अक्टोबर ९, २०१९
अमेरिकामा दशैँको साईत अक्टोबर ७ तारिख नै निस्किएकोले केहीले ७ तारिखदेखि नै दशैँको सुरुआत गरे भने केहीले नेपालमा लगाएपछि मात्र लगाउने भनी आफ्नो अडान नछोडी ८ तारिख नै टीकाको सुरुआत गरे ।
नेपालकै पात्रो प्रयोग गरिरहेकाे बानी परेका कारण धेरैलाई ७ तारिख नै दशमी परेको कुरा त्यति सहज लागेन तर पनि यो कुरा समयमै जानकारी गराएमा आउँदो वर्षदेखि शुभ साईतमै सुरुआत गर्ने कुरा समाजका धेरै अभियन्ताहरुले बताएका छन् । हाम्रा सबै चाडपर्वहरु तिथिअनुसार मनाउनु पर्ने भएकोले यो समस्या देखिएको हो, यसको समाधानका लागि सामान्य ज्योतिषीय ज्ञान नभएसम्म हुँदैन । यसको लागि अनलाईनमा राखिने क्यालेन्डरहरुमा सुधार गरी ठाउँअनुसारको शुभसाईतको समय निर्धारण गर्न सकेमा एउटै साईतमा टीका लगाउन सकिनेछ ।
सबै ज्योतिषी गुरुहरुको एक मत देखिए पनि केही कर्मकाण्डीय गुरुहरुले एकरूपता नदेखाएका कारण दुबै दिन साईत हुन गयो । कर्मकाण्डी गुरुहरुले पनि ज्योतिषी गुरुहरुले भनेको कुरालाई आधार मानी शास्त्रीय सल्लाह दिने हो भने यस्तो समस्या आउँदैन तर कतिपय गुरुहरु कस्ता छन् भने यजमानले स्वीकार गर्दैनन् कि भन्ने तवरले बहुमतको आधारमा यजमानलाई खुसी पार्नका लागि आफ्नो मनोमानी ढंगले जवाफ दिएका हुन्छन् । सही र तथ्यगत हिसाबले शास्त्रीय मतलाई आधार मानेर सिकाउने हो भने हाम्रो धर्मसँस्कृतिमा एकरूपता देखापर्छ ।
दशैँ नेपालीहरुका लागि एउटा हर्षोल्लासपूर्वक मनाईने गौरवपूर्ण चाड हो । संसारको जुनसुकै ठाउँमा बसे पनि आफ्नो चाड आउँदा जुन किसिमको स्मरण हुन्छ त्यो कुराले आफ्नो देश, गाउँघर, पिंग, पुराना साथीभाइ र सँस्कृतिको झझल्को आउँछ । त्यसकारण यसलाई हाम्रो साँस्कृतिक पर्व मानिन्छ । सँस्कृतिलाई बचाई राख्नका लागि तपाईले मनाएर मात्रै हुँदैन, तपाईले यसको बारेमा कति जनालाई बताउन सक्नु भयो वा यसको महत्वको बारेमा कतिजनालाई बुझाउनु भयो त्यो कुरा महत्वपूर्ण मानिन्छ, यसकारण आफ्नो सन्तान र वरपर छरछिमेकलाई पनि आफ्नो चाडपर्व र सँस्कृतिको बारेमा बताउने गरियो भने यो पर्व पुस्तौँ पुस्तासम्म जीवन्त रहन्छ ।
नेपालमा रहनेहरुको लागि यो महान चाड १ हप्ताको सरकारी बिदामा मनाउन पाउने भए पनि बिदेशमा फ़ुर्सद मिलाएर मनाउन सकिन्छ । कामलाई नै बढी महत्व दिईने यो ठाउँमा विदा मिलाउनको लागि पनि १/२ महिना अगाडिदेखि नै काममा जानकारी गराई बिदा मिलाउन सकिन्छ । सरकारी तथा ग़ैरसरकारी सँस्थानहरुमा कार्यरतहरुको लागि भने आफ्नो व्यक्तिगत विदाहरु भएको अवस्थामा त्यति असहज हुँदैन । विशेष गरी न्युयोर्क, टेक्सास, वासिंगटन डिसी वरपर (डिसी, मेरिल्याण्ड, भर्जिनिया), क्यालिफोर्निया, कोलोराडो आदि स्टेटहरुमा नेपालीहरुको बाहुल्यता रहेको छ ।
दशैँ र तिहार जस्तो हिन्दुहरुको महान पर्वमा सरकारी विदा मिलाउनका लागि भने पहल हुन बाँकी नै छ, यदि सबै हिन्दुहरु एकजुट भएर पहल गरेमा यो असंभव भने होईन किनकि प्रमुख ठाउँमा कुरा पुग्नासाथ छिट्टै नै सुनुवाई हुन्छ यहाँ । त्यसका लागि यहाँको राजनीतिमा प्रवेश गरेका राजनैतिक अभियन्ताहरुले पहल गरेमा हिन्दुहरुका लागि भनेर वर्षमा २ दिन दशैँ र तिहारमा बिदा मिलाउन सकिने अवस्था छ । सरोकारवालाहरुले बेलैमा सोँचेमा यस्ता खालका कामहरु छिट्टै पूरा हुनेछन् । सबैको ध्यान जाओस् ।
विजया दशमीको सबैमा शुभकामना ।
Error: Contact form not found.