डिसी मेट्रो सप्ताह 2019 ऐतिहासिक रुपमा सम्पन्न, २ मिलियन डलर संकलन

वासिङ्गटन डिसी (अमेरिका) – June 30 2019- डिसी मेट्रो सप्ताह 2019 ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।  डिसी मेट्रो सप्ताहबाट सामुदायिक केन्द्र निर्माणका लागि २० लाख ३४ हजार डलर संकलन भएको छ । यो रक़म अहिलेसम्मकै सबैभन्दा बढी भएको कुरा वाचनप्रवीण  दिनबन्धु पोखरेलले बताउनु भयो ।
यो रकम जम्मा ८ सय २० जना दाताहरुबाट जुटेको हो ।सप्ताहमा यसरी उठेको दान रकम अमेरिकी तथा नेपाली इतिहासमा सबै भन्दा ठूलो भएको बताइएको छ । डिसी मेट्रो सप्ताहको आयोजना सो स्थानमा सामुदायिक भवन बनाउन सहयोग जुटाउने उद्देश्यले भर्खरै स्थापित संस्था नेपाल अमेरिका सामुदायिक केन्द्र (एनएसीसी) द्वारा गरिएको थियो ।
सप्ताहको अन्तिम दिन शनिबार उत्तर–भर्जिनियाको मनासस क्षेत्रमा सक्रिय रहेको संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएसएच)ले शुरू गरेको मन्दिर निर्माणको प्रोजेक्टलाई पनि नेपाल अमेरिका सामुदायिक केन्द्र (एनएसीसी) मा समाहित गरेको घोषणा गरिएको थियो ।
एएनएसएचले केही महिना अघि मन्दिर बनाउनको लागि स्थानीय हेमार्केटमा २ लाख २३ हजार डलर लगानी गरी छिन्तीमा जमीन खरीद गरेको थियो । अब डिसी मेट्रो क्षेत्रमा नेपाली सामुदायिक भवन र मन्दिर एकै ठाउँमा बन्नेमा समुदाय ढुक्क भएका छन् ।
सप्ताहका मुख्य आकर्षणको रुपमा पुराणवाचक दीनबन्धु पोखरेलले सात दिनको सप्ताह बाचन गर्नुको साथै भक्तजनहरुलाई आशिर्वचन र टीका प्रदान गरिदिनु भएको थियो भने उपवाचकका रुपमा स्थानीय गुरु लोकप्रिय ज्योतिष पण्डित राजेन्द्र खनाल हुनुहुन्थ्यो जसले यो सप्ताह गर्नका लागि पहिलो प्रस्ताव गरी सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कृष्णप्रसाद खनाललगायत अन्य गुरुहरुको पनि सहभागिता रहेको थियो ।
डिसी मेट्रो सप्ताहलाई ऐतिहासिक बनाउनका लागि सक्रिय भूमिका खेल्नुहुने सेन्टरभिल निवासी ददि ढुंगाना, मनासस निवासी गोपाल रेग्मी र हर्नडन निवासी मदन उप्रेती तथा स्वयंसेवक चन्द्र लामाको भूमिका उल्लेखनीय रुपमा रह्यो ।
महापुराण आयोजनाका संयोजक अरूण रुपाखेती र अजिता रुपाखेतीले ५५ हजार ५सय ५५ डलर दिनु भएको थियो । इन्जिनियर एवं अमेरिकी निर्माण ब्यवसायी प्रेम भण्डारी तथा भवानी भण्डारीले ५० हजार डलर सहित  नेपाल अमेरिका सामुदायिक केन्द्र एनएसीसीको संरक्षक बन्नुभएको छ ।
भर्जिनिया फेयरफ्याक्स क्षेत्रमा ब्यबसाय गर्दैआउनु भएका हरि अधिकारी दम्पत्तिले ४० हजारको सहयोग गरेर नेपाल अमेरिका सामुदायिक केन्द्र एनएसीसीको पहिलो संस्थापक संरक्षक बन्नु भएको थियो ।
त्यसै गरी डा. मदन उप्रेती र अनामिका उप्रेती, मधुसुधन पन्थी र मीना पन्थी, पुरू सुवेदी र कल्पना सुवेदी, मेदिनी अधिकारी र अन्जु काफ्ले, हरिशर्मा र सावित्रा शर्मा, गोविन्द प्रसाद मैनाली र मन्दिरा मैनाली, वासु सत्याल र कल्पना सत्याल एवं राजीव मैनाली र सुनन्दा मैनालीको जोडी पनि ४० हजार डलर बराबरको दान गरेर एनएसीसीको संरक्षक बन्नु भएको छ ।
महापुराणको दौरानमा जम्मा १० जना संस्थापक संरक्षक, पाँच सय ८ संस्थापक लाइफ मेम्बर, एक सय ४६ संस्थापक ट्रष्टी मेम्बर, २९ जना संस्थापक बेनेफ्याक्टर मेम्बर, ८ जना संस्थापक प्लाटिनम मेम्बर र १ सय १९ एनएसीसीको वार्षिक सदस्य बनेका छन् ।
सप्ताह सकिए पनि यही माहोलमा विविध कारणले छुटेका परिवारलाई जोड्नका लागि घरदैलो कार्यक्रम राखेको हुनाले यसबाट पनि अर्को १० लाख डलर उठ्नसक्ने देखिन्छ ।
सामुदायिक भवन निर्माणको  यस प्रयासमा डिसी मेट्रो निवासी बिभिन्न पेशा र क्षेत्रमा रहेका नेपालीहरू एकजुट भएर लागेका थिए । यससँगै थप चुनौती पनि थपिएको छ डिसी मेट्रोवासीलाई -किनकि पहिलो नेतृत्वले जग्गा ख़रिद गर्नेदेखि भवन निर्माण गर्नेसम्मको काम सकिसक्नुपर्नेछ ।
आफ्नो धर्म तथा सँस्कृतिको संरक्षणार्थ बनाउन लागिएको सामुदायिक तथा साँस्कृतिक भवनको परियोजना सप्ताहको माध्यमले अगाडि बढेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.