धर्म, सँस्कार र पूजामा के फरक छ ?

                         

 धर्म, सँस्कार र पूजामा के फरक छ ?

        ज्योतिष / पण्डित : राजेन्द्र खनाल

 

समयको गतिसँगै अहिले धेरै मानिसहरु तन्त्र, मन्त्र, जप, ध्यान, पूजा पाठमा भन्दा बढी यन्त्रमा जोड दिइरहेका छन् । जसलाई हामी यान्त्रिक पद्धतिको अनुशरण भन्न सक्छौँ । यन्त्रले मानिसलाई सुविधासम्पन्न बनाउन सक्छ तर सुखी बनाउन सक्दैन । सुख प्राप्त गर्नका लागि मानिस सम्पत्ति, धन, दौलत, यान्त्रिक सुविधा आदिमा समय खर्चिरहेको हुन्छ । तर यस्ता चिजहरुबाट उसले क्षणिक सुख पाए पनि वास्तविक सुख र शान्ति प्राप्त गर्न सकेको हुंदैन । यसको लागि हाम्रा शास्त्र, धर्म, परम्पराले बताए अनुसारको आध्यात्मिक बाटो नै उपयुक्त र स्थायी हुने कुरा प्रमाणित भइसकेको छ । हाम्रा पूर्वीय धर्म ग्रन्थहरु मानिसलाई कसरी सुख, स्वास्थ्य र शान्ति दिलाउन सकिन्छ भन्ने विषयमा नै केन्द्रित भएको पाइन्छ । हरेक पुराण तथा स्मृति ग्रन्थहरुमा मानिसले सुख तथा शान्ति  प्राप्त गर्नका लागि आवश्यक साधना (पूर्वाधार) धर्म, अर्थ, काम र मोक्षको साधनाका बारेमा चर्चा गरिएको पाइन्छ । यिनै चर्चाहरुको सारको रुपमा धर्म, संस्कार तथा पूजाको बारेमा छोटकरी जानकारी राख्ने कोशिस गरिएको छ ।

 

                                धर्म के हो ?

धर्मको परिभाषा –

धृ धातु मा मन्  प्रत्यय गासिएर बनेको धर्म शब्दले धारण गर्नु भन्ने अर्थ जनाउँछ । अर्थात् क्षमा, दया, माया, करुणा, सेवा, सद्भाव र अनुशासनलाई धर्म मान्न सकिन्छ । राग र द्वेषबाट मुक्त विद्वानहरुको सदाचारलाई पनि धर्म भन्न सकिन्छ किनकि यो अनुशरण(धारण) गर्न योग्य हुन्छ । यसैले भनिएको छ-

अष्टादश पुराणानि व्यासस्य वचनद्वयम्  । परोपकाराय पुण्याय पापाय पर पीड़नम् ।

वास्तवमा धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । भलो गर्नु, उपकार गर्नु, सामाजिक संरचनाहरुमा सहयोग जुटाउनु, विभिन्न कारणले असहज भएकाहरुलाई सहयोग गर्नु नै धर्म हो । पाप भनेको अरुको कुभलो गर्नु, सामाजिक संरचनाहरु नष्ट गर्नु, व्यक्ति समाजलाई पीडा हुने जस्ता कुरा गर्नु पाप हो ।

‘धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षित’ अर्थात् धर्मको नाश भयो भने हाम्रो पनि नाश हुन्छ र धर्मको रक्षा भयो भने हाम्रो पनि रक्षा हुन्छ भनिएको छ । धर्म विना मानिसको जीवन व्यर्थ छ भनेर पनि धेरै ठाउँमा भनिएको छ –

                                                                         आहार निद्रा भय मैथुनं च

सामान्यमेतत् पशुभिर्नराणाम् ।

धर्मो हि तेषामधिको विशेष:

धर्मेण हीनाः पशुभिः समानाः ॥

यस श्लोकमा भनिएको छ आहार, निद्रा, भय र मैथुन यी चार वटा मात्र काम गर्ने हो भने मानिस र पशुमा कुनै फरक छैन यसकारण अत मनुश्यले धर्म गर्नु पर्दछ  । हाम्रो यस धर्मलाई सनातन धर्म भनिन्छ । सधैंभरि रहिरहने भएकोले यसलाई सनातन भनिएको हो । शुरुमा वाक्वाणिद्धारा प्राप्त भएकोले यसलाई वैदिक सनातन धर्म भनिन्छ । अहिले वेद भन्नासाथ संसारले यसलाई मान्न वाध्य भएको छ, किनकि संसारमा वेदभन्दा पुरानो भाषा अहिलेसम्म भेटिएको छैन । विद ज्ञाने वेद अर्थात् ज्ञानको अर्थमा वेद शब्दको ब्युत्पत्ति  भएको छ । यसकारण हामी सजिलै भन्न सक्छौँ हाम्रो धर्मको स्वरुप नै वेद हो । धर्मका १० लक्षणहरु हुन्छन् –

धृति क्षमा दमस्तेयम्  शौचमिन्द्रिय निग्रह

धीर्विद्या सत्यम क्रोधो दशकं धर्म लक्षणम् ।’

अर्थात्  धैर्यता, क्षमा, दम(नियन्त्रण), अस्तेय(नचोर्नु), इन्द्रियनियन्त्रण, पवित्रता, सत्कर्म, विद्या, सत्यता, र अक्रोध धर्मका लक्षणहरु हुन् । अत: धर्म भनेको सत्य र परोपकार हो भने पाप भनेको असत्य झूटो र परपिडन हो

 

सामान्यतः मानिसहरुमा एऊटा के भ्रम पारिएको छ भने धार्मिक सम्प्रदायलाई पनि धर्म हो भनेर बुझाउन खोजिएको छ । सम्प्रदाय भनेको त हिन्दु, बौद्ध, इसाइ, इस्लाम आदिको सँस्कार हो । सम्प्रदायलाई नै धर्म भनिएको भ्रमले गर्दा धर्मको अर्थ नै राम्रोसँग बुझ्न नसकिरहेको अवस्था सृजना भएको छ । यस्तै भ्रमहरुको कारणले पनि विभिन्न किसिमका धार्मिक द्वन्द्वको पनि शुरुवात भएको पाइन्छ । कसैको  विचारलाई धर्मको परिभाषा भनेर वताइएको छ । कुनै पनि व्यक्ति तथा सँस्था वा समाजले दिएको विचारलाई वाणी वा सिद्धान्त भन्न सकिन्छ तर धर्म भन्न सकिँदैन । यसकारण अव सामान्य व्यक्तिले पनि के बुझ्नु जरुरी छ भने हिन्दु, बुद्ध, इसाइ, इस्लाम आदि भनेका संस्कार भित्र आउने विचारहरु हुन् । धर्म होइनन् । यी त धार्मिक सम्प्रदाय हुन् अर्थात् यिनलाई धार्मिक सम्प्रदाय वा संस्कार भन्न सकिन्छ ।

 

                          संस्कार भन्नाले के बुझिन्छ ?

 

सम् धातुमा आकार प्रत्यय गाँसिएर बनेको शब्द हो सँस्कार । सुसँस्कृत शव्दबाट नै सँस्कार शब्दको निर्माण भएको छ,

संस्कारको अर्थ हुन्छ मनुष्यद्वारा निर्मित सुसज्जित कर्म अर्थात् अलंकारयुक्त कर्म । संस्कारबाट नै संस्कृति शब्द बनेको हो । यही शब्द अंग्रेजीमा Ceremony अर्थात Culture हुन पुग्यो । हामीले भन्ने गरेको  परम्परा भन्ने शब्दलाई संस्कारसँग दाज्न सकिन्छ । परापूर्व कालदेखि नै मान्छे जब सामाजिक प्राणीका रुपमा देखिन थाल्यो, त्यसै बेलादेखि नै मान्छेको रहनसहन स्थापित बन्दै गयो । विशेष गरी त्यसरी सुरु भएको रहनसहन एक संस्कारको रुपमा परिणत हुन पुग्यो । त्यसैले मानिसहरुले गर्ने कर्म, रहनसहन तथा परम्परालाई संस्कार भनिदो रहेछ । हाम्रो पुराण तथा धर्मग्रन्थमा लेखियेअनुसार

मानिसले गर्नै पर्ने १६ संस्कारका बारेमा ऋषिमुनिहरुले वैदिक कालमा नै चर्चा गरेकाले अहिले पनि हामी तिनैलाई अनुशरण गर्दै आइरहेका छौँ । ती हुन्ः

गर्भाधानं पुंसवनं सीमन्तो जातकर्म च। नामक्रिया निष्क्रमोऽन्न- प्राशनं वपनक्रिया॥
कर्णवेधो व्रतादेशो वेदारम्भक्रियाविधिः। केशान्तः स्नानमुद्वाहो विवाहाग्निपरिग्रहः॥

त्रेताग्निसंग्रहश्चैव संस्काराः षोडशस्मृताः।- व्यास स्मृति- १.१३

 

क) जन्मनु भन्दा पहिले गरिने संस्कारहरुः गर्भाधान, पुंसवन, सीमन्तोनयन

ख) जन्मदेखि मृत्यु पूर्व गरिने संस्कारहरुः जातक्रम, नामकरण, निष्क्रमण, अन्नप्राशन, कर्णवेध, चूडाकरण, उपनयन, वेदारम्भ, समवर्तन र विवाह, अग्न्याधान अन्तर्गत तीन अग्नियाँ (गार्हपत्य, आहवनीय, दक्षिणाग्नि)

ग) मृत्यु पश्चात् गरिने संस्कारहरुः केशान्त अर्थात् अग्न्याधान (गार्हपत्य, आहवनीय र दक्षिणाग्नि) ।

उल्लेखित १६ संस्कार (कर्म) हरु गरिसकेपछि मात्र भए गरिएका पापहरुबाट समेत मुक्त भई अर्को जन्म लिनका लागि योग्य हुनुका साथै मोक्ष पनि प्राप्त हुन्छ भनी शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ ।

यसकारण संस्कारलाई धर्मबाट ओतप्रोत भएको, माझिएको, पखालिएको भन्ने शुद्धिको अर्थमा लिन सकिन्छ । धर्मलाई पालन गर्नका लागि पनि संस्कारको जरुरत पर्दछ । संस्कार विरोधी घरपरिवारको चालचलन संस्कारित घरपरिवारको दाँजोमा धेरै फरक पाइन्छ । त्यसैले त वैवाहिक सम्बन्ध गाँस्नुअघि दुवैतर्फको कूल घरानका बारेमा बुझ्ने चलन हाम्रो समाजमा रहि आएको छ । यी सँस्कारहरु पनि समाज अनुसार फरक फरक तरिकाले मनाउने चलन छ । चाहे त्यो अमेरिकन सन्स्कृतिमा नै हुर्केको किन न होस् । त्यसैले संस्कार मान्नु अन्धविश्वास होइन । वैज्ञानिक आधारबाट हेर्ने हो भने पनि संस्कारले शुद्धता, स्वस्थता र दीर्घायु सहितको सफल जीवन प्राप्त हुने कुरा प्रष्ट भइसकेको छ । सँस्कार सम्बन्धी विशेश चर्चा अर्को अंकमा गरिनेछ ।

 

                  

 

                       पूजा के हो र कसरी गरिन्छ ?

 

पूजालाई हामी श्रद्धा र भक्तिको पर्यायबाची शब्दका रुपमा लिन सक्छौँ । पूजाको अर्थ हो समर्पण गर्नु, दिनु अथवा चढाउनु । पूजा गर्ने विधि पनि संस्कार अर्थात् समुदाय अनुसार फरकफरक हुन्छ । पूजालाई संस्कृतमा अर्चना अर्थात पूजन भनिन्छ भने अंग्रेजीमा यसलाई worship, Homage , Honour आदि नाम दिइएको पाइन्छ । आदरपूर्वक भक्तिभाव प्रकट गरिन्छ भने त्यो पूजा हुन्छ चाहे जुनसुकै वस्तु, भगवान वा व्यक्तिलाई गरियोस् । भगवानप्रति गरिने पूजालाई निम्न विधि वा तरिका अनुसार गरिन्छः

सुनेर, कीर्तन गरेर, स्मरण गरेर, ढोगेर, अर्चना (पूजन गरेर), बन्दना (प्रार्थना) गरेर, आफूलाई सेवक सम्झेर, साथी बनेर र अन्त्यमा आत्मनिवेदन गरेर ।

नित्यरुपमा गरिने पूजालाई नित्यकर्म पनि भनिन्छ । यसमा ध्यान, जप, योगाभ्यास पर्दछन् भने नित्यकर्म गरिसकेपछि गरिने पूजाको विधि दुई प्रकारका छन्  पञ्चोपचार विधि र षोडशोपचार विधि ।

पञ्चोपचार विधिलाई छोटकरी विधि पनि भनिन्छ जसमा जल, चन्दन, अक्षता, फूल र फलले पूजा गरिन्छ र अन्त्यमा प्रार्थना गरिन्छ । षाडशोपचार विधिमा प्राय सबै जसो दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक रुपमा गरिने पूजा विधि पर्दछन् । यस विधि अनुसार निम्न सामग्री सहित पूजा गरिन्छ ।  

पाद्यं – जौ, तिल, कुश मिसाएको जल

अघ्र्यं – दूध, दही, घ्यू, कुश, सस्र्युं, दुवो,अक्षता र फल मिसाएको जल

आचमानीय जलः ल्वाङ्ग र कपुर मिसाइएको जल

शुद्ध जलः (गंगा जल, चोखो पानी)

पञ्चामृतः दूध, दही, घ्यू, मह र सक्खर

चन्दनः श्रीखण्ड तथा केशरी

अक्षताः चामल, जौ र तिल

फूलः विविध रङ्गका देवताअनुसार फरकफरक

फलः विविध प्रकारका फलहरु

वस्त्रः देवता अनुसारका फरक फरक रङ्गका कपडा

द्रव्यः भेटी, दक्षिणा

धूपः अगरवत्ति वा बाटेको धूप

बत्तिः कपासबाट कातेको पाँच वा सात सूते बत्ति घ्यूमा मोलेर बाल्ने

नैवेद्यः अपूपम्, प्रसाद, हलुवा, पुरी, रोटी, लड्डु, पेडा, मिठाइ आदि ।

 

उल्लेखित सामग्रीसहित पूजा गरेपछि पुनः आरती गरी फल चढाई (पूजाअनुसार) समापन गरिन्छ । पूजा गर्दा सामान्यतया जे वस्तु चढाइदै छ, त्यही वस्तुअनुसारको श्लोक मन्त्र उच्चारण गरिन्छ । यदि आफूलाई ती मन्त्रहरु थाहा भएन भने पनि सामान्य मन्त्र उच्चारण गर्न सकिन्छ । जस्तै गणेश पूजा गर्दा जौ तिल चढाउँदाः पाद्यं समर्पयामी, गणेशाम्बिकाभ्यां नम, वा ऋद्धिसिद्धिसहित गणेशाय नमः । विष्णुको पूजा गर्दा “ॐ नमो भगवते वासुदेवाय नमः” वा ॐ विश्णवे नम: । पञ्चामृत चढाउँदाः पञ्चामृतम् समर्पयामी । शिवजीको पूजा गर्दा – जे चढाउने हो सो भनी समर्पयामी भन्ने र त्यसपछि शाम्बसदा शिवाय नमः भन्ने र अन्तिममा प्रार्थना गर्ने । प्रार्थना गर्दा सम्वन्धित देवताको लागि रचिएका श्लोकहरु उच्चारण गर्ने । सामान्यतया जुनसुकै पूजामा पनि यी पाँच कार्य अवश्य गर्नु पर्दछ ।   

1 गणपति स्थापना

2.कलश स्थापना

3.दीप प्रज्वलन

4.षोडशोपचार पूजा र  

5.आरती तथा पुष्पान्जली  ।

 

सबै प्रकारका पूजा तथा आरती सकेपछि फूल अक्षता लिएर हात जोड्दै सम्पूर्ण पूजा विसर्जन गर्ने र सो समयमा निम्न मन्त्रोच्चारण गर्ने गरिन्छ ।

     मंगलम भगवान् विष्णु मंगलम गरुड़ ध्वजः 

मंगलम पुन्डरी काक्षो मंगलायतनो हरि ||1

  सर्व मंगल मांग्लयै शिवे सर्वार्थ साधिके |  

  शरण्ये त्रयम्बके गौरी नारायणी नमोस्तुते ||2

गजाननं भूतगणाधिसेवितं कपित्थजम्बूफलचारुभक्षणम् ।

उमासुतं शोकविनाशकारकम् नमामि विघ्नेश्वरपादपङ्कजम् ||3

कर्पुर गौरम् करूणावतारम संसार सारम्  भुजगेन्द्र हारम् |

 सदा वसंतम्  हृदयारविंदे भवम भवानी सहितं नमामि ||4

त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव

त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव सर्वं मम देव देव  ||5

श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव |

जिब्हे पिबस्वमृतमेत देव गोविन्द दामोदर माधवेती ||6

कायेन वाचा मनसिन्द्रयैर्वा बुद्यात्मना वा प्रकृति स्वभावात्

 करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्  ||7

नोट: ज्योतिष /पण्डित: राजेन्द्र  खनाल बिगत ११ वर्षदेखि वासिङ्टन डी सी क्षेत्रमा ज्योतिष तथा कर्मकान्ड सेवामा

संलग्न हुनुहुन्छ । सम्पर्क 703-870-6480  or Khanalguru@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.