सेलीब्रेटी कथावाचकहरुको रमझम… – उप प्राध्यापक श्याम खनाल नेसंवि नेपाल

सेलीब्रेटी कथावाचकहरुको रमझम…                                               – उप प्राध्यापक श्याम खनाल नेसंवि नेपाल

Aug 20 2024 Tuesday

अङ्ग्रेजी शब्द सेलिब्रेटीको अर्थ हुन्छ– फिल्म आदि क्षेत्रमा प्रसिद्ध व्यक्ति । फिल्ममा प्रसिद्ध हुनका लागि खुपीले मात्र हुँदैन रूपीको पनि आवश्यकता पर्न आउँछ । कथा प्रसङ्ग अनुसार चिटिक्क पर्न, दर्शकलाई जसरी पनि आकर्षण गर्न र मिलाएर बोल्न जानिएन भने सेलिब्रेटी हुन सकिँदैन । अर्थात् हाऊ, भाऊ र कटाक्षले अरूलाई आकर्षण गर्न सकिएन भने फिल्मी क्षेत्रमा सेलिब्रेटी हुन सकिँदैन । केही ऐतिहासिक र धार्मिक क्षेत्रका फिल्मलाई छोडेर फिल्मका कल्पित विषयवस्तुमा अभिनय जसले गर्न सक्यो, आफ्ना शरीर सिँगारेर वा शारीरिक हाऊभाऊ देखाएर वा शारीरिक अङ्ग प्रदर्शन गरेरै भएपनि अभिनय गर्न सक्यो भने त्यो भयो सेलिब्रेटी ।

शास्त्रले कुनैपनि कुरालाई सकार वा नकार त्यसको कार्यक्षेत्र अनुसार गर्ने गर्दछ । साहित्य शास्त्र मानव रसलाई प्रधान मानिन्छ । यस शास्त्रमा नायिकाको वर्णन गरेर आनन्द लिनु सामान्य मानिन्छ । श्रृङ्गारिक रसको मजा लिने कुरामा यहाँ कुनै बन्देज छैन । त्यस्तै वेदान्त शास्त्रमा मातृशक्ति नारी पुजित भएपनि वासनारूपी नारीलाई ईश्वरचिन्तन, ब्रह्मचिन्तनको बाधकको रूपमा परिभाषित गरिएको छ । यसैगरेर अरू विभिन्न शास्त्रहरूले पनि भिन्नभिन्न प्रकारले आफ्ना कुरा बताएका छन् । हाम्रा शास्त्रहरू समय, परिस्थिति र प्रसङ्ग अनुसारका छन् । यी हाम्रा शास्त्रहरूले तैँले यसो गरिस् भने यसो हुन्छ भनेर राम्रोसँगै भनेका छन् । त्यसैले व्यक्ति शास्त्रोक्तकर्म गरेर कुन फलप्राप्त गर्ने भन्नकालागि स्वतन्त्र नै छ । ईश्वरले दिनको महत्व बुझाउन रातको पनि सिर्जना गरेको छ । त्यस्तै देवताको महत्व दिनकालागि राक्षसको पनि अस्तित्व देखाएको छ भने धर्मको महिमा गानकालागि पापको पनि सृष्टि गरेको छ । ईश्वर तपाइँ, हाम्रो बुद्धि जस्तो मन्दबुद्धिको छैन । ऊ त चलाख छ, पूर्णबुद्धिको छ, त्यस्तै सर्वव्यापीपनि छ । माथिको प्रसङ्ग अनुसार शास्त्रोक्त कुनैपनि कर्म गर्दा विषय प्रसङ्ग अनुसार हाम्रो आचरण हुनैपर्दछ । जसरी डुङ्गा चलाउँदा डुङ्गा खियाउने सामान चाहिन्छ, त्यस्तै पहाडमा हिँड्दा लौरोको आवश्यकता हुन्छ, चिसो स्थानमा बस्दा मोटो कपडा लगाउनु पर्ने हुन्छ । गर्मी स्थानमा बस्दा पातलो कपडाले पनि काम गर्दछ, नदीमा ख्याउँदा कपडा खोल्नुपर्ने हुन्छ, जपादिकर्म गर्दा उत्तरीयको प्रयोग गर्नुपर्ने हुन्छ, त्यस्तै शास्त्रोक्त विभिन्न कार्यका लागि कार्य अनुसारको भेषभुषा र रहनसहन हुनै पर्दछ । यदि त्यस अनुसार कर्म गरिएन भने त्यस अनुसारको फल प्राप्त गर्न सकिँदैन ।

आजकाल नेपालमा कथावाचन गरेर जीविकोपार्जन गर्ने धेरै देखिएका छन् । यीमध्ये कुनै कुनैले सामाजिक क्षेत्रमा पनि हात हालेका छन् भने कुनै कुनैले गुरुकुलहरू पनि सञ्चालन गरेका छन् । निवृत्ति मार्गमा लागेका स्वामीजीहरू र केही गुरुहरूले त निस्वार्थै रूपमा कथावाचन वा प्रवचनका माध्यमले आफ्नो शरीरको पालनपोषणमा ध्यान नदिई गुरुकुलका माध्यमले स्वधर्म, स्वसंस्कार र स्वसंस्कृतिको रक्षा गरिरहनुभएको छ । उहाँहरूद्वारा भइरहेका यज्ञहरू वास्तविक वैदिक यज्ञकै रूपमा रहेका छन् । ती वैदिक यज्ञहरूका माध्यमले प्रकृतिपनि आफ्नो प्राकृतिक रूपमा फुल्न फल्न पाएकी छिन् । प्रकृति समय अनुसार नै फुलेको र फलेको देख्दा आकाशमा देवताहरू रमाएका छन् । देवताहरू आकाशमा रमाउँदा मनुष्यले पनि खासै अनिष्ट अवस्थाको सामना गर्नु परेको छैन ।

तर केही कथा वाचकहरूको अवस्था देख्दा उही फिल्म क्षेत्रकै नायक नायिकाको झल्को आउने गर्दछ । शरीरमा अनेकथरी वासनाहरू घसी, कथावाचनका माध्यमले चेलाचेलीको चित्तको सन्ताप हरण गर्ने भन्दापनि वित्त हरण गर्नेतिर कथाका प्रसङ्गहरू मिलाउने काम उनीरूको हुन्छ । आफूले के गर्दैछु र यस अवस्थामा आफुले कस्तो भेषभुषा धारण गरेर कस्तो नियमका साथ काम गर्नुपर्दछ भन्ने नै थाहा नपाउने स्वभाव उनीहरूको हुन्छ । भगवानका दारी जुङ्गा आउँदैनन् रे । त्यसैले भगवानहरूका दारी जुङ्गा नभएर उहाँहरूको कपालमात्र लामो हुन्छ । यही कुरालाई अनुसरणका लागि ती कथावाचकपनि भगवान् बन्ने सुरमा दिनदिनै दारीजुङ्गा काटेर चिटिक्क परेर कथामा वित्त हरणका लागि भिक्स लगाउनु पर्ने स्थानमा भिक्स लगाएर रुने एवम् नक्कली तालले हाँस्नुपर्ने स्थानमा हाँसीपनि रहेका हुन्छन् भने उनीहरूले लगाएको निधारको टीको पनि उही फिल्मी क्षेत्रकै जस्तो कता न कताको जस्तो हुन्छ । कपडा पनि बजारमा उपलब्ध भए सम्मका झकिझकाऊ खालका अरूलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने खालका नै हुन्छन् । यिनीहरूले कथावाचन मात्र कहाँ हो र फल्ना गुरुसँग फल्नो तीर्थ जाने भनी बसको भाडा एवम् तीर्थमा गरिने दानकामार्फत् पनि आफ्ना परिवारका लागि धन कमाइरहेका हुन्छन् । व्यास आसनमा बसेर कथावाचन गर्नका लागि मुण्डन अनिवार्य हुन्छ र कथा पूरा नहुँदासम्म मुण्डन, नखच्छेदन आदि काम गर्न हुन्न । तर मुण्डन त कता हो कता कपाल हल्लाउँदै दिनदिनै गाला चिल्ला बनाएर शरीर सिँगार्ने मात्रकाम उनीहरूको दैनिकीका रूपमा हुन्छ । अरू त त्यस्तै हो, जनैपूर्णिमाको अघिल्लो दिन यज्ञोपवित लगाउने सबैले आफ्नो ऋषितर्पणी कर्म गर्नका लागि ब्रह्मश्चर्यमा रहेर लटा पालेका बाहेककाले मुण्डन गर्नैपर्दछ । सके सबैका लागि नभए यजमानी गर्नेहरूकालागि त अर्ध मुण्डन शास्त्रले पूर्ण अस्वीकार गरेको छ । तर मोटो रकमका माध्यमले स्वर्ग र नर्कको बाटो देखाइदिने भन्ने यिनीहरूलाई ऋषि तर्पणि त कुन चरीको नाम हो थाहा नै हुँदैन ।

अझ अहिले त महिला कथावाचकहरू पनि बजारमा देखिईरहेका छन् । ठिक छ भगवानका कथाहरू भन्न महिला पुरुषहरूको भेद छैन । महिलाहरूले पनि आफ्नो शारीरिक अवस्थालाई ख्याल गर्दै कथाका माध्यमले समाजलाई जगाउनै पर्दछ । कन्या गुरुकुलहरू पनि यस्तै मातृशक्तिका कथा वाचनका माध्यमले चल्नु पर्दछ । यहाँ गार्गी र मैत्रेयी तयार गरिनुपर्दछ । मातृ शक्तिका माध्यमले सुतेका पुरुषहरूलाई उठाउनुपर्दछ । तर उनीहरू पनि उही पुरुष कथा वाचकहरू जस्तै कपाल छोडेर, टाउकोमा हेडबेन एवम् शरीरमा पनि अवैदिक पोषाक लगाएर कथा वाचनका माध्यमले समाजकालागि भन्दापनि आफ्नै लागि द्रव्यसञ्चयमा लिप्त देखिइरहेका छन् । भारतका विभिन्न स्थानमा भइरहेका यस किसिमका रोगले नेपाललाई पनि ग्रस्त बनाइरहेको छ । शास्त्रचिन्तन के का लागि गर्ने ? शास्त्रकथाको गुह्यार्थ के हो ? कर्मकाण्ड, भक्तिकाण्ड र ज्ञानकाण्डको अनुसरण कसरी कुन कुन अस्थामा गर्ने ? ईश्वर प्राप्ति पछिको अवस्था कस्तो हुन्छ ? यस्ता खालका प्रश्नका उत्तरका माध्यमले व्यक्तिलाई सत्य मार्गमा लगाउनुको सट्टा त “हेर कस्तो चाल बुढी पनि तरुनी”“भाङ् खाएर शिव सुते विष्णु सुते मायाले” “हे कृष्ण ! कसरी सम्हाल्छौ सोह्र हजार एकसय आठ” यस्तै उट्पट्याङ्ग खालका झाम्रे भजनका माध्यमले व्यक्तिलाई झनै कुमार्गमा लैजाने अवस्थाको सिर्जना गराइरहेका छन् ।

त्यसैले अन्त्यमा हाम्रा शास्त्रहरू कसैको व्यक्तिगत कमाई र रमाईको लागि बनेका हैनन् । धर्म अनुसार आचरण गराएर व्यक्तिलाई इहलौकिक एवम् परलौकिक सुखका लागि शास्त्रहरूमा दिव्य वाणीहरू रहेका छन् । शास्त्रोक्त कुनैपनि कर्म गर्न शास्त्रमा नियमहरू रहेका छन् । मुण्डनादि ती नियमहरूको पालना गरे मात्र शास्त्रोक्त फल पाइने हो । नियम बिना गरिएका कर्महरूको फल सुरक्षणम् हैन उल्टै यजमान एवम् पण्डितको सुभक्षणम् नै हुने हो । पैसा कमाएर रमाउन शास्त्रहरूले अरू अनेक बाटा देखाएका छन् । अतः सेलिब्रेटीका रूपले शास्त्रोक्त नियम विनाका कर्म गर्नु भनेको धर्मको रक्षा गरिएको मानिँदैन । धर्मको रक्षा त शास्त्रोक्त कर्महरू मार्फत् नै हुने हो । धर्मको रक्षा गरिएमात्र हामीलाई धर्मले रक्षा गर्ने हो । नभए त हाम्रो एवम् हाम्रा सन्ततिहरूको विभत्स नाश अवश्यम्भावी छ ।

नोटः यो आलेखमा लेखकले सुधारोन्मुख तबरले कथावाचकहरु व्यक्तिगत अर्थोपार्जनका लागि भन्दा पनि सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरणको अभियानमा लाग्न अभिप्रेरित गर्नु भएको छ । लेखकलाई धन्यवाद ।

If you want to send articles for HCC Team please send us at hinduculturecenter@gmail.com or contact 804-564-7610 USA

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.