मण्डलमा भएको कुरा हो । ध्यान धेरै किसिमका हुन्छन् । तर वास्तविक ध्यान भनेको वेदविहित भावातीत ध्यान नै हो । यो कुरा विश्वका गन्नेमान्ने वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । विश्वका प्रत्येक मानवलाई अर्जुनका माध्यमले सम्झाउने सिलसिलामा भगवान् श्रीकृष्णले गीतामा “योगस्थ कुरु कर्माणि” भनेर ध्यानकै कुरा जोड्नुभएको हो । त्यसैले यो ध्यानबाट विश्वका प्रत्येक धर्म, वर्ग, वर्ण, लिङ्गका मानिसहरू लाभान्वित हुन सक्छन् । शिष्यका सन्तापहरण भन्दा पनि वित्तहरण गरी आफूलाई गुरु बनाउने र भगवान् घोषित गराउने उद्देश्य अनुरुपका अरु अवैदिक ध्यानले मानिसलाई शान्तभन्दा पनि अशान्त बनाएको उदाहरण प्रशस्त भेटिन्छन् ।
यस्तो वेदसम्मत वैज्ञानिक ध्यान पनि किन सबैले गर्दैैनन् भन्ने जिज्ञासा हुन सक्छ । तपाइँ हामीहरूले महाभारतको कथा त पढेकै छौँ । महाभारतमा युद्ध हुनुभन्दा अघि भगवान् श्रीकृष्ण शान्तिप्रस्ताव लिएर कौरवको सभामा जानुहुन्छ । पाण्डवहरूका तर्फबाट ५ वटा गाउँ माग्दा ५ वटा गाउँ त कता हो कता १ इञ्च जमीन पनि नदिने भनी दुर्योधनले श्रीकृष्णलाई बन्दी बनाउन खोज्दा भगवान्ले आफ्नो विराटस्वरुपको दर्शन दिनुहुन्छ । यस बेलामा विराट स्वरुप त दुर्योधनले पनि देखेको हुन्छ, तर उसले यो भगवान्को स्वरुपलाई गोठालाको मायावी रुप सम्झन्छ । त्यस्तै अहिले पनि महर्षिद्वारा प्रदत्त यो ध्यान विधिलाई दुर्योधनले श्रीकृष्णको रूपलाई लिएजस्तो हल्का तरीकाले लिई “वाप वडा न भैया सबसे बडा रुपियाँ” भन्दै जीवनलाई निरर्थक तुल्याउनेको पनि कमी छैन । यो ध्यान विधिलाई आफ्नो अमूल्य जीवनको दैनिककर्ममा समाहित गरी आनन्दित जीवन विताउने पनि समाजका कुना कुनामा रहेर बसेका छन् ।
जसरी गाडीमा ब्रेक र एक्सुलेटरको सम्बन्ध रहन्छ त्यसरी नै मानिसका कर्म र ध्यानको सम्बन्ध रहेको हुन्छ । कर्म गरेपछि मान्छेमा मात आउनु, आफूलाई संसारकै गन्यमान्य सम्झनु प्राकृतिक लक्षण हो । तर त्यसलाई ब्यालेन्समा राख्ने काम भावातीत ध्यानले गर्दछ । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भन्ने बुद्धिको विकास ध्यानले गराउँछ । संसारमा चलेका अनेक किसिमका युद्ध पनि भावातीत ध्यानकै माध्यमले निवारण गर्न सकिने कुरा महर्षि महेश योगीले प्रमाणित गरेर देखाउनुभएको छ । यसका लागि सबैले विहान बेलुका २०–२० मिनट समय ध्यानका लागि छुट्टाऊँ । यसले प्रत्यक्ष फाइदा पुर्याएको तपाइँ आफैले अनुभव गर्नुहुन्छ । ध्यान सिक्नका लागि नेपाल महर्षि वैदिक फाउण्डेसन काठमाडौँमा वा भावातीत–ध्यान शिक्षकहरूसँग सोझै सम्पर्क गर्न सकिन्छ । जय गुरुदेव ।