आचार्य पीपलमणि सिग्देल, न्यूयोर्क, अमेरिका
सेप्टेम्बर १, २०२०
सनातन हिन्दु धर्म संस्कारअनुसार पितृहरुको स्मरणमा गरिने सम्मान तथा आराधनालाई श्राद्ध भनिन्छ। जिवित हुँदा मातापिताको सेवा गर्नु र दिवगत भएपछि श्रद्धापूर्वक कृतज्ञता अर्पण गर्नु नै सन्ततिको परम कर्तव्य हो। श्रद्धया कृयते यत्कर्म तत् श्राद्ध: अर्थात पितृहरुका निमित्त श्रद्धाले गरिने कर्म नै श्राद्ध हो।
श्राद्ध अनेक प्रकारका हुन्छन्। आभ्युदयिक श्राद्ध, एकोदिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध तथा तीर्थ श्राद्ध यी प्रचलित श्राद्ध हुन्। यिनै विविध श्राद्धमध्ये अहिले पार्वण श्राद्ध चलिरहेको छ। यसलाई महालय पार्वण श्राद्ध पनि भनिन्छ। तिथि अनुसार आश्विन कृष्णपक्ष प्रतिपदादेखि अमावास्यासम्म १५ दिन तथा भाद्र शुक्लपक्षको पूर्णिमा समेत गरेर जम्मा १६ दिन पितृ कर्म गरिने भएकाले यसलाई सोह्रश्राद्ध पनि भनिन्छ। यस वर्ष तिथि अनुसार सेप्टेम्बर २ देखि पार्वण श्राद्ध परेको छ।
यस श्राद्धमा शुद्ध भई ऋषि तथा दियो स्थापना गरेर देवता, ऋषि, मनुष्य, दिव्यपितृ तथा स्वपितृको तिल मिसाइएको जलले तर्पण गरिन्छ। त्यसैगरी पितृलाई श्रद्धापूर्वक पिण्डदान दिनुपर्ने हुन्छ। यसरी तर्पण एवं पिण्डदान गरेपछि ब्राम्हण भोजन, भान्जाभान्जीलगायत आफन्तजनलाई भोजन गराउनुपर्ने हुन्छ। गाई, कुकुर, काग, कमिला तथा देवपितृ आदिलाई भोग लगाउने विधि शास्त्रमा उल्लेख छ। यी त प्रतिनिधि मात्रै हुन् वास्तवमा ब्रम्हदेखि सृष्टिका समस्त चराचर जगतलाई नै तृप्त गर्ने उद्देश्य श्राद्धमा रहन्छ, शास्त्रमा भनिएको छ।
आब्रह्मस्तम्बपर्यन्तं देवर्षिपितृमानवाः
तृप्यन्तु पितरः सर्वे मातृमातामहादयः।
यसरी श्राद्ध गर्दा पिताको कुल, माताको कुल, दाजुभाइ, श्वशुर कुल, गुरुजन, साथी, मान्यवर, जीवजन्तु, वनस्पति, औषधी आदि समस्त जीव तथा प्रकृतिलाई नै सम्मान एवं आराधना गरिन्छ।
भनिएको छ:
पितृवंशे मृता ये च मातृवंशे तथैव च
गुरश्वशुरबन्धुनां ये चान्ये बान्धवा मृताः।
ते तृप्तिमखिला यान्तु ये चास्मत्तोयकांक्षिणः
ये बान्धवाबान्धवा येऽन्यजन्मनि बान्धवाः।।
अतःश्राद्धले संसारका सबै कुटुम्ब हुन् भन्ने बसुधैव कुटुम्बको भावना बोकेको छ। विश्वका हामी सबै एक परिवार हौं भन्ने उन्नत सन्देश श्राद्धले दिएको छ। अमेरिकाको अध्यागमन विभागले आफन्तलाई दिने भिसाको मान्यतालाई नियाल्दा पनि श्राद्धमा दिइने तर्पणको क्रमलाई स्वीकार गरेको र अंगीकार गरेको प्रतीत हुन्छ। एकजनाले अमेरिकी नागरिकता प्राप्त गरेपछि निजले मातापिता, सासुसासुरा, भाइबहिनी, पुत्रपुत्री आदि परिवारको सदस्यलाई स्वागत गर्न पाउने प्रावधान छ। सम्पत्ति माथि अधिकार नभए पनि पारिवारिक दायित्व एवं जिम्मेवारीको बोधलाई अवलम्बन गरेको छ। त्यसैगरी हाम्रो शास्त्रीय मान्यतामा परिवारप्रति सांसारिक जिम्मेवारी निभाउनाका साथै परलोक गएका पितृप्रति पनि अझ थप जिम्मेवारी निभाउनुपर्ने बताइएको छ।
मृत्युपछि केवल दुई चिज साथमा रहन्छन्। जीवनभर गरिएको असल कामको पुण्य तथा आफन्तहरुद्वारा दिइने तर्पण एवं पिण्डदानसहितको श्राद्ध गरी अर्पित पदार्थ । मृत्युपछि सम्पत्ति घरमै रहन्छ, परिवारजन एवं बन्धुजन श्मशानसम्म साथ दिन्छन्। आफैंले पालेको शरीर चितासम्म मात्र साथ दिन्छ तर जीवनमा आर्जित परोपकारको बल तथा सन्ततिको सम्मान अनन्तकालसम्म फलदायी रहन्छ।
हाम्रो जीवन तीन चिजको संयोजनले बनेको हुन्छ: भौतिक शरीर, आत्मतत्व तथा बुद्धितत्व। शरीर मातापिताका कारण प्राप्त हुने भएकाले मातापितालाई देवतासमान स्थान दिइएको हो। हामी न मातापिता फेर्न सक्छौं न त आफ्नो शरीर नै फेर्न सक्छौं।
त्यसैले मातापितालाई जिवित छँदा नित्य सम्मान गर्नुपर्छ र परलोक लागेपछि श्राद्ध गर्नुपर्छ। आत्मतत्व परब्रम्ह परमेश्वर भगवानको अंश भएकाले मृत्युको समय पनि जन्मनुभन्दा पहिले नै निश्चित् हुन्छ। जुन हामी परिवर्तन गर्न सक्दैनौं, केवल भगवानलाई नित्य पूजामार्फत् धन्यवाद दिन सक्छौं।
बुद्धितत्व भने जन्मजन्मान्तरको पुण्यकर्मले सुसंस्कारित प्रतिविम्ब हो। जुन सत्संगत तथा सत्कर्मले पुनः संस्कारित एवं परिमार्जित गर्न सकिन्छ। उपर्युक्त यथार्थलाई मध्यनजर गर्दा देव तथा पितृप्रति गरिने सम्मानले स्वयंको कर्म पनि परिष्कृत एवं सभ्य हुँदै जान्छ।
महाभारत युद्धपछि परलोक प्राप्त गरेका दानवीर कर्णलाई त्यस लोकमा बहुमूल्य द्रव्य पदार्थ आदि भोजन गर्न अगाडि राखिदिएपछि म कसरी खानसक्छु भनी उनी ईन्द्रलाई प्रश्न गर्छन्। त्यसपछि भगवान ईन्द्र तपाईले जीवनकालमा यस्तै बहुमूल्य बस्तु मात्रै दान गरेको र पितृ श्राद्ध नगरेकाले वास्तविक भोजन दिन नसकिने बताउँछन्। अनि पितृकर्म गर्नका लागि समय मागेपछि कर्णलाई धर्तीमा पठाइन्छ। उनी यस धर्तीमा विधिपूर्वक पितृश्राद्ध गरी परलोक फर्कन्छन्। त्यसपछि कर्णले आनन्दपूर्वक परलोकमा भोजन आदि सुविधा प्राप्त गरेको विवरणले पनि पितृकर्मको महत्व स्वतः सिद्ध हुन्छ।
विधिपूर्वक श्राद्ध गर्नाले आयु, सम्मान, धन, विद्या, स्वर्ग, मोक्ष, सुख तथा राज्यसमेत प्राप्त हुने गरी आशीर्वाद पितृद्वारा प्राप्त हुने उल्लेख छ।
आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षसुखानि च ।
प्रयच्छन्तु तथा राज्यं पितरः श्राद्धतर्पिताः ।।
अतः महालय पार्वण श्राद्धपक्षमा समस्त पितृको सम्मानका साथ आराधना गरौं। समस्त ध्यान पितृभक्तिमा केन्द्रित गरौं। यस समयमा देवयज्ञभन्दा पनि पितृयज्ञमा ध्यान जुटाऔँ। पितृ तर्पण, पिण्डदान, अन्न आदि दान, ब्राम्हण भोजन, गाई आदि जीवसेवा तथा प्रकृति सेवामा ध्यान केन्द्रित गरौं। शुद्ध एवं सात्विक भोजन गरौं। कसैले कसैको पनि निन्दा नगरौं। विश्वको जुन कुनामा पुगे पनि स्थानीय अक्षांश, देशान्तर एवं सूर्योदयको समेत हिसाब गरी पितृको श्रद्धा गरौं।
अमेरिका तथा क्यानडाको लागि कुन श्राद्ध कुन दिन ?
यस वर्ष कोभिड–१९ कोरोनाका कारण पितृकर्म गर्न असहज परिस्थिति सिर्जना भएको छ। भाइरस लागेको २ सप्ताह सम्म थाहा नपाइन सक्ने र त्यसबीचमा सर्न भने सक्ने कारणले कठीन अवस्था आएको हो। अतः घरमा ब्राह्मण तथा यजमान सँगै बसेर कर्म गर्न नसक्ने परिस्थितिमा शास्त्रसम्मत विकल्पका दिनका श्राद्ध गर्ने अथवा पुरोहित र यजमानको जीवन रक्षाको विषयमा समेत ध्यान दिएर भर्चुअल माध्यम अपनाई पितृलाई श्रद्धा अर्पण गर्नु उचित विकल्प देखिन्छ। कतिपय गुरुहरुले भर्चुअल विधिले कर्म गराएको पाइन्छ। अमेरिकामा रहेका नेपाली मन्दिरहरुले यस वर्षको तीजको पूजा पनि भर्चुअल विधिले सम्पन्न गरेका थिए।
सबैको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर धार्मिक विधिलाई अवलम्बन गर्नु उपयुक्त हुन्छ। सबैलाई पितृदेवको सदा आशीर्वाद प्राप्त होस्। आफू पनि बाँचौं र अलाई पनि बचाऔं।
नोट : अमेरिका तथा क्यानडामा यदि प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट श्राद्धादि कर्म गर्न ईच्छा भयो तर कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी लिनको लागि सम्पर्क pipalmani@gmail.com वा हाम्रो ईमेल एड्रेस info@hinduculturecenter.com मा सम्पर्क गर्न सक्नु हुनेछ । धार्मिक तथा सांस्कृतिक विषयमा लेखिएका महत्वपूर्ण पाठ्यसामग्री तथा जानकारीका लागि आफ्नो ईमेल ठेगाना र नाम राखी सब्सक्राइब गर्नुहोला । धन्यवाद!
Error: Contact form not found.