आजभोलि हाम्रा देशमा धेरै कुरा पश्चिमी समाजका अनुकरणमा चलाउन खोजिँदै छ । आफ्नो मातृभूमि, जाति, धर्म, संस्कृति, दर्शन, रीतिथिति, भेषभूषा, आचारविचार, खानपान इत्यादिका मूल्यमान्यतालाई आदर गर्ने र तिनमा गौरवानुभूति गर्ने व्यक्ति कम हुँदै छन् ।
हिन्दु समाजको अत्यन्त सुदृढ विवाहसम्बन्धलाई पनि आजभोलिका शिक्षा र सञ्चारमाध्यमका गलत व्याख्या र प्रचारद्वारा शिथिल बनाउने प्रयास गरिँदै छ । यस्तै स्थिति रहिरहे एकदुई पुस्तामा नै हाम्रो पारिवारिक सम्बन्ध पश्चिमा समाजको जस्तो अत्यन्तै शिथिल भएर छिन्नभिन्न हुन बेर लाग्दैन । तसर्थ हाम्रा देशका विचारशील अभिभावक, समाजशास्त्री, शिक्षाविद्, पत्रकार इत्यादिले यस सम्बन्धमा बेलैमा सचेत भएर काम गर्नुपर्दछ ।
हिन्दु विवाहको आदर्श
स्त्री र पुरुषको धर्मानुकूल यौनसम्बन्धका निम्ति, सन्तानोत्पादनका निम्ति तथा गृहस्था श्रमको निर्वाहका निम्ति विवाह संस्कार गरिने कुरा वेद, वेदांग र स्मृतिहरूको अनुशीलनबाट अवगत हुन्छ । विवाहबाट पुरुष सर्वांङ्पूर्ण भई प्रजनन गर्न र गृहस्थधर्म पालन गर्न समर्थ हुने हुनाले विवाह अति महत्त्वपूर्ण संस्कार मानिन्छ । वंश परम्परा चलाउन र पितृऋणबाट छुटकारा पाउन पनि सन्तान आवश्यक पर्ने भएकाले समर्थ व्यक्तिका लागि विवाह अनिवार्य जस्तै देखिन्छ ।
ऋग्वेद, यजुर्वेद र अथर्ववेदमा विवाहसम्बन्धी उल्लेखहरू प्रशस्त पाइन्छन् । गृह्यसूत्रहरूमा विवाहको विधि विस्तृत रूपले देखाइएको छ ।
वैदिक धर्मविवाहजस्तै देखिने सामाजिक सम्झौताको विवाह पनि समाजमा प्रचलित छ । किन्तु यस्तो विवाह धर्मविवाहभन्दा अत्यन्तै फरक कुरा हो । यस्तो विवाह गरेर बसेका लोग्नेस्वास्नीको विशेष अवस्थामा विवाहविच्छेद हुन पनि सक्छ, किन्तु शास्त्रअनुसार अग्नि र ब्राह्मणलाई साक्षी राखेर पवित्रतापूर्वक वैदिक मन्त्रद्वारा वरवधूका प्राण, हाड, मासु र छालाको एकीकरण हुने गरी गरिएको धर्मविवाहको भने कुनै पनि अवस्थामा शास्त्रीय रूपले विच्छेद हुन सक्तैन ।
नेपाली समाजमा उपाध्याय ब्राह्मणहरूले यस्तै विवाहलाई विशेष मान्यता दिँदै आएका छन् । अरूले पनि धर्मविवाहलाई नै कल्याणकारी मानेर त्यसैको अनुसरण गर्न खोजेको देखिन्छ । यसैबाट समाजमा स्थायी सुख, शान्ति र सन्तोषको स्थिति बनिरहन सक्छ ।
यस प्रकार हिन्दुहरूको विवाहसम्बन्धी अवधारणा र व्यवहार अत्यन्त उच्च र आदर्शरूप रहेको छ । यस्तै प्रकारको वैवाहिक सम्बन्धका आधारमा नै हिन्दुहरूको सम्पूर्ण जीवनपद्धति विशिष्ट हुन सकेको हो । यसैका आधारमा हाम्रो पारिवारिक सुसम्बन्ध र सामाजिक संरचनासमेत सुदृढ हुन सक्ने हुनाले समाजका प्रत्येक व्यक्तिको सर्वाङ्गीण विकासका निम्ति हिन्दु आदर्श विवाह अत्यन्त लाभप्रद र अनुसरणीय मानिएको हो ।
यसैबाट समाजमा धर्म, नैतिकता, कर्तव्य, अनुशासन, त्याग इत्यादि मानवसमाजलाई भौतिक, मनोवैज्ञानिक र आध्यात्मिक रूपमा उन्नत पार्न नभै नहुने गुणहरू पनि विकसित हुन सक्छन् । यसै धर्मविवाहको प्रभाव परेर हाम्रा समाजमा चलिआएका सामाजिक सम्झौताका विवाह पनि प्रायः अविच्छेद्यजस्तै हुने गरेको र सबैको पारिवारिक सम्बन्ध पश्चिमा समाजको भन्दा धेरै नै स्थिर रहिआएको देखिन्छ ।
धर्मशास्त्रमा विवाहका ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच गरी आठ भेद देखाइएका छन् । सबै जातिका लागि सबैथरी विवाह ग्राह्य मानिँदैनन्, कुनै जातिका निम्ति कुनै, कुनै जातिका निम्ति कुनै ग्राह्य मानिन्छन् । उपर्युक्त विवाहमध्ये अघिल्ला चार प्रकारका विवाहमात्र प्रशंसनीय धर्मविवाह मानिन्छन् । त्यसैले ब्राह्मणका लागि यिनै चार प्रकारका विवाहमात्र मान्य हुन्छन् । क्षत्रियादिका निम्ति भने आसुर, गान्धर्व र राक्षस विवाह पनि ग्राह्य मानिन्छन् ।
वर र वधूका गुण
धर्मशास्त्रमा वर र वधूमा हुनुपर्ने गुणहरूको पनि चर्चा गरिएको छ । कम्तीमा तीन पुस्तासम्म चिनिएका कुलमा विवाहसम्बन्ध गर्नु राम्रो मानिन्छ । गृह्यसूत्रकार आपस्तम्बका अनुसार उत्तम कुल, उत्तम आचरण (शील), शुभ लक्षण (शुभ चिह्न) र निरोगिता कन्या र वर दुवैमा हुनुपर्ने गुण हुन् भने विशिष्ट वेदाध्ययन वरमा हुनुपर्ने थप गुण हो ।
स्त्री र पुरुषको धर्मानुकूल यौनसम्बन्धका निम्ति, सन्तानोत्पादनका निम्ति तथा गृहस्था श्रमको निर्वाहका निम्ति विवाह संस्कार गरिने कुरा वेद, वेदांग र स्मृतिहरूको अनुशीलनबाट अवगत हुन्छ ।
स्मृतिकार याज्ञवल्क्यले वर उच्चकुलीन, वेदाध्ययनले सम्पन्न, कन्याकै वर्णको (जातिको), युवा, पुंस्त्वयुक्त (नपुंसक नभएको), बुद्धिमान् र जनप्रिय हुनुपर्ने उल्लेख गरेका छन् । साथै उनले निरोगी, दाजुभाइ भएकी, असमान (फरक) गोत्र तथा प्रवरकी र बाबुबाट सात पुस्ता परकी तथा आमाबाट पाँच पुस्ता परकी (नाता नलाग्ने) कन्या विवाह गर्नुपर्ने बताएका छन् ।
कन्यादानको महिमा
योग्य गुणवान् ब्राह्मण वरलाई कन्यादान दिने कुराको शास्त्रमा धेरै महिमा गाइएको छ । त्यसैको अनुसरण अरू जातिले पनि गरेका हुन् । सृष्टिचक्र चलाउन यस कार्यको व्यावहारिक महत्त्व पनि सर्वविदितै छ । कन्यादानभित्र अन्तर्निहित गूढ भावना र त्यस कार्यको महत्त्व नबुझ्नाले तथा पतिपत्नीसम्बन्धलाई केवल भौतिक रूपले मात्रै हेर्ने एकांगी दृष्टिकोण बढ्नाले आजभोलि कतिपय व्यक्ति यसलाई अनुचित ठान्दछन् ।
किन्तु भौतिक दृष्टिबाट मात्र लोककल्याणकारी राष्ट्रव्यवस्था र समाजव्यवस्था चल्न नसक्ने हुँदा समाजको दिगो कल्याणका निम्ति धार्मिक, आध्यात्मिक र नैतिक पक्षलाई समेत समेटेर हिन्दु धर्मशास्त्रमा विविध व्यवस्था गरिएको हो । कन्यादानभित्र अन्तर्निहित धार्मिक भावनाले पारिवारिक संरचनामा पवित्रता र दृढता ल्याउन सक्छ ।
साथै यसले विवाहविच्छेदतिर उन्मुख गराउन सक्ने स्त्रीपुरुषका गलत भावनालाई हटाउन सहायता पनि पुर्याउँदछ । यसबाट पतिपत्नीलाई, समाजलाई र अन्ततः राष्ट्रलाई पनि भौतिक लाभसमेत हुन्छ । मन लागे सँगै बस्ने, मन नलागे छुट्टिने पश्चिमी संस्कृतिलाई निरन्तरता दिँदा हुने ठूलो हानिबाट आजभोलि पश्चिमी समाज नै आत्तिइसकेको परिप्रेक्ष्यमा हामीले हाम्रा कल्याणकारी परम्परालाई अझ सुदृढ गर्नुको सट्टा बदल्ने चेष्टा गर्ने हो भने त्यस्तो काम आप्mना खुट्टामा आफैले बन्चरो हानेजस्तो हुन जान्छ । तसर्थ यस्ता विषयमा बेलैमा सावधान हुनुपर्दछ ।
विवाह गर्दा वर र कन्याको उमेर कतिकति हुनुपर्छ भन्ने विषयमा धर्मशास्त्रमा एकरूपता भेटिँदैन । ऋग्वेदका विवाहसम्बन्धी मन्त्रहरूको विचार गर्दा विवाह गर्ने कन्या बालिका नभएर युवती हुने कुरा बुझिन्छ । गृह्यसूत्रहरूमा विवाहपछि कम्तीमा तीन दिनसम्म पतिपत्नी ब्रह्मचर्यमा बस्नुपर्ने विधान गरिएकाले यौवनावस्थामा नै वर र कन्याको विवाह हुने कुरा झल्कन्छ ।
पुरुषले त उपनयनपछि सामान्यतया कम्तीमा १२ वर्षसम्म ब्रह्मचर्यको पालन गर्दै वेदादिशास्त्र पढ्नुपर्ने र सो अध्ययन पूर्ण भएपछि समावर्तन गरेर मात्रै विवाहh गर्नुपर्ने शास्त्रीय विधान भएकाले वरको विवाह निःसन्देह रूपले यौवनावस्थामा नै हुनुपर्ने कुरा स्पष्ट हुन्छ ।
१६वर्ष नपुगेकी स्त्रीमा २५ वर्ष नपुगेको पुरुषले गर्भाधान गरेमा त्यो गर्भ पेटमै मर्दछ, कदाचित् जन्मिहाल्यो भने पनि धेरै समयसम्म बाँच्दैन, बाँचिहाल्यो भने पनि दुर्बल हुन्छ, त्यसैले साह्रै सानी बालिकामा गर्भाधान नगर्नू-नगराउनू (सु श्रुतसंहिता, शारीरस्थान १०।५४-५५) भन्ने आयुर्वेदको उल्लेखबाट पनि वर र कन्याको विवाहयोग्य उमेरलाई शरीरविज्ञानका दृष्टिले राम्रोसँग विवेचन गर्न सकिन्छ । यसबाट वरको भन्दा कन्याको उमेर कम हुनुपर्छ भन्ने शास्त्रीय विधानको पुष्टि र वरका तथा कन्याका उमेरमा सामान्यतया कति वर्षसम्मको अन्तर उचित हुन्छ भन्ने कुराको दिग्दर्शन पनि भएको छ । यौवनावस्थामा नपुगेकी नाबालिग कन्यासित संगम गर्ने व्यक्ति अर्को जुनीमा सर्प भएर जन्मन्छ भनेर गरुड पुराणले भनेको हुनाले सानी बालिकासित सहवास गर्ने धारणा हिन्दु धर्मशास्त्रमा नभएको नै बुझिन्छ ।
अन्तर्जातीय विवाह
सबै जातिका स्त्रीपुरुषले आआफ्नै जातिभित्र विवाह गर्दा नै कल्याण हुने कुरा नारदस्मृतिमा बताइएको छ (स्त्रीपुंसयोग, श्लो.४) । यसबाट सबै जातिको वैशिष्ट्य सुरक्षित हुन सक्ने र सबैले आआफ्नै जाति, वर्ग तथा परम्परामा गौरवानुभूति गर्न सक्ने परिस्थिति पनि खडा हुने भएकाले यस्तो विवाह अहिले पनि सबैका निम्ति अनुसरणीय देखिन्छ ।
भगवद्गीतामा वर्णशंकरको (दुई अलग जातिका बाबुआमाबाट जन्मिएका सन्तानको) निन्दा गरिएको छ- सङ्करो नरकायैव कुलघ्नानां कुलस्य च । पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ।। (१।४२) अर्थात् वर्णशंकर सन्तान पूरै वंशलाई र वर्णशंकरता ल्याएर कुललाई विनाश गर्ने व्यक्तिलाई पनि नरक प्राप्त गराउने हुन्छ, यस्ता व्यक्तिका पितृहरू पिण्डपानीको लोप हुनाले नरकमा पर्दछन् ।
अतः वैदिक धर्ममा आस्था र श्रद्धा भएकाले तथा आफ्नो जातीय पहिचान सुरक्षित गर्न चाहने जुनसुकै जातिका व्यक्तिले पनि आआफ्नै जाति र वर्गमा मात्र विवाह गर्न उचित हुन्छ ।
स्त्रीपुरुषसम्बन्धलाई वा विवाहलाई आधुनिक भौतिक दृष्टिकोणबाट मात्र हेर्ने सिद्धान्तले पारिवारिक सम्बन्धमा ल्याउने शिथिलता र विखण्डनलाई बुझेर तथा हिन्दु धर्मविवाहमा अन्तर्निहित गूढ भावना र त्यसको कल्याणकारितालाई हृदयङ्गम गरेर नयाँ पुस्ताका किशोरकिशोरीहरूमा र युवायुवतीहरूमा पनि हिन्दु धर्मको अनुकूल संस्कार बसाउन विचारशील अभिभावकहरूले विशेष प्रयत्न गर्नुपर्ने देखिन्छ ।
For wedding video DC MD, VA and all USA Raj Rimal 301-910-1048
Video link https://vimeo.com/281456882