नेपाली अमेरिकन सामुदायिक केन्द्र र जीवन विज्ञान प्रतिष्ठानको संयोजनमा अमेरिकामा स्वसंवाद शिविर सम्पन्न

September 23, 2020
शिव लामिछाने, भर्जिनिया ।
नेपाली अमेरिकन सामुदायिक केन्द्र र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा अमेरिकामा स्वसंवाद विज्ञान साधना विषयक जीवन विकास सम्बन्धी प्रयोगात्मक अभ्यासको नौदिने सत्र यही सेप्टेम्बर २३ मा सम्पन्न भएको छ ।

अमेरिकाको पूर्वी समयअनुसार सेप्टेम्बर १५ को विहान ५ देखि ६:३० सम्म दैनिक रुपमा सञ्चालन भएको सो सत्रमा ४१ जना सहभागीहरुलाई जीवनविज्ञान प्रतिष्ठान नेपालका संस्थापक परम दिव्य प्रकाशप्राप्त गुरुद्वय रमेश नेपाल तथा एल. पी. भानु शर्माले योग,प्राणायाम र ध्यानको प्रयोगात्मक कक्षामा प्रशिक्षण दिनुभयो । अधिकांश सहभागीहरु नेपाली अमेरिकन सामुदायिक केन्द्रका पदाधिकारी तथा केही जीवन विज्ञानसम्बद्ध व्यक्तिहरु प्रशिक्षण सत्रमा सहभागी हुनुहुन्थ्यो ।

योगाभ्यास, प्राणायाम र ध्यानका माध्यमबाट व्यक्तिले कसरी आफू भित्रको असली चाहनालाई थाहा पाउन सक्छ र जीवनमा आई पर्ने समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बोध गराउँदै साधकलाई मन, चेतना र आत्मा हुँदै परमात्मासम्म साक्षात्कार गराउने साधनाको गहिराइसम्म पुर्याउने यस जीवन विज्ञानले व्यक्ति, परिवार, समाज र राष्ट्र हुँदै विश्वसमुदायलाई रुपान्तरण गर्न सक्ने कुरा जीवन विकास विशेषज्ञ एवं आध्यात्मिक गुरु रमेश नेपालले बताउनुभयो ।

वहाँले जीवन विज्ञान अमेरिकामा रहेको नेपालीहरुको संस्था न्याक सँगै कार्यक्रम गर्न पाएकोमा जीवन विज्ञान प्रतिष्ठानले आफ्नो परिवार विस्तार भएकाले गौरव महसुस गरेको बताउनु भयो । वहाँले जीवन विज्ञानका साधना र प्रयोगबारे अमेरिकामा प्रचार प्रसार गर्ने सबैलाई धन्यवाद दिनु भयो । समापन सत्रमा बोल्दै नेपालका सर्वाधिक उत्प्रेरक वक्ता एवं अर्का दिव्य प्रकाश प्राप्त आध्यात्मिक गुरु एल पी भानु शर्माले असल गुरुको काम हात समातेर छाड्ने होइन, साधकलाई परमेश्वरसँग साक्षात्कार गराएर मात्र छाड्ने हो भन्नुभयो । जीवनको सबैभन्दा ठूलो पूँजी समय र खुसी हो भन्नु हुँदै वहाँले समयको महत्वलाई गम्भीर रुपमा लिएर खुसीलाई आफूभित्रबाट प्रकट गरी आफैँ खुसीले प्रकाशित हुँदै परिवार, समाज हुँदै विश्वलाई परिवर्तन गर्ने अभियानमा लागेपछि मात्र समाजबाट बेचैनी र निराशा तथा विकृतिको तुँवालो हटाउन सकिने कुरा गुरु भानु शर्माले बताउनुभयो ।

जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षकहरु निर्मला केसी, गीता मैनाली तथा माला महत टेक्सास तथा क्यान्सस राज्यबाट पूरै प्रशिक्षण अबधिभरि नै सहभागी हुनुभयो । स्वसंवाद विज्ञान साधना सत्रमा दधि ढुंगाना, रमेश ढकाल, दीपा ढकाल, सूर्य पौडेल, धना पौडेल, तोया पौडेल, कमला पौडेल, डा. कल्पना सत्याल, पुरु सुवेदी, कल्पना सुवेदी, अर्जुन सिग्देल, आरती सिग्देल, रोम ज्ञवाली, सरु ज्ञवाली, मधु पन्थी, मीना पन्थी, कमला खरेल, शिव लामिछाने, परशुराम भडारी, यशोदा भण्डारी, गोपाल रेग्मी, शान्ति रेग्मी, तनुजा पोखरेल, देबेन्द्र अधिकारी, दिलिप नेपाल, सुनिता सुवेदी, सुनिता खत्री, उत्तम गौतम, अञ्जली ढकाल, लक्ष्मी रेग्मी, शोभा सुवेदी, नीरा शर्मा, राजेन्द्र खनाल, प्रेम संग्रौला, भरत रेग्मी, देवी न्यौपाने, मीना भट्टराई, सुशीला रेग्मी, सीता ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।


स्वसंवाद सत्र नेपाली अमेरिकन सामुदायिक केन्द्रले जीवन विज्ञान प्रतिष्ठान नेपालसँग मिलेर नियमित कार्यक्रम गर्ने क्रममा यस्तो प्रकृतिको यो पहिलो प्रशिक्षण सत्र भएको कुरा न्याकको सामुदायिक कल्याण कार्यक्रमकी संयोजक डा. कल्पना सत्यालले जानकारी गराउनु भयो । कोभिड १९ का कारण नेपाली समुदायमा भइरहेको एक मानसिक तनाब र अन्योलको पीडाबाट मुक्त गर्न हरेक हप्ता विभिन्न क्षेत्रमा दक्षता पाएका विज्ञ व्यक्तिहरुलाई निमन्त्रणा गरी गएको जुलाई महिनादेखि हरेक हप्ता जुम र फेस बुक लाइभका माध्यमबाट प्रस्तुत गर्दै आएको पनि वहाँले बताउनुभयो । समापन समारोहमा न्याकका आइबिओटी सदस्य गोपाल रेग्मीले न्याकको स्थापनाका उद्देश्यमाथि प्रकाश पार्नुभयो ।

सहभागीहरुका तर्फबाट रोम ज्ञवाली, दीपा न्योपाने, दिलिप नेपाल, तोया पौडेल, नीरा शर्मा, मीना पन्थी, यशोदा भण्डारी, परशुराम भण्डारीलगायतका वक्ताहरुले मानवजीवनमा आइपर्ने तनाव र शारीरिक पीडाको सहज निराकरणका लागि जीवन विज्ञानको साधना र अभ्यास निकै उपयोगी र व्यावहारिक भएको आफूलाई अनुभव भएको बताउनुभयो । साथै वहाँहरुले आयोजक संस्था न्याकलाई धन्यवाद ज्ञापन गर्नुभयो । अर्का आइबिओटी सदस्य शिव लामिछानेले यस सत्रअवधिभर विभिन्न रुपमा सहयोगी भूमिका गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

दोस्रो समूहमा रहेर स्वसंवाद साधना गर्न चाहने व्यक्तिहरुले न्याकमा सम्पर्क गर्नका लागि पनि समापन कार्यक्रमा आह्वान गरियो । साथै पहिलो सत्र पूरा गरेका सबै सहभागीहरुले गुरुहरुको निर्देशनअनुसार २१ दिन स्वसाधना गर्नुपर्नेछ र एक दिन गुरुहरुको उपस्थितिमा अनुगमन सत्र सञ्चालन हुनेछ । यसपछि जीवन विज्ञानको पाठ्यक्रमअनुसार यस समूहले “दिव्य संवाद विज्ञान साधना” सत्रमा प्रवेश गर्नेछ ।

जीवन विज्ञान स्थापना भएको एघार वर्षमा पहिलो पटक नेपाल बाहिर यसरी एक विधामा प्रशिक्षण भएको र जुमबाट पनि यस्तो निश्चित विधामा बन्द सत्र पहिलो पटक भएको कुरा जीवन विज्ञान प्रतिष्ठान नेपालले जनाएको छ ।

यो स्वसंवाद कार्यक्रम सफल पार्नका लागि डा. कल्पना सत्याल, दधि ढुंगाना, शिव लामिछाने, परशुराम भन्डारी, पुरु सुवेदी, गोपाल रेग्मी, सुनिता सुवेदी, मधु पन्थी आदि सहयोगीहरुले महत्वपूर्ण भूमिका निर्बाह गर्नुभएको थियो । सहभागीहरुले गुरुदक्षिणास्वरुप जीवन विज्ञान प्रतिष्ठानलाई यथाशक्य अनुदान उपलब्ध गराउनु भएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.