गाईको धार्मिक तथा वैज्ञानिक महत्व

अनुसन्धानात्मक ज्ञानयज्ञद्वारा सिद्ध गरिएको गाईको धार्मिक तथा वैज्ञानिक महत्व                                      – उप प्राध्यापक श्याम खनाल

रामानन्द अनुसन्धान केन्द्र, देवघाटधामद्वारा महेश सन्न्यास आश्रममा मितिः- २०७९।०३।१३ गतेदेखि सञ्चालित वैदिक चिन्तनको समसामयिक उपयोगिता नामक कार्यशाला गोष्ठीको दोस्रो दिन गव्याचार्य डा. नरेन्द्र हमालद्वारा गाई र गाईबाट पाइने पञ्चगव्यको उपयोगिताबारेको प्राचीन एवं आधुनिक दुबै वैज्ञानिक विधिले प्रमाणित अति महत्त्वपूर्ण कुराको जानकारी गराउनुभयो । संसारका प्रत्येक मानिस त्यसमा पनि हामी भारतवर्षमा वासस्थान गर्नेहरूका लागि त झन् गाईको महत्त्व बढी नै रहेछ । हाम्रा पूर्खाहरूले गाईलाई माता त्यसै मानेका रहेनछन् । जन्मदेखि मृत्युसम्मका पाइला पाइलामा गाईको महत्त्व अति नै रहेछ । वर्षमा आठ-आठ महिना घाम नदेखिने ठाउँका लागि यी रासायनिक औषधिहरूको निर्माण भएको रहेछ । हामीलाई त प्रकृतिले प्रत्येक रोगको रोगनिरोधकको रुपमा गाईलाई दिएको रहेछ । बालक जन्मेको केही समयपछि आयुर्वेदको विधिअनुसार गहुँत सेवन गराउँदा त्यस बच्चाको रोधप्रतिरोधात्मक शक्तिको अचम्मैसँग बृद्धि हुँदो रहेछ । संसारका कुनै पनि जनावरमा नहुने जुरो गाईमा मात्र हुने रहेछ, जसलाई सूर्यकेतु नाडी भनेर जानिँदो रहेछ । यो नाडीभित्र प्रज्ञा ऊर्जा र क्रिया ऊर्जा हुने रहेछन् । प्रज्ञा ऊर्जाले सूर्यादि नव ग्रहहरूबाट आउने सकारात्मक ऊर्जाहरूलाई आफूतिर आकर्षित गर्दोरहेछ भने क्रिया ऊर्जाले त्यसरी आएका ती सकारात्मक ऊर्जालई सङ्ग्रह गरी आफ्नो दूधमा मिश्रण गर्दो रहेछ । संसारका कुनै पनि प्राणीको दुध सेतो हुने तर गाईको दुध पहेँलो हुनुको कारण भनेको गाईको दूधमा पाइने स्वर्णक्षारको कारणले रहेछ, जुन स्वर्णक्षारले ३२ किसिमका क्यान्सरलाई पनि निको पार्ने क्षमता राख्दो रहेछ ।

त्यस्तै उषाकालमा विशेष गरेर साढे दुई वर्ष उमेर पुगेकी, गर्भिणी नभएकी, सधै वनमा चर्न जाने निरोगी सम्भव भएसम्म काली गाईको गहुँतको सेवनबाट वात, पित्त, कफजन्य १४८ वटा रोगहरूबाट बच्न सकिँदो रहेछ । त्यस्तै जहिलेदेखि घरबाट गोभर गयो तहिलेदेखि घरबाट सौम्य लक्ष्मीको गमन भई कहल लक्ष्मीको वास भएको रहेछ । कुनै पनि वास्तुजन्य दोष पनि गाईलाई घरमा राख्दा जाँदो रहेछ भने नवग्रहको प्रकोप पनि गाईको स्पर्शले मात्र पनि हट्दो रहेछ । ठूला विकसित देशहरूले मोबाइलजन्य विद्युतीय यन्त्रहरूबाट आउने घातक रेडियसनलाई रोक्न प्रयोग गर्ने चिप्सहरूमा गाईको गोभरको प्रयोग गर्न थालेका रहेछन् । अरु जनावरको घिउले कोलेष्ट्रोल बढाउने तर गाईको घिउले हाम्रो कोलेष्ट्रोललाई सामान्य स्थितिमै राख्दो रहेछ । अधिकांश रोगहरूको नाश गहुँतबाटै हुने र आफ्ना दबाईहरू नबिक्ने भएकाले नै गाईको महत्त्वको प्रचार-प्रसार गर्ने बाबा रामदेव आदिहरूलाई यहाँ तिनै अमेरिकीहरूका गुप्तचर र अन्धसमर्थकहरूले गाली गर्ने गरेका रहेछन् । अहिले नेपालमा दुधको लागि पालिएका भनिएका जर्सी होलिस्ट्यान आदि त गाई नै रहेनछन् । यिनीहरूबाट त दुध ननिस्केर सेतो जहर निस्किँदो रहेछ । सुँगुर, जर्सी आदि जनावरको क्रसबाट बनाइएका यी गाईजस्ता देखिने जनाबरको दुधको सेवनबाट त हामी १२६ किसिमका रोगहरूको सिकार पो हुनुपर्दोरहेछ । त्यसैले त अहिले अमेरिका आदि विकसित देशहरूले यस किसिमका जनावरहरूको दुधलाई आफ्नो देशमा प्रतिबन्ध लगाइसकेका रहेछन् । गाईलाई माता मानी, गाईको रक्षा गर्ने भएकोले नै हामी विश्वभर गोरक्षक गोरखाका रुपमा प्रसिद्ध भएका रहेछौँ । गाई पालेर दिनहूँ गाईको दुध दहि र घिउ सेवन गरी आफ्नो जीउको रक्षा गरी गोमय र गोघृतको हवनले विश्वको पर्यावरण समेत शुद्ध गराउन समर्थ हामी आहार, विहारको विचारै नगरिकनै अक्कल विनाको नक्कल गर्दा जीवनका प्रत्येक पाटामा दुःख पाएका रहेछौँ । त्यसैले हामीले जसरी सेतो नून, सेतो चामल, सेतो मल, सेतो चिनीलाई प्रयोग नगर्ने सङ्कल्प गर्नुपर्ने देखिएको छ त्यसैगरी यो सेतो पानीलाई पनि प्रयोग नगर्ने प्रण गर्नुपर्ने देखियो ।

योगी नरहरिनाथलाई हामीले विभिन्न किसिमका ट्याग लगाएर उहाँका तोलाका वचन खोलामा फालेपनि त्यसप्रति पश्चाताप गर्दै पुनः शिखरिणि यात्राको खोजी गर्न पर्ने दिन आएको छ । यस्तै विभिन्न किसिमका अमूल्य वाणीहरूद्वारा वर्षात्‌को समयमा पनि हामीहरूको घैँटोमा घाम लगाउन डा. हमालले आफ्ना अनुसन्धानात्मक कार्यपत्रद्वारा गर्नुभएको प्रयास हामीहरूका लागि अविस्मरणीय नै रह्यो । न भौतिक विज्ञानलाई गतिलरी बुझेका न त अध्यात्मतिर नै रुचि भएका गोपालनका विरोधि एवं सुँगुरपालनका पक्षधर ठुटे भूतहरूले यस किसिमका कार्यक्रमहरू सुन्नु पर्ने देखियो ।

त्यस्तै भौतिक विज्ञानको क्षेत्रमा डुब्नु डुबेर १२-१३ वर्षको विदेश बसाईपछि स्वदेशमा आउनुभएका गव्यसिद्ध राजन अधिकारीले दुध वेचेर रक्सि सेवन गर्ने, आफ्नो देशमा भएको करोडौँको धनसम्पत्ति छोडेर विदेशमा आनन्द कमाउन गएकाहरू एवं जान खोजेकाहरूलाई आफ्नो कथा व्यथा सुनाउँदै वास्तवमा धन र आनन्द नेपाल मै रहेको कुराको अवगत गराउनुभयो । उहाँले पनि डा. हमालकै कुराहरूमै जोड दिँदै गाई, माई र भाइको महत्त्वको बारेमा प्रष्ट पार्नुभयो ।

एवम् दोस्रो सत्रमा आफ्नो अनुसन्धानात्मक कार्यपत्रद्वारा नेपाल सरकारका उपसचिव खिमलाल गौतमले सगरमाथा एवं विश्वको पहिलो सृष्टिको मुहान हिमालयको महत्त्वको बारेमा स्पष्ट पार्नुभएको थियो । यी सबै कार्यपत्रहरू सुन्दा योगी नरहरिनाथका यी पद्यांशहरूको सम्झना हुन पुग्यो –
सुखी गोर्खा जाती किन हुन गयो दुःखि जगमा ।
फुटे भाई गाई पनि हुन गइन् दुःखि जगमा ।।
सुखी होला कैले ? सुरभि सुखि होलिन् नि कसरी
जुटे भाई गाई सकल सुखि होलान् सुर सरी ।।

वखू दोचा लायी सुरु फुरु मिलायी वहकरी
ऊखू सातु खायी प्रतनु पट लायी कृषि गरी ।
कछाड् भोटो टोपी खुकुरि पटुका कम्मर कसी
हिमाले वा माले निवसतु जनो राष्ट्रियतया ।।

यसैमा जन्म्यौँ यसैमा हुर्क्यौँ यसैमा विलाऊँ ।
फुटेका भाइ, जुटेर सवै, छुटेको मिलाऊँ ।।

हिमालैमा जन्मे जनक जननी ती शिव शिवा
हिमालैमा झुल्के रवि शशि उज्यालो जग भयो ।
यहीँ ॐ स्वस्ति श्री अ क सकल वर्णावली भयो
यताबाटै टाडा पर पर गये मानवहरू ।

महेश सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिज्यूको संरक्षकत्व एवं आश्रमकै ब्रह्मचारी ईश्वरानन्दज्यूको अध्यक्षतामा भएको कार्यक्रममा महेश संस्कृत गुरुकुलम्‌का प्राचार्य उप-प्रा. कमलप्रसाद सुवेदी, ‍कार्यक्रमका समालोचक उप-प्रा निराजन पन्त एवं कार्यक्रमका उद्घोषक उप-प्रा. फणीन्द्र पौडेलज्यू एवं उप-प्रा. कपिलदेव भट्टराईहरूका वाणीहरू पनि अनुसन्धानसँग नै सम्बन्धित भएका हुनाले अत्यन्तै महत्त्वपूर्ण रहे ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.