अष्ट्रेलिया जापान आदि देशमा दशैँको टीका किन पछि ? – श्याम खनाल नेपाल संस्कृत विद्यापीठ
१२/१०/२०२४
अहिले अष्ट्रेलिया न्यूजिल्याण्ड दक्षिण कोरिया हङ्कङ् एवम् जापानमा दशैँ कहिले मनाउने भन्ने सम्बन्धमा विवाद भइरहेको देखिएको छ । पञ्चाङ्गनिर्णायक समितिले पनि बेलाबेलामा यस्ता कुरा विगारिरहने हुनाले पनि यो कुरामा विवाद आउनु स्वाभाविकै पनि हो । त्यसैले पञ्चाङ्गनिर्णायक समितिले आफूले गर्ने काममा धेरै विद्वान्हरूको सुझावका साथ काम गर्नुपर्ने देखिएको छ । पहिले पहिले विदेशतिर बस्ने नेपालीहरू पर्वका समयमा नेपालतिर आउने या त्यहाँ पनि नेपालमा जस्तै गरेर मनाउने हुनाले विवाद थिएन । नेपालीहरूको जनसङ्ख्या पनि कम थियो । तर अहिले त नेपालीहरूले यो पुण्यभूमिमा आएर दशैँ मनाउनुको सट्टा बुबा आमाहरूलाई नै उतै लैजाने गरेका छन् । जे भए पनि नेपालमा बरु विदेशीहरूका भाउँतामा लागेर अनेक कुराहरू गर्ने र आफ्नो धर्म एवम् बुबा आमा नै त्यागेर अर्कैको धर्म एवम् बुबा आमा अङ्गाल्नेहरूको जनसंख्या बढिरहेका बेला उता आफ्नो अपनत्व र आफ्ना चाड पर्वहरूको बारेमा चिन्तन हुनु अत्यन्त सकारात्मक विषय हो ।
अब प्रसङ्गतिर नै लागौँ अर्थात् यस पटकको दशैँ कहिले मनाउने भन्नेतिर भएको विवादको समाधानतर्फ । यस किसिमका विवाद ज्यौतिषीय एवम् गणितीय कुराहरूलाई नबुझेर या नबुझाएर मात्र भएको हो । अनि अर्को कुरो त्यहाँ गएर या यहाँ बसेर आफुलाई ज्योतिषी एवम् पण्डितजी घोषणा गरेकाहरूले पनि गणितका कुरा नबुझिकनै अन्ट सन्ट बोलेका कारण पनि यस्तो भएको हो । विदेशतिर बस्ने सबैले अनुभव गरेको विषय के हो भने नेपाल र त्यहाँको समय फरक छ । सूर्योदय समय फरक छ । देशान्तर एवम् अक्षांश पनि फरक छ । यति जानेपछि त्यो कुरा समाधान भइहाल्छ । यस किसिमको फरकपन नेपालमा पनि पहिले एकीकरण नहुँदै थियो नै । किनकि झापा र महेन्द्रनगरको समय एकै किसिमको छैन । तर त्यससमयमा यस किसिमका सञ्चार माध्यम नभएकाले यी कुरा आउँदैन थिए । त्यसैले यस कुराबाटै जापान र अष्ट्रेलियामा बस्ने नेपाली आमाबाबु दाजुभाइ दिदीबहिनीहरूले विवाद नगरिकनै आइतवार टिका लगाउनु पर्ने हुन्छ । बुझ्नका लागि हजूरहरूको समय छ र बुझ्न चाहनुहुन्छ भने यसको उपपत्ति पनि यसप्रकार दिइएको छ ।
हामीले सनातन परम्परामा विशेषत दुई किसिमका महिनाहरूलाई मान्दै आएका छौँ । एउटा सौरमास अर्को चान्द्रमास । हाम्रा अधिकांश चाडपर्वका समयमा चान्द्रमासको प्रयोग हुन्छ भने अरु व्यवहार र केही पर्वका विषयमा पनि सूर्यमास प्रयोग गरिएको हुन्छ । एउटा सङ्क्रान्तिदेखि अर्को सङ्क्रान्तिसम्मको समय सौरमास हो भने यो मास सूर्य एकराशिसम्म बसेको समयलाई मानिन्छ । गते गते मिलेर सौरमास बन्दछन् । गते भनेको ट्याक्क एउटा सूर्योदयदेखि अर्को सूर्योदयसम्म अर्थात् नक्षत्रमानले २४ घण्टाको रहेको हुन्छ । यसमा कुनै बढ्ने घट्ने नियम हुन्न अर्थात् कुनै गते दुई दिन या कुनै गते क्षय भएको भन्ने हुन्न । त्यस्तै चान्द्रमास भनेको एउटा औँसीदेखि अर्को औँसीसम्मको समय हो । जुन चन्द्रमा र सूर्यको गतिको अन्तरमा आधारित हुन्छ । अर्थात् औँसीमा सँगै देखिएका सूर्य र चन्द्रमा पुनः सँगै हुने समय नै चान्द्रमास हो । यो सौरमानले मोटामोटी २९ दिनको हुन्छ । त्यसैले हामीले के बुझ्नुपर्यो भने चन्द्रमा र सूर्यको अन्तरभित्र रहेको समय नै चान्द्रमास हो । गते गते मिलेर सौरमास बनेझैँ तिथि तिथि मिलेर चान्द्रमास बनेको हुन्छ । यो तिथि गतेजस्तै ट्याक्क १ दिनको अर्थात् २४ घण्टा(६० घडी) को हुँदैन । यो कहिले सौरमानको एकदिनभन्दा थोरै हुन्छ त कहिले धेरै हुन्छ । थोरै भएका दिन त समस्या खासै भएन तर धेरै भएका दिन यो दुई दिनसम्म एवम् अघि पछिका दिन थोरै थोरै छोएर तीन दिनसम्म पनि फैलन सक्ने भयो । त्यस्तै ज्यादै थोरै भयो र कुनै पनि दिनको सूर्योदय समय भेटेन भने त्यस तिथिलाई हामीले व्यवहारमा टुटेको भन्ने गर्दछौँ । यो टुटेको भनेको आकाशबाटै भागेको भन्ने नभई कुनै पनि सूर्योदय समयलाई नछोएको भन्ने बुझियो नै । नेपालमा प्रयुक्त यतिखेरको नवरात्रको पञ्चाङ्गमा चतुर्थी तिथि त्यसैले बढेको हो । त्यस्तै नवमी तिथिलाई किन क्षय भनियो त भने यसले २५ गते शुक्रवारको सूर्योदय पनि भेटाउन सकेन २६ गतेको शनिवारको सूर्योदय पनि भेटाउन सकेन । यो २५ गते विहान ६।५० मा सुरु भएर २५ गतेकै राती ५।४६ (२६ गते विहान पख सूर्योदय नहुँदै) मा नै सकिन गयो ।
त्यसैले माथिको परिभाषाअनुसार हामीले के बुझ्यौँ त भन्दा चन्द्रमा र सूर्यको अन्तर नै चान्द्रमास हुने रहेछ । चन्द्रमा र सूर्यको १२ राशिको अन्तर अर्थात् ३६० डिग्री(अंश)को अन्तर नै चान्द्रमास रहेछ । तिथि ३० वटा हुने हुनाले ३० ले ३६० लाई भाग गर्दा भागफल १२ आयो । त्यसैले १२ अंशको एक तिथि हुने रहेछ भन्ने बुझियो । सूर्योदय समयमा हुने तिथिको गएको समय र आउने समयको यो वृत्तात्मक मानलाई हामीले घडिपलामा परिवर्तन गरेर तिथिको मान निकाल्ने गर्छौँ । त्यस्तै हिसाबले नेपालमा २६ गते विहान तिथि साधन गर्दा गततिथि नवमी आयो भने वर्तमान तिथि दशमी आयो । दशमी पनि अघिल्लो दिन ४ घडी २३ पला गइसकेको देखियो भने बाँकी ५५ घडि ३७ पला यस दिनको मान देखियो । त्यसैले नेपालमा २६ गते शनिवार नै दशैँ मानिने भयो । तर अष्ट्रेलियामा माथिको विधिअनुसार तिथि साधन गर्दा नवमी क्षय भएन । यो नवमी तिथि अष्ट्रेलियामा चाहिँ सूर्योदय कालमा देखिएको हुनाले त्यस देशमा टुटेको नभई यस दिन अर्थात् शनिवार नवमी तिथि भएको मानियो । यहाँ सम्झनुपर्ने कुरा के छ भने दशमी तिथि माथिको नियमअनुसार टुटी आइतवार नउदाएको भए त अष्ट्रेलियामा पनि शनिवार नै दशैँ हुन्थ्यो । तर दशमी तिथि अष्ट्रेलियामा आइतवार सूर्य उदय भई हाम्रो धर्मशास्त्रको नियमअनुसार २७ गते १३ तारिखका दिन अष्ट्रेलियामा बस्नुहुने समस्त नेपाली बन्धुबान्धवहरूले दशैँ मनाउनु पर्यो । जापान, न्यूजिल्याण्ड दक्षिण कोरिया हङ्कङ्मा हुने नेपालीहरूले पनि यही नियमअनुसार त्यहाँको तिथिको अवस्था हुने भएकाले १३ तारिख आइतवारका दिन दशैँ मनाउनु पर्यो । केही बुझिएकाले यसरी बुझाउने प्रयास गरियो । जय होस् सबैको हार्दिक मङ्गलमय शुभकामना ।
Error: Contact form not found.