सरस्वती पूजाको विशेषता र यसको महिमा Importants of Saraswati Pooja by Raj.

सरस्वती पूजाको महत्व र यसको महिमा        – ज्योतिष/ पण्डित राजेन्द्र खनाल
Saraswati pooja  February 05 2022 in US, Canada.
सरस्वती ज्ञान-विज्ञान, कला-शिल्प र संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमी,श्रीपन्चमी अर्थात् सरस्वती पूजाको दिनको रुपमा मनाइन्छ । माता सरस्वतीको जन्मोत्सवलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । वैदिक विधिपूर्वक पूजा गर्नाले विद्या, वाणी, प्रसिद्धि, सुस्वास्थ र दीर्घायुको  आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ ।
नेपाल , भारतलगायत  विश्वका धेरै देशहरुमा सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्छन् । विद्यालय जाने उमेर नभएका सबैजसो बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत मानिन्छ यस दिनलाई । साथै कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो आजको दिन ।
सरस्वती पूजा कुन दिन मनाईन्छ ?
माघ शुक्ल पंचमीको दिन मनाउने पर्वलाई बसन्त पंचमी, श्री पंचमी अर्थात् सरस्वती पूजा भन्ने गरिन्छ। यसै दिनदेखि ऋतुहरुको राजा बसन्त ऋतु सुरु हुन्छ। बसन्त ऋतुको आगमनको उपलक्ष्यमा बसन्त श्रवण गरिन्छ। हनुमानढोका दरबारमा राष्ट्राध्यक्षहरु सवारी भई पण्डितहरुद्वारा बसन्त श्रवण गर्ने परम्परा पनि रहेको छ। वैदिक युगदेखिनै कामदेव र रतिको पूजा गरेर मनाउने गरिएको बसन्त पंचमी आधुनिक कालमा काठमाडौँ हनुमान ढोकाको नासल चोकमा मनाइन्छ।
सरस्वतीको जन्मको बारेमा पुराणहरुमा लेखिएको प्रसंग यस्तो छ –
सनातन धर्मावलम्बीहरु ( हिन्दु, बौद्ध आदि)  विद्याकी देवी सरस्वतीको पूजा यसै दिनमा सम्पन्न गर्दछन्। सरस्वती ब्रह्माकी पुत्री हुन् । शिवको वरदानबाट सिद्धी प्राप्त गरेकी यिनलाई संगीत, कला, साहित्य र विद्याकी खानी मानिन्छ । माघ शुक्ल  पंचमीको दिनलाई सरस्वतीको जन्मजयन्तीको रुपमा  मनाईन्छ । नेपाललगायत अधिकांश देशहरुमा सरस्वतीको मन्दिर, पुस्तक, मूर्तिहरु स्थापना गरी पूजा, उपासना र स्तुति पाठ गरेर मनाइन्छ। सरस्वतीलाई महा विद्या, महावाणी, भारती, वाक्, शारदा, आर्य, भ्रामी, कामधेनुको नामले पनि सम्बोधन गरिन्छ। शास्त्रमा सरस्वतीको लक्षण श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराई रहने, सर्वोतम रत्नद्वारा निर्मित आभूषणले सुसोभित भएकी, एक हातमा विणा, एक हातमा पुस्तक, एकहातमा स्फटिक माला र एक हातमा अभय मुद्रामा रहेकी चतुर्भुजी राजहंसमाथि सवार भएकी भनेर बताइएको छ। खासगरी विद्यार्थीहरुले यो पर्वलाई महत्त्वका साथ मनाउँदै आएको पाईन्छ ।यो दिन विद्यार्थीहरु विद्यालय वा सरस्वतीका मन्दिरमा गई दर्शन र पूजा गर्दछन् । स-साना नानीहरुलाई अक्षर आरम्भ गराउने प्रचलन पनि यहि दिन रहेको छ। जो पढ्नमा अल्छी छन् उनीहरुको लागि पनि यो दिन पूजा गर्नाले ऊर्जा शक्ति प्राप्त हुन्छ ।  काठमाडौँ उपत्यका भित्र पशुपतिको जय बागेश्वरी, स्वयम्भुको सरस्वती, चाँगु नारायणको फर्पिङ्ग, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वतीको मन्दिरमा यस दिन दर्शनार्थीको भिड लाग्ने गर्दछ । लेलेमा सरस्वती कुण्ड र ज्ञान कुण्ड नाउँका दुई कुण्डहरु पनि छन्। विं.स ५२६ को शिलालेखमा लेले र सरस्वती कुण्डका बारेमा धेरै ठूलो उल्लेख भएको पाइन्छ। त्यस हिसाबले लिच्छवीकाल अघि नै लेलेले तीर्थको रूपमा ख्याती पाएको बुझिन्छ। त्यहाँको कुण्डमा स्नान गर्ने र कुण्डको जल तीन पटक पिउनाले बोल्न नजान्नेको पनि बोली फुट्ने र वाक्य शुद्ध हुने विश्वास गरिन्छ। बौद्ध धर्ममा पनि सरस्वतीलाई बोधिसत्ता मन्जुश्रीका रुपमा, ज्ञानको प्रतीकका रुपमा पूजा गरिन्छ। त्यसैले त्यस दिन सरस्वती र मन्जुश्रीको मन्दिरमा दर्शनार्थीको भिड लाग्दछ।
वैष्णवहरु  सरस्वतीलाई वैष्णवीको रुपमा पनि मान्दछन्। भक्तपुर स्थित हनुमन्ते खोलाको पूर्व भागमा एउटा देवाली गर्ने ठाउँ छ। त्यहाँको सानो मन्दिर भित्र एउटा मूर्ति छ। त्यसलाई चौरमा बस्ने सरस्वती भन्दछन्। ती सरस्वतीलाई लासाबाट ल्याएको भन्ने भनाइ पनि छ। तिनलाई निल सरस्वती भन्दछन् र बौद्ध मार्गीहरु मन्जुश्री भन्दछन्। लाजिम्पाटको गैरेधारामा निल सरस्वतीको ठुलो मन्दिर रहेको छ। त्यस मन्दिरमा सरस्वतीको पूजा अघिल्लो दिन मूर्तिमा तेल घस्न जाने विद्यार्थीहरुको भिड एकदम बढी लाग्दछ। श्री पंचमीका दिन पौराणिक कालमा भक्ति पूर्वक कलश स्थापना गरेर नैवेद्य चढाई गणेश, सूर्य, अग्नि विष्णु, शिव आदि देवताको पूजा गर्नुपर्छ। त्यसपछि सरस्वतीको पूजा गरी ताजा नौनी, दही, दुध, धानको लाभा, तिलको लड्डु, नरिवल, जल, मुला, वयर, बेल, अदुवा अर्पण गर्नु पर्दछ। सरस्वतीलाई स्वेत रंग प्रिय छ त्यसैले स्वेत पुष्प, स्वेत चन्दन, स्वेत वस्त्र, शंख आदि अर्पण गर्नुपर्छ। श्रीमद्देवीभागवतमा सरस्वतीको  अष्टाक्षरी मन्त्र र विश्वजय नामक कवचको बारेमा विशेष चर्चा गरिएको छ। “ॐ श्रीं ह्रीं सरस्वत्यै स्वाहा” यस अष्टाक्षरी मूल मन्त्रको जप गर्नाले सिद्धि प्राप्त हुन सक्ने कुराको पनि चर्चा गरिएको छ । यो मन्त्र विद्या, बुद्धि, सौभाग्य प्रदायक मन्त्र हो ।
सृष्टि निर्माणका समयमा सर्वप्रथम आदि शक्तिको प्रादुर्भाव भयो । देवी महालक्ष्मीको आह्वानमा त्रिदेव अर्थात शिव, विष्णु, ब्रम्हाजी उपस्थित भए । त्यसपछि देवी लक्ष्मीले तीन देवतालाई आ-आफ्नो गुण अनुसार देवी उत्पन्न गर्नका लागि स्तुति गरिन् । माता लक्ष्मीको प्रार्थना स्वीकार गरेर तिनै देवले आ-आफ्ना गुण अनुसार देवीको आह्वान गरे । सबैभन्दा पहिला भगवान शिवले तमोगुण महाकाली प्रकट गरे, भगवान विष्णुले रजोगुणवाट माता लक्ष्मीको र ब्रम्हाजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको आह्वान गरे ।
ब्रम्हाजीले सृष्टिको निर्माण गरेपछि जव आफुले बनाएको सृष्टिको मृत शरीरको भाँति शान्त वा स्वरविहीन  पाए,  तब ब्रम्हाजी उदास भए । उनले आफ्नो व्यथा विष्णुलाई भने । विष्णुले ब्रम्हालाई भने, उक्त समस्याको समाधान माता सरस्वतीले गर्न सक्छिन् । माता सरस्वतीले ब्रम्हाको अनुरोधमा जसरी वीणाको तारमा स्पर्श गरिन्, त्यसैगरी ‘सा’ शब्द प्रस्फू्टन भयो । यो शब्द संगीतको सप्तसुरमा प्रथम सुर मानिन्छ ।
यस ध्वनिले ब्रम्हाजीको मूक सृष्टिमा स्वरमय ध्वनिको संचार भयो । हावाको, सागरको, पशु पंक्षि एवं अन्य जीवको आवाज आउन थाल्यो । यसबाट ब्रम्हाजी प्रसन्न भएर सरस्वतीको वाणीलाई देवीको नामबाट सम्बोधन गर्दै वागेश्वरी नाम दिए ।
वसन्त ऋतुको आगमन
यो दिनदेखि वसन्त ऋतुको आगमन हुने भएकोले   यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्तको शाब्दिक अर्थ हो, मादकता । यस समयमा धर्तीमा उत्पादन क्षमता बढ्छ, रुख तथा वनस्पतिको नयाँ पालुवा पलाउँछ । वसन्त पाँच दिनअघि वसन्त ऋतु आरम्भ हुन्छ । यही यामलाई ऋतुहरुको पनि राजा भनिन्छ । वसन्त पञ्चमीमा कमदेव एवं रतिको  पूजा गरिन्छ । यसै दिन माता सरस्वतीको जन्मोत्सव पनि मनाइन्छ ।
पूजाविधि –
घर, विद्यालय, मन्दिर जहाँ पनि सरस्वती पूजा मनाउन सकिन्छ । पौराणिक कथनअनुसार सबैभन्दा अघि याज्ञवल्कले र श्रीकृष्णले सरस्वतीको पूजा र ध्यान गरेको प्रसंग पाईन्छ  । विशेष गरी स्नान, ध्यान गरेर माता सरस्वतीको तस्विर वा मूर्ति स्थापना गर्नुपर्छ । दीयो बालेपछि कलशस्थापित गरिन्छ र गणेशजी एवं नवग्रहको पनि विधिवत पूजा गरिन्छ ।
सरस्वती पूजा गर्दा सबैभन्दा पहिला उनलाई नुहाइदिने चलन छ । त्यसपछि माताको सिन्दुर र अन्य श्रृंगारको वस्तु चढाउने र फूलमाला चढाउने चलन छ । यससँगै सरस्वती कवचको पाठ गरिन्छ ।
‘ऊँ ऐं सरस्वत्यै नमः’ मन्त्रलाई एक सय आठपटक जप गरेर सरस्वतीको आरती गरिन्छ । सरस्वतीलाई मिश्री, दूध, दही, तुलसी, मह मिलाएर पञ्चामृतको प्रसाद बनाएर चढाउने प्रचलन छ । यसका साथमा खिरको प्रसाद अर्पण गर्ने गरिन्छ । अन्तिममा आरती गरेपछि पुष्पान्जलीमा यी तलका स्तोत्रहरु पाठ गर्नु पर्दछ ।
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः।
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती !!
सृष्टि –
           विभिन्न किंवदन्ति अनुसार सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरुको सृष्टि गर्नु भयो जसमा विशेषत मनुष्य योनीको रचना गरिसकेपछि पनि भगवान ब्रह्मा खुशी हुनु भएन र वहाँलाई केही कुराहरुको कमी भएको भान भयो र फेरी विष्णुको अनुमति लिएर वहाँले आफ्नो कमण्डलुबाट जल पृथ्वीमा छर्नु भयो, पृथ्वीमा जलकण छर्ने बित्तिकै कंपन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । त्यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको स्वरूप निस्क्यो। एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भनी नामाकरण गर्नु भयो । सरस्वतीलाई बागीश्वरी, भगवती, शारदा, वीणावादनी, वाग्देवी, सरस्वती, शारदा, जगत्माता,  कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नामहरूले पूजा गरिन्छ । यिनी विद्या र बुद्धि प्रदातृ मानिन्छिन् । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजा अर्चना गरी मनाइन्छ ।
            श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ। जीवनलाई शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ। काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी भनौँ वसन्त पञ्चमी नै हो ।
        वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । सरस्वतीको रूपमा यिनी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरूकी संरक्षिका हुन्। हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नैं हुन् । यिनको समृद्धि र स्वरूपको वैभव अद्भुत छ । उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन् ।  सबैभन्दा उत्तम धन भनेको विद्या नै हो । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।
            विद्याकी देवी सरस्वतीलाई विभिन्न व्यक्तिहरुले विभिन्न तवरले पूजा अर्चना गर्ने प्रचलन छ । बौद्धधर्मीहरूले उनलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् ।  बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य शुभकार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आ आफ्ना  पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् ।
तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ । मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ। सरस्वतीको सेवाले व्यक्ति हरेक क्षेत्रमा सफल हुने मान्यता रहिआएको छ ।

श्लोक -भजन – गीत

रवि-रुद्र-पितामह-विष्णु-नुतं, हरि-चन्दन-कुंकुम-पंक-युतम्!

मुनि-वृन्द-गजेन्द्र-समान-युतं, तव नौमि सरस्वति! पाद-युगम्॥1॥

शशि-शुद्ध-सुधा-हिम-धाम-युतं, शरदम्बर-बिम्ब-समान-करम्।

बहु-रत्न-मनोहर-कान्ति-युतं, तव नौमि सरस्वति! पाद-युगम्॥2॥

कनकाब्ज-विभूषित-भीति-युतं, भव-भाव-विभावित-भिन्न-पदम्।

प्रभु-चित्त-समाहित-साधु-पदं, तव नौमि सरस्वति! पाद-युगम्॥3॥

मति-हीन-जनाश्रय-पारमिदं, सकलागम-भाषित-भिन्न-पदम्।

परि-पूरित-विशवमनेक-भवं, तव नौमि सरस्वति! पाद-युगम्॥4॥

सुर-मौलि-मणि-द्युति-शुभ्र-करं, विषयादि-महा-भय-वर्ण-हरम्।

निज-कान्ति-विलायित-चन्द्र-शिवं, तव नौमि सरस्वति! पाद-युगम्॥5॥

भव-सागर-मज्जन-भीति-नुतं, प्रति-पादित-सन्तति-कारमिदम्।

विमलादिक-शुद्ध-विशुद्ध-पदं, तव नौमि सरस्वति! पाद-युगम्॥6॥

परिपूर्ण-मनोरथ-धाम-निधिं, परमार्थ-विचार-विवेक-विधिम्।

सुर-योषित-सेवित-पाद-तमं, तव नौमि सरस्वति! पाद-युगम्॥7॥

गुणनैक-कुल-स्थिति-भीति-पदं, गुण-गौरव-गर्वित-सत्य-पदम्।

कमलोदर-कोमल-पाद-तलं,तव नौमि सरस्वति! पाद-युगम्॥8॥

शुक्लां ब्रह्म-विचार-सार-परमां आद्यां जगद्-व्यापिनीम्।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्।।

हस्ते स्फाटिक-मालिकां विदधतीं पद्मासने संस्थिताम्।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धि-प्रदां शारदाम्।।१
या कुन्देन्दु-तुषार-हार-धवला या शुभ्र-वस्त्रावृता,
या वीणा वर-दण्ड-मण्डित-करा या श्वेत-पद्मासना।
या ब्रह्माऽच्युत-शंकर-प्रभृतिभिर्देवैः सदा सेविता,
सा मां पातु सरस्वती भगवती निःशेष-जाड्यापहा।।२

ह्रीं ह्रीं ह्रीं हृद्यैक-बीजे शशि-रुचि-कमले कल-विसृष्ट-शोभे,
भव्ये भव्यानुकूले कुमति-वन-दवे विश्व-वन्द्यांघ्रि-पद्मे।
पद्मे पद्मोपविष्टे प्रणत-जनो मोद सम्पादयित्री,
प्रोत्फुल्ल-ज्ञान-कूटे हरि-निज-दयिते देवि! संसार तारे।।३
ऐं ऐं दृष्ट-मन्त्रे कमल-भव-मुखाम्भोज-भूत-स्वरुपे,
रुपारुप-प्रकाशे सकल-गुण-मये निर्गुणे निर्विकारे।
न स्थूले नैव सूक्ष्मेऽप्यविदित-विभवे नापि विज्ञान-तत्त्वे,
विश्वे विश्वान्तराले सुर-वर-नमिते निष्कले नित्य-शुद्धे।।४

।।फल-श्रुति।।
इदं स्तोत्रं महा-पुण्यं, ब्रह्मणा परिकीर्तितं। यः पठेत् प्रातरुत्थाय, तस्य कण्ठे सरस्वती।।
त्रिसंध्यं यो जपेन्नित्यं, जले वापि स्थले स्थितः। पाठ-मात्रे भवेत् प्राज्ञो, ब्रह्म-निष्ठो पुनः पुनः।।
हृदय-कमल-मध्ये, दीप-वद् वेद-सारे। प्रणव-मयमतर्क्यं, योगिभिः ध्यान-गम्यकम्।।
हरि-गुरु-शिव-योगं, सर्व-भूतस्थमेकम्। सकृदपि मनसा वै, ध्यायेद् यः सः भवेन्मुक्त।।

सरस्वती आराधनाको सिद्धान्त
 आजको दिनले सबै शिक्षित हुनुपर्छ भन्ने प्रेरणा दिन्छ | यो संस्कृति जताततै फैलियोस् अर्थात् विश्वभरीका मान्छेले सरस्वती पूजा भनेको आफ्ना बालबालिकालाई अनिवार्य शिक्षा दिनुपर्छ भन्ने आन्दोलन हो भनेर बुझुन् |
सरस्वती  “सरस तथा  वती” ई दूईवटा शब्द मिलेर बनेको छ जसको अर्थ प्रवाहशीतलयुक्त भन्ने हुन्छ |  विद्यावान हुनुको अर्थ  परिवर्तन, निरन्तरता तथा रसिलो पन हो | विद्याले प्रगति हुन्छ -अर्थात् यथास्थितिको अन्त्य हुन्छ | धेरैजसो अनपढ मान्छेहरूको जीवन एकरस हुन्छ तर ज्ञानी हुँदैनन् भन्न मिल्दैन | सरस्वतीको प्रतिकात्मक अर्थ हो – चरैवेति चरैवेति अर्थात् निरन्तर क्रियाशील रह |
देवी सरस्वतीको पोशाक सेतो छ | सेतो कुनै रङ्ग होइन | यो शुद्धताको प्रतिक हो | बालबालिको मस्तिष्क शुद्ध हुन्छ  |  देवी सरस्वतीको सेतो पोशाक बालबालिका निर्दोष मन हो | देवी सरस्वती निर्दोष बालबालिका की बुद्धि हुन् | त्यो निर्दोष बुद्धिमा जे-जस्तो पस्क्यो, बालबालिका उस्तै बन्छन् |
देवी सरस्वतीको हातमा माला छ | मालाको अर्थ हो – धेरै विद्याहरू छन् | ती सबै विद्याहरू सिक्ने सम्भावना मान्छेमा हुन्छ | तर माला जपेझैं अत्यन्त एकाग्रतापूर्वक बडो मेहतन गरेर सिक्नुपर्छ पर्छ | जसरी माला वारम्वार जपिन्छ तेसै गरी विद्या पनि दोहोराएर तेहेर्ययेर मात्र आउँछ | अभ्यास नगरे विद्या पनि विषसरह नै हुन्छ |
देवी सरस्वतीको हातमा विणा छ | विणाले वालबालिकालाई मनोरन्जनात्मक तवरले कोमलता पूर्वक पढाउने प्रेरणा दिन्छ | विणाका तारहरू जटील हुन्छन् | स्वर तालको ज्ञान नभएकाले विणा ठीक-ठीक बजाउन सक्दैन | तेसरी नै पढाउने शिक्षक-शिक्षिकामा कोमलता पूर्वज जटिल विषयहरू बुझाउने कला हुनुपर्छ | कलाकारले मात्र वीणा बजाउँदा अरू मोहित हुन्छन् | सरसता र कला यी शिक्षक/शिक्षिकाका अनिवार्य सम्पदा हुन् |
देवी सरस्वतीका चारबटा हात छन् | विद्या सिक्नका लागि चारैवर्णलाई समान अधिकार छ त विद्याको स्रोत चारै दिशा हुन्छ | पूर्व, पश्चिम, उत्तर, दक्षिणबाट चारैवर्णका मानिसले चारैवेद अर्थात् इतिहास, जीवनकला, गायन तथा विज्ञान (ऋग्वेद, यजुर्वेद, सामवेद तथा अर्थववेद) प्राप्त गर्नु पर्छ |
सरस्वती देवीको हातमा पुस्तक छ | पुस्तक को अर्थ हो – हरेक मान्छेले आफुले पढेको विद्या संस्थागत गरेर पुस्तान्तरणको ब्यबस्था गर्नुपर्छ |  प्राचीन समयमा विद्याको स्रोत श्रुति र स्मृति थिए  |  आफुले सिकेको विद्या पुस्तान्तरण गर्ने अर्को जन्ममा ब्रहम राक्षस हुन्छन् भनेर शास्त्रले बताएकोछ |
देवी सरस्वतीको वाहन हंस अर्थात् हाँस हो | हाँसले पानीमा मिसाएको दूध छानेर खान सक्छ | हाँस अर्थात् विज्ञताको सूचक हो | मान्छेले जतिसुकै पढे पनि एउटा विषयमा विज्ञता प्राप्त गरेको हुनुपर्छ |  एउटा कुनै विधामा विज्ञता प्राप्त गरेपछि तेसमा सवार भएर सजिलै जीवन चलाउन सकिन्छ |
पढ्नुको तात्पर्य केवल भौतिक सुखसुविधा प्राप्त गर्नुमात्रै हुँदैन | यो संसार मात्रै होइन हाम्रो आफ्नो जीवन पनि विनाशवान् छ | तेसैले कमलको फुलमा पनि टिक्न नसकेझैं संसारको भोग गर्दागर्दै पनि एससंग  निरपेक्ष रहेर मोक्षको साधना गर्नुपर्छ | संसारका सुखमा मरिहत्ते गर्नेहरू मानसिक रूपमा सधैं अशान्त तथा अस्थीर हुन्छन् | कमलको फूलले पढेलेखेपछि संसारमा  बढी अल्मलिनु हुँदैन भन्ने संदेश दिन्छ |
देवी सरस्वती विद्या, ज्ञान, बुद्धि तथा विवेककी प्रतिक वैदिक देवी हुन् | जव सरस्वती आफैमा महिला रूपमा छिन् भने महिलाका लागि विद्याको ढोका पुरुषभन्दा पहिले खोलिएको हो | आफ्ना छोरी, नातिनी नपढाउनेहरू अधर्मी हुन् ।
देवी सरस्वती हामीहरूले पढ्नु/पढाउनु पर्ने प्रेरणा हुन् | वेदमा देवी सरस्वतीको उपस्थितिले हामी सनातन धर्मीहरू अमृतका सन्तान हौँ भन्ने प्रमाणित हुन्छ | एस्ता अमृतका सन्ततिहरू अनपढ हुनुभनेको पाप हो, अपराध हो |
सरकार होस् वा नागरिक शिक्षाका सवालमा विदेशीको नक्कल छोडेर आफ्नै मौलिकता अङ्गीकार गर्दै बालबालिकालाई शिक्षा ब्यबस्था गर्नुपर्छ |
अन्त्यमा, विद्या दान सर्वोत्तम दान हो | विद्यालाई नितान्त कमाइखाने भाँडो मात्र बनाउन उचित हुँदैन | आज पनि धेरै गुरूहरूले निशुल्क विद्यादान गरिरहनुभएको छ | उहाँबाट सिकौं | देवी सरस्वतीको नाम जप्न भन्दा पहिला उहाँको नाम पढ्न र लेख्न सक्ने क्षमताको विकास गरौँ |

Vasanta Panchami marks the birth of Goddess Saraswati. Hence, Special puja in her praise is conducted on this day.  starting day of study. This year  Saraswati pooja in USA Feruary 05,2022, In Nepal and India Feruary 6th 2022. 

भारती= महाभारतमा जन्मिएकी  power of luck

सरस्वती=   गंगा जस्तै सफा      power of knowledge

शारदा देवी =     गायत्री power of wisdom

हंसवाहिनी = हाँस माथि बसेकी   power of skill

जगन्माता = संसारकी आमा      power of the world

वागीश्वरी  = बाग्देवी              power of attorney

कौमारी  = कन्या               power of a woman (Variety)

वरदायिनी = वर्दान् दिन सक्ने  power of giving (blessing)

बुद्धिदात्री  = बुद्दी दिने             power of intellect

ब्रह्मचारिणी = ब्रह्मचर्यमा  रहने Power of personality

चन्द्रघण्टा  = शितल देवी        power of Dedication

भुवनेश्वरी  = पृथ्वीको मालिक्नी  power of philanthropic

नोट ः यसपाली अमेरिका र क्यानडामा फेब्रुअरी १३ तारिख मंगलवार   नै सरस्वती पूजा । धन्यवाद ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.