किन मनाउने रक्षाबन्धन तथा जनैपूर्णिमा ? -ज्योतिष शास्त्री राजेन्द्र खनाल, अमेरिका

किन मनाउने रक्षाबन्धन तथा जनैपूर्णिमा ? 

 -ज्योतिष शास्त्री राजेन्द्र खनाल, अमेरिका 
अगस्ट 14, 2019

श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पूर्णिमा भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराइ क्षेत्र तथा इन्डियामा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । नेपालकै नेवार समुदायमा यसलाई क्वाँटी खाने दिनका रुपमा तथा “गुनुपुन्ही” भनेर मनाइन्छ । यसवाहेक कजरी पूर्णिमा, नरियलपूर्णिमा, अवनि अवित्तम तथा जे सुकै नाम दिए पनि हामीहरुका लागि यो पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनका नामले प्रसिद्ध छ । विभिन्न ठाउँ, चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाई फरकफरक ढंगले मनाए पनि ब्राह्मण तथा क्षत्रीयहरुका लागि यो पर्व विशेष महत्वपूर्ण मानिन्छ । यस दिन विहान सबेरै उठेर नदी तथा जलाशयमा गई स्नान गरेर शुद्ध भएपछि जप, ध्यान गरी वैदिक विधिअनुसार भगवान शिवजीको पूजा गरी वैदिक मन्त्रहरुले नयाँ जनैहरु (५४ सरा धागोले ब्रह्म गाँठो पारी बनाइएको यज्ञ सुत्र) मन्त्रेर पुरानो जनै निकाली फेरिन्छ । जनै फेर्दा भन्ने मन्त्र..
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहज पुरस्तात्।
आयुष्यमग्रम् प्रतिमुंच शुभ्रम् यज्ञोपवीतं बलमस्तु तेज:।
यो मन्त्र उच्चारण गरी लगाउनु पर्दछ । जनैमा प्रयोग हुने डोरा, ग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। जसको वैदिक विधिअनुसार चूडोपनयन(ब्रतबन्ध) कर्म भैसकेको छ, ऊ व्यक्ति मात्र जनै लगाउन योग्य हुन्छ । जनै लगाउनाले आयु तथा बल वृद्धि हुने तथा पापनाशक हुने कुराको विश्वास गरिन्छ ।
 हाम्रो समाजमा एक किसिमको भ्रम फैलाइएको पाईन्छ त्यो हो बाहुन् भएर जन्मिएकोले मात्र जनै लगाउनु पर्छ भन्ने धारणा । मान्छे जातले मात्र ब्राह्मण हुने होइन ऊ कर्म गरेर ब्राह्मण बन्ने हो । ब्राह्मणको घरमा जन्मदैमा उस्लाई सबैले गुरु पुरोहित मान्नु पर्छ भन्ने होइन, उस्ले ब्राह्मणले जस्तै कर्म गर्‍यो भने मात्र ऊ गुरु तथा पुरोहित बन्न सक्छ । जनै लगाउदैमा गुरु पुरोहित पनि भइने होइन, गुरु पुरोहित बन्ने मार्ग चाँही खुला हुन्छ । जनै लगाउनाले मन, वचन र कर्मलाई पवित्र बनाउन सकिन्छ । आफ्नो मस्तिस्कको शक्तिलाई बढाउन सकिन्छ, जनै लगाइसकेपछि उस्ले नित्य गरिनु पर्ने नित्यकर्मको बारेमा जानकारी लियी त्यस्को पालना गर्नुपर्छ जसले गर्दा उसको जीवन सधै स्वस्थ र निरोगी बन्नुका साथै दिमाग़ लगाएर गर्नु पर्ने काममा सहयोग पुग्दछ ।

गायत्री मन्त्र जप्न तथा वेद तथा पुराणआदिको अध्ययन गर्नको लागि पनि उपनयन(जनै लगाउने) सँस्कार गर्नु पर्छ । उपनयनको अर्थ हो माथिल्लो नेत्र, हामीले दुई आँखाले संसार देखेजस्तै यदि हामीले माथिल्लो आँखा पनि खोल्यौँ भने हामीभित्रको संसारलाई पनि देख्न सक्छौँ भन्ने अर्थमा यसलाई उपनयन शब्दको प्रयोग गरिएको हो । यसकारण पनि यो सँस्कार ब्रह्मकर्म गर्नको लागि अति महत्वपूर्ण मानिन्छ । र यो चाड पनि हामीले अत्यन्त गर्वका साथ मनाउनु पर्दछ ।


     त्यस्तै रक्षाबन्धन(तीन सराभन्दा बढी भएको धागोलाई विभिन्न रंगले रंग्याइएको डोरा) लाई वैदिक मन्त्रहरुले मन्त्रेर …”येनबद्धो बलीराजा दानबेन्द्रो महाबलः तेन त्वां प्रतिबध्नामि रक्षे माचल मा चल “।। भन्ने मन्त्र उच्चारण गरी दाहिने हातको नाडीमा बाँधिन्छ । यसो गर्नाले आफ्नो रक्षा हुने, बल वृद्धि हुने र पुण्यप्रदायक मानिने जनविश्वास छ । अर्थात् सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जस्ले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैगरी म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ- भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ। यसका साथै यो दिन विभिन्न मिष्ठान्न परिकारहरु बनाई खाने गरिन्छ । विशेष गरी नेवार समुदायबाट सुरु गरिएको क्वाँटी(नौ प्रकारको गेडागुडी) खाने चलन अरु समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ। यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने विश्वास गरिन्छ। नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ । यस दिन बाँधिएको डोरालाई ३ महिनापछि लक्ष्मीपूजाको दिन फुकाई गाईको पुच्छरमा बाँध्ने गरिन्छ, यसो गर्नाले मरेपछि वैतरणी नाम गरेको नदी पार गर्न तिनै गाईले सहयोग गर्नेछिन् भन्ने कुराको विश्वास गरिन्छ ।
पौराणिक कथनअनुसार यसै दिन महाराज इन्द्रले बृहस्पति गुरुको सल्लाह लिई भगवान विष्णुको आराधना गरे भने भगवान विष्णुले बलीराजा दानवको घमण्डलाई नाश गरी पाताल लोकमा राज्य गर म तिम्रै साथमा रहनेछु भनी बाचाबन्धन गरेकाले यसैको विजयोत्सवस्वरुप यो पर्व मनाउँदै आएको पाईन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्मस्थितिमा अचल भएर पवित्रताको पालन गर्नु हो, यसै कारण हामीहरुले अहिलेसम्म हामीहरु जहाँ भए पनि यो पर्व मनाउँदै आइरहेका छौं र भविष्यमा पनि हाम्रा सन्ततिहरुले मनाउँदै जानेछन् भन्ने कामना गर्दछु ।

रक्षाबन्धन तथा जनैपूर्णिमाको शुभकामना ! 

लेखक खनाल  11 बर्षदेखि डिसी, भर्जिनिया तथा मेरिल्यान्ड क्षेत्रलगयत अमेरिकाका बिभिन्न स्थानमामा कर्मकान्ड तथा ज्योतिष पेशामा समर्पित हुनुहुन्छ ।
नोट : डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा बिगतका 9 वर्षहरुमा जस्तै यस वर्ष पनि यही अगस्ट 15 तारिख 2019, बिहीवार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम राखिएको हुँदा यहाँहरु सबैलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा लागि हार्दिक निमन्त्रणा टक्र्याउदछौ । अमेरिकाको पूर्वीय भुभागमा बस्नु हुने तथा यस क्षेत्रमा आउनु हुने सबै भक्तजन्हरुलाई डिसी नेपाली समाज, अमेरिकाको निमन्त्रणा
जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटीको पनि व्यबस्था गरिएको छ ।
Address : 8400 Durga place, Fairfax station, VA 22039 USA
Date : August 15, 2019 Thursday
Time : 7:00 AM To 7:00 PM For More Details: 703-870-6480 or 703-909-7123

ज्योतिष पण्डित राजेन्द्र खनाल तथा सम्पूर्ण डिसी नेपाली समाज परिवार 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.