होली पर्व: महत्व र विशेषता – ज्योतिषी/ पुरोहित राजेन्द्र खनाल USA

 Holy Purnima Festival March 17th 2022 USA and Canada.
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने तथा असत्यमाथि सत्यको विजय भएको फागु पर्व अर्थात् होली पूर्णिमा अहिले संसारभर प्रचलित हुन थालिसकेको छ । विशेष गरी फाल्गुण शुक्ल  पूर्णिमाको दिन फागु पर्व मनाइने भए पनि यसको सुरूआत एक हप्ताअगाडि अर्थात् फाल्गुण शुक्ल अष्टमीकै दिनबाट हुन्छ ।
काठमाडौमा फाल्गुण शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मेलको रुखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।
यो पर्वको सुरुआत कसरी भएको थियो भन्ने सम्बन्धमा यससँगै पौराणिक ईतिहास जोडिएको छ – दैत्यराज हिरण्यकश्यपुले भगवान विष्णुका भक्त आफ्नो छोरा प्रह्लादलाई कुनै पनि उपायले मार्न नसकी अन्तिममा नष्ट गर्नको लागि बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा हवन गर्न खोज्दा आगोले जलाउन नसक्ने वरदान पाएकी होलिका उक्त षड्यन्त्रमा आफैं जलेर नष्ट हुन्छिन् भने भक्त प्रह्लादलाई भने केही हुँदैन ।
त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतिक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ । यसरी यो पर्वको नाम पनि होलिका दहनबाट होली रहन गएको हो । फाल्गुण शुक्ल पूर्णिमालाई छोटकरीमा भन्दा फागु पूर्णिमा भनिएको हो । होलिकाले ब्रह्माबाट आगोले पोल्न नसक्ने वरदान पाएकी थिईन् । यसकारण हिरण्यकशिपुले जति नै पर्यत्न गरे पनि ऊ विफल भई अन्तिममा नरसिंहरुपी भगवानले उसको बध गरी भक्त प्रह्लादलाई बचाउनु हुन्छ । यसैले यस पर्वलाई असत्यमाथि सत्यको विजय अर्थात् सधै सत्य मात्रै  बोल्ने भक्त प्रह्लादको विजय भएकोले यसो भनिएको हो । पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दहन गरिएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो भन्न सकिन्छ ।
आजकै दिन काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वास गर्दै लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने प्रचलन पनि छ । आजकै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रचलन पनि छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न  पठाइएकी कंशकी बहिनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई आफै मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको पाईन्छ ।
 त्यस्तै किम्बदन्तीअनुसार फागु पर्वलाई कृष्णलीलाको चीरहरणसँग जोडेर पनि हेरिन्छ ।
वृन्दावनका गोपिनीहरू पोखरीमा निर्वस्त्र नुहाउन डुबुल्की मारिरहेका बेला कृष्णले उनीहरूका सबै वस्त्र रूखमा झुन्ड्याइदिन्छन्। गोपिनीहरूले आइन्दा त्यसरी ननुहाउने विलाप गरेपछि बल्ल लुगा फिर्ता पाउँछन् ।
गोपिनी र कृष्णको यो प्रसंग नै होलीको चीर गाड्ने परम्परासँग जोडिएको विद्वानहरु बताउँछन् । वसन्तपुरमा ठड्याइने चीरका ध्वजाहरू पनि गोपिनीका रंगिविरंगी वस्त्रका प्रतीक हुन् भन्ने मान्यता छ ।
अष्टमीको दिन उभ्याइने चीरलाई पूर्णिमाको साइत पारेर घिसार्दै टुँडिखेल लगेर जलाइन्छ ।
भक्तपुरमा फागुको सम्बन्ध कृष्णलीला वा होलिका दहनसँग नजोडिई भीमसेन उत्सवका रूपमा फागु मनाइन्छ । नेवार बाहुल्य रहेको बस्तीमा भीमसेनकै गीत गाएर यो पर्व मनाइने चलन छ ।
नेवारहरूको पुर्ख्यौली पेसा व्यापार हो ।  भीमसेनको सुदृष्टि पर्यो भने व्यापार राम्रो हुन्छ भन्ने मान्यता छ- देशमा अशान्ति हटोस् र समृद्धि छाओस् भनेर कामना गर्दै फागु मनाइन्छ । नेवारहरू समृद्धिको निम्ति भीमसेनको पूजा पनि गर्छन् ।
महाभारतका पात्र भीमसेनलाई महादेव वा भैरवका रूपमा लिइन्छ । जस्तो दोलखा भीमसेन दिउँसो महादेव र राति भैरव हुन्छन् भन्ने भनाइ पनि छ । फागु या होली भन्नेबित्तिकै प्रेम वा प्रणयका सन्दर्भ जोडिन्छन्। त्यसैको छनक फागु गीतहरूमा पनि भेटिन्छ।
भक्तपुरमा गाइने फागु गीतमा भीमसेनकै आराधना छः
‘भिसीँ द्यः या लजः ख्वगं, लव् वान ला ल्यासे,
बिस्यू वने मायेक स्वः झायाः लाः’
विभिन्न गुठी र मन्दिरका भजनमा गाइने यो गीतले भन्छ– ‘भीमसेनको लिंग देखेर डरायौ तिमी, भाग्नु नपर्ने गरी फागु खेल्न आऊ।’
यो गीतले किशोर–किशोरीबीच छेडहानीको संकेत गर्छ । फागु गीतको विशेषता नै यही हो । एकले अर्कालाई छेड हानेर प्रेमभावले जवाफ फर्काउने परम्परालाई पनि फागु भनिन्छ ।
फागुको विशेषता भनेको अबिर हो ।
यो जडिबुटी, फूल, रूखको बोक्रा पकाएर र केही कालिमाटीका खनिजबाट बन्छ । खासगरी पलाँसको फूल अबिरको मुख्य स्रोत हो । प्राकृतिक फूलको रङबाट बनेको फुस्रे सिन्दुर लगाए रगत बग्न रोकिने र घाउचोट लागेको निको हुने मान्यता पनि छ ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि  उत्तिकै रहेको छ ।
 त्यस्तै सप्तरंगी- रातो, नीलो, हरियो, सेतो (कमेरो माटो), पहेँलो केशरी (पहेँलो माटो वा बेसारबाट बनेको) खैरो र कहिलेकाहीँ कालो रंग दलेर पनि फागु मनाउने गरिन्छ ।
रङको यो पर्व मायाप्रेम साट्ने अवसर पनि हो फागुमा गाइने गीतहरूलाई युवायुवतीले एकअर्काप्रति माया–प्रेम आदानप्रदान गर्ने माध्यमका रूपमा लिएका हुन्छन् ।
यसै अवसरमा यस्ता खालका गीतहरु पनि गाईन्छन् –
अबिरया होली, तचँयाला ल्यासे
अबिरं छंगु ख्वाः हिसि दय्काबि’
नेवार भाषाको यो गीतको शब्दले भन्छ, ‘अबिरको होली खेल्दा पनि रिसायौ तरुनी, अबिरले तिम्रो अनुहारलाई झन् राम्रो बनाउँछ।’
यही गीतका अरू टुक्राले भन्छः
तुँ तुँचा, मय्जुया पिलाको बाँला,
बागमतो बनेबले लेवो नापला।
अर्थात्, ‘मैयाँको पिँडुला कति राम्रा, बागमती जाँदा पनि प्रेमिका भेटिहाल्ने ।
पहिले पहिले दरवारमा पनि यसैगरी होली खेलिन्थ्यो ।
यो चाडमा थकालीहरु रङ्गीबिरङ्गी पोशाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता पनि गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरी तिर हानेर प्रतियोगिता जित्ने चलन छ ।
यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, धतुरो आदि नसालु पदार्थको सेवन गरी मज्जा लिने चलन पनि  बढ्दो छ  । तर यो राम्रो होईन ।
नेपालमा यो पर्व कहिलेदेखि मनाउन थालियो भन्ने सम्बन्धमा राजा मानदेवले देशमा अशान्ति हुँदा शान्ति र समृद्धिका निम्ति फागु मनाएको उल्लेख छ। यस आधारमा लिच्छविकालबाटै फागु पर्व सुरु भएको मान्न सकिन्छ ।
त्यहाँभन्दा अगाडिको इतिहास हेर्ने हो भने, संस्कृतका महाकवि भवभूतिले लेखेको ‘मालती माधव’ र कालिदासले लेखेको ‘मालविक्रान्ग्रीमृत’ भन्ने नाटकमा समेत फागुको प्रसंग उल्लेख छ । यसलाई चाडपर्वकै रूपमा मनाउन थालेको तौमडीस्थित राजा यक्ष मल्लको शिलापत्रमा उल्लेख छ । उक्त शिलापत्र नेपाल सम्बत् ५६१ को हो ।
काठमाडौमा टुँडिखेल बीचमा चीर जलाएपछि फागु पर्व अन्त्य हुन्छ । चीर जलाएपछिको खरानी विभूतिका रूपमा घर लैजाने परम्परा छ । काठमाडौंमा चीर जलाएको भोलिपल्ट अर्थात् पूर्णिमाको भोलिपल्ट तराईमा होली खेलिन्छ ।
फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।
 अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यजनक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ ।
 यसैगरी श्रीलङ्का र इन्डोनेशियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेशियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।नाम फरक भए पनि बुझाउने तरिका फरक भए पनि महत्व उहीँ नै हो – नराम्रो प्रवृत्तिलाई नष्ट गर्नु नै हो ।
केही वर्ष अघिसम्म काठमाडौ उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । यस वर्ष कोरोना भाईरसका कारण होली राम्रोसँग मनाउन नपाए पनि आफू जहाँ रहेता पनि यो रमाईलो पर्वलाई सभ्य र सुसँस्कृतरुपमा सबैले मनाउँदै जाऊन् भन्ने शुभेक्षासहित सबैलाई होलीको शुभकामना ! जय होस् !

सन्दर्भ: ईतिहास पुराण तथा बिभिन्न अन्लाईन पत्रपत्रिका

न्याकद्वारा  भर्जिनियामा होली मनाउने दिन मार्च २०, २०२२

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.