तीज अर्थात् हरितालिकाको महत्व र विशेषता : राजेन्द्र खनाल

तीज कहिले पर्छ यो वर्ष अमेरिकामा?   सेप्टेम्बर १७ रविवार  २०२३

नेपालमा सेप्टेम्बर १८ सोमवार

When Teej brata  in USA ?  September 17   2023 Sunday 

In Nepal Monday sep 18 2023 

हरितालिका अर्थात् तीजको महत्व र विशेषता : राजेन्द्र खनाल

तीज नेपाली महिलाहरूले प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन उपवास बसेर उल्लासपूर्वक मनाइने विशेष सांस्कृतिक पर्व हो । पहिले सीमित समुदाय वा जातजातिले मात्र मनाउने यो चाड अहिले अन्य विभिन्न समुदायले पनि मनाउन थालेका छन् । पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई नै स्वामीका रूपमा पाएपछि यो चाडको सुरुआत भएको मान्यता छ ।

तीजमा विवाहिता महिलाहरूले आफ्ना श्रीमान् तथा परिवारको सुख–समृद्धि र दीर्घायुको कामना गर्दै तथा अविवाहिताले योग्य श्रीमान् पाऊँ भनी व्रत बस्ने परम्परा छ । समग्रमा तीज नेपाली महिलाहरूको एउटा उल्लासमय सांस्कृतिक पर्व हो, जसलाई चार दिनसम्म विभिन्न धार्मिक-सांस्कृतिक क्रियाकलापका साथ मनाइन्छ । आधुनिक समाजमा तीजफेसन पर्वका रूपमा विकास हुँदै गएको छ ।

भाद्र शुक्ल द्वितीयाका दिन विशेष गरी घरका छोरीचेलीहरूका साथ सबै सदस्यहरू भेला भई मीठामीठा परिकारहरू बनाएर खाने प्रचलन रहेको छ । तृतीयाका दिन विहान स्नान गरी घरमा तथा  मठ मन्दिरमा गएर महादेवको पूजा आराधना गर्ने र दिनभर व्रत बस्ने, दिदीबहिनी, साथीसँगी भेटघाट गरी नाचगान गर्ने परम्परा रहेको छ । भोलिपल्ट चौथीका दिन स्नान गरी भगवान गणेशलाई दूबो चढाई पूजा आराधना गरी व्रत पारायण गरेपछि मात्र खाना खाने गरिन्छ ।

चौथो दिन ऋषिपञ्चमी पर्ने भएकाले त्यस दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको नदी, तलाउ, धारा वा कुवामा गई विधिविधान पूर्वक स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास छ । त्यसै दिन अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खाने चलन छ । पञ्चमीको पूजाको छुट्टै परम्परागत महिमा रहेको छ ।

यो पूजा गर्नाले विशेष गरी महिलाहरूले रजस्वला भएका बेला छुवाछुत भएको दोष मेटिने र पापबाट मुक्त भइने पौराणिक विश्वास रहिआएको छ ।

तीजको सामाजिक महत्व
पहिला पहिला तीजमा विवाह गरी टाढा–टाढा गएका दिदी–बहिनीहरूलाई दाजुभाइ वा माइती तर्फका परिवारका सदस्यहरू गएर सम्मानपूर्वक ल्याउने प्रचलन थियो । अहिले भने यातायात र सञ्चारको सुविधाले यस कार्यलाई सहज तुल्याइ दिएको छ । चेलीबेटीहरू माइत आउने, आमाबाबा दिदीबहिनी, दाजुभाइहरूसँग बसी दर खाने तथा साथीसंगीहरू एकै ठाउँमा भेला भएर आफ्ना मनका भावना एवं सुख–दुःख गीत–संगीतका माध्यमबाट साटासाट गर्ने प्रचलन रही आएको छ । अर्थात् यो एउटा चाड मात्र नभएर परिवारका सबै सदस्यहरू तथा साथीसँगीहरूसँग भेटघाट हुने, चेलीबेटीहरूले माइत आउन पाउने र सुख दुखका कुराहरू साटासाट गर्ने सुखद् अवसरका रूपमा समेत रहेको छ ।

यस चाडले टोल छिमेकका नारीहरूमा समेत एकता, सद्भाव र आपसी सौहाद्र्रताको विकास गराएको पाइन्छ । यसर्थ यस चाडलाई नारी एकताको उत्सवका रूपमा समेत लिन सकिन्छ ।

तीजको पहिरन र शृंगार
तीजका दिन महिलाहरूले विशेष गरी रातो साडी वा पहिरन, चुरा, पोते, रातो धागो, विभिन्न गरगहना आदि लगाएर सजिने प्रचलन रहिआएको छ । यस बेला महिलाले लगाउने पहिरन र शृंगारको छुट्टै सांस्कृतिक महत्व रहेको छ । तीजको आगमनसँगै बजारमा नयाँ नयाँ पहिरन तथा सौभाग्यका सामग्री किन्नेहरूको घुइचो लाग्ने गरेको छ । सांस्कृतिक अर्थमा नेपाली महिलाले प्रयोग गर्ने सिन्दूर, पोते, धागो तथा चुरालाई सौभाग्यको प्रतीक मानिन्छ ।

सिन्दुर
सिन्दुर विवाहित महिलाको प्रमुख शृंगारको साधन  हो । प्राचीन कालदेखि नै विवाहित महिलाहरूले आफ्नो सिउँदो सिन्दुरले सजाउने र अविवाहित महिलाहरूले पनि शुभ प्रतीकका रूपमा सिन्दुरको टीका लगाउने चलन रहिआएको छ । हाम्रो संस्कृतिमा रातो रंगलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्ने र श्रीमान प्रतिको समर्पण र विश्वास झल्काउने समेत सांस्कृतिक धारणा रहिआएको छ ।

सिउँदोमा सिन्दूर भरेका महिला देख्दा उनीहरू विवाहित हुन् भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । यसले विवाहित महिलाको परिचय दिन्छ । श्रीमान्को दीर्घायूका साथै सौन्दर्य प्रवद्र्धनका लागि लगाइने सिन्दूरले भाग्य रक्षा गर्ने आम धारणा छ । सामान्य रूपमा सिन्दूरले हरेक किसिमको कुदृष्टिबाट घरपरिवारलाई सुरक्षा दिने धारणा नेपाली समाजमा छ ।

टीका / टिकी 
सौभाग्यको प्रतीक टीकाले नारीसौन्दर्यलाई उजागर गर्छ । दुई आँखीभौँका बीचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा मानिन्छ । यसले घरपरिवारको सुख–शान्ति एवं समृद्धि बढ्ने संकेत दिन्छ । प्राचीन समयमा यसलाई सिन्दूर भनिन्थ्यो । यसलाई शक्तिको प्रतीक पनि मानिन्छ । सिन्दूरलाई मायाको प्रतीकका रूपमा पनि लिइन्छ । यसले श्रीमान्लाई आफूतिर आकर्षित गर्ने विश्वास गरिन्छ । यसलाई बिन्दी पनि भनिन्छ । परम्परागत रूपमा टीका रातो अथवा कलेजी रंगमा प्रयोग गरिन्थो । यो रंगलाई विवाहित महिलाको प्रतीकका रुपमा लिइन्छ ।

टीका विवाहित महिलाले मात्र नभएर स–साना बालबालिका अथवा युवतीले पनि प्रयोग गर्ने गरेका छन् । उनीहरूले प्रयोग गर्ने टीकाको रंग कालो हुन्छ । कालोले नराम्रो दृष्टिबाट बचाउनुका साथै प्रगति पथमा डोर्याउने विश्वास गरिन्छ । अहिले टीका लगाउनु आधुनिक समाजको फेसनका रूपमा विकास हुँदै गएको छ । आफ्नो अनुहार सुहाउँदो टीका लगाउन विवाहित महिला मात्र नभएर अविवाहित किशोरीहरू पनि पछि पर्दैनन् । यसले अहिलेको आधुनिक समाजमा पनि टीकाको महत्व दर्शाउँछ । टीकाले महिलाको सौन्दर्यमा निखार ल्याउँछ ।

टीकी एककिसिमको बनिबनाऊ महिलाहरुले निधारमा लगाउने  पहिरन हो जो बिभिन्न कलरमा किन्न सकिन्छ ।

पोते
पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ । यसले शुभमंगल, सौभाग्य र दीर्घायूको बोध गराउने सांस्कृतिक विश्वास रहेको छ । अझ रातो मोटो पोतेले त अनुहार नै उज्यालो बनाउँछ । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ । यसले व्रत बसेका बेला शरीरमा एक किसिमको ऊर्जा दिन्छ । तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् ।

रातो, पहेँलो, हरियो तथा गुलाबी रंगमा उपलब्ध पोतेले वातावरणलाई नै तीजमय बनाएका छन् । अहिले आफूले लगाएको साडीसँग मेल खाने पोते लगाउने चलन समेत बढ्दो छ । विदेशमा पनि तीज रंगीलो बन्दै गईरहेको छ । अस्तु ।

सम्पूर्ण आमा, भाउजु तथा दिदी बहिनीहरुमा तीज हरितालिका ब्रतको हार्दिक शुभकामना । Happy Teej vrata 2023

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.