ॐ नम: शिवाय
September 5 Thursday 2024 Teej
हरितालिका तीज पर्व सनातनी हिन्दु तथा नेपाली महिलाहरूले प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन उपवास बसेर उल्लासपूर्वक मनाइने विशेष सांस्कृतिक पर्व हो । पहिले सीमित समुदाय वा जातजातिले मात्र मनाउने यो चाड अहिले अन्य विभिन्न समुदायले पनि मनाउन थालेका छन् । पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई नै स्वामीका रूपमा पाएपछि यो चाडको सुरुआत भएको मान्यता छ ।
तीजमा विवाहिता महिलाहरूले आफ्ना श्रीमान् तथा परिवारको सुख–समृद्धि र दीर्घायुको कामना गर्दै तथा अविवाहिताले योग्य श्रीमान् पाऊँ भनी व्रत बस्ने परम्परा छ । समग्रमा तीज नेपाली महिलाहरूको एउटा उल्लासमय सांस्कृतिक पर्व हो, जसलाई चार दिनसम्म विभिन्न धार्मिक-सांस्कृतिक क्रियाकलापका साथ मनाइन्छ । आधुनिक समाजमा तीज फेसन पर्वका रूपमा विकास हुँदै गएको छ ।
भाद्र शुक्ल द्वितीयाका दिन विशेष गरी घरका छोरीचेलीहरूका साथ सबै सदस्यहरू भेला भई मीठामीठा परिकारहरू बनाएर खाने प्रचलन रहेको छ ।
भोलिपल्ट चौथीका दिन स्नान गरी भगवान गणेशलाई दूबो चढाई पूजा आराधना गरी व्रत पारायण गरेपछि खाना खाने गरिन्छ ।
चौथो दिन ऋषिपञ्चमी पर्ने भएकाले त्यस दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको नदी, तलाउ, धारा वा कुवामा गई विधिविधान पूर्वक स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास छ । त्यसै दिन अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खाने चलन छ । पञ्चमीको पूजाको छुट्टै परम्परागत महिमा रहेको छ ।
यो पूजा गर्नाले विशेष गरी महिलाहरूले रजस्वला भएका बेला छुवाछुत भएको दोष मेटिने र पापबाट मुक्त भइने पौराणिक विश्वास रहिआएको छ ।
हरितालिका तीजको धार्मिक महत्व
हरित्+ आलिका शब्दको संयोजनबाट हरितालिका बनेको छ । पार्वतीलाई आफ्ना साथीहरुले हरण गरी जंगलमा लिएर गएको भन्ने अर्थमा यस पर्वको नाम हरितालिका रहन गएको हो । सोही दिन सोमवार र हस्ता नक्षत्रले युक्त तृतीया तिथि थियो । पार्वतीले पहिलो पटक आफूलाई थाहा नभई ब्रत उपवास गर्दा शिवजीसॅग विवाह हुन पुगेको प्रसंग यहॅा जोडिन पुग्छ त्यसकारण पार्वती माताले आफैले वर रोज्न सफल हुनु भएकोले अहिले पनि यो विश्वास र परम्परासॅग जोडिएर आएको छ ।
अर्थात् भाद्र शुक्लपक्ष हस्त नक्षत्रले युक्त तृतीया (हरितालिका तीज) त्यसमा पनि सोमवार पर्यो भने सबै पापहरुबाट मुक्त हुन सकिने शास्त्रीय वचन रहेको छ ।
तीजको पूजाविधि – तीजको पूजा गर्नको लागि मन्दिर नै जानु पर्छ वा गुरु नै उपस्थित हुनु पर्छ भन्ने छैन । घरमै सकेसम्म विहान वा दोप्परमा वा बेलुका सॅाझको समयमा सामान्य रुपमा पूजा सामग्री ( चन्दन अक्षता फूल फल धूप दीप पन्चामृत नैवेद्य सृंगार आदि ) का साथमा पहिले गणेशको पूजा गरी धूप दीप गरी भगवान शंकरको पूजा गर्न सक्नु हुनेछ ।
हरितालिका तीज पूजाको लागि आवश्यक पूजा सामाग्री-
१. टीका, चन्दन, धूप, भेटी, फूल, फलफूल, माला, जौ तिल आदि
२. सौभाग्य सामाग्री, विभिन्न रंगको कपडा, कांचो नरिबल आदि
३.गणेश, कलश, दीयो, पूजागर्ने प्लेट-५, कचौरा-५-१० वटा
४. आप, पिपल, बेलपत्र, पानका पातहरू यथाशक्य
५. पूर्णपात्रो, चामल, रक्षाबन्धन, ६. प्रसादको सामग्रीः पंचामृत, मनभोग( अपुंगो), लड्डु, पेडा, हलुवा प्रसाद आदि यथाशक्य ७. गुरुको लागि बरण तथा दानप्रदानको सामग्री ( कपडा धोती टोपी ईत्यादि यथाशक्य ८. कुश, जनै २, सुपारी २, शिवलिंग धूप दीप गर्नको लागि दीयो बत्ती अर्घपात्र, कर्म पात्र, अंखोरा, बस्नको लागि चकटी आदि ।
थप जानकारीका लागि गुरुहरुलाई सोध्न पनि सक्नु हुनेछ । पूजा गरिसकेपछि दानप्रदानको सामग्री गुरुलाई घरमै बोलाएर वा गुरुको घरमा लगेर वा मन्दिरमा लगेर गुरुलाई दिन पनि सकिन्छ ।
सरसल्लाहको लागि सम्पर्क 01- 703-870-6480
तीजको सामाजिक महत्व
पहिला पहिला तीजमा विवाह गरी टाढा–टाढा गएका दिदी–बहिनीहरूलाई दाजुभाइ वा माइती तर्फका परिवारका सदस्यहरू गएर सम्मानपूर्वक ल्याउने प्रचलन थियो । अहिले भने यातायात र सञ्चारको सुविधाले यस कार्यलाई सहज तुल्याइ दिएको छ । चेलीबेटीहरू माइत आउने, आमाबाबा दिदीबहिनी, दाजुभाइहरूसँग बसी दर खाने तथा साथीसंगीहरू एकै ठाउँमा भेला भएर आफ्ना मनका भावना एवं सुख–दुःख गीत–संगीतका माध्यमबाट साटासाट गर्ने प्रचलन रही आएको छ । अर्थात् यो एउटा चाड मात्र नभएर परिवारका सबै सदस्यहरू तथा साथीसँगीहरूसँग भेटघाट हुने, चेलीबेटीहरूले माइत आउन पाउने र सुख दुखका कुराहरू साटासाट गर्ने सुखद् अवसरका रूपमा समेत रहेको छ । मन्दिरमा होस् वा कसैको घरमा वा सार्वजनिक स्थलमा गई सामुहिक रुपमा तीजको पूजा गर्ने प्रचलन बढ्दै गईरहेको छ । यसले सामाजिक सद्भाव र एकअर्काप्रतिको सहयोग र सद्भावलाई बढाउनुका साथै महिला एकताको भावनालाई दर्शाउॅछ ।
यस चाडले टोल छिमेकका नारीहरूमा समेत एकता, सद्भाव र आपसी सौहाद्र्रताको विकास गराएको पाइन्छ । यसर्थ यस चाडलाई नारी एकताको उत्सवका रूपमा समेत लिन सकिन्छ ।
तीजको पहिरन र शृंगार
तीजका दिन महिलाहरूले विशेष गरी रातो साडी वा पहिरन, चुरा, पोते, रातो धागो, विभिन्न गरगहना आदि लगाएर सजिने प्रचलन रहिआएको छ । यस बेला महिलाले लगाउने पहिरन र शृंगारको छुट्टै सांस्कृतिक महत्व रहेको छ । तीजको आगमनसँगै बजारमा नयाँ नयाँ पहिरन तथा सौभाग्यका सामग्री किन्नेहरूको घुइूचो लाग्ने गरेको छ । सांस्कृतिक अर्थमा नेपाली महिलाले प्रयोग गर्ने सिन्दूर, पोते, धागो तथा चुरालाई सौभाग्यको प्रतीक मानिन्छ ।
सिन्दुर
सिन्दुर विवाहित महिलाको प्रमुख शृंगार प्रसाधन हो । प्राचीन कालदेखि नै विवाहित महिलाहरूले आफ्नो सिउँदो सिन्दुरले सजाउने र अविवाहित महिलाहरूले पनि शुभ प्रतीकका रूपमा सिन्दुरको टीका लगाउने चलन रहिआएको छ । हाम्रोे संस्कृतिमा रातो रंगलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्ने र श्रीमान्प्रतिको समर्पण र विश्वास झल्काउने समेत सांस्कृतिक धारणा रहिआएको छ ।
सिउँदोमा सिन्दूर भरेका महिला देख्दा उनीहरू विवाहित हुन् भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । यसले विवाहित महिलाको परिचय दिन्छ । श्रीमान्को दीर्घायूका साथै सौन्दर्य प्रवद्र्धनका लागि लगाइने सिन्दूरले भाग्य रक्षा गर्ने आम धारणा छ । सामान्य रूपमा सिन्दूरले हरेक किसिमको कुदृष्टिबाट घरपरिवारलाई सुरक्षा दिने धारणा नेपाली समाजमा छ ।
टीका
सौभाग्यको प्रतीक टीकाले नारीसौन्दर्यलाई उजागर गर्छ । दुई आँखीभौँका बीचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा मानिन्छ । यसले घरपरिवारको सुख–शान्ति एवं समृद्धि बढ्ने संकेत दिन्छ । प्राचीन समयमा यसलाई सिन्दूर भनिन्थ्यो । यसलाई शक्तिको प्रतीक पनि मानिन्छ । सिन्दूरलाई मायाको प्रतीकका रूपमा पनि लिइन्छ । यसले श्रीमान्लाई आफूतिर आकर्षित गर्ने विश्वास गरिन्छ । यसलाई बिन्दी पनि भनिन्छ । परम्परागत रूपमा टीका रातो अथवा कलेजी रंगमा प्रयोग गरिन्थो । यो रंगलाई विवाहित महिलाको प्रतीकका रुपमा लिइन्छ ।
टीका विवाहित महिलाले मात्र नभएर स–साना बालबालिका अथवा युवतीले पनि प्रयोग गर्ने गरेका छन् । उनीहरूले प्रयोग गर्ने टीकाको रंग कालो हुन्छ । कालोले नराम्रो दृष्टिबाट बचाउनुका साथै प्रगति पथमा डो¥याउने विश्वास गरिन्छ । अहिले टीका लगाउनु आधुनिक समाजको फेसनका रूपमा विकास हुँदै गएकोे छ । आफ्नो अनुहार सुहाउँदो टीका लगाउन विवाहित महिला मात्र नभएर अविवाहित किशोरीहरू पनि पछि पर्दैनन् । यसले अहिलेको आधुनिक समाजमा पनि टीकाको महत्व दर्शाउँछ । टीकाले महिलाको सौन्दर्यमा निखार ल्याउँछ ।
पोते
पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ । यसले शुभमंगल, सौभाग्य र दीर्घायूको बोध गराउने सांस्कृतिक विश्वास रहेको छ । अझ रातो मोटो पोतेले त अनुहार नै उज्यालो बनाउँछ । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ । यसले व्रत बसेका बेला शरीरमा एक किसिमको ऊर्जा दिन्छ । तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् ।
रातो, पहेँलो, हरियो तथा गुलाबी रंगमा उपलब्ध पोतेले वातावरणलाई नै तीजमय बनाएका छन् । अहिले बजारमा साधारण एक लुङदेखि लिएर अंगुर आकार, चक्रमाला, माछीकाँडा एवं क्रिस्टलका पोते भित्रिएका छन् । अहिले आफूले लगाएको साडीसँग मेल खाने पोते लगाउने चलन समेत बढ्दो छ ।
यी सबै शृंगारका बस्तुहरुको उत्पादन र बिक्री बितरण गर्न ईन्डिया अगाडि छ भने चाईनाले पनि यसको सुरुआत गरिसकेको छ तर नेपाल भने धेरै पछाडि छ । नेपालले पनि यस्ता शृंगारिक सामानहरुको उत्पादन तथा विक्री वितरण गर्न सके आफैमा स्वतन्त्र र समृद्ध राष्ट्र बन्न सक्छ ।
नोटः