श्रीकृष्ण जन्माष्टमी किन र कसरी मनाउने ?

श्रीकृष्ण जन्माष्टमी ब्रत/पर्व किन र कसरी मनाउने ?

August १९-Friday – आज भाद्र कृष्ण अष्टमी – प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार ‘आज’ श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वसुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत् वसुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याऊ, भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ।

वसुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग विभिन्न  ग्रन्थमा उल्लेख गरिएको छ।

श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वसुदेवलाई जेलमुक्त गरिदिनु भएको थियो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो ।

कृष्ण जन्माष्टमीको महत्व

कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । श्रीकृष्णजन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी पुरुष तथा महिलाहरू व्रत बसी रातभर जाग्राम बसी भजन कीर्तन गर्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो । जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघरसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ । भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।आजको दिन ब्रत बस्नाले र श्रीकृष्णको पूजा आराधना गर्नाले सम्पूर्ण सुख भोग गरी पापबाट मुक्त भई परम्पद प्राप्त गर्न सकिने कुराको उल्लेख छ । यसैकारण हामीले  पनि आफ्नो  जन्मोत्सव पर्व पनि मनाऊँदै आएका छौँ ।

हातमा मुरली,  शिरमा मयुरको प्वाँख, शितल बगैचा, जिबजन्तुहरुको साथमा, गोपिनीहरुको मायामा, बासुरीको मधुर धुन यस्तै बातावरणमा बिराजमान भई प्रिय भगवान श्रीकृष्ण आजैको दिन  (भाद्र कृष्ण अष्टमी) मामा कंशको कैदमा रहेका पिता वसुदेव र माता देवकीको गर्भबाट जन्म भएको  हो भन्ने कुरा पुराण आदि ग्रन्थहरुमा उल्लेख छ ।

अत्यन्तै दयाका खानी र अति प्रभावशाली ब्यक्तित्वका धनी भगवान श्रीकृष्णले बासुरी बजाएरै सबैलाइ मन्त्रमुग्ध पार्न सक्नुहुन्थ्यो । उनको मुस्कानमा हर्ष छ मनको सौन्दर्यता र सौम्यताको अध्भूत संगमयुक्त उनको कालो कपालमा मयुरको प्वाँख सजिएको हुन्छ , गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरिएका कृष्णका पोशाकका रंगहरु बिजुली चम्किदाको जस्तो चम्किलो हुन्छ र उनको पैतालाका नङका रङ्गहरुले चन्द्रमाको आभाष मिल्छ । त्यस्ता ब्यक्तित्वका धनी उनै श्रीकृष्णको परिचयका शृङ्खला थुप्रै छ्न । मख्खन चोर, बदमास गोपिनीहरुका पानी र दहीका घैला फुटाउने चकचके जस्ता अनेक कार्यहरु गरेर बाल कृष्णलीलाको रुपमा परिचित छन। बदमास तर पनि सबैका प्रीय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दाबन, मथुरा,र यमुना किनारमा मात्र नभइ सम्पुर्ण भू- लोकमै चर्चित छन । उनी सम्पुर्ण रुपमा आफ्नो ब्यक्तित्वका कारण सबैलाइ आकर्षण गर्न सक्ने दिव्य ब्यक्तित्वका रुपमा युग-युग चर्चित छन ।
गोबिन्द, कन्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी श्रीकृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको सर्जकका रुपमा पनि सम्झिने र पूजा गरिने गरिन्छ ।
भगवान श्रीकृष्णको नाम सङ्गै राधाको नाम पनि बढो आस्थाको साथ लिइन्छ र पूजिन्छ पनि तर राधाको प्रसंग पछिसम्म जोडिदैन । यति मात्र होईन श्रीकृष्ण बारेमा यति धेरै पुस्तकहरु निस्केका छन् अहिले त श्रीकृष्णमार्गी भनेर धर्मकै रुपमा पनि मान्न थालिसकेको अवस्था छ । तर श्रीकृष्णलाई यसरी धर्मकै रुपमा मान्नु भन्दा पनि उनी भगवानको रुपमा अवतरित व्यक्ति भएकोले उनलाई भगवान स्वरुप मानेर पूजा आराधना गरी मनाउन सकेमा भगावानलाई पनि खुसी पार्न सकिने र आफ्नो ईच्छा पनि पूर्ति हुने कुरामा जोड दिन सकिन्छ । यहीँ नै सनातन धर्मको उद्देश्य हो ।
श्रीमद्दभागवत गीतामा श्रीकृष्ण स्वयम् अर्जुनलाई भन्नु हुन्छ :
” यदा यदा हि धर्मस्य, ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम ।।
अर्थात :
“जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हाबी हुँदै जान्छ, तब तब धर्म रक्षाको लागि म स्वयम् यश धर्तिमा नया अबतार लिएर आउनेछु । ”

संसारभर रहेका हिन्दुधर्मावलम्बी अनि श्रीकृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउनु पर्दछ । यसबारेमा पूजा कसरी गर्ने, ब्रत बसेर के गर्ने भन्ने सम्बन्धमा थप जानकारी लिनको लागि यो नम्बरमा सम्पर्क गर्नु होला – ७०३-८७०-६४८० वासिंटन डिसी, अमेरिका

सम्पूर्णमा श्रीकृष्ण जन्माष्टमीको शुभकामना !!

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.